विदुर\नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्नेलाई सस्तोमा दिनका लागि नयाँ महसुल शुल्क प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरी गत माघ १७ गते आयोगसमक्ष नयाँ महसुल दर बुझाएको थियो ।
उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । सोहीअनुसार आयोगले तीन दिन सार्वजनिक सुनुवाइ गर्ने भएको छ । यसपालिको सार्वजनिक सुनुवाइ फेसबुक, युट्यूब जस्ता सामाजिक सञ्जालमा समेत प्रत्यक्ष प्रसारण गरिने तयारी छ । जसको मिति आगामी चैत १४, १६ र १७ गते तय गरिएको छ ।
प्राधिकरणले सबैभन्दा कम अर्थात् २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँमा विद्युत् उपलब्ध गराउने प्रस्ताव गरेको छ । पाँच एम्यिरमा विद्युत् लिने ग्राहकले बढीमा ३५ रुपैयाँ महसुल तिरे पुग्नेछ । १५ एम्यिरमा विद्युत् लिनेले न्यूनतम शुल्क ५० रुपैयाँ, ३० एम्पियरमा विद्युत् लिनेले ७५ रुपैयाँ र ५० एम्पियरमा १२५ रुपैयाँ न्यूनतम महसुल लिने प्रस्ताव छ । तल्ला र साना ग्राहकलाई बढीभन्दा बढी सुविधा दिने लक्ष्यसहित प्राधिकरणले नयाँ महसुल प्रस्ताव गरेको बताइन्छ ।
२१ देखि ३० युनिटसम्म पाँच एम्पियरमा विद्युत् लिनेले न्यूनतम ५० रुपैयाँ, १५ एम्पियरमा ७५ रुपैयाँ, ३० एम्यिपरमा १०० रुपैयाँ र ६० एम्पियरमा १५० रुपैयाँ न्यूनतम महसुल तिर्न‘पर्नेछ । यसैगरी ३१ देखि ५० सम्म न्यूनतम ७५ रुपैयाँ, ५१ देखि १५१ युनिटसम्म १०० रुपैयाँ, १५१ देखि २५० युनिटसम्म १२५ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म न्यूनतम १५० रुपैयाँ महसुल तिर्नुपर्छ । कूल ४०० युनिटभन्दामाथि न्यूनतम १७५ रुपैयाँ महसुल तिर्दा हुनेछ । त्यसमा केही सेवा शुल्क भने थप हुन सक्नेछ ।
प्राधिकरणको प्रस्ताव अनुसार ४०० भोल्ट बराबरको विद्युत् लिनेले भने न्यूनतम ११ सय रुपैयाँदेखि १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।
प्राधिकरणले औद्योगिक ग्राहकमा पनि ग्रामीण तथा घरेलु उद्योग र साना उद्योगको फरकफरक महसुल दर प्रस्ताव गरेको छ । व्यापारिक, गैर व्यापारिक, सिँचाइ, खानेपानी, यातायातका लागि चार्जिङ स्टेशनसमेतको महसुल दर प्रस्ताव गरेको छ । मन्दिर, सडकबत्ती, अस्थायी कनेक्सन, गैर गार्हस्थ्य र मनोरञ्जन व्यवसायको समेत छुट्टाछुट्टै महसुल दर तय गरेको छ । त्यसमा पनि वैशाखदेखि मङ्सिरसम्म र पुसदेखि चैतसम्मको पनि फरकफरक समयको फरकफरक महसुल दर प्रस्ताव गरिएको छ । वर्षाको समयमा बढी विद्युत् खपत गराउन सोही खालको र हिउँदको समयमा फरक खालको महसुल दर प्रस्ताव छ ।
No comments:
Post a Comment