Sunday, March 22, 2020

होटल, पर्यटन व्यवसायीलाई राहत देउ

सन्तोष उप्रेती
प्रदेश अध्यक्ष
होटल तथा पर्यटन व्यवसायीसंघ नेपाल, 
बागमती 
संघीय गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लामा छरिएका ठूला, मझौला तथा साना होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित २६ वटा संघहरू आवद्ध रहेको होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेश २०७४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको छ । यसले विभिन्न विदेशी तथा नेपाली पर्यटकहरूलाई सेवा सुविधा पु-याउँदै आईरहेको र होटल व्यवसायीहरूको हकहितका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी व्यवसायीहरूको हकहित र पर्यटन विकासका लागि विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आर्थिक सम्वृद्धितर्फ अगाडि बढ्दै आएको छ । गएको साउनमा सम्पन्न संघको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित ३३ सदस्यीय कार्य समितिले समय समयमा विभिन्न खालका कार्यक्रमहरूलाई अगाडि बढाउँदै आईरहेको सर्वविदितै छ । 
नेपाल सरकारले अगाडि सारेको नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि यस संघले प्रभावकारी रुपमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको थियो । तर, गत डिसेम्बर २०१९ मा चीनमा देखापरेको कोभिद–९०, नोबल कोरोना भाईरस यत्तिखेरसम्म आइपुग्दा विश्वका १४२ भन्दा बढि दैशमा फैलिईसकेको छ । यसबाट डेढ लाख भन्दा बढि मानिसहरू संक्रमित भएको विश्व तथ्याङ्क छ । यही भाइरसका कारण १३ हजार १ सय भन्दा बढिले ज्यान गुमाइसकेको भयावह अवस्था छ । त्यतिमात्र होइन चीनमा मात्र गएको दुई महिनाको अवधिमा करिब २० लाख मानिस बेरोजगार भएका छन् । यस्तो अवस्थामा संसारभर महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको असर नेपालमा नपर्ने त कुरै भएन । उक्त भाईरसको संक्रमण र असरबाट बच्न नेपालको संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरू समेतले कुने प्नि सभा सम्मेलन, भेला गोष्ठी तथा समूहगत रुपमा जम्मा भएर गरिने कार्यक्रमहरूमा रोक लगाईसकेको छ र उक्त भाईरसको संक्रमणबाट बच्न र रोग नियन्त्रणका लागि सम्पूर्ण नागरिकलाई पूर्ण रुपमा सजग समेत गराउँदै आएको छ । 
एकातिर कोरोना भाईरसको महामारी दिनानुदिन तीब्र गतिमा संसारभर फैलिँदो छ भने अर्कोतर्फ उक्त भाईरसको संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन हरेक देशका नागरिकहरू घरभित्र बस्न बाध्य भएको अवस्था छ । अझ विश्वभरका अधिकांश देशहरूले संकटकाल समेत घोषणा गरेर नागरिकलाई घरबाट बाहिर ननिस्कन सूचित गरेको छ । जसले गर्दा अहिले देशभरका सम्पूर्ण व्यवसाय, उद्योगधन्दा, कलकारखाना ठप्प प्रायः छन् । अझ त्यसमा पनि स्वदेश तथा विदेशका पर्यटकहरूको भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय त पूर्ण रुपमा धारासायी हुने देखिएको छ । प्रत्यक्ष रुपमा होटल तथा पर्यटन व्यवसायलाई आफ्नो जीवनयापन र गुजाराको मूल आधार बनाएर व्यवसाय सञ्चालन गरिरहेकालाई शतप्रतिशत जस्तै असर परिसकेको छ । आगामी दिनमा त पूर्ण रुपमा ठप्प हुनसक्ने अवस्था सिर्जना नहोला भन्नसक्ने अवस्था पनि देखिएको छैन । कोरोना भाईरसका कारण विश्वव्यापी रुपमा फैलिएको महामारीको असरले गर्दा देशको अर्थतन्त्र नै धारासायी बनेको वर्तमान परिप्रेक्षमा आन्तरिक तथा बाह्य पर्यटकहरू कै भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने देशकै सिङ्गो अर्थतन्त्रमा दीर्घकालिन रुपमा नकारात्मक असर पर्नेमा दुईमत छैन । 
त्यसैले अप्रत्याशित रुपमा आईपरेको यस प्रकारको विषम परिस्थितिमा देशभरका साना, मझौला तथा ठूला व्यवसायीहरूलाई बचाईराख्न र सिंगो होटल तथा पर्यटन व्यवसायलाई नै पूर्ण रुपमा ध्वस्त हुनबाट बचाउन निम्न राहत उपलब्ध गराई जनजीवन सामान्य अवस्थामा नआईपुग्दासम्म सहयोग गरिदिनु हुन संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई हार्दिक अपिल गर्दछौँ । 
१. नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता गरी वैधानिक रुपमा सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवासाय सञ्चालन गरिरहेका व्यवसायीहरूले बैंकबाट लिएको व्यवसायिक कर्जाको व्याजमा ५० प्रतिशत छुट मिलाईदिनुहुन । 
२. होटल तथा पर्यटन व्यवसायको सम्पत्तिकर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरूमा छुटको व्यवस्था गर्नुका साथै विभिन्न दस्तुर, पानी, विजुली लगायतका महशुलमा ५० प्रतिशत छुट गराइदिनुहुन । 
३. घरजग्गा, सटर, कोठा आदि बहालमा लिई होटल तथा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरूले बुझाईरहेको घर बहालमा ५० प्रतिशत छुट गराउने व्यवस्था मिलाईदिनुहुन । उक्त छुट गराए बापत घर धनीलाई समेत घर बहाल करमा समेत छुट दिने व्यवस्था गरिदिनुहुन ।
४. होटल तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीहरूले पाउने मासिक तलब सुविधा मध्ये ५० प्रतिशत सम्बन्धित व्यवसायीले र बाँकी ५० प्रतिशत तलब सुविधा सामाजिक सुरक्षा कोष मार्फत उपलब्ध गराउने व्यवस्था मिलाइदिनुहुन । 
५. होटल तथा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले बैँकबाट लिएको कर्जा बापत बैँकलाई बुझाउनु पर्ने मासिक किस्ता वा व्याज हाललाई एक वर्षसम्मका लागि नबुझाउँदा पनि त्यसपछि नियमित बुझाउनेलाई जरिवाना मिनाहा गर्ने व्यवस्था गराईदिनुहुन ।
६. अधिकांश होटल तथा पर्यटन व्यवसाय बन्द हुने स्थिति भएको र त्यसमा कार्यरत कर्मचारीहरू आ–आफ्नो घर फर्कने अवस्था भएकाले ती कर्मचारीहरूका लागि नेपाल सरकार र सम्बन्धित निकायहरू जस्तै नाथम, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग, नेपाल भ्रमण वर्षको सचिवालय आदिद्वारा  स्तरवृद्धिका तालिमको आयोजना गर्ने व्यवस्था मिलाईदिनुहुन । 
७. बागमती प्रदेशभित्रका होटल तथा पर्यटन क्षेत्रमा आवद्ध व्यवसाय तथा तिनका स्तर, स्वरोजगार, रोजगारी संख्या आदिको विस्तृत तथ्याङ्क अद्यावधिक गरी राज्यका सम्बन्धित निकायहरूसंग प्रत्यक्ष रुपमा जोडिने वातावरणको सिर्जना गर्न यस संघलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराईदिनुहुन । 

No comments:

Post a Comment