Monday, March 16, 2020

पहिलो किस्ता लिने अन्तिम मिति चैत मसान्त

विदुर\२०७२ सालको भूकम्पबाट भत्किएका घरको पुनर्निर्माणका लागि निजी आवास अनुदान दिने समयावधि थप भएको छ । 
     राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५-७६ बाट लाभग्राही कायम भएका र प्राधिकरणबाट २०७६ मंसिरपछि कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले चैत २०७६ भित्र सम्झौता गरी पहिलो किस्ता लिइसक्नु पर्ने भएको छ ।
छुट तथा पुनः जाँच सर्वेक्षणबाट लाभग्राही कायम भएकाबाहेक सबै पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले समेत अब चैत मसान्तभित्र पहिलो किस्ता लिन सक्नेछन् ।
तर, यसका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिस लिएर पुननिर्माण जिल्ला सहजिकरण समितिबाट निर्णय गराउनु पर्नेछ बताइएको छ । यस अघि नै लाभग्राही कायम भएकालाई प्राधिकरणले पटक-पटक अवसर दिँदै आएको भएपनि कतिपय लाभग्राहीले पुनर्निर्माण अगाडि बढाएका छैनन् ।
उनीहरूले सरकारी अनुदान प्राप्त गर्न अब तोकिएको प्रक्रिया पुरा गरी चैत मसान्त भित्र पहिलो किस्ता बुझ्नु पर्ने भएको छ । माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छुट र पुनसर्वेक्षणबाट आएका लाभग्राहीले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।
तर, पुराना लाभग्राहीले भने स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिबाट निर्णय गराउनु पर्ने भएको छ । यी सबै लाभग्राहीले तेस्रो किस्ता भने मंसिर २०७७ भित्र लिइसक्नु पर्ने गरी नयाँ मिति तोकिएको हो । यसअघि प्राधिकरणले पुनः जाँच तथा छुट सर्वेक्षणबाट कूल ७ हजार ४९४ लाभग्राही थप गर्ने निर्णय गरेको थियो ।

No comments:

Post a Comment