Monday, February 03, 2020

छैठौं नुवाकोट महोत्सव हेर्न गोरखाबाट आए पृथ्वीनारायण शाह

बट्टार\तस्बिरमा देखिएका ६२वर्षिया ओमबहादुर श्रेष्ठ गोरखाबाट छैठौं नुवाकोट महोत्सवमा सहभागि हुन पृथ्वीनारायण शाहको पोशाक र हाउभाउमा बट्टार आइपुगे । माघ १६ को उद्घाटन समारोह भन्दा केहिबेर अघिदेखिनै शाहको ‘राजशी’ पोशाकमा सजिएका श्रेष्ठसंगै थिए गोरखाबाटै आएका तोपप्रसाद श्रेष्ठ । उनी राजा शाहको सेनापती कालु पाँडेको भेषमा थिए ।
बिहिवारदेखि आइतवारसम्म चार दिनसम्म नुवाकोट महोत्सव स्थलमा देखिएका यि दुई विशेष आकर्षणको केन्द्रमा रहे । महोत्सव स्थल प्रवेश गर्ने बित्तिकै आउने पहाड माथिको नुवाकोटको साततले दरवार र यस दरवार वरिपरी श्रीपेच लगाएर तरवार, खुकुरी सहित घुमिरहेका पृथ्वीनारायण शाह । अझ शाहको सुरक्षा र रेखदेरखाका लागि खटिएका भारदार कालु पाँडे । एक्कैछित त, साढे दुई सय बर्ष पहिलाको नुवाकोट हेर्न पाइएको महशुस हुन्थ्यो । महोत्सवमा आउनेहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएको समाचार र फोटोमा देखिएका शाह र पाँडे खोज्दै हिड्थ्ये । पहिला उनीहरूसंगै टाँसिएर फोटो खिचेपछि मात्रै अन्य स्टल हेर्नेतिर दर्शकहरू लागेका देखिन्थ्यो ।
बर्षेनी पुस २७ को पृथ्वी जयन्तीमा गोरखामा यस्तै पहिरनमा देखिने श्रेष्ठले यो पाली नुवाकोट महोत्सवका लागि निमन्त्रणा पाए र यता आएका हुन् । गोरखा नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका उनी चार दिन लामो नुवाकोटको बसाई सकेर गृह जिल्ला फर्किएका छन् । गोरखा दरवार नजिकैको गाउँ पदेँलीका श्रेष्ठ तीन वर्षदेखि पृथ्वीनारायण शाहको भेषमा देखिन थालेका छन् । ‘पृथ्वीनारायण शाहप्रतिको आकर्षण र प्रेम नुवाकोटमा कत्ति रहेछ भनेर महोत्सव आएपछि थाहा पाएँ, श्रेष्ठले भने– मेरो अगाडी आइपुग्ने जो कोही पनि फोटो खिचाएरै जान्थ्यें । आयोजकले आफ्नै जिल्लामा ३ सालदेखि मैले सञ्चालन गरेको अभियानको बारेमा जानकारी राखेर यो भब्य समारोहमा सहभागि गरायो, म कृतज्ञ छु । ’
‘महोत्सवको मुख्य आकर्षणका रुपमा मलाई पृथ्वीनारायण शाह लाग्यो, लिखुबाट महोत्सव हेर्न आएका राजेन्द्र अधिकारीले भने– शाहको देहवशान भएको नुवाकोटमा उनीजस्तै हाउभाउमा देखिदा त कस्तो मन छुँदो रहेछ नि ।’
आयोजक नुवाकोट उद्योग बाणिज्य संघले महोत्सव अवधिभरि राजाको भेषमा रहिरहन श्रेष्ठलाई आग्रह गरेको भएपनि उनी नगर कार्यपालिकको कामका लागि गृह जिल्ला फर्किएका छन् । नेपाल एकीकरणको सुरुवात भएको नुवाकोटमा शाहको भेषमा केहीदिन रहन पाउँदा बेग्लै आनन्द मिलेको उनले प्रतिक्रृया दिए । सेनापती कालू पाँडे (तोपप्रसाद श्रेष्ठ) ले जिल्लाको महोत्सवमा आफुहरूलाई उपस्थित गराएर यत्तिको भुमिका दिनु महत्वपूर्ण रहेको बताउँछन् । ‘१० हजार भन्दा बढिले खिचे होला हामीसंग फोटो, सुरु सुरुमा त म हैरान थिएँ, अहिले त बानी नै परिसक्यो, श्रेष्ठ भन्छन्– फोटो खिच्न आउने वित्तिकै राजाले (ओमबहादुर श्रेष्ठ) ले एउटा औलो उठाउनु हुन्छ र तनक्क तन्किनु हुन्छ, म चाही छाती फुलाएर छेउमा टक्क उभिन्छु ।’
छैठौं नुवाकोट महोत्सवमा नयाँ केहि गर्ने छलफल भइरहेको समयमा गोरखामा पृथ्वीनारायण शाहको भेषभुषामा खास खास कार्यक्रम उपस्थित हुने ओमबहादुर श्रेष्ठको जानकारी पाएपछि महोत्सवको आकर्षणको रुपमा थपिएको नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारीले बताए । ‘पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले यो प्रस्ताव ल्याए, सचिवालयमा छलफल हुँदा सबैले रुचाएर यो महोत्सवमा मुख्य आकर्षणका रुपमा प्रस्तुत गर्यौ’ संघका प्रवक्ता राजभण्डारीले भने ।

