यसरी सम्भव भयो रेडियोबाट रिजल्ट
बैशाख ११, २०७७ मा नुवाकोटबाट प्रशारण हुने टिभि त्रिशुली र सात वटा एफएम रेडियोहरूबाट एउटा विद्यालयको बार्षिक परीक्षफलको नतिजा सार्वजनिक भयो । नुवाकोटको सन्र्दभमा विल्कुलै फरक अनुभव र प्रयोगको रुपमा रहेको आम सञ्चारका माध्यमबाट विद्यालयको परीक्षाफल सार्वजनिक गर्ने प्रयास सम्भवत अन्यत्र पनि नभएको वा कमै भएको हुनुपर्छ । विश्व महामारीको रुपमा रहेको कोभिड(१९ अर्थात् कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११, २०७६ देखि अहिलेसम्म नेपाल लकडाउन (बन्दाबन्दी) मा छ । नेपाल मात्रै होइन विश्वका लगभग सबै देशहरू अहिले लकडाउनको अवस्थामा छ । मानिस–मानिस बीचको भौतिक वा शारिरिक दुरी कायम गर्नका लागि गरिएको लकडाउनले सबै क्षेत्रलाई प्रत्यक्ष प्रभावित पारिरहेको छ । यो अवस्थामा नियमित हुने पर्ने काम, गतिविधि, अभियान ठप्प प्रायः छ ।
विदुरमा रहेको पृथ्वी मावि बर्षेनी एसईई परीक्षामा सर्वोकृष्ट नतिजा सहित तारिफको केन्द्रमा रहँदै आएको छ । एक दशक भन्दा पनि कम समयमा गरिएको सुधारमुखी ब्यवस्थापनले पृथ्वी माविलाई ‘यहाँबाट त्यहाँ’ पु¥याएको छ । विद्यार्थी, अभिभाव, शिक्षा र नतिजाका लागि ‘क्रियटिभ’ काम हुँदै आएको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने एक किसिमको औडाह र उकुसमुकुसमा हुनुहुँदो रहेछ । बैशाख १० गते राती मलाई फोन आयो । परीक्षाको नतिजा तयार पारेर राखिएको तर अभिभावक र विद्यार्थीहरू माझमा एकै साथ पु¥याउने बिकल्पको खोजीमा उहाँ हुनुहुँदो रहेछ । विद्यालयमा नतिजा टाँस गरेर सामाजिक सञ्जालमा राख्ने विकल्प उहाँसित थियो । तर त्यो गर्दा पनि आम अभिभावकहरू ईन्टरनेटको पहुँचमा नरहेकोले कम प्रभावकारी हुने बुझाई उहाँकै देखियो । फेरि अभिभावकहरू बन्दाबन्दी छल्न र जीवन सहज पार्न विदुर र आसपासलाई छाडेर आफ्नो पुख्यौली ठाउँ वा गाउँतिर फर्किएको अवस्था पनि छ । यो अवस्थामा एफएम रेडियोलाई प्रयोग गरेर नतिजा प्रकाशन गर्ने तरिका मैले उहाँलाई सुझाएँ । उहाँ तुरुन्तै तयार देखिनुभयो र सुरु भयो रेडियोबाट विद्यालयको नतिजा प्रकाशन गर्नका लागि गृहकार्य ।
एफएम रेडियोबाट कुनै विद्यालयको नतिजा सार्वजनिक गर्नु एउटा क्रमभङ्गता थियो । मानिसहरूले के भन्छन्, वा कुन कुन कोणबाट बहश हुनसक्दा भन्ने सामान्य आँकल पनि मनमनै नगरेको होइन । तर अहिलेको अवस्थामा यही तरिका बढि सान्र्दभिक ठानें । भर्खरै सुरु भएको नुवाकोट रेडियो सञ्जालका सदस्य रेडियोहरूलाई यो प्रस्ताव पठाएँ, सबैले सहर्ष स्विकार गर्नुभयो । सातवटा एफएम रेडियोहरू रेडियो त्रिशुली, रेडियो जालपा, नुवाकोट एफएम, रेडियो सञ्जिबनी, मिक्स एफएम, गज्जवको रेडियो र रेडियो भैरबीमा एकैसाथ परीक्षाको नतिजा प्रशारण गर्ने आन्तरिक सहमती जुट्यो । सबैको अनुकल समय अपरान्ह साढे चार बजे उपयुक्त भएपछि स्कुलका प्रधानाध्यापक बाबुराम सरलाई समय प्रस्ताव गरेँ । नतिजलाई पुनः हेर्ने र अन्तिम रुप दिँदा दिउँसोको समय नै उपयुक्त हुने भएपछि उहाँहरू नतिजालाई अतिम रुपम दिनतिर लाग्नु भयो, हामी रेडियोमा प्रशारण गर्नका लागि चाहिने तरतम्य तिर लाग्यौं । विद्यालयमै गएर रेकर्ड गर्ने, विद्यालयबाटै टेलिफोन प्रयोग गरेर प्रत्यक्ष प्रशारण गर्ने, स्टेशनमै बोलाएर प्रत्यक्ष प्रशारण गर्ने वा स्टेशटमा उहाँहरूलाई बोलाएर रेकर्ड गरेर साढे चार बजे प्रशारण गर्ने । हामीसति यही विकल्पहरू थिए । यसमध्यै एउटा विकल्प छनौट
