Monday, March 16, 2020

सुक्खा बन्दरगाह निर्माण तीव्र

विदुर\नेपालको उत्तरी रसुवागढी नाका केन्द्रित गरी टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण तीव्ररूपमा अगाडि बढिरहेको छ । 
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार नेपाल इन्टरमोडल डेभलमेन्टको रेखदेख र चीन सरकारको सहयोगबाट टिमुरेस्थित भोटेकोशीको तटीय क्षेत्रमा निर्माण अगाडि बढेको सुक्खा बन्दरगाहका लागि अधिकांश बगरको सतह मिलाउने काम सम्पन्न भइसकेको छ ।
निर्माणमा सम्लग्न तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनीले पहिलो चरणमा सुक्खा बन्दरगाहको क्षेत्रको नदी नियन्त्रणका लागि भोटेकोशीमा मेसिनरी पर्खाल लगाउने तयारीमा जुटिसकेको बताइएको छ ।
३५० ट्रक तथा कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माणका लागि गत मङ्सिर ४ गतेबाट शुरू भएको काम छोटो अवधिमै उल्लेखनीय प्रगति पथमा अगाडि लम्किएको टिमुरेका बासिन्दाले बताएका छन् । भन्सारको कार्य सहज पार्न निर्माण हुन लागेको सुक्खा बन्दरगाहको काम गर्ने चिनियाँ ठेकेदार कम्पनी र रेखदेख गर्ने नेपाल इन्टरमोडलका प्राविधिकले जिम्मा पाए पनि नेपाली प्राविधिक अधिकांश समय काठमाडौँमा बस्ने गरेको जनगुनासो बढ्दै गएको छ ।
नेपाली प्राविधिक राजधानी बस्ने र स्थलगतरूपमा निर्माता ठेकेदार कम्पनीका कर्मचारी मात्र रहँदा डिजाइन विपरीत जान्छ कि भन्ने चिन्ता छाएका कारण ती प्राविधिकलाई नियमितरूपमा टिमुरे बस्ने वातावरण सिर्जना गरिदिनसमेत सम्बन्धित मन्त्रालयसँग टिमुरेवासीले आग्रह गरेको बताएका छन् ।
टिमुरे गाउँको पश्चिमतर्फ खोला किनारको जमीन सुक्खा बन्दरगाहका लागि नेपाल सरकारद्वारा आफ्नो नाउँमा भूमिको स्वामित्व कायम गराई सके पनि त्यसभित्र रहेका १३ वटा घर टहराको अझै मूल्याङ्कन हुन नसक्दा स्थानीय नागरिकलाई ठूलो मर्का परेको गोसाइँकुण्ड गाउँपालिका–२ कार्यालयले जनाएको छ ।
स्थानीवासीसँग समन्वय गरी अधिग्रहणमा परेका ती घरटहराको मूल्याङ्कनबाट स्थानीयवासीलाई मुआब्जा दिलाउन सहयोगी कार्य गर्न‘पर्ने नेपाल इन्टर मोडेलमार्फत खटिएका प्राविधिकले बेवास्ता गरिरहेको समेत स्थानीयको गुनासो बढेको छ । यसैगरी रसुवागढीमा निर्माण हुन लागेको एकीकृत भन्सार कार्यालयको निर्माण सन्तोषजनक तवरले अगाडि बढिरहेको भन्सार कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment