Wednesday, January 22, 2020

मनमोहक बाघमारा

तादी गाउँपालिकाको बाघमारामा रहेको
एक घर र बाख्रा चराउँदै बालिका ।
प्रितिका थापा
बाघमारा(तादी)\नेपाल भ्रमण वर्ष २०२० का लागि नुवाकोटमा चर्चा भएका पर्यटकिय स्थलहरू मध्येको एक बाघमाराले आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रतीक्षा गरिरहेको छ । नुवाकोटको ६० प्रतिशत भन्दा बढी भुभाग नजिकैबाट हेरेको अनुभुती हुने बाघमारा तादी गाउँपालिकामा रहेको छ ।
मनोरम दृष्य, पिकनिक तथा चिसो हावापानीका लागि प्रशिद्ध यो माघमारा तादी गाउँपालिकाको वडा नं. ४ र २ मा पर्दछ । अधिकांश भुभाग वडा नं. ४ मा पर्ने यो अलौकिक पर्यटकिय स्थलको केही भुभाग वडा नं. २ मा समेत फिजारिएको छ । केही दशक पहिलानै पर्यटकिय सम्भावनाका रुपमा पहिचान भएको यो ठाउँको प्रचार र भौतिक संरचनाको व्यवस्था नहुँदा ओझेलमा पर्दै आएको थियो । जब स्थानीय सरकार स्थापनासंगै तादी गाउँपालिका सक्रिय बन्यो त्यसपछि यसको प्रशस्त सम्भावनाको खोजी भएको छ । यहाँ पर्यटकको लागि विश्राम गर्ने घुम्तीघरको समेत स्थापना भइसकेको वडा नं. ४ का अध्यक्ष मुक्तबहादुर श्रेष्ठ बताउँछन् । ‘नेपाल भ्रमण वर्षका लागि बाघमारा नुवाकोटको एउटा गन्तब्यमा विकास भएको छ’ श्रेष्ठले भने ।
यो बाघमाराबाट नुवाकोट जिल्लाको आधाभन्दा बढी भु–भाग नजिकैबाट अबलोकन गरेको अनुभुती हुन्छ । यहाँबाट छिमेकी गाउँपालिकाहरू सबैको दृष्याबलोकन गर्नसकिने भएकोले पनि यहाँ छिमेकी गाउँपालिका तथा काठमाडौंबाट घुम्न, हेर्न र पिकनिकका लागि पर्यटकरु आउने गरेका छन् । दिनानुदिन पर्यटकको चाप बढेकै कारण गाउँपालिकाले बाघमाराको संरक्षण, प्रचार र आवश्यक भौतिक पुर्वाधारका लागि कार्य गरिरहेको छ । यस तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे बाहिर जिल्लादेखिनै बाघमाराको पकृति सौन्र्दभको अवलोकन गर्न आउने गरेको बताउँछन् । ‘भ्रमण वर्ष सुरु भएपछि त झन् यहाँ आन्तरिक पर्यटकहरूको संख्यामा वृद्धि भएको छ’ अध्यक्ष पाण्डेले भने ।
प्राकृतिक रुपले असाध्यै मनमोहक तादी गाउँपालिकामा आन्तरिक पर्यटक र बाह्य पर्यटकहरूका लागि घुम्न, समय बिताउन र अध्ययन गर्नका लागि प्रशस्त स्थानहरू छन् । अर्गानिक गाउँदेखि शहर अनि विकासोन्मुख शहर रहेको यहाँ आन्तरिक पर्यटकहरूका लागि थुप्रै सम्भावना देखापरेको छ । यसको उजागर र बजारिकरण गर्नका लागि स्थानीय सरकारले विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । तादी गाउँ पालिकाका उपाध्यक्ष ईश्वरी उप्रेती भ्रमणका लागि तादी गाउँपालिकामा प्रशस्त स्थानहरू अन्यत्र पनि प्रशिद्ध रहेको बताउँछन् ।
बाघमारा बाहेक नर्जामण्डपको कोट, उर्लेनी, पौडाँडा यहाँ सहज यातायतको पहूाच भएको र आर्कषण् पर्यटकिय क्षेत्रहरू हुन् । 

सुर्यचौर ‘प्याराग्लाइडिङ जोन’

नेपाल प्याराग्लाइडिङ प्रालिले गएको महिना सुर्यचौरबाट
गरेको प्याराग्लाइडिङको सफल परीक्षण उडान । तस्बिर : हरि भेटुवाल 
विदुर\साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि नुवाकोटको एउटा पर्यटकिय क्षेत्र थपिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शिवपुरी गाउँपालिकाको सुर्यचौर क्षेत्र एक ‘प्याराग्लाइडिङ जोन’ थपिएको छ ।
यहाँ व्यवसायी उडानका लागि कम्पनीलाई नेपाल सरकारले अनुमती प्रदान गरेको हो । फागुन १५ गते पछि कम्पनीलाई व्यवसायीक रुपमा नै उडान गर्न सरकारले अनुमती दिएको बताइएको छ । यहाँ प्याराग्लाइडिङ उडाउनका लागि प्राधिकरणसित नेपाल प्याराग्लाइडिङ प्रालिले अनुमति लिएको हो ।
त्यस अघि प्रालिले पटक पटक सुर्यचौरमा परीक्षण उडान गरेको थियो । ६५ सय फिटसम्मको उचाईसम्म उडान गर्न सक्ने गरी कम्पनीले अनुमति पाएको छ । 

