![]() |
डा.रेमकुमार राई कोल्पुटारमा तारकेश्वरका अध्यक्ष रमेश वस्तीको जाँचगर्दै । |
विदुर\कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट आम नागरिकलाई सुरक्षित राख्न राज्यले मुलुकलाई ‘सेमि लकडाउन’ को अवस्थामा राखेर आफ्ना सबै संयन्त्रहरूलाई संक्रमण नियन्त्रण अभियानमा परिचालन गरिसकेको छ । नुवाकोटमा पनि कोरोना भाईरस बिरुद्धको अभियानलाई तिब्रताका साथ अघि बढाईएको छ भने संक्रमण नियन्त्रणमा उच्च सतर्कता अपनाईएको छ ।
यसैक्रममा शनिवार काठमाडौं र तराईका जिल्लाहरूबाट नुवाकोट प्रबेश गर्ने प्रमुख नाका गल्छी रसुवागढी सडक खण्डमा पर्ने बेलकोटगढी नगरपालिका वडा नम्वर ६ को कोल्पुटारमा चेकप्वाईन्ट सहित हेल्थ डेस्क सञ्चालनमा ल्याईएको छ । चेकप्वाईन्टको जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डा. रेमकुमार राईले प्रतिनिधिसभा सदस्य नारायण खतिवडाको शरिरको तापक्रम ‘थर्मोमिटर गन’बाट परिक्षण गरेर सुरुवात गरियो । यससंगै यो नाकाबाट प्रबेश गर्ने सबै नागरिकलाई स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रबेश गर्न दिईने प्रबन्ध मिलाईएको छ । चेक प्वाईन्टमा विदुर नपा, बेलकोटगढी नपा र तारकेश्वर गापाका स्वास्थ्यकर्मीका साथै प्रहरी चौबिसै घण्टा तैनाथ रहनेछन् । नुवाकोट प्रबेश गर्ने गुर्जेभञ्ज्याङ र ककनी नाकामा समेत चेकप्वाईन्ट सहितको हेल्थ डेस्क स्थापना गरिएको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए ।
यसअघि कोल्पुटार बजारमा आयोजित स्थानीयहरूसंगको अन्तरक्रियाका क्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल र तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती, नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले कोरोना संक्रमण रोकथामका लागि राज्यले चालेका हरेक प्रयासहरूलाई प्रभावकारी बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
त्रिशुलीअस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डा. रेमकुमार राई र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जनार्दन सिलवालले कोरोना रोकथामका लागि भए गरेका प्रयास, उपलब्ध जनशक्ति र प्राबिधिक पक्षको जानकारी गराए ।
![]() |
पञ्चकन्याका अध्यक्ष तेजबहादुर तामाङ नाकाको हेल्थडेक्स उद्घाटनगर्दै । |
नागरिकलाई गाउँपाकिलाले सकेसम्म बाहिर नजान आग्रह गरेको छ । साथै, घरघरमा पुगेर भाईरसको संक्रमणबाट बच्ने उपायको बिषयमा जनचेतना समेत फैलाउदै आएको छ । ‘घरको दैलोमा नाग टाँसेको जस्तै गरेर कोरोनाबाट बच्ने उपायको पर्चा घरघरको दैलोमा टाँसेका छौं’ अध्यक्ष तामाङले भने । साथै, गाँउपालिका आफैले सबै वडाको बिभिन्न स्थानमा हात धुने ब्यबस्था समेत मिलाएको छ । त्यसका लागि साबुन र पानीको ब्यबस्था गाउँपालिकाले ठाउँ ठाउँमा गरेको छ ।
यातायातको निःशुल्क सुविधा
विदुर\विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंबाट नुवाकोट आउने यात्रुलाई विभिन्न संघसंस्था, व्यवसायी र जनप्रतिनिधिहरूले निःशुल्क बससेवा सञ्चालन गरिरहेको छ ।
संक्रमण नेपालमा फैलन नदिन सरकारले आज सोमवार (चैत १० गते)देखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय समेत गरिसकेको छ । तर नुवाकोट–काठमाडौं लामो दुरीमा पर्दैन ।
ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले काठमाडौंबाट त्रिशुलीसम्म आउने बस आइतबारदेखि सञ्चालनमा ल्याएको छ । प्रालिले दुई वटा बस सञ्चालन गरेको छ । काभ्रेका लागि पनि दुई वटा बस सञ्चालन गरेको छ । ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर घर जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गरिएको बताए ।
यस्तै, दुप्चेश्वर गाउँपालिकाले सवारीसाधनको अभावको कारण घर फर्कन असमर्थकहरूका लागि चैत्र ८ र ९ गते काठमाडौंस्थित नयाँ बसपार्कदेखि पालिकासम्मका लागि बस सेवाको व्यवस्थामा सहजीकरण गरेको अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिए ।
यस्तै, टिमुरे यातायात प्रालिले काठमाण्डौ–त्रिशुली रुटमा सोमबारदेखि निशुल्क वस सञ्चालन गर्ने भएको छ । आज सोमवारदेखि दैनिक ४ वटा एसी बस निःशुल्क रुपमा सञ्चालन गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष ओमप्रकाश जोशीले बताए । बसहरू आज सोमबार विहान ६ः०० बजे र दिउँसो १ः०० बजे काठमाण्डौबाट त्रिशुलीका लागि छुट्ने र त्रिशुलीबाट बिहान ७ः ०० बजे र दिउँसो १२ः०० बजे काठमाडौंका लागि छुट्ने छन् । त्यस्तै सोही समयमा मंगलवार र बुधवार पनि निःशुल्क सेवा दिनेछ ।