शिक्षकलाई तलव खुवाउन सामुहिक ब्रतबन्ध

देविघाट\विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माविले यसपाली पनि विद्यालय सञ्चालनाथर्ए सामुहिक ब्रतबन्ध गराएको छ । उक्त विद्यालयले आफ्नो खर्च संकलनका लागि र शिक्षकको तलव व्यवस्थापनका लागि बर्षेनी सामुहिक रुपमा ब्रतबन्ध गराउँदै आएको छ ।
विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि विद्यालयले २०५६ सालदेखि सामूहिक ब्रतबन्ध गराउँदै आएको बतायएको छ । सधाझै यो पालिपनि श्रीपञ्चमीका दिन (बिहिवार) विद्यालयले सामूहिक ब्रतबन्ध गराएको हो । प्रत्येक बटुकबाट विद्यालयले ब्रतबन्ध खर्च ४ हजार रुपैयाँ लिने गरेको छ । पूर्वाङ्ग, ब्रतबन्ध गराउँदा हुने खर्च, बटुकसँगै आएका अभिभावकका लागि समेत खानाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । बटुकले लगाउने धोती, टोपी र गन्जी विद्यालयले नै उपलब्ध गराएको थियो ।
विद्यालयले आयोजना गरेको सामूहिक ब्रतबन्धमा यस वर्ष १०८ जना बटुक सहभागी भएको प्रधानाध्यापक मञ्जु चित्रकारले बताए । आर्थिक स्थिति कमजोर भएका परिवारले चलन अनुसार सन्तानको कर्म चलाउन नसकेको अबस्थामा बिद्यालयले सञ्चालन गर्ने सामूहिक ब्रतबन्धले सहयोग पुगेको सहभागि अभिभावक गोविन्द भट्टले बताए ।
यो वर्ष बटुकहरूसँग लिएको शुल्कबाट ४ लाख ३२ हजार रुपैयाँ संकलन भएको छ । भेटीबाट समेत केही रकम संकलन भएको छ । खर्च कटाएर बचेको रकमले विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए । २०५५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ ।
समाजमा बढ्दै गएको तडकभडक नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्न समेत यसबाट सहयोग पुग्दै आएको भट्टले बताए । उक्त विद्यालयले संस्कृत भाषा समेत पढाउदै आएको छ । संस्कृत भाषा पढाउने नुवाकोटमा यो मात्रै एउटा स्कुल हो । 