एकीकरण मार्ग निर्माण हुने


पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा हिडेको पैदल मार्ग पछ्याउँदै
गोरखबाट आएको नेपाली सेनाको टोली नुवाकोट दरवार परिसरमा ।
विदुर\अघिल्लो साता गोरखाबाट नुवाकोट हुँदै काठमाडौं पुगेको एकीकरण पदयात्राले सार्थकता पाउने देखिएको छ । आधुनिक नेपालको एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक सम्पदा र स्थललाई समेटेर ‘एकीकरण मार्ग’ निर्माण गरिने भएको हो । नेपाल एकीकरणका नायक तत्कालीन पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानमा योद्धाहरूले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने एकीकरण मार्ग बनाउन लागिएको हो ।
नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गरेर नेपाली सेनाले एकीकरण मार्ग निर्माण गर्न लागेको हो । एकीकरणको दौरानमा प्रयोग गरिएका बाटो तथा लडाईं लडेका गढी एवं किल्ला सबैलाई समेटी उक्त स्थानको व्यवस्थित ढङ्गबाट सम्वद्र्धन र जर्गेना गर्ने लक्ष्य रहेको छ । संघीय सरकार तथा स्थानीय तहको सहयोग र समन्वयमा नेपाली सेनाले एकीकरण मार्गको अवधारणा अघि बढाएको हो ।
पुर्खाको गौरवपूर्ण इतिहासको महत्व दर्शाउने र सो मार्फत राष्ट्रिय एकताको भावना जागृत गर्ने एवं सर्वसाधारणलाई समेत सम्मिलित गराई विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले पदमार्ग
निर्माणको अवधारणा ल्याइएको सेनाले जनाएको छ । एकीकरण मार्गको आगामी फागुन अन्तिम साता काभ्रे जिल्लाबाट शुभारम्भ गरिनेछ । क्रमशः सातै प्रदेशका जिल्लामा एकीकरण मार्ग सञ्चालन गरिनेछ ।
चालू आवको नीति तथा कार्यक्रममा समावेश भएका सो पदमार्ग निर्माणका लागि यसै आर्थिक वर्षमा बजेट विनियोजन भई काम अघि बढेको सेनाले जनाएको छ । उक्त अवधारणलाई कार्यान्वयनमा लैजान विज्ञ तथा सरोकारवालाको राय सुझावका लागि नेपाली सेनाले मुख्यालयमा तीन दिवसीय ‘बृहत् एकीकरण पदमार्ग सेमिनार’ आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालीबीच देशभक्तिको भावना विकसित गराई राष्ट्रिय एकताको भावना सबल बनाउने तथा गौरवपूर्ण इतिहासको जगेर्ना गर्दै भविष्य देखाउने उद्देश्यका साथ एकीकरण पदमार्ग सञ्चालन गर्न लागिएको बताए ।
उनले भौतिक संरचनाको निर्माण तथा संरक्षणका साथै एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक स्थलको संरक्षणका लागि स्थानीयको सहभागितामा एकीकरण पदमार्ग सञ्चालन गरिने उल्लेख गरे ।
राष्ट्रिय एकताको संरक्षण र सम्वद्र्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ सुरु भएको यस कार्यक्रमको दायरा निकै फराकिलो भइसकेको जनाएको छ । नेपाली सेनाको जङ्गी अड्डाले विज्ञ सहितको कार्यदल गठन गरी शुरु गरेको एकीकरण पदमार्गको निर्देशिका बनाई व्यवस्थित रुपमा अघि बढाइएको छ ।

चीनको ५६ अर्ब सुरुङ र सडकमा

काठमाडौं–केरुङ सडकमाग अन्र्तगत पर्ने प्रस्तावित टोखा–छहरे
सुरुङमार्गको  काठमाडौं टोखा तर्फको सुरुङ अग्र भागको आकृति ।    
विदुर\चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा क्रममा घोषणा भएको ५६ अर्ब रुपैयाँको चिनियाँ सहयोग काठमाडौं–केरुङ सडकमार्गमा खर्च हुने भएको छ ।
यो राजमार्गमा दुईवटा सुरुङ मार्गसहित ११ मिटर चौडाइको ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइनेछ । सडक बनेपछि काठमाडौंबाट रुसुवागढी नाका दुई घन्टामै पुगिने अनुमान छ ।  काठमाडौंको त्रिपुरेश्वरबाट सुरु भई टोखा–विदुर–बेत्रावती हुँदै रसुवागढी पुग्न १०७ किलोमिटर लम्बाइ पर्नेछ ।
चीनले यसलाई प्राथमिकतामा राख्दै अध्ययन गरिरहेको छ । सडकलाई छोट्याउन निर्माण गरिने टोखा–छहरे सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन समेत सकिएको छ ।
बेत्रावती–रसुवागढी सडक खण्डको बीचमा अर्को सुरुङ निर्माण गर्ने अध्ययनका लागि अर्को चिनियाँ टोली आउन लागेको नेपाल सरकारले बताएको छ । पुर्ब सम्भाब्यता अध्यन पछी डिपिआर तयार गरेर चाँडो निर्माण सुरु गर्ने योजनामा चिनियाँ टोली रहेको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाले जनायो । बेत्रावतीबाट रसुवागढी ५७ किलोमिटर छ । सुरुमार्ग बनाइएपछि ५ किलोमिटर घट्ने अनुमान छ ।
महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार आउँदो चैतभित्रै पूर्वसम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन पूरा हुनेछ । त्यसपछि विस्तृत आयोजना अध्ययनको काम थालिने छ । चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच अन्तर आबद्धतालाई वृद्धि गर्न काठमाडौं–केरुङ सडकमा पर्ने सुरुङमार्गको सम्भाव्यता अध्ययनगरिने समझदारी भएको थियो । पहिलो चरणमा टोखा–छहरे सुरुङको पूर्वसम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली नेपाल आएको थियो ।

