Monday, January 13, 2020

नुवाकोटबाट ४२ जना हराए

विदुर\पाँच महिनाको अवधिमा नुवाकोटबाट ४२ जना हराएका छन् । यो संख्या साउन १ गतेदेखि मंसिर मसान्तसम्मको हो । 
जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार हराएकामा महिला बढी छन्र । महिला ३६, बालक २ र बालिका ४ जना छन् । प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएका मध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरि पत्ता लगाएका १५ र आफै घर फर्केका ७ जना छन् । अझैं १२ जना महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ देखि २०७६÷०७७ सम्मको छ वर्षमा ६३७ जना नुवाकोटबाट हराएका थिए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराएका थिए । त्यस्तै विदुर नगरपालिकाबाट ८५ जना र बेलकोटगढी नगरपालिकाबाट ७७ जना नागरिकहरू हराएका छन् ।
गाउँपालिकाहरू ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । ती हराएका मध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्र भेटिएको छ ।
तथ्याङ्क अनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवा÷युवतीहरू २२० जना, १८ वर्ष सम्मका १८०, ३१ देखी ५० वर्ष सम्मको १८७ र ५१ देखी ७० बर्षसम्मकामा ५० जना छन् ।
जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६  र अन्यमा ३५ जना छन् । त्यस्तै,  सामाजिक सञ्जालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेको प्रहरीको तथ्याङ्कमा छ ।
प्रहरीले गत आर्थिक वर्ष २०७५÷०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका रहेको बतायो । ति मध्ये ९७ महिला, १३ बालक र ३४ बालिका भेटिका थिए । ६ महिला र २ बालिका अझैं बेपत्ता छन् ।
तथ्याङ्क अनुसार ६ वर्षमा ६३७ जना हराएका थिए भने ५४९ जना मात्र भेटिएका थिए । ८८ जनाको अहिले पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । महिला, बालक र बालिका हराएको भन्दै सुरुमा प्रहरीमा निवेदन आउने भएपछि परिवारले भेटेपछि जानकारी नदिने कारणले तथ्याङ्क बढी भएको अनुमान प्रहरी कार्यालय नुवाकोटको महिला सेलका प्रमुख असई सुकु तामाङको छ । 

No comments:

Post a Comment