सांसद तामाङको नाममा मुद्दा दर्ता

विदुर\राष्ट्रिय वन क्षेत्रमा अवैध रूपमा स्काभेटर प्रयोग गरी उत्खनन कार्य गरेको अभियोगमा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा तामाङसहित कन्स्ट्रक्सन सञ्चालक द्वय निर्मलप्रसाद सिटौला र शिवहरि घिमिरे तथा फिल्ड साइड अफिस कर्मचारी सुवास डंगोलविरुद्ध मुद्दा दर्ता भएको छ ।
सांसद तामाङ सञ्चालक÷ अध्यक्ष रहेको हिम्डुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिको स्काभेटरले गत १३ पुसमा कालिवनभित्र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थमा डिभिजन वनका सुबेदार यादविन्द्र पौडेलको नेतृत्वमा खटिएको वन रक्षकको टोलीले सर्लाही ईश्वरपुर नगरपालिका–५ निवासी चालक नरेशराम महरालाई पक्राउ गरेको थियो । महरा पक्राउ परेलगत्तै कालिवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तान फरार थिए ।
राष्ट्रिय वनअन्तर्गत गर्ने सामुदायिक वन क्षेत्रभित्र अवैध उत्खनन भइरहेको जानकारी पाएपछि अनुगमन सुरु गरिएको डिभिजन वनप्रमुख इमनाथ पौडेलले बताए । उनले अनुगमन गर्ने क्रममा १३ पुसमा स्काभेटर प्रयोग गरेर अवैध उत्खनन गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेको जानकारी दिए । कन्स्ट्रक्सनले वन क्षेत्रभित्र नौ हजार ५६४ क्युफिट ढुंगा, गिटी, बालुवा र माटो अवैध उत्खनन गरी चोरी गरेको डिभिजन वन कार्यालयको दाबी छ । बिगोबापत एक लाख ६४ हजार ११२ रुपैयाँ जरिवाना र वन ऐन, २०७६ को दफा ५० को उपदफा ३ बमोजिम साढे पाँच वर्ष कैद सजाय माग गरिएको सहायक वन अधिकृत वसन्तराज गौतमले बताए ।

नाष्टले बुझायो फोहोरको प्रतिवेदन

विदुर\नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ ।
प्रमुख विद्यासुन्दर शाक्यलाई मंगलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाए । १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हँुदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ ।
मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी ९ तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग, सोति बालुवा, मङ्गटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।
यसैगरी ककनीका आठ वटा र धुनिबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिकाअन्तर्गत पाठक गाउँ, डिगाउँ गरी दुई वटा ठाउँ छन् ।
ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्याङ्की डाँडा गरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुई वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् । वैज्ञानिक पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ ।

तस्बिर खबर


समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत शुक्रवार जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र जगदम्बा सिमेन्टको संयुक्त आयोजनामा मोटरसाइकल दुर्घटनाबाट हुने क्षति न्युनिकरणको लागी चालक र सहयात्री दुबैले अनिवार्य रुपमा हेलमेटको प्रयोग गर्नुपर्ने शिक्षा सहित जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापा मोटरसाइकलका पछाडी बसेका यात्रुलाई हेल्मेट लगाइदिँदै । कार्यक्रममा १५० थान हेलमेट यात्रुलाई बितरण गरिएको छ । – दीपेन श्रेष्ठ 

महोत्सवमा एक लाख पर्ने खुकुरी

नुवाकोटको सबैभन्दा ठुलो (तौल) खुकुरी छठौं नुवाकोट महोत्सवमा
देखाउँदै लिखु गाउँपालिकाका तुलबहादुर बिक । फोटा] :सुनील श्रेष्ठ
बट्टार\बिहिबारदेखि सुरु भएको छैठौ नुवाकोट महोत्सवमा जिल्लाका १२ वटै पालिकाको पहिचान झल्काउने कृषि उपजका उत्पादन, कला, संस्कृती प्रदर्शनमा राखिएको छ ।
स्टल नम्बर १२ मा राखिएको लिखु गाउँपालिकाका तुलबहादुर बिकले बनाएको खुकुरीको मुल्य भने १ लाख रुपैयाँ रहेको छ । दश किलो तौल भएको खुकुरीको लम्बाई करिब ३.९२ फिट रहेको छ । खुकुरी महोत्सवको विशेष आकर्षणको रुप रहेको छ । नुवाकोटकै अहिलसम्मकै ठुलो खुकुरी भएको तुलबहादुर दावी गर्छन् । खुकुरी बनाउन तीन दिन लागेको बताए । आरन व्यवसायलाई छोराले पनि साथ दिएकोमा खुशी छन् ६२ वर्षीय तुलबहादुर ।
खुकुरीमा नुवाकोट लिखु गाउँपालिका–२ लेखिएको छ । तुलबहादुर पेशाले आरन प्रशिक्षक समेत हुन् । उनले नुवाकोट लगायत अन्य जिल्लामा समेत तालिम दिईसकेका छन् । आरन उत्पादित सामग्रीहरूको स्थानीय बजारको रहेको बताउँछन् । तर आरनलाई आवश्यक कोईलाको भने कमी रहेकाले पुस्तान्तरमा पनि कमी भएको उनले बताए ।
गत जेठमा काठमाडौंको भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु, तथा साना औद्योगिक प्रदर्शनी २०७६ मा मन बहादुर शिर्पालीले आफैंले बनाएको विश्वकै ठूलो खुकुरी प्रर्दशनीमा राखेका थिए । जसको तौल ४२ केजी रहेको छ भने मूल्य १ लाख ११ हजार १११ रुपैयाँ रहेको थियो । शिर्पालीले ११ दिन लगाएर बनाएको ८ फिट लामो खुकुरीमा ३० केजी फलाम र १२ केजीको दाप प्रयोग गरिएको छ ।

‘राजनीतिकरण बढ्यो’
बट्टार\नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादबले शिक्षा र स्वास्थ्यमा राजनीतिकरण बढेको बताए । छैठौँ नुवाकोट महोत्सबको बिहिवार उद्घाटन गर्दै उनले पछिल्लो सय शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिकरण भएको बताउदै त्यसलाई निराकरण गर्न नागरिक तहबाट दबाब चाहिएको बताए ।
नेपालमा ८० प्रतिशत नागरिकहरू किसान मजदुरहरू रहेकाले शिक्षा र स्वास्थ्यलाई सहज र दबिर्लो बनाउने तर्फ बर्तमान सरकार सचेत नभएको उनको आरोप छ ।
प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले यस अघिका सरकारहरूले विकासका नाममा गरेको अनियमितता नियन्त्रण र विधिको शासन कायम गर्ननै वर्तमान सरकरको समय बढि खर्च भइरहेको बताए ।


