Monday, March 16, 2020

दुई स्वास्थ्य संस्थाको स्तरोन्नती हुने

कालिकास्थान\रसुवाको दुई वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । सरकारको एक पालिका एक अस्पताल बनाउने योजना अन्तर्गत रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ स्वास्थ्य चौकी र नौकुण्ड गाउँपालिकाको पारच्याङ स्वास्थ्य चौकिलाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको हो ।
जिल्लाको ग्रामिण भेगमा रहेको स्वास्थ्य चौकी अस्पतालको रुपमा परिणत भए पछि  सामान्य खालका बिरामी सदरमुकाम धुन्चे तथा नुवाकोट जानुपर्ने बाध्यताको अन्त्य हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलनमा रसुवाका दुई स्वास्थ्य संस्था सहित २ सय ३६ वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको जनाएको हो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार गत वर्ष सरकारले २ सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम सुरु गरिसकेको छ । 
त्यस्तै यो वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको समेत स्वास्थ्य मन्त्री ढकालले बताए । यि दुई वटा स्वास्थ्य संस्थाको अवस्था सुधार भएपछि मात्रै पनि यहाँको अधिकांश भुभागका नागरिकहरूलाई स्तरिय स्वास्थ्य सेवा लिनका लागि नुवाकोट र काठमाडौं पुग्नु पर्ने बाध्यता र झण्झटबाट मुक्ति मिल्ने छ ।
३८ सयलाई दादुराको खोप लगाइने
धुञ्चे\रसुवाको ३ हजार ८ सय बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ । चैत १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ३ हजार ८४५ जनालाई खोप लगाइने जिल्ला खोप समन्वय समिति रसुवाले जनाएको छ । यसमा पाँच वटा गाउँपालिकामा २ सय २० वटा खोप केन्द्र सञ्चालन गरिने छ ।
४४० जना स्वयसेवक खटिने छन् । ६१ जना खोप कार्यकर्ता परिचालन गरिने छ । जिल्लामा खोप तथा सिरिन्ज आइसकेको, कोल्डचेनको व्यवस्था भएको र गाउँपालिकाहरूमा सूचनामुलक सामग्री वितरण भइसकेको समितिले जनाएको छ । एकै चरणमा खोप लगाउन सकिने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । बच्चा जन्मेपछि सुरुमा लगाइने बिसिजि खोपको दर कम देखिएको छ ।

No comments:

Post a Comment