विदुर नगरपालिका वडा नंं. १० ले पनि निःशुल्क बस सेवाको व्यवस्था गरेको छ । वडाअध्यक्ष तोयानाथ थपलियाका अनुसार गेर्खु आउन चाहानेहरूले काठमाडौं नयाँ बपसपार्क–माछापोखरीबाट निःशुल्क बस सेवा पाउने छन् ।
‘आईसियु बनाउँछौं’
विदुर\तारकेश्वर गाउँपालिकाले कोरोना भाईरस संक्रमणप्रतिको सतर्कतालाई उच्च प्राथमिकतामा राख्दै त्रिशुली अस्पतालमा सघन उपचार कक्ष (आईसियु) निर्माण गर्ने भएको छ ।
कोरोना भाईरसबाट संक्रमित भएकाहरू मध्ये केहीलाई उपचारका लागि आईसियु अत्याबश्यक पर्ने भएपनि जिल्लामा उक्त सेवा उपलब्ध नभईरहेको सन्दर्भमा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले आईसियु निर्माणमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
आईतबार बिहान पत्रकार शिव देबकोटासंग कुरा गर्दै अध्यक्ष वस्तीले कोरोना भाईरसको संक्रमणबाट आम नागरिकलाई जोगाउनु सबैको दायित्व भएको बताउँदै स्वास्थ्य सेवाको अभावमा कुनै पनि नागरिक प्रताडित हुन नपरोस भनेर गाउँपालिका आईसियु निर्माणको निष्कर्षमा पुगेको बताए । केही दिनमै बस्ने गाउँपालिका बैठकले यसबारेमा आधिकारीक निर्णय गर्ने बताउँदै अध्यक्ष वस्तीले जिल्लाका अन्य गाउँपालिकाहरूलाई पनि यसतर्फ गम्भीर भएर सोच्न आग्रह गरे ।
त्रिशूली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईका अनुसार कोरोना संक्रमितहरू मध्ये ५ प्रतिशतमा ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ देखिने र उनीहरूलाई ‘भेन्टिलेटर’मै राखेर दक्ष जनशक्तिद्वारा उपचार गर्नुपर्ने भएकाले ‘आईसियु’ आवश्यक हुन्छ ।
पत्रकारहरु जिम्मेवारीबोधका साथ क्रियाशिल
विदुर\नुवाकोटका पत्रकारहरूले कोभिड–१९ को संक्रमणका कारण सिर्जित समस्याहरूको सामना गर्न राज्यका सबै पक्ष क्रियाशिल भएको सन्दर्भमा आफ्नो पेशागत मर्यादालाई समेत मध्यनजर गर्दै जिम्मेवारी बोधका साथ क्रियाशिल हुने प्रतिबद्धता जनाएका छन् ।
कोरोनाको त्रासका कारण आम नागरिक समस्यामा रहेका बेला सत्य र तथ्य समाचार संप्रेषण गरी समाजमा फैलाईएका नकारात्मक समाचारहरू खण्डित गर्दे नागरिकको तेस्रो आँखाका रुपमा आफुलाई क्रियाशिल बनाउन पत्रकारहरू प्रतिबद्ध भएका छन् । शनिवार नेपाल पत्रकार महासंघ नुवाकोटले आयोजना गरेको कोरोनाको सन्त्रासका बेला पत्रकारहरूको भूमिका सम्बन्धि अन्तरकृया कार्यक्रमका सहभागी पत्रकारहरूले संकटको बेला नागरिकले सञ्चार माध्यमहरूबाट प्रवाह हुने समाचारलाई बिश्वास गर्ने भएकाले जिम्मेवारीपूर्ण रुपमा समाचार संप्रेषण गर्न‘पर्ने धारणा ब्यक्त गरे । आधिकारिक स्रोतबाट प्राप्त समाचारलाई संप्रेषण गर्ने र सम्प्रेषण गर्दा कुनै कोणबाट पनि नागरिकमा त्रास र उत्तेजना फैलन नपाओस भन्ने तथ्यलाई आत्मसात गर्न‘पर्ने उनीहरूको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनालले समाचार संकलन गर्दा जिम्मेवार बन्न र आफ्नो सुरक्षालाई ध्यान दिँदै नागरिकप्रतिको दायित्वबोध गर्न आग्रह गर्दे सकेसम्म भीडमा नजान र आफूले जानेका सुरक्षात्मक उपायहरूबारे अरुलाई पनि जानकार बनाउन आग्रह गरेका थिए । उनले कोरानोको संक्रमणबाट पहिला पत्रकार जोखिममा पर्ने तर्फ इंकित गर्दै सुरक्षित रहरेर समुदायलाई सूसूचित गर्ने तरिका र तयारकिा बारेमा बताएका छन् ।
त्यसक्रममा पत्रकार महासंघ बागमती प्रदेशका सदस्य रामहरि गजुरेल, प्रेस संगठनका केन्द्रीय सदस्य देबचन्द्र भट्ट, प्रेस युनियनका पूर्ब केन्द्रीय सदस्य शिव देबकोटा, प्रेस संगठनका नुवाकोट अध्यक्ष भोलाराज पौडेल, नुवाकोट उदोग बाणिज्य संघका द्धितिय उपायक्ष सन्तोष उप्रेती लगायतले अनुपम उदाहरण देखाउन सबै पत्रकारहरूले आफूलाई जिम्मेवारी बोधका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।
जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर दिपेश उप्रेती र स्वास्थ्य कार्यालयका अधिकृत जनार्दन सिलवालले कोरोना भाईरसको बिबिध पक्षहरूका बारेमा जानकारी गराउँदै सचेतना अभियानलाई प्रभावकारी बनाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका अपेक्षित रहेको धारणा ब्यक्त गरे ।
No comments:
Post a Comment