महोत्सवले जिल्लालाई सहयोग पुग्छ : अध्यक्ष ताराबहादुर कार्की
नुवाकोट काठमाडौंसँग जोडिएको हुँदाहुँदै पनि बाहिर जिल्लाबाट जिल्लामा लगानी गर्न डराउने अवस्था रहेको थियो । अहिले नुवाकोटमा पनि नुवाकोटका उद्यागी व्यवसायीहरूले लगानी गर्न चाहनु भएको छ । बाहिरका उद्योगीले बत्ति पानीको सुविधा र रसुवागढी ठोरी नाका सञ्चालनमा आएसँगै सम्भावना बढेर गएको छ । अघिल्ला महोत्सवमा जिल्ला आएका व्यवसायीहरूले नुवाकोटमै लगानी गरिरहरेको अवस्था पनि छ, त्यसको केही उदाहरणहरू हामी सबैलाई थाहा नै छ ।
स्टलमै माटोका भाडा बनाउने कला हेर्ने, स्यामा, ढाका आफ्नै अगाडी बुनेको देख्न पाइने पनि महोत्सवको रोचक पक्ष हो जस्तो लाग्दछ मलाई सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरी सँगै पर्यटन विकासमा अघि बढाएको छ । नुवाकोट महोत्सवकै लागि भनेर गोरखाबाट पृथ्वीनारायण शाहको भेषमा आएका ओमबहादुर श्रेष्ठ पनि आकर्षणका रुपमा रहेका छन् । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सरकार मात्र होइन, सबै क्षेत्रको सहकार्यलाई अपरिहार्य बनाएको छ । पर्यटन सम्भावनाको खोजी गर्ने हिसावले यो महोत्सव निकै महत्वपूर्ण हुनेछ । हाम्रो धर्म, संस्कृति रितिरिवाज, नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारमा महोत्सवले ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास मैले गरेको छु । नुवाकोटमा अहिले आन्तरिक पर्यटनको बढ्दो अवस्थालाई यहि महोत्सवहरूको पनि प्रमुख योगदान रहेको छ ।
महोत्सवबाट नुवाकोटको औद्योगिकिकरणमा योगदान हुनेछ । यही मै महत्वपूर्ण पाटो हो । यस पटक महोत्थ्सव समापन हुँदै गर्दा एक लाख भन्दा धेरै अवलोकनकर्ता भित्रनेछन् ७६ जिल्लाबाट हामीले पाहुना बोलाएका छौँ । अरु जिल्लाबाट आउने व्यावसायीहरूले नुवाकोट हेर्न‘पर्छ, नुवाकोटमा लगानी बढाउनुपर्छ भन्नु भएको छ । त्यसैले हामीले सोचेभन्दा धेरै अवलोकनकर्ताहरू नुवाकोट आउनुहुन्छ । हामीलाई टाढादेखिका साथिहरूले सम्पिर्क गरिरहनुभएको छ ।
महोत्सव सम्पन्न हुनका लागि अझै पनि सात दिन बाँकी छ । छैठौ महोत्सव नुवाकोट उद्योग वाणिज्य संघको मात्र होइन, सबै सरकारी निकाय, सरोकारवाला धर्म, संस्कृतिमा लागेकाहरूको हो । सबै नुवाकोटवासीको महोत्सव हो भनेर सन्देश दिएका छौँ । महोत्सव उल्लासमय पनि भइरहेको छ । हामीले नाफा कमाउने भन्दा पनि जिल्लाको पहिचान परपरसम्म पु¥याउने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिरहेका छौं, दर्शकहरूले साथ दिइरहनुभएको छ । 

फागुन १ सम्म बन्द

विदुर\चीनमा फैलिएको कोरोना भाइरस सीमा क्षेत्रबाट नेपालमा सर्न नदिन फागुन १ गतेसम्म नाका बन्द गरिएको छ । माघ १५ गतेदेखि चिनियाँ अधिकारीले रसुवागढीदेखि केरूङसम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवतजावतमा रोक लगाएको हो ।
माघ १५ गतेदेखि सवारी साधन र मानिसको आवतजावत पूरै रोकिएको छ । सामान किन्न जानेहरू मितेरी पुलपारि गढीबजारसम्म मात्रै पुग्ने गरेका छन् ।
यसै बीच, छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको बताइएको छ । उत्तरी सीमाको मार्ग हुँदै नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको रसुवागढीमा रहेको ‘हेल्थ डेक्स’लाई उच्च स्रोतसाधनयुक्त बनाएको हो ।
सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, त्यस्तो रोगको लक्षण देखिन आएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सधन कक्ष तयार पार्ने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने निर्णय भएको बताइएको छ ।
रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटाको संयोजकत्वमा सहायक प्रजिअ सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अनिल खरेलको उपसमिति सक्रिय रहेको छ ।