पृथ्वी माविले स्मरण गर्यो योगदानकर्तालाई

सम्मान प्रदान गर्दै नेता केसी । साथमा विदुर नपाका उपप्रमुख दाहाल 
विदुर\नुवाकोटको उत्कृष्ट सामुदायिक विद्यालय पृथ्वी माविले गएको आइतवार ४५ औं बार्षिकोत्सव मनाएको छ । पछिल्लो केही वर्षदेखि नुवाकोट जिल्लामा उत्कृष्ठ नतिजा प्राप्त गर्दै आएको पृथ्वी माविलाई नमूना विद्यालयको रुपमा चर्चा गरिदै आएको छ । उक्त विद्यालयले आफ्नो ४५ औं बार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न समयमा योगदान प्रदान गर्ने व्यक्तिहरूको सम्मान गरेको छ ।

नुवाकोटको विदुरमा रहेको पृथ्वी माध्यामिक विद्यालयको ४५ औँ वार्षिक उत्सव कार्यक्रलाई सम्वोधन गर्दै नेता केसीले टुक्राटुक्रा राज्यमा विभाजित भएको नेपाललाई एकतामा बाध्न सफल व्यक्तित्वको रुपमा पृथ्वीनारायणलाई चिनिने भएकोले आधुनिकता, परिवर्तन र क्रान्तिको नाममा राज्यले बिर्सन नहुने उनले बताए ।

घुस लिने र दिने दुवै राष्ट्रको शत्रु हुन् भनिएता पनि संघिय सरकारदेखि स्थानीय तहको वडा तहले भष्ट्राचारलाई प्राथमिता दिइरहेको नेता केसीको आरोप छ । यस्तै, भक्तजनहरू जुत्ताचप्पल निकालेर जसरी मन्दिरभित्र प्रवेश गर्छन् उसैगरी विद्यालयको हाताभित्र राजनैतिक गन्धलाई भित्र्याउन नहुने नेता केसीको भनाई छ ।

नेपाली काँग्रेस नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीले सामुदायिक बिद्यालय मध्ये पृथ्वी माबि नुवाकोटकै उत्कृष्ट बिद्यालय रहेको बताए । जिल्लाकै उत्कृष्ट  सामुदायिक बिद्यालयको रुपमा रहेको पृथ्वी माध्यामिक बिद्यालयमा राजनीति गर्नेहरू बाहिरि रुपमा सलबलाउन थालेको आरोप लगाए

विदुर नगरपालिकाका वडा नं. ४ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठले पृथ्वी माविले प्राप्त गरेको उपलब्धिले साुमदाियक विद्यालयहरुको शिक्षामा नागरिकको भरोसा जागेको बताए ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विद्यालयले नुवाकोट जिल्लामा नै हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्दै आएको स्मरण गरे । साथै बिद्यालयको बिकास र गुणस्तरिय शिक्षा प्रबाह गर्न आफुहरू अझै प्रयत्नशिल रहेको उनले बताए ।

पुर्व प्रधानाध्यपाक, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, उत्कृष्ठ शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेर योगदानको स्मरण र चर्चा गरेको छ । एक दशक अघिसम्म विद्यार्थी भेट्टाउन मुस्किल गर्ने गरेको उक्त विद्यालयमा अहिले भर्ना पाउनका लागि विद्यार्थीहरूले पुर्व परीक्षा दिनुपर्ने अवस्था सृजना भएको छ । शैक्षिक गुणस्तर, राम्रो व्यवस्थापनका कारण पृथ्वी माविले जिल्लाको शिक्षा क्षेत्रमा नमूना विद्यालयको रुपमा नाम दर्ज गराएको छ ।

विद्यालय यहाँ  आइपुग्नका लागि आ–आफ्नो क्षेत्र र आ–आफ्नो समयमा योगदना र सहयोग गर्ने व्यक्तिहरूको सम्मानमा यसपालिको बाषिर्कोत्सवलाई सदुपयोग गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले इमेज साप्ताहिकलाई बताए । 

दैनिक तीन करोड संकलन

विदुर\रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा दैनिक सरदर ३ करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको छ ।
साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा रसुवा भन्सार कार्यालयबाट ७ अर्ब ३३ करोड राजश्व संकलन भएको हो । रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, तयारी पोशाक, कम्बल, विद्युत् निर्माणका सामग्री, कपडा, खेलौना लगायतका सामग्री आयात हुँदै आएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दैनिक रूपमा ५०–६० ट्रक कन्टेनरको जाँचपास हुने गरेको छ । 

रसुवाबाट आयात निर्यात बन्द

विदुर\हिमपात भएका कारण आयात निर्यात रसुवागढी नाकाबाट हुने आयात र नेपालबाट हुने निर्यात ठप्प भएको छ । चीनको केरुङमा बिहीबार बिहानदेखि शुक्रवार निरन्तर हिमपात भएका कारण आयात निर्यात ठप्प भएको हो ।
हिउँ पर्न रोकिएपछि चिसो बढेको र हिउँ नपग्लि सकेकोले आयात निर्यात रोकिएको बताइएको छ । हिउँमा गाडी चिप्लिन थालेपछि चीन तर्फको ठोङ्सा, पाङसिङ लगायतका स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

अवैध काठ सहित एक पक्राउ

विदुर\बेलकोटगढी नगरपालीकाबाट अवैध काठ सहित एकजना पक्राउ परेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नम्बर १२ स्थीत बासुकीबाट काठ ओसारपसार गरिरहेको अवस्थामा लिखु गाउपालिकाका सुजन राई पक्राउ परेका हुन् ।
प्रहरीले पाएको गोप्य सूचनाको आधारमा ना ४ ट ८७५२ र ना ३ ट ४०३३ नम्वरको ट्रयाक्टरमा सहित उनी पक्राउ गरेका हुन् । नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्लेका अनुसार पक्राउ परेका राई, सवारी धनी र काठ डिभिजन बन कार्यालय नुवाकोट पठाइएको छ । 

