![]() |
रसुवाको गोसाइँकुण्ड हिडेका विदेशी पर्यटकको फाइल तस्बिर । |
रसुवा\लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा पनि निकै कमी आएको छ । पर्यटकले भरिभराउ हुने तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइँकुण्ड पदमार्ग यतिखेर सुनसान बनेका छन् ।
मार्चदेखि पर्यटक आउने मुख्य सिजन सुरु हुन्छ । ती पदमार्गमा फाट्टफुट्ट विदेशी पर्यटकमात्र भेटिन्छन् । चालु आर्थिक वर्षको फागुनमा यहाँ ७६८ विदेशी पर्यटक घुम्न आएका छन् । अघिल्लो आर्थिक वर्षको सोही महिनामा १ हजार ३१९ पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । कारोना प्रभावकै कारण लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक ह्वात्तै घटेको निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । यो सिजनमा निकुञ्जको ब्राबल चेक प्वाइन्टबाट दैनिक सयौं विदेशी पर्यटक प्रवेश हुने गरेकोमा घटेर १५देखि २० को संख्यामा छ ।
रसुवा आउने पर्यटक पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् । रसुवामा तीन वटा पदमार्ग छन् । धुन्चे गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेसीसम्म तामाङ सम्पदा मार्ग छ । ‘लाङटाङ पदमार्गका होटल व्यावसायीलाई यतिबेला भ्याइनभ्याई हुन्थ्यो,’ क्याङजिनका होटल व्यवसायी ग्याल्बु तामाङले भने–‘मुख्य सिजनमा पर्यटक छैनन् । होटल खाली छन् ।’ पर्यटक नआउँदा चीज बिक्री हुन छाडेको उनले बताए । तामाङ सम्पदामार्ग पनि सुनसान छ ।
गोसाइँकुण्ड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको दुई वर्षजति भयो । यहाँ पनि पर्यटक आउने क्रम घटेको छ । टिमुरे, स्याफ्रु, सदरमुकाम धुञ्चेका बजार पनि सुनसान छन् । पर्यटकको आगमन घट्दा होटल, ससाना रेष्टुरेन्ट, पोर्टर, गाइड, यातायात, अन्य पसल लगायतमा असर परेको व्यवसायी बताउँछन् ।
No comments:
Post a Comment