हल्ला पुष्टि भएन
रसुवा जिल्लामा कोरोना भाइरसका संक्रमित बिरामी फेला नपरेको चिकित्सकहरूले पुष्टि गरेका छन् ।
रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने सीमा क्षेत्र भए पनि जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्म फेला नपरेको बताए ।
उपचारका क्रममा रसुवा अस्पताल पुगेका एक बिरामीको कोरोना भाइरसको शंका भएको हल्ला पुष्टि नभएको उनले बताए । ति विरामीलाई थप उपचारका लागि टेकु अस्पताल पठाइएको छ । उनको समान्य अवस्थामा उपचार भइरहेको बताइएको छ । 

महेन्द्र माविको जन्मजयन्ती

चतुराले\ककनी गाउँपालिका वडा नं. ७ चतुरालेको महेन्द्र माविको ५९ औं बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सांसद बद्री मैनालीले नेपालमा पछिल्लो समयमा शैक्षिक क्षेत्रमा भएको विकासप्रति सन्तुष्टि व्यक्त गरे ।
शिक्षामा भएको लगानी खेर नजाने भएकाले अभिभावकलाई पनि आफ्नो नानीबाबुको पढाईमा लगानी गर्न अनुरोध गरे । प्रअ शशिकुमार थपलियाले ०७५\०७६ को २ करोड ८५ लाखको आर्थिक प्रतिवेदन पेश गरे । 

अक्षय कोष स्थापना

विदुर\लायन्स क्लब अफ काठमाण्डौ स्काई लिमिटले महेन्द्र माध्यमिक बिद्यालय चारघरेमा छात्रबृत्तिको लागी अक्षय कोष स्थापना गरेको छ ।
डेढ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको हो । बिद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिदाथर््िहरूको शैक्षिक अबस्थालाई सहयोग गर्नको लागि छात्रबृत्तिको ब्यबस्था गरेको लायन्स क्लब अफ काठमाण्डौ स्काई लिमिटले जनाएको छ ।
बिद्यालयको लागी उपलब्ध गराएको छात्रबृत्तिको चेक एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाई हस्तान्तरण गरेको छ । महेन्द्र माध्यमिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष एवं बिदुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सिताराम अर्याल र बिद्यालयका प्रधानाध्यापक चिरञ्जिबि भट्टलाई अक्षयकोषको रकम हस्तान्तरण भएको छ ।

गेर्खुमा मुआब्जा आउने

विदुर\गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी सडक आयोजना अन्र्तगत विदुर नगरपालिका १० नम्बर का जग्गाधनीलाई मुआब्जा दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
गएको आईतबार अदालतले आयोजनालाई तत्काल मुअब्जा दिएर काम गर्न आदेश दिएको वडाअध्यक्ष गणेश नेपालले बताए । सडक आयोजनाले मुआब्जा नदिई आफ्नो जग्गा सडकमा प्रयोग गरेको भन्दै वडा नं. १० का नागरिकहरूले रिट दायर गरेका थिए ।
गल्छी त्रिशूली मैलुङ्ग स्याफ्रुबेसी रसुवागढी सडक साढे नौं अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको छ । गल्छीदेखि स्याफ्रुवेशी सम्म ८२ किलोमिटर र स्याफ्रुवेशी बाट रसुवागढीसम्म साढे १५ किलोमिटर दुरीको सडक छ ।