गरेर त्यसको तयारी तिर लागियो । त्यसबेलासम्म फोनमै भइरहेको सम्वाद, तयारीले अन्तिम रुप लिने बेला करिव दिउँसोको १ बज्नै लाग्दा भयो ।
प्रधानाध्यापक बाबुराम लामिछाने र सहायक प्रधानाध्यापक विश्वराज भट्टराई रेडियो त्रिशुलीको स्टेशनमा आउनु भयो । यो बीचमा मेरो योजना केही फेरिसकेको थियो । रेडियोबाट मात्रै किन टेलिभिजनबाट पनि प्रशारण गरु भनेर तयारी सुरु गरिसकेको थिएँ । टिभि त्रिशुली र रेडियो त्रिशुलीको स्टेशन एकैठाउँमा भएरै मलाई सजिलो भइरहेको थियो । टिभिका समाचार प्रमुख भाई सुजित भण्डारीलाई स्टेशनमा बोलाएर रेडियोमा प्रस्तुत गर्ने विद्यालयको बार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने कार्यक्रमलाई रेडियोकै स्टेशनमा छायाङ्कन गर्ने भनिसकेको थिए । रेडियो त्रिशुलीका प्राविधिक बहिनी प्रितिका थापा तयारी अवस्थामा थिए । टिभिको ‘लाइट’लाई रेडियोको स्टुडियोमा सार्ने काम भइसकेको थियो । यी सबैको जोरजम्मा र व्यवस्थापनका लागि रेडियोका स्टेशनम्यानेजर शर्मिला उप्रेती लागेका थिए ।
प्रधानाध्यापक बाबुराम सर र सहायक प्रधानाध्यापक विश्वसरले रेडियोको स्टुडियोमा बसेर नतिजा रेकर्ड गर्नुभयो । विश्वसरसित एफएम रेडियोमा लामो समयसम्म कार्यक्रम प्रस्तुत गरेको अनुभवका कारण पनि झन् सजिलो भयो । मलाई मनमनै भइरहेको खुल्दुली चाँही अनुत्र्तिण हुने विद्यार्थीहरूको नाम यसरी आम सञ्चारका माध्यामबाट भन्दा विद्यार्थीमा के चोट पर्ला भन्ने थियो, तर उहाँहरूको तयारी उत्र्तिण विद्यार्थीको नाम र प्राप्ताङ्क मात्रै भन्ने गरि भएको रहेछ । मेरो कौतुहलता पहिलो कक्षाको नतिजा सुन्दा नै शान्त भयो । करिव साढे १ बजेतिर सकिएको रेकर्डिङलाई साढे चार बजेबाट सात वटै एफएम रेडियो, टिभि त्रिशुलीमा एकसाथ प्रशारण गरियो । संगै टिभिको युटुयुव च्यानल, रेडियोहरूको अनलाईन पेज, फेसबुक पेजबाट पनि प्रशारण भए ।
प्रशारण सुरु भएसंगै अधिकांश टिप्पणीहरू सकारात्मक आए । ओहो ! लकडाउनले नतिजा पनि सार्वजनिक गर्न पाइएन भनेर बसेका हामीलाई यो सिकाईको रुपमा रह्यो, हामीले पनि यसरी गर्दा त हुने रेछ नि भन्ने केही विद्यालयका शिक्षकहरू पनि भेटिनु भयो । अब उहाँहरूले यसै गरी नतिजा सार्वजनिक गर्नुहुन्छ वा कसो गर्नुहोला, तर रेडियोकर्मको केही वर्षको यो समयमा लकडाउनकै बहानामा भएपनि नयाँ अनुभव प्राप्त गर्ने अवसर प्राप्त गरें । नयाँ काम र अनुभव सृजनाका सहयात्री हुनुहुन्छ ः रेडियो जालपाका जगदीश खनाल, रेडियो भैरबीका देवचन्द्र भट्ट, नुवाकोट एफएमका श्रीराम अधिकारी, रेडियो सञ्जवनीका गमला लामा, मिक्स एफएमका रुपा अर्याल, विष्णु अधिकारी र गज्जवको रेडियोका पुरुषोत्तम बस्नेत ।
(लेखक नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष हुन् ।)
No comments:
Post a Comment