Monday, February 10, 2020

एमसीएको मुआब्जा बितरण प्रक्रिया अघि बढ्दै

विदुर\मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल (एमसीए नेपाल) बारे सदनदेखि सडकसम्म बहस चलिरहेका बेला आयोजनाले काम नै अघि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालको निर्माणाधीन ४०० केभी विद्युतीय प्रसारण लाइन आयोजना निर्माण गर्न जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाएको हो । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा ४०० केभी को सवस्टेशन निर्माणका लागि आयोजनाले अधिग्रहणको तयारी गरेको जग्गाको मुआब्जा वितरण गर्न लागेको छ ।
आयोजना क्षेत्राधिकार भित्र पर्ने जग्गाको पुरै कित्ता तथा यसमा रहेका संरचनाहरू स्थायी रूपले प्राप्त गर्नुपर्र्नेे भएकाले जग्गा प्राप्ती ऐन २०३४ बमोजिम सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । यहि ऐनको दफा १३ बमोजिम मुआब्जा निर्धारण समिति गठन भएको थियो । समितिले निर्धारण गरेको रकम सम्बद्ध जग्गाधनीलाई वितरण गर्ने तयारी भएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना प्रकाशित गरेको छ ।
बुधबार प्रकाशित सूचना अनुसार १८४ जना स्थानीयको जग्गा अधिग्रहणमा परेको छ । त्यसबाहेक आयोजनालाई आवश्यक सरकारी जग्गा पनि अधिग्रहण हुनेछ ।
मुआब्जा प्राप्त गर्नका लागि सम्बन्धित जग्गाधनीहरूले आफैं वा अख्तियार प्राप्त वारेस मार्फत प्रमाणित कागजातसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सम्पर्क राख्नुपर्नेछ । जग्गाधनिको सक्कल प्रमाण पुर्जा, प्रतिलिपि, तिरो तिरेको रसिद र स्थानीय तहको सिफारिस सहित रितपूर्वक निवेदन दिनुपर्नेछ । तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने र पछि उजुरी नलाग्ने सूचनामा उल्लेख गरेको छ ।
बिद्युत प्रसारण लाइन र सडकका आयोजनामा लगानीका लागि ०७४ साउनमा सरकारले अमेरिकी सरकारको ५१ अर्ब ३८ करोड रूपैयाँ लगानी स्वीकार गर्ने निर्णय गरेको थियो । अहिले सत्ताधारी नेकपाका नेताहरू बीच उक्त सहयोग लिनु उचित हो÷होइन भन्ने बारेमा बहस टुंगिएको छैन । सरकारले स्वीकार गरेको शर्तअन्तर्गत ४०० केभीको प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरणले काम अघि बढाएको हो ।

No comments:

Post a Comment