त्रिशुली\बागमती प्रदेश सरकारले कार्यान्वयमा ल्याएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला अस्पताल त्रिशुलीमा सुरु भएको छ । कार्यक्रम अन्र्तगत विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका नागरिकहरूलाई निःशुल्क उपचार हुनेछ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हरेक हप्ताको दुई दिन मात्रै सञ्चालन हुने छ । त्यसका लागि मंगलबार र बुधबारको दिन तोकिएको छ ।
दुवै नगरपालिकाको २६ वटा वडाका ५० जना को निःशुल्क उपचार हुने जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डा। रेमकुमार राईले जानकारी दिएका छन् । त्यसका लागि सेवा लिन त्रिशुली अस्पतालमै आउनु पर्ने छ । वडाको सिफरिस विरामीहरूले ल्याउनु पर्ने छ । सफिारिस बाहेकका बिरामीहरूलाई भने यही कार्यक्रम अन्र्तगत उपचार खर्चको २५ प्रतिशत छुटमा दिइने बताइएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा विपन्न, लोपोन्मुख, अल्पसंख्यक, दलित, सहिद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वका घाइते नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । ति लक्षित वर्गका विरामी नागरिकहरूले जनही २२ सय रुपैयाँ बराबरको १६ किसिमको स्वास्थ्य सेवा पाउने छन् ।
नसर्ने रोगको समयमै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्ने उद्देश्यले ३० वर्षभन्दा माथि उमेर समूहकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताइएको छ । परीक्षण गरिएका व्यक्तिमा कुनै समस्या देखिएमा सम्भव भएसम्म त्रिशुली अस्पतालमै उपचार गरिने र त्रिशुलीमा उपचार नहुने रोगीलाई भने प्रदेश सरकारले सूचिकृत गरेको अर्को अस्पतालमा पठाइने छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमको नुवाकोटमा सुरुवात जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले गरेका थिए । सेवा आरम्भको अवसरमा त्रिशुली अस्पतालमा आयोजित उक्त कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
No comments:
Post a Comment