Monday, March 16, 2020

घूससहित खरिदार र लेखनदास पक्राउ

विदुर\मालपोत कार्यालय धादिङका दुई जना कर्मचारी शुक्रबार घुस लिदा लिदै रङ्गेहात अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनसन्धान आयोगको टोलीले धादिङ मालपोत कार्यालयमा गरेको ‘स्टिंग अप्रेसन’मा उनीहरू पक्राउ परेका हुन् । 
सुराकीका आधारमा कार्यालय खुल्ना साथ अख्तियारको टोली मालपोत कार्यालय प्रवेश गरेको थियो । अख्तियारको टोलीले जग्गा रजिष्ट्रेसन फाँटमा करार सेवामा कार्यरत नीलकण्ठ नगरपालिका ३ का सूर्य अधिकारीलाई नगद रकम दिंदै गर्दा, श्रेष्ठ भू सेवा केन्द्रका लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो । एक सहकारी संस्थाको जग्गा फकुवासम्बन्धी फाइलमा घुस मागेपछि लेखापढी व्यवसायी श्रेष्ठमार्फत अधिकारीले १७ हजार ५ सय नगद बुझेलगत्तै अख्तियार टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । 
रकम बरामद गरेको मुचुल्कामा अख्तियार टोलीले नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष होमनाथ रिजाललाई पनि साक्षी राखेको छ ।
अख्तियारको टोलीले कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा लिएलगत्तै मालपोत कार्यालयका निमित्त प्रमुख रोशन गिरिसहितसबै कर्मचारी मध्यान्ह १२ बजे नै कार्यकक्ष छाडेर निस्केका थिए । कार्यालय प्रमुख मालपोत अधिकृत पुरुषोत्तम भण्डारी गत २७ गतेदेखि नै बिदामा बसेका छन् । 
शुक्रबार भएको कारण ३ बजे बिदा हुनुपर्ने कार्यालय मध्यान्हदेखि नै कर्मचारीविहीन भएपछि काम भइसकेका सेवाग्राही पनि कागजपत्र लिन नपाएर अन्यौलमा परे । उनीहरूदुवैजनालाई अख्तियार टोलीले काठमाडौं लगेको छ ।

No comments:

Post a Comment