गोरुको मासुसहित पक्राउ

विदुर\गोरुको मासु सहित बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का बुद्धिमान तामाङ पक्राउ परेका छन् । काटेको गोरुको मासु सहित तल्लो अर्चलेबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेले बताए ।

दुप्चेश्वरमा ल्होछारको विदा

समुन्द्रटार\नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले यो साता दुई दिन सार्वजनिक विदा दिएको छ । माघ १० र १२ गते २८५६ औँ ल्होछारको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार स्थानिय कला संस्कृतिको संरक्षण र सम्मानका लागी बिदा दिएको बताए । 

पुड्केको जुक्ति...

नारायण डुङ्गाना
तारुका\अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किन्नुभएको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल ग¥यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए । लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । पुड्के गाउँ कटेपछि तारकेश्वर गाउँपालिका–३ जोरचौताराका कुमार अधिकारीको मन कुँडियो । विगतमा खान्की पु¥याउन नसकेर बेचेपनि पुड्केलाई पुनः घर फर्काए । ‘एक त ज्ञानी, अर्काे माघे संक्रान्तिको प्रतिस्पर्धामा अब्बल, नल्याई भो’, मुस्कुराउँदै उनले भने । कुमारले अरु बेला खनजोतमा प्रयोग गरे पनि तीन महिनादेखि पुड्केको पालनपोषणमै समय खर्चिए ।
छ वर्षको पुड्के हेर्दा सानो गाँठीको भए पनि कसिलो जुरो र मोटो सिङ छ । पहेँलोको जोडी बालखैदेखि चामल, घ्यू, नौनी, अण्डा खान्थ्यो । खेती कमाइ नियमित दिँदै आएको छ । बाबुसँगै छोरा श्यामसुन्दर उसकै स्याहार सुसारमा लागे । अन्ततः उनीहरूको प्रयास खेर गएन । यसपालि बुधबार (माघ १ गते) नुवाकोटको तारुकामा भएको प्रतिस्पर्धामा हक्वाँ.. हक्वाँ गर्दै पुड्के आयो । एक छिन खुट्टाले जमिन खोस्रयो, जमिनमै सिंगौरी खेल्यो । रातमाटे धुलोमा रुमल्लियो । लगत्तै आयो लाले । विकास भण्डारीको लालेसँग ऊ सात मिनेट भिड्यो । भिडन्त अवधिभर घमासान भयो । लाले जब्बर थियो । पुष्ट, मोटो अनि सर्लक्क परेको जीउ देख्दा लालेले हार्छ भन्ने दर्शकले सोचेकै थिएनन् । बेलाबेलामा पुड्केले काँध दिन्थ्यो । दर्शक अब पुड्केले हार्न लाग्यो भन्थे । हुटिङ आउँथ्यो । पुड्केका मालिक कुमार हरेस नखाई मैदानमै थिए । उसको जुक्ति र दाउ उनलाई प्रष्ट थाहा थियो । अधिकारीले भने–‘थर्काउन उसले काँध(आड) दिन्छ, जित्न कला चाहिन्छ, बल भएर हुँदैन, सिङले भेटेन भने थुतुनाले उधिनेर पाखा लगाउँछ, घुमीघुमी सबै उपाए अपनाउँछ, पुड्केमा यही विशेषता छ ।’ उनले गोरुको हारजित सामान्य भए पनि पुड्के हार्ने गोरु नभएको प्रतिक्रिया दिए ।
‘ज्यान सानो छ तर ‘पावरदारी’ छ, अर्काेको बल धेरै थियो तर बुद्धि र शैली पुगेन, पुड्केको बुद्धि भनेको दाउ हेरेर ठाउँ हेरेर कोख्याउन सक्ने हो ।’ अधिकारीले जीतपछि भने । उनका अनुसार पुड्केले खाउञ्जेल घाँस दिने गरिएको छ । दिनमा पाथीभन्दा बढी अनाज खान्छ । गोरु जुधाउन श्यामसुन्दर पनि आएका थिए । परिवारको सदस्यझैँ पालिएको पुड्केले जितेपछि खुशी भएका उनले गोरुलाई अँगालो हालेर खुशी साटे ।
बेचेको फर्काएर ल्याएँ   
पुड्के छ वर्ष अघि गाउँकै शेरबहादुर तामाङको गोठमा जन्मियोे । चार वर्षको हुँदा कुमारले किनेर ल्याए । पोहोर यही गोरु शिव ढकाल ‘झट्टे’ले खरिद गरी चन्द्रमान श्रेष्ठको रातेसँग भिडाए । उसका सामु राते निरिह बन्यो । लगत्तै पुड्केलाई फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । ‘पहिले घरमा खान्की दिन नसकेर पठाएँ, मनमा लहड चल्यो, दुई पटक बिक्री भएको गोरु फेरि फर्काएँ’, अधिकारीले थप्पे । छोरा १७ वर्षका श्यामसुन्दरको नामबाट यसपालि बुधबार पुड्के मैदानमा गएको थियो । उनले भने– ‘पुड्केले भनेको मान्छ, कसैलाई हान्दैन, गुनी छ, जुध्न भने पछिपर्दैन, त्यसैले यो मेरो साथी हो ।’ उनी पुड्केका हली पनि हुन् । सानै उमेरमा जोत्ने, साउने काम आफैँ गर्छन् ।
तारुकामा २१ हल जुधे 
पुड्के र लालेसहित यसपालि नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थित चन्दनीको कटरफेदमा २१ हल प्रतियोगी गोरु जुधे । एक हल अप्रतियोगी थियो । रेवती बखरेलले छ वर्षको मालेलाई पहिलोपटक सहभागी गराए । सिउरेनीका राजकुमार श्रेष्ठको रातेसँग माले दुई मिनेट पनि टिकेन ।
