Sunday, February 16, 2020

बोगटीलको निधनले मलाई ठूलो क्षति भयो : प्रचण्ड

सुजित भण्डारी
पोष्टबहादुर बोगटीको जन्मस्थल विदुर नपा–७ तुप्चेमा
शालिक अनावरण गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्ड । तस्बिर : संगम भड्ताल\इमेज
तुप्चे\सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहकर्मी पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका छन् । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा गएको सोमवार आयोजित कार्यक्रममा प्रचण्डले बोगटीको शालिक अनावरण गरेका हुन् ।
शालिक अनावरण कार्यक्रममा पोष्टबहादुर बोगटीलाई सम्झदै प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरूमा निसर्त साथ दिएको बताए । उनको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण प्रचण्डले गरे ।
सामान्य गरिब परिवारमा जन्मेको र औपचारिक रुपमा उच्च शिक्षा ग्रहण नगरेका बोगटीमा असाधारण क्षमता र व्यक्तित्व रहेको प्रचण्डको भनाइ थियो । बोगटीमा रहेको चारित्रिक र नैतिक बलका कारण उनले बोलेपछि पार्टीका शीर्ष नेताहरू समेत हच्किने गरेको प्रचण्डको भनाइ थियो । आफ्नो दायाँ र बायाँ बाबुराम भट्टराई र मोहन वैद्य रहने गरेको स्मरण गर्दै प्रचण्डले बोगटीका अगाडि दुवै डराउने गरेको सुनाए । ‘मेरो दायाँ र बायाँतिर ठूल्ठूला विद्वान डाक्टर र वैद्य थिए’, उहाँ त धेरै नपढेको मान्छे तर, उहाँ बोलेपछि डाक्टर र वैद्यको पसिना छुट्थ्यो ।’
बोगटीको असामयिक निधनमा काँग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि प्रचण्डले गरे । प्रचण्डले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गरे । त्यस अवसरमा चण्डेश्व्री माविको अभिभावक भेलालाई समेत अध्यक्ष प्रचण्डले सम्वोधन गरेका थिए ।
मुलुक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका स्वर्गिय नेता पोष्टबहादुर बोगटीको जन्मथलोमा निर्माण भएको अर्धकदको शालिकसंगै चौतारा पनि निर्माण गरिएको छ । बिभिन्न संघ संस्था, बिदुर नगरपालिका, वडा कार्यलय , स्थानिय युवा क्लबहरू लगायतको झण्डै १५ लाख रुपैयाँ आर्थिक सहयोगमा २ महिनामा नै शालिक निर्माण भएको निर्माण समितिका अध्यक्ष कल्पना रिमालले जानकारी दिएका छन् ।
यसै बीच, प्रचण्डले आफूले प्रधानमन्त्री बन्ने लालसा नराखेको बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले आफूलाई प्रधानमन्त्रीको रेसमा रहेको रुपमा नबुझिदिन पनि आग्रह गरे । भविष्यमा भने प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व लिन सक्ने उनको संकेत थियो । ‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, प्रचण्डले भने, ‘भविष्यको कुरा अर्कै हो ।’ कार्यक्रममा काँग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डको सम्बोधन गरेका थिए । लामाको भनाइ प्रति टिप्पणी गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको प्रष्टीकरण दिए । प्रचण्डले आफ्नो ध्यान सत्तामा नभई मुलुक विकासमा रहेको बताए । 
चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उनले त्यसमा अहिले आएर तीनै मुलुकका बीचमा करिब सैद्धान्तिक सहमति कायम भएको उल्लेख गरे । ‘उहाँहरूले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भने, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उनले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र ‘कनेक्टिभिटी’ नै त्रिदेशीय साझेदारी भएको व्याख्या गरे ।

No comments:

Post a Comment