Saturday, March 07, 2020

हेल्थ डेस्क स्थायी बन्दै

मन्त्री दुलाल रसुवागढीको हेल्थ डेक्स हेर्दै । 
विदुर\कोरोना भाइरसको परीक्षणका लागि नेपाल र चीन बीचको सिमानाका रसुवागढी नाकामा स्थापना भएको अस्थायी संरचनालाई बागमती प्रदेश सरकारले स्थायी हेल्थ डेस्क बनाउने भएको छ ।
रसुवागढी नाका अवलोकन पछि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सीमा वारपार गर्ने मानिसहरूको चेकजाँचमा स्थायी हेल्थ डेस्क निर्माण गर्ने बताए । नाकाबाट भित्रने मानिसहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि स्थायी हेल्थ डेस्क आवश्यक देखिएकाले प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
हाल प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन थालेको समेत मन्त्री दुलालले जानकारी दिएका छन् । अर्को सातामा स्थायी संरचना निर्माणको काम सुरु गरिने उनको भनाइ छ । हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश अस्पतालबाट चिकित्सक सहितको टोली खटाउनले निर्णय प्रदेश सरकारले गरेको उनले बताए ।
कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाल उक्त नाका बन्द गरिएको छ ।
यसै बीच, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी नाकामा राखिएको ‘हेल्प डेस्क’ को अवस्थाबारे अध्ययन अबलोकन गरेका छन् ।
मन्त्री दुलालसहितको टोली गएको आइतबार नाकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको हो ।  त्यहाँका कर्मचारीले चीनबाट आएका नेपाली वा चिनियाँको सुरुमा अध्ययन गर्ने, भाइरस छ वा छैन भन्नेबारे बुझ्ने र तीन पटक जाँच गरेर मात्र पठाउने गरेको जानकारी दिए । निरिक्षणपछि मन्त्री दुलालले रसुवागढी नाका हुँदै चीनबाट आउने पर्यटकको स्वास्थ्य परिक्षणका लागि हेल्प डेस्क राखेको र यसलाई अझै व्यवस्थित बनाउने बताए । 

No comments:

Post a Comment