Saturday, March 07, 2020

गल्छी रसुवागढी सडक ४० प्रतिशत बाँकी

रसुवाको मैलुङ्ग क्षेत्रमा नेपाली सेनाले निर्माण गरिरहेको
सडकको फाइल तस्बिर । 
शर्मिला उप्रेती
विदुर\राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडकले ६० प्रतिशत काम सकेको छ । आयोजनाले ३ खण्डमा काम गरिरहेको यो आयोजना अन्र्तगतको सडक गल्छीदेखि रसुवागढी नाकासम्म ८२ किलोमिटर छ ।
पहिलो खण्ड गल्छी–मैलुङसम्मको ४६ किमि भित्र आयोजनाले ६० प्रतिशत कामको प्रगति गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । पहिलो खण्ड धादिङको गल्छी हुँदै नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पीपलटार, गंगटेसम्म २० किलोमिटर सडक स्तरोन्नति गरेको छ । अब ४० प्रतिशत काम बाँकी रहेको बताइएको छ । त्यस्तै, योजना अन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुलको प्रगति भने ३० प्रतिशत मात्रै रहेको छ ।
पिच नभएको ठाउँमा बेस, सब–बेस राखिएकाले बाह्रै महिना सडक सुचारु हुने आयोजनाका योजना प्रमुख भण्डारीले बताए । त्यसैगरी, मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १९ किमि सडक ठेक्का आह्वान गरेको छ । स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म १७ किमि चीन सरकारको सहयोगमा निर्माण हुनेछ । आगामी वर्षमा पहिलो खण्डको बाँकी ४० प्रतिशत काम भित्र पर्ने २३ किमि सडक पूरै पिच गरिसक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
२०७७ साल जेठ २२ सम्ममा कार्य सक्ने गरी काम भइरहेको छ । आयोजनाले ३ बर्षभित्र पूरै काम सक्ने गरी काम अघि बढी रहेको प्रमुख भण्डारीले बताए । मैलुङ–स्याफ्रुबेंसी ३० महिनामा काम सक्ने लक्ष्य छ भने स्याफ्रुबेंसी–रसुवागढी ३९ महिनामा काम सकिनेछ । २०७२ सालको मन्त्रिपरिषद्को निर्णय अनुसार गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक गौरवको आयोजना सूचीकृत गरेको हो ।
आयोजनाको कार्यालय विदुरमा स्थापनाको समयमा नौ अर्ब ५० करोड बजेट प्रक्षेपण भएपनि त्यो रकम अहिलेनै सडक निर्माणका लागि अपुग हुने देखिएको छ ।
पृथ्वी राजमागस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि सुरु भएको हो । विसं २०७८ भित्र यो सडक निर्माणको काम सकिनु पर्नेछ ।
सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनी मार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशुली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सन मार्फत भइरहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको छ । 

No comments:

Post a Comment