सामाजिक सञ्जालबाट


प्रहरीद्धारा बिन्दा ढुंगाना र सुभद्रा नेपाल सम्मानित

बिन्दा ढुंगाना
विदुर\प्रहरी केन्द्रिय कार्यालयले नुवाकोटका दुई जना महिला नेताहरूलाई सम्मान गरेको छ । केन्द्रिय कार्यालयको सम्मान पत्र जिल्लामा आयोजित कार्यक्रमका बीच प्रहरीका जिल्ला प्रमुखले हस्तान्तरण गरेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नुवाकोटमा प्रहरीसंग समन्वयात्मक भुमिका निर्वाह गरी प्रहरीलाई सहयोग पुर्याएको भन्दै नेकपा बागमती प्रदेश सदस्यद्धय बिन्दा ढुंगाना र सुभद्रा नेपाललाई प्रहरीले प्रसंसा पत्र सहित सम्मान गरेको हो । प्रहरी प्रमुख सर्बेन्द्र खनालद्धारा प्रदान गरिएको प्रसंशापत्र वुधवार नुवाकोट प्रहरी प्रमुख अभिनारायण नारायण काफ्लेले हस्तान्तरण गरे ।
सम्मानित ढुङ्गाना र नेपालले प्रहरी कार्यालयमा आउने विवाद र समस्यालाई सहजिकरण गरेको र त्यसबाट प्रहरी कार्यालयको कार्य सम्पादन राम्रो भएको बताइएकोछ । 
 सुभद्रा नेपाल

सप्ताह महायज्ञ सुरु

छहरे\नुवाकोटको शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न लिखु, सत्यावती स्यालपिङ र कन्यावती खहरेको सङ्गमस्थलमा महायज्ञ सुरु भएको हो ।
बिहिवारबाट सुरु भएको सप्ताह ज्ञान महायत्र २४ गते शुक्रवारसम्म सञ्चालन हुने छ । बट्टार÷शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सिमास्थल त्रिवेणी धाममा धार्मिक पुस्कतकालय निर्माण सहितको उद्देश्यले सप्प्ताह लगाइएको हो ।
त्रिवेणी धामको प्रचारप्रसार, पुर्वाधार विकास तथा भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटक भित्र्याउनका लागि महायज्ञको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष लिलादेवी थापाले बताए । कथा वाचकमा बाल व्यास विभूति ईश्वरकृष्ण महाराज रहनेछन् । त्यस्तै बौद्धधर्म गुरु खोम्पो कमल भण्डारीबाट समेत प्रवचन भइरहेको छ । 

प्रदेश सांसद र नागरिकहरु बीच साझा सभा

विदुर\आम नागरिकको साझा साचो र सवालमा केन्द्रित साझा सभा नुवाकोटमा भएको छ । सामुदायिक बिकास केन्द्र नेपालले आयोजना गरेको साझा सभा कार्यक्रममा स्थानिय तह पारदर्शी नभएको आबाज उठेको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले सबै क्षेत्र आफैमा पारदर्शी भएमा मात्रै स्वच्छ समाज निर्माण हुने बताए । सबै नागरिकहरू आ–अफ्नो क्षेत्रमा पारदर्शी र जबाफदेही हुनु पर्नेमा उनको जोड थियो ।
किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामाले समुदायमा रहेका हरेक संघ संस्थाहरूले सामाजिक परिक्षण गर्नु पर्ने बताए । आर्थिक परिक्षण मात्रै हुने गरेकाले उनले सबै क्षेत्रको सामाजिक परिक्षण भएमा मात्रै गरेका कामहरू पारदर्शी हुने बताए । उनले आफुहरू नागरिकहरूको हितका लागि क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले स्थानीय तह, गैरसरकारी संस्था तथा बिकासे अड्डाले सञ्चालन गरेको हरेक कामहरू समुदायलाई जानकारी हुनुपर्ने बताए । उनले राज्यको माथिल्लो निकायदेखि नागरिक तहसम्मले देख्ने गरी कार्यहरूको सामाजिक परिक्षण गर्नु पर्नेमा जोड दिए ।
म्यागाङ गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले स्थानीय सरकार स्थापनासंगै नागरिकहरूमा सचेतना आएको र विकास निर्माणको काममा सहयोग मिलिरहेको बताएका छन् । उनले सचेत नागरिकहरूसंग काम गर्दा विकासमा अनियमितता