Sunday, February 16, 2020

रसुवागढी नाका अझै बन्द

रोशन बोगटी
विदुर\कोरोना भाइरस नेपाल भित्रने डरले बन्द गरिएको रसुवागढीदेखि केरूङसम्मको आवतजावतमा बन्द कायम राखिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको संक्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । त्यो म्याद बढाएर फागुन ७ गतेसम्म पु¥याइएको छ ।
रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका लागि पुनः आवतजावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिसकिएको बताइएको छ । चीनमा फैलिएको कोरोना भाइरसको लक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवतजावत नगराउन आग्रह गरी सीमा क्षेत्रको टिमुरे क्षेत्रमा  स्वास्थ्यको चेतनामूलक कार्यक्रम भएको प्रशासनले जनाएको छ ।
तर, रसुवागढी नाकामा रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हालसम्म कुनै पनि कदम नचालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
नेपाल सरकारले भने साथै केही दिनका लागि आवतजावतमा निगरानी राख्दै सीमामा हेल्थ डेस्क राख्ने तयारी भइरहेको जनाएको छ । तिब्बतमा झन्डै ५ सय नेपालीको बसोबास छ, केरुङमा पनि ठुलो संख्यामा नेपाली नागरिकहरू बसोबास गर्दै आएका छन् ।
चीन र नेपालबीच १४ सय १४ किलोमिटर सीमा जोडिएकामा आवश्यक स्थानमा चीन सरकार स्वयंले नाका र आवतजावत बन्द गरेको छ । 
कोरोना भाइरसको प्रकोप बढेपछि चीनसँग सीमा जोडिएका एक दर्जनभन्दा बढी मुलुकले चिनियाँ नागरिकको आवतजावतमा कडाइ गरे पनि नेपालले थप कडाइ वा सीमा सतर्कताको तयारी गरेको छैन ।
गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार माघ मसान्तसम्म रसुवा नाकाबाट १५ दिनका लागि आवागमनमा कडाइ गरिए पनि अन्य नाकाबारे कुनै निर्णय गरिएको छैन ।

No comments:

Post a Comment