विदुर\नुवाकोटको मानिसहरूको बढी बसोवास रहेको क्षेत्रहरूमा अहिले हरियो तरकारीको अभाव छ । पाइहालेको तरकारीको मुल्य पनि अचम्मैसंग बढेको छ । तर त्यही तरकारी बेच्न आउने गाउँका तरकारी उत्पादक कृषकहरू भने तरकारी विक्रि नभएर दिनहुँ आधा भारी बाटोमा फालेर घर फर्किरहेका छन् । बेलकोगढी नगरपालिका वडा नं. १० बेलकोट हर्रेको कृषक पवन पौडेलले अहिले यस्तै समस्या भोगिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि चैत ११ गतेदेखि जारी रहेको यो बन्दाबन्दीले अहिले दैनिक जनजीवन अस्तब्यस्त बनिसकेको छ । कतै खान नपाउनेहरूको भिड छ भने कतै उत्पादन भएको कृषिजन्य सामाग्रीहरू कुहिने अवस्था आएको छ ।
विशेष गरी दैनिक रुपमा प्रयोग गर्नुपर्ने र लामो समय भण्डार गर्न नसकिने तरकारीका कारण दुई तर्फ मार परिरहेको छ । उपभोक्ताहरू सहरी क्षेत्रमा महंगो परिरहेको गुनासो गरिरहेका छन् । त्यत्ति मात्रै होइन दोब्बर भाउमा पनि हरियो तरकारीहरू नपाउने अवस्था आइसकेको बताउछन् विदुरका राजु थापा ।
तर तरकारी उत्पादक कृषकको पिडा भने अर्कै छ । उनीहरूले डोकोमा बोकेरै नुवाकोटको बढी घनत्व रहेको ठाउँसम्म सबेरै तरकारी पु¥याउँदा पनि किन्ने ग्राहक छैनन् । बेलकोटगढी नगरपालिका वडा नं. १० बेल्कोट हर्रेका पवन पौडेल दिनहुँ तरकारी बोकर त्रिशुली, बट्टार लगायतका बजार डुल्छन् र घर जाँदा आधी थुञ्चे बाटोमा फालेर जान्छन् ।
यसरी उपभोक्ताले दोब्वर तिर्दा पनि नपाउने र कृषकहरू आधा उत्पादन फालेर घर जानु पर्ने दोहोरो अनौठो अवस्था नुवाकोटमा सृजना भएको छ । तरकारी व्यवसायीहरूले बिक्न छाडेको भनेर कृषकसंग तरकारी खरिद गर्न नमान्ने र कृषकहले सिधै उपभोक्ता भेट्न नपाउने कारणले नै यसो भएको हो ।
आफ्नो बारीमा अहिले लहलहाइरहेको हरियो तरकारी के गर्ने भन्नेमा चिन्तित् छन् तरकारी उत्पादक पवन पौडेल ।
तरकारी जस्तै दुध, अण्डा तथा मासु उत्पादन गर्दै आएका किसानहरू पनि बजार नपाएर अहिले भुतुक्कै भएका छन् । यस अघि काठमाडौंको तरकारी बजारमा महत्वूर्ण हिस्सा लिइरहेको थानसिंग क्षेत्रका कृषकहरू अहिले डोका थुञ्चेमा गाउँ डुलाएर विक्ने तरकारीको आम्दानीमा चित्त बुझाइरहेका छन् । तरकारी ढुवानीका लागि सरकारले छुट दिएको भएपनि अहिलेको अवस्थामा गाउँ अनि कुनातिरका कृषकहरूले बजारमा उत्पादन
लैजान नसकेको थानसिंगका प्रदिपप्रसाद पाठक ‘सुमन’ले बताए ।
यसरी नुवाकोटको उत्पादनशिल क्षेत्रका कृषकहरू कोरोना भाइरसको बन्दाबन्दीको प्रभावमा परिरहेका छन् । आफ्ना गुनासो राख्ने ठाउँसम्म नमिनेको कृषकहरूको भनाई छ । काम गर्ने कृषक खेतबारीमै अल्झिरहने भएको अहिलेको यो समस्या कहाँ लगेर सुनाउँदा समाधान हुने पत्तो नभएको बताउछन् कृषक पवन पौडेल ।
नुवाकोटका अहिले काठमाडौं र धादिङ्गबाट हरियो तरकारी आइरहेको छ । मुल्य ह्वात्तै बढिसकेको छ । तर नुवाकोटकै उत्पादनहरू भने यसरी कुहिएर गइरहेको छ । यसमा कृषि सहकारी, कृषक समुहहरूले अग्रसरता लिएर यहाँको उत्पादन यही नै खपत हुने वातावरणको सृजना गर्नु आवश्यक देखिएको छ ।
No comments:
Post a Comment