अर्जुन भण्डारीको मृगे र नवराज ढकालको काले २४ मिनेट भिडे । अन्ततः मृगेको सामु काले निरिह बन्यो । सुरुमा घमासान लडेको विष्णु श्रेष्ठको फुर्के हीरालाल श्रेष्ठको बाबुसँग नौमिनेट भिडेर भाग्यो । केही गोरु रगताम्मे हुँदा पनि लडे । केही गोरु मैदानमा जुध्दै नजुधी फर्किए । केही गोरु मैदानमा साथी बनेर फर्किएको रोमाञ्चक क्षण देखिएको थियो ।
यहाँ देखिएको फरकफरक दृश्य हेरेर उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए । युवापुस्ता सेल्फी लिँदै सामाजिक सञ्जालमा ‘लाइभ’ र ‘पोष्ट’ गर्दै थिए भने बूढापाकाले वास्तवमै मनोरञ्जन लिएका थिए । मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मदनकुमार श्रेष्ठ नेपालको गौरव र तारुकाको पौरखको रुपमा रहेको गोरु जुधाउने मेला यहाँको संस्कृति नै हो भन्छन् । 
ठूलो पाटोमा जुधाइन्छ 
चन्दनीस्थित झमबहादुर प्रधानको कटरको फेदको बारीको पाटोमा हरेक वर्ष गोरु जुधाइन्छ । दर्शक कान्ला र माथिल्लो पाटोको डाँडाभरि भरिन्छन् । स्थानीय रामजी ढुङ्गाना आफूले जान्ने भएदेखि गोरु जुधेको हेर्न कहिल्यै नछुटाएको बताउछन् । यो गाउँको ठूलो चाड भएको उनको बुझाइ छ । टाढा गएका पनि गोरु जुधाई मेला हेर्न यही बेला फर्कने गरेको स्थानीयको भनाइ छ । गोरु जुधाउने पाटोसहितको जग्गा सात रोपनीको छ । बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंह व्रतबन्ध गर्न यहाँको कोट दरबारमा आउँदा गोरु जुधाएको हेर्न मन लागेकाले त्यो बेलादेखि यहाँ गोरु जुधाई मेला थालिएको ८४ वर्षीय प्रधानले सुनाए । उनले आफ्नो बारीको पाटोलाई रङ्गशाला बनाउने सोच भए पनि पैसा अभाव भएको गुनासो गरे ।
यहाँ २०६३ सालपछि व्यवस्थितरुपमा गोरु जुधाउने परम्पराको थालनी गरिएको हो । बारीको पाटोलाई अझै व्यवस्थित बनाउने स्थानीयको सोच छ । यो मेलालाई सरकारले सहयोग गरेको छ । पशु अधिकारकर्मीबाट विरोध भइरहेको छ भन्ने जिज्ञासामा प्रधानले विरोधले केही नहुने दाबी गरे ।
मिति यकिन नभए पनि एक शताब्दी अघिदेखि चली आएको गोरु जुधाउने पर्वको पशु अधिकारकर्मीले सामाजिक सञ्जालबाट विरोध गरिरहेका छन् । साहित्यकार एलवी क्षेत्रीले सामाजिक सञ्जालबाट प्रश्न गरे, ‘यी ‘बुल’हरू कस्को मनोरञ्जनका लागि लड्छन् ? आफ्नो वा दर्शकको ?’ पशु अधिकारकर्मी विना पन्तले गोरु जुधाइलाई नराम्रो संस्कृतिको संज्ञा दिए । तारुकाको चन्दनीमा विरोधको कुनै गुञ्जायस थिएन । गाउँगाउँबाट हजारौँ मानिस पर्व हेर्न ओइरिएका थिए । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला पनि सो प्रतियोगिता अवलोकन गर्न आइपुगे ।
सातविसेमा पहिलो पटक
विदुर\गोरु जुधाएर माघे संक्रान्ति मनाउने परम्पराले नुवाकोट जिल्लामा व्यापकता पाएको छ । यस क्रममा नुवाकोट जिल्लामा अर्को थप एक स्थानमा यो पालीबाट गोरु जुधाउन थालिएको छ । तादी गाउँपालिका वडा नं. ४ सातविसेमा यो पालीबाट स्थानीयहरूले संक्रान्तिमा गोरु जुधाउने परम्पराको सुरुवात गरे । यो बाहेक नुवाकोटको पाँच स्थानमा औपचारिक रुपमा गोरु जुधाई मेला भएका छन् । तारकेश्वर गापाको  तारुका, विदुर नपाको बेत्रावती, पञ्चकन्या गापाको घलेभञ्याङ्ग, लिखु गापाको कट्टिछाप र शिवपुरी गापाको शेराबगरमा गोरु जुधाई भयो । तारुकामा २१, बेत्रावतीमा १५, घलेभञ्ज्याङ्गमा १०,  कट्टिछापमा ४, शेरावगरमा १० हल, सातबिसेमा १० हल जुधे ।
बेत्रावतीको गोरु जुधाई मेलाको उद्घाटन प्रतिनिधि सभाका उपसभामुख शिबमाया तुम्बाहाम्फेले गरे । उद्घाटन गर्दै उनले गोरु जुधाई मेलाले मनोरञ्जन मात्रै नभई पर्यटन बर्ष २०२० लाई सफल बनाउने दावी गरे । जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङले संस्कृतिमा धनी नेपालीले कला र संस्कृति प्रदर्शनीबाट नै मनग्य आर्जन गर्न सक्ने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले रमाईलोको लागी नभई ईतिहासलाई जीबन्त बनाउन गोरु जुधाई हुँदै आएको बताए । नेपाल–तिब्बत सन्धी (१८४९ असोज १७ गते) भएको खुशीमा जुधाउन थालिएको हो ।
सातविसेको गोरु जुधाईको उद्घाटन तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले गरेका थिए । उनले आफ्नो गाउँपालिमा हुने यस्ता अलौकिक सांस्कृतिक परम्पराले गाउँको पहिचान र पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने बताए । सातविसेमा यसपालीबाट सुरु भएको गोरु जुधाई मेलालाई अब बर्षेनी आयोजना गर्ने स्थानीय नागरिकहरूले बताएका छन् । 

