Saturday, March 07, 2020

नुवाकोटमै हिउँको मज्जा

सागर खनाल
फिकुरी\नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ मा रहेको फिकुरी डाँडालाई ट्रेकिङ हब बनाउने अभियानमा हिँडेको पर्यटन व्यवसायी, पत्रकारहरू र अभियानता सहितको टोली बुधबार पुगेको छ ।
३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडाखर्क पुगेको टोलीले क्याम्पिङ गरेर रात बिताएको छ । रातभर अत्याधिक हिमपात परेपनि त्यस्तो असहज केही नभएको सहभागीहरूले जनाएका छन् । करिब ३ फिटसम्म हिउँ जमेको भए पनि भेडाखर्क बसाइ सहज रहेको एक्सप्लोरेशन टिमका संयोजक उर्जा तामाङले जानकारी दिए ।
३८०० मिटर उचाईको फिकुरे डाँडाँबाट लाङटाङ, गणेश हिमाल, मनाश्लु, गोसाइकुण्ड रेन्ज सहजै देख्न पाइयो। साथै हिमाली जन जीवन र संस्कृति अवलोकन गर्न सकिन्छ ।
त्यसैगरी टिममा सहभागी नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतका अनुसार ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए । राजधानी नजिकैको यो ट्रेलको उचित प्रचार प्रसार गर्नुपर्ने महतले औल्याए । ५२ जना सहभागी टोली आज ६ घन्टाको पदयात्रा पछि १८०० मि उचाईमा रहेको ठूलो गाउँ पुगेर बास बस्नेछ ।
रातभर बाक्लो हिमपात परे पनि टिममा सहभागी सबै सदस्यहरू सकुशल रहेको टिम लिडर एवं रसुवा ट्रेकका सञ्चालक गगन राज न्यौपानेले जानकारी दिए ।
तिन हजार ८ सय मिटर उचाईमा रहेको फिकुरी डाँडा एतिहासिक धार्मिक हिसाबले पनि महत्वपुर्ण स्थान हो । ठूलो गाउँ पछि टोली रसुवाको डाँडागाउँ झरना र घलेगढी पुगेर फर्कने न्यौपानेले जानकारी दिए ।
दुई जिल्लाका पर्यटन व्यवसायी सञ्चारकर्मी टिमले भ्रमण गर्ने छन् भ्रमण पश्चात यस क्षेत्रको प्रर्वद्धनात्मक भिडियो उत्पादन लेख समाचारले आगामी दिनमा पर्यटकलाई भ्रमण गर्न
सहज हुने नक्सा प्रकाशन गरि फोटो सहितको जानकारीमुलुक प्रचार प्रसार गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तथा उद्देश्य रहेको आयोजक टिमले जानकारी दिएको छ ।
हिउँमै किताब विमोचन
फिकुरी\लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ । 
फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । फिकुरी डाँडाको उचाईं ३८०० मिटर रहेको छ, जहाँबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समुह भेडीखर्कबाट फर्किएको थियो ।
‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, बाक्लो हिउँमा 
उभिएर साहसिक पर्यटनमा सक्रिय 
पदयात्रीहरूमाझ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दीपक महतले भने, ‘महासागरले घरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरूबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो ।’ 
कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछनेले भने, ‘सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरेका छौं ।’
फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य महत, रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितिय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज् एशोसिएसन (टान)का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए । 
श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए)को ६३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा श्रीलंकामा निम्त्याइएका टुर–टे«किङ गाइड तथा टे«किङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन् ।
‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्’, कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी सिलवालले भने, ‘त्यसका लागि सक्रिय यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज र यात्रामा जोडिएका सूर्यगढी, किस्पाङ, ठूलोगाउँ र कालिका गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन् ।’

No comments:

Post a Comment