Monday, March 16, 2020

२०७६ चैत ३ गतेको सम्पादकीय

तीन वर्षदेखिको अभाव
निर्बाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको ३ बर्ष हुन लाग्दा पनि नुवाकोटका स्थानीय तहहरूमा आवश्यक कर्मचारी छैनन् । नुवाकोटको सुगम मानिएको विदुर नगरपालिकामा कर्मचारीको त्यस्तो ठूलो अभाव देखिएको छैन । तर बाँकि रहेको अन्य ११ वटै सरकारको कुरा गर्ने हो भने कर्मचारी अभावकै कारण नीति तथा कार्यक्रम कार्यान्वयमा समस्या भइरहेको छ । कर्मचारी नहुँदा सामान्य सेवा प्रवाहमा समेत समस्या भएको छ । कर्मचारी व्यवस्थापनमा समस्या आएपछि नुवाकोटका प्रायः सबै स्थानीय तहका विकास निर्माणको काम प्रभावित भएका छन् । स्थानीय तहहरूमा योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकास लगायतका शाखाहरूमा कर्मचारीहरूको अभाव देखिएको छ ।   
विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारी नहुँदा स्थानीय तहका विकास योजना अलपत्र अवस्थामा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा कर्मचारी नपठाउँदा दिन प्रतिदिन समस्या बढ्दै गएको हो । सिंहदरबार दैलोमै आएको प्रचार व्यापक गरिएपनि कर्मचारीको अभावले जनताले आवश्यकता अनुसारको सेवा नपाएको बताउन थालेका छन् । स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै विकास निर्माणका योजना सञ्चालनमा पनि चुनौती थपिएको जनप्रतिनिधिहरूको गुनासो छ । मुलुक संघीयतामा गएसंगै सिंहदरबारका अधिकार गाउँगाउँमा पुग्ने भनि प्रचार गरिएको भएपनि त्यसो हुन सकेको छैन् । स्थानीय तहमा जनप्रतिनिधि आएको लामो समय बितिसक्दा पनि अझै कर्मचारी भने पुग्न सकेका छैनन् । जसले गर्दा कार्यसम्पादनमा समस्या थपिदै आएको छ ।

     आफुलाई आवश्यक कर्मचारीको भर्ती गर्न स्थानीय सरकारले नपाउने र माथिदेखि खटाइएका कर्मचारी ग्रामिण भेगको नगरपालिका\गाउँपालिकामा नजाने समस्याकै कारण यत्तिका लामो समयसम्म यही समस्याले निरन्तरता पाइरहेको हो ।  सरकाले कि त स्थानीय तहलाई कर्मचारी राख्ने कानूनी अड्चन फुकाइदिनु पर्यो नभए कर्मचारीको ठिक ढंगले व्यवस्थापन गर्नु जरुरी देखिएको छ । स्थानीय सरकारको पहिलो कार्यकाल ‘कर्मचारी छैन, त्यसैले  काम गर्न सकिएन’ भन्ने कारण्वहाना बनाएर सक्किनु पक्कै पनि सुखद रहदैन ।

No comments:

Post a Comment