धार्मिक पुस्तकालय बन्ने

बट्टार\शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सिमास्थल त्रिवेणी धाममा धार्मिक पुस्कतकालय निर्माण हुने भएको छ ।
त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाले शिवपुरी वडा नं. ६ र ७ तथा पञ्चकन्याको वडा नं. ५ मा यही माघ १६ गतेबाट श्रीमद्भागत् सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको छ । त्रिवेणी धामको प्रचारप्रसार, पुर्वाधार विकास तथा भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटक भित्र्याउनका लागि महायज्ञको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष लिलादेवी थापाले बताए ।
आइतवार बट्टारमा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार माघ १६ देखि २४ गतेसम्म हुने महायज्ञमा एक लाख पर्यटक तथा भक्तजनको उपस्थिति रहने छ । कथा वाचक बाल व्यास विभूति ईश्वरकृष्ण महाराज रहनेछन् । त्यस्तै बौद्धधर्म गुरु खोम्पो कमल भण्डारीबाट समेत प्रवचन हुने आयोजक संस्थाका उपाध्यक्ष रामचन्द्र पाठकले बताए । महायज्ञबाट संकलन भएको रकमले उक्त स्थलमा वृद्धाश्रम, धार्मिक पुस्तकालय तथा पौराणिक संस्कृति अध्ययन केन्द्र बन्नेछ । विश्व प्रख्यात कथा वाचकको साथमा हुने महायज्ञमा सहभागि हुन आयोजक संस्थाले सम्पूर्ण हिन्दु तथा बौद्ध धर्मालम्बीलाई आग्रह गरेको छ । 
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले धार्मिक पर्यटकका लागि आर्कषक स्थान रहेर पनि ओझेलमा परेको त्रिवेणी धामको प्रचार महायज्ञबाट हुने बताए । कार्यक्रममा नेकपा नुवाकोट क्षेत्र नं. २ का संयोजक पदम उप्रेती, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, पत्रकार शिव देवकोटाले बोलेका थिए । 

तेश्रो दुप्चेश्वर कप भलिबल प्रतियोगिता सुरु

समुन्द्रटार\तेश्रो दुप्चेश्वर कप भलिबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन भएको प्रतिस्पर्धामा आयोजक दुप्चेश्वर क्लब,पञ्चकन्या गाउँपालिकाको समुह, सोसल सर्भिस युथ क्लब समुन्द्रटार, तादी गाउँपालिकाको समुह र म्यागङ गाउँपालिकाको समुह बिजयी भएको छ । प्रतियोगितामा नुवाकोटको विभिन्न स्थानीयतहबाट नौ समुहले प्रतिस्पर्धाको लागी सहभागिता जनाएका छन् । नुवाकोटको अन्तर–स्थानीयतह पुरुष खुला प्रतियोगितामा दुप्चेश्वरबाट चार, पञ्चकन्याबाट दुई, तादीबाट दुई र म्यागङबाट एक समूहको सहभागिता छ ।

९० सालको भूकम्पको पनि स्मरण

रेडक्रसले प्रर्दशन गरेको भूकम्पिय सुरक्षा सम्वन्धि सडक नाटक ।
विदुर\मुलुकभर २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइको छ । १९९० सालमा गएको महाभूकम्पको स्मरणमा हरेक बर्ष माघ २ गते मनाइदै आएको भूकम्प दिवसलाई भवन निर्माण सुरक्षामा जोड दिदै यसवर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी निरन्तरता दिइएको हो ।
भूकम्पीय जोखिममा नेपाल विश्वको ११ औ स्थानमा रहेको छ । भने नुवाकोट  भूकम्प गएपछिको क्षतीको हिसाबले नेपालको तेश्रो स्थानमा रहेको छ । 
२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भुकम्पका कारण नेपालमा ठुलो धनजनको क्षती भएको छ । बिनाशकारी भुकम्पका कारण नुवाकोट जिल्लामा मात्रै ११ सय १४ जनाको मृत्यु भएको थियो । यस्तै भुकम्पका कारण घाईते भएकाहरूको संख्या धेरै मात्रामा रहेका छन् । यसका साथै ७५ हजार भन्दा धेरै  घुधुरीमा क्षती पुगेको थियो ।
१९९० सालमा गएको भुकम्पको सम्झनामा मनाईदै आएको भुकम्प सुरक्षा दिबसको अबसरमा २०७२ बैशाखमा गएको भुकम्पले पाठ सिकाएको बिज्ञहरूले बताएका छन् । दिवसकै अवसरमा मुलुकभर भूकम्पबाट बच्नको लागि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
नुवाकोटमा पनि आपतकालिन कार्य सञ्चालन केन्द्र, शहरी विकास तथा निर्माण विभाग डिभिजन कार्यालय, जिल्ला समन्वय समिति नुवाकोट तथा अन्य सामाजिक सस्थाहरूले विभिन्न कार्याक्रम गरी दिवस मनायो । त्यस अवसरमा त्रिशुलीबाट बट्टारसम्म चेतनामूलक ¥याली निस्केको थियो । रेडक्रसले बट्टारमा सडक नाटक देखाएको थियो । जिल्लामा सञ्चालित  एफएम÷रेडियोहरूले सचेतना सम्वन्धि अन्तरक्रिया र सामाग्रीहरू प्रस्तुत गरेका थिए । 
¥याली पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले भुकम्पको जोखिमलाई न्युनिकरण गर्ने उपायको बारेमा घरघरमा चेतना आबाश्यक रहेको बताए । कतिपय स्थानमा अपनाईएको सुरक्षाका उपायमा कमजोरी रहेकाले त्यसलाई नीतिगत सुधारको समेत आबाश्यक रहेको पण्डितले बताए । 

