Monday, January 06, 2020

ऐतिहासिक पद यात्रा नुवाकोट आइपुग्यो

विदुर\नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ । गोरखा दरबारबाट सुरु भएको ‘एकीकरण टर्च’ ¥याली आइतवार नुवाकोट आइपुगेको छ ।
सामरी भञ्ज्याङबाट नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राती पृथ्वीनारायण शाहले निर्माण गरेको नुवाकोटको साततले दरबारमा ‘एकीकरण टर्च’ ¥याली आइपुग्ने कार्यतालिका छ ।
तालिका अनुसार नुवाकोट दरबार परिसरमा आज सोमवार विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ ¥याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हँुदै काठमाडौँस्थित सिंहदरबार परिसरको पृथ्वीनारायण शाहको शालिकसम्म पु¥याइने छ । त्यहाँ विशेष कार्यक्रम गरी ¥यालीको समापन गरिने तालिका छ ।
गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाडौं पुग्ने छ । पदयात्रामा गोरखाको रणसिंह दल, धादिङ्गको देवीदत्त गण र नुवाकोटको जबरजङ्ग गण सहभागि छन् । गोरखाबाट आइरहेको टोलीले धादिङको देवीदत्त गणलाई टर्च र झण्डा बुझाएको छ । त्यस्तै त्यहाँबाट नुवाकोटसम्म देवीदत्त गणकै टोलीले बाजागाजा सहित झण्डा र टर्च नुवाकोट ल्याएकोे छ ।
काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ । नुवाकोटको टोलीले बुझाएको टर्च र झण्डा लिएर काठमाडौंको पल्टन पृथ्वी जयन्तीमा (पुस २७) सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ । सेनाले ऐतिहासिक पदमार्ग पहिचान, विकास र संरक्षणमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा उक्त पदमार्गमा पर्यटक र पदयात्री भित्र्याउन अभियान सफल हुने बताइएको छ ।
गोर्खाली फौजले वि.सं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ ।
जबरजङ्ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेका अनुसार ‘एकीकरण टर्च’ ¥यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएकाले नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

No comments:

Post a Comment