विदुर\नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उनको समुहले नुवाकोट र रसुवा जिल्लामा निर्माणधि बेग्लाबेग्लै आयोजनाको गएको शनिवार अनुगमन गरेका छन् ।
नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको सोलार आयोजनाको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गरेका हुन् ।
देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६ र ३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले गएको शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मिति लगायतका विषयमा छलफल गरेको छ ।
सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था तत्काल गर्न घिसिङले निर्देशन समेत दिएका छन् ।
नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १५ मेगावाटमध्ये पनि १० मेगावाट विद्युत चैत र ५ मेगावाट वैशाखभित्रमा उत्पादन गर्ने आयोजनाले जनाएको छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचान गरी निर्माण अगाडि बढाइएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानल मार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।
विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।
सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाख भित्रमा उत्पादन हुने बताईएको छ । प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएको कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न नसकिने बताउदै सञ्चालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने ब्यबस्था गर्न घिसिङले निर्देशन दिएका छन् । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई निर्देशन दिदै घिसिङले तीन महिना विद्युतको माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट जसरी पनि ग्रिडमा जोड्नु पर्ने बताए ।
सबै उपकरणहरू आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिहरूले वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन हुने जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । त्यतिवेला एक बर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरेको आयोजनाको डिजाइन स्वीकृति, रुख कटान लगायतका कारणले ढिलाइ भएको घिसिङले बताए ।
सोलार प्लान्टको डिजाइन, आपूर्ती, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्नेछ ।
कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ ।
यसै बीच, रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे÷त्रिशुली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ ।
टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका ५ पैरेबेसीमा निर्माणाधीन त्रिशुली ३ बी हब सबस्टेसन, कार्यालयमा निर्माणामा सम्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङ सहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा गएको थियो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत आयोजनाहरूको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।
विद्युत् आयोजनामा कोरोना असर
विदुर\उत्तरी रसुवामा निर्माणाधीन तल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहमा पानी ल्याउने मुख्य सुरुङको निर्माण लगभग पूरा भएको छ । तर कोरोना भाइरसको असरले भने अहिले काममा सुस्तता आएको छ । चिनियाँ कामदारहरू चीन फकिएका छन् । त्यस्तै केही अन्य कामदार पनि विदामा बसेका छन् ।
सान्जेन जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार निर्माण गर्नपर्ने तीन हजार ६५० हेडरेस सुरुङमध्ये प्रायः कार्य पूरा भई अब निर्माणको काम ४० मिटर बाँकी छ ।
४२।५ मेगावाट क्षेमताको उक्त जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माणको काम लगभग पूरा भएको बताइएको छ । सुरुङबाट ल्याइएको पानी तीव्र प्रवाहमा विद्युत्गृहमा पठाउनका लागि आवश्यक पर्ने एक हजार मिटर लम्बाइको पेनस्टक पाइप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
यसैगरी माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४.८ मेगावाटको जलविद्युत् आयोजना भने निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३०० मिटरको हेडरेस सुरुङ र विद्युत्गृह समेतका संरचना निर्माणको काम पूरा भए पनि कोरोना भाइरसको असरले उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
दुवै आयोजनाको पानी ल्याउने संरचना भूमिगतको भए पनि विद्युत् उत्पादन गर्ने गृह भने बाहिरी सतहमा हुने आयोजनाले जनाएको छ । आगामी असार महिनासम्म उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन विद्युत् आयोजनालाई पनि चीनमा फैलिएको कोरोना भाइरसले चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादन ढिलो हुने र तल्लो सान्जेन भने एक वर्षमा पूरा हुने बताइएको छ ।
No comments:
Post a Comment