उपभोक्ता हितका लागि जनप्रतिनिधिको छलफल

विदुर\प्रदेश सभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले कानून प्रगतिशिल हुने भएकाले समयानुकुल परिमार्जन गर्दै लैजानु पर्ने बताए । बजार ब्यबस्थापन तथा उपभोक्ता संरक्षण सम्बन्धि कानून तर्जुमा र कार्यान्वयन बिषयक अन्तक्रिया कार्यक्रममा उनले उपभोक्ता र उत्पादक बीचको दुरी हटाउन कानूनले मात्रै सम्भब नहुने बताए । त्यसका लागि उपभोक्ताहरू र उत्पादकहरूको समेत केही भुमिका रहने उनको भनाई छ ।
प्रदेश सांसद केशव पाण्डेले देखावटी रुपमा र अक्कालझुक्कल हुने बजार अनुगमनले उपभोक्ताहरूलाई हित नगरेको बताए । उनले स्थानीय सरकार र प्रदेश सरकारले नागरिकहरूको संरक्षणका लागि अरोरात्र खटिरहनु पर्ने र बजार सबै नागरिकसंग सम्वन्धित भएकोले यसमा विशेष रणनीति अपनाउनु पर्ने बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाले आबाश्यक्ताको महशुस गरेको समयमा बजार अनुगमन तथा निरिक्षण गर्दै आएको बताए । उपभोक्ताहरू मर्कामा पर्ने वा ठगिने सम्भावनालाई पहिला नै रोक्नका लागि विदुर नगरपालिले बजार अनुगमन देखिका उपभोक्ताको हितका लागि अन्य काम गरिरहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष श्रीराम थापाले संबिधानले ताकेको नियामक निकाय सक्रिय नभएसम्म उपभोक्ताहरू अधिकारको संरक्षण नहुने बताए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले कानुनको कार्यान्वयन भन्दा पनि कानूनको पालना महत्वपुर्ण रहेको बताए ।

कुम्भेश्वरीमा सम्पन्न भवन

छहरे\शिवपुरी गाँउपालिकामा रहेको कुम्भेश्वर माविको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । जापानी सहयोगी संस्था जाईकाको ३ करोड ४० लाख रुपैयाँको लगानीमा विद्यालयको १२ कोठे पक्की भबन निर्माण भएको हो ।
विद्यालय भबनको उद्घाटन र हस्तान्तरण गर्दै पुर्व शिक्षामन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्ज‘ननरसिंह केसीले विद्यालय भबनको निर्माणसंगै प्रतिष्पर्धी शिक्षाको बिकासमा लाग्न विद्यालयलाई सुझाब दिए । भव्य विद्यालय भबनको उद्घाटन भएपछि विद्यालयका संस्थापक प्रधानाध्यापक यादबराज पाण्डेले रुखमुनी बसेर आफुले विद्यार्थीलाई पढाएको स्मरण गरे ।

जनगणना २०७८ को तयारी थालियो

विदुर\१५ महिना अघि देखिनै नुवाकोटमा राष्ट्रिय जनगणनाको तयारी सुरु गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा जिल्ला तथ्याङ्क कार्यालय अन्तक्रिया गरेको छ । जनगणनालाई प्रभाबाकरी बनाउन नयाँ सूचक सहित समुदायमा जाने तथ्याङ्क कार्यालय नुवाकोटले जनाएको छ ।
तथ्याङ्क अधिकृत नरेन्द्र शर्मा भट्टले जनगणनाको इतिहास, बर्तमान अवस्था, जनगणनामा समेटिने विषयबस्तु लगायतका विषयमा प्रकाश पारेका थिए ।
अधिकृत भट्टले राष्ट्रिय जनगणना २०७८ को सन्र्दभमा गरिने कामको जानकारी दिएका छन् । शुक्रावार जिल्लाका सरोकारवालारुसंग र बिहिवार पत्रत्रकारहरूसंग कार्यालयले बेग्लाबेग्लै अन्तरक्रिया गरेको छ । 

ग्रामीण खोप क्लिनिक बन्दै

समुन्द्रटार\दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनीस्थित अदुवाबारीमा ‘ग्रामीण खोप क्लिनिक’ बन्न थालेको छ ।
गाउँपालिकाको २३ लाख ५० हजार रुपैयाँमा निर्माण हुने क्लिनिकको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले शिलान्यास गरे । पालिका भित्रका नागरिकको स्वास्थ्य सुविधालाई प्रथामिकता दिन आवश्यकताको आधारमा ‘ग्रामीण खोप क्लिनिक’ निर्माण थालिएको उनले बताए ।

