Monday, February 10, 2020

अनुसहितका खेलाडी सम्मान

सागमा स्वर्ण पदक विजेता अनु अधिकारीलाई
पञ्चकन्या गाउँपालिकाको तर्फबाट सम्मान गर्दै ने
कपाका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिरः इमेज
कविलास\नुवाकोटको पञ्चकन्या गाँउपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता आफ्नो गाँउपालिकाका अनु अधिकारी सहितका खेलाडीहरुलाई शनिवार नगद सहित सम्मान गरेको छ ।
गाउँपालिकाको आयोजनामा भइरहेको ‘चेयरम्यान कप’ भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट गाउँपाकिलाले सम्मान गरेको हो ।
पञ्चकन्या गाउँपालिकाका अनु अधिकारीले हालै सम्पन्न सागमा कराँतेको कुमुेतमा स्वर्ण पदक जितेका थिए । उनलाई सम्मानपत्र सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै रजत पदक विजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै नुवाकोट जिल्लामा जन्मेर १३ औं सागमा स्वर्ण पदक विजेता बन्न सफल फुटबलका अभिषेक रिजाल, लक्ष्मी मगर र बृद्धिबहादुर तामाङलाई जनही १५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । त्यस्तै सागका रजत र कास्य पदक विजेता मिना ग्लान, कृष्णबहादुर तामाङ, संजित डंगोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजिव पुडासैनीलाई समान १० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
यसै बीच, पञ्चकन्या गाउँपालिकाको आयोजनामा शनिवारबाट कविलास पुरनीडाँडा स्थित कालिका माविको खेलमैदानमा प्रथम चेयरम्यान कप भलिवल प्रतियेगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा नुवाकोटका १२ वटै स्थानीय तहबाट टिम सहभागि भएका छन् । मंगलवार फाइन खेल हुने पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन् ।
प्रतियोगितामा पहिलो हुने समुहलाई एक लाख रुपैयाँ, शिल्ड र प्रमाण पत्र, दोश्रो हुनेलाई ७५ हजार रुपैयाँ र प्रमाणपत्र, तेश्रो हुने समुहलाई ५० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिने छ ।
पञ्चकन्या गापाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि कार्यविधि र निर्देशिका तयार गरेर कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।अन्तराष्ट्रिय,राष्ट्रिय प्रतियोगितामा विजयी हुने तथा सहभागिह हुने आफ्नो गापाका खेलाडीहरुलाई लागि आर्थिक, होटल तथा हवाई भाडा उपलब्ध गराउदै आएको छ ।


No comments:

Post a Comment