आमाको सम्झाना कपडा वितरण

विदुर\तारकेश्वर गाउँपालिका–३ तारुकामा रहेको तारकेश्वर आधारभुत विद्यालयमा पुर्व शिक्षकले न्यायो कपडा र शैक्षिक सामाग्री वितरण गरेका छन् । त्यस विद्यालयका पुर्व शिक्षक देवप्रसाद अधिकारीले आफ्नो स्वर्गिय आमा इन्द्रकुमारी अधिकारीको सम्झनामा विद्यार्थीहरूलाई उक्त सामाग्री वितरण गरेका हुन् ।
वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठबाट शिक्षक अधिकारीले २० जना विद्यार्थीलाई कपडा र शैक्षिक सामाग्री वितरण गरेको विद्यालयले जनाएको छ । अधिकारी हाल कृष्ण मावि तारुकामा पढाउछन् ।

कुटपिटबाट युवकको ज्यान गयो

विदुर\कुटपिटका कारण रसुवाको गोल्जुङका एक युवकको ज्यान गएको छ । आमाछोदिङ्मो गाउँपालिका वडा नं. ४ गोल्जुङका ४६ वर्षीय सार्की गुरूङको मृत्यु भएको हो ।
स्थानिय मिङ्गार सिंगी तामाङले उनलाई कुटपिट गरेको र सोही कारण गएको शनिबार राति गुरूङको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ ।
यसैबीच रसुवागढी नाकाबाट अमेरिकी डलर सात हजार सहित रसुवा गोल्जुङका एक युवक शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कान्छाकुमार घले छन् । उनले उत्तः अमेरिकी डलर लुकाइछिपाई केरूङतर्फ लान लागिएको अनुमान रसुवा प्रहरीको छ ।

२०७६ माघ ६ गतेको सम्पादकिय

पहिचानमा केन्द्रित गरौं
नुवाकोट उद्योग बाणिज्य संघले आयोजना गरेको नुवाकोट महोत्सवको छौठौ संस्करण प्रस्तुत भइरहेको छ । जिल्लाको तमाम् सम्भावना र अवसरलाई प्रस्तुत गर्ने साझा र खुल्ला मञ्चको रुपमा महोत्सवलाई संघले प्रत्येक पटक प्रयोग गर्ने प्रयास गर्दैछ । सुरु सुरुका महोत्सवहरूमा नागरिकहरूको र आयोजकको पनि उत्साह त्यसैपनि भरिदै आएको थियो । अब अवस्था फेरिएको छ । परिस्थिति र नागरिकहरूको अपेक्षा बदलिएसंगै महोत्सव पनि बदलिनु पर्ने छ । तेश्रो÷ चौथोे महोत्सवसम्म मनोरञ्जनको लागि मात्रै पनि नागरिकहरू महोत्सवको प्रतीक्षामा रहने गरेका वा नुवाकोट महोत्सवलाई प्रयोग गर्ने गरेका थिए । अहिले ग्रामिण भेगमा समेत बढ्दो ईन्टरनेटको प्रयोगले मनोरञ्जनका लागि वा प्रतिष्ठित कलाकारको अनुहार नजिकैबाट हेर्नका लागि महोत्सवमा गइरहनुपर्ने अवस्था कसैमा पनि छैन । हातहातमा भएको एनरोइड मोवाइलले नै आम दर्शकहरूलाई त्यस्ता रहर केही हदसम्म मेटाएको छ ।
अघिल्लो नुवाकोट महोत्सवमा सहभागि दर्शकहरूकै अपेक्षामा ठूलो बदलाव आएको थियो । तीन वर्ष अघिको महोत्सवमा सहभागि भएकाहरूले जिल्लाको पहिचान, कला संस्कृति, परम्परा तथा जिल्लाको मुलभुत पक्षलाई स्टलमा बढी खोजेका थिए । नकि, राष्ट्रिय कलाकारहरूको प्रस्तुती, बहुराष्ट्रिय कम्पनीका सामाग्रीले भरिएका स्टलहरू । तीन वर्ष पछिको समयमा झन् नागरिकहरूको अपेक्षा महोत्सव प्रति बिल्कुलै फरक भएको हुनुपर्छ । परम्परागत कुरा, नुवाकोटको भनेर गर्व गर्न सकिने भौतिक तथा अभौतिक पक्षको प्रस्तुति महोत्सवमा दर्शकहरूले खोजिरहेका छन् । अथवा तीन वर्ष अघि भन्दा बढी अबको दर्शकहरूले त्यस्ता कुराहरूको खोजी गर्नेछन् । त्यसैले पनि नुवाकोट उद्योग बाणिज्य संघले छैठौं नुवाकोट महोत्सवलाई विशेष र एउटा उदाहरणिय महोत्सवको रुपमा पेश गर्नु जरुरी छ । त्यसका लागि जिल्लाको पहिचान बोकेका कला, संस्कृति, जनजीवन, भेषभुषा, ऐतिहासिक पक्षहरूलाई बढि प्रस्तुत गर्नुपर्ने देखिएको छ । त्यसो नहुँदा नुवाकोट उद्योग बाणिज्य संघ जस्तो सयौं सदस्य (झण्डै तीन हजार) रहेको छाता संस्था र आधा दर्जन महोत्सव गरिसेकको अनुभवी संस्थाको ब्यानरमा भएको महोत्सवमा र अन्य कुनै एएटा क्लवले गर्ने महोत्सवमा खासै भिन्नता नरहन सक्छ । छैठौं नुवाकोट महोत्सवलाई नुवाकोटको गरिमा, इतिहास, संस्कृति र जनजीवन प्रस्तुत गर्न तर्फ केन्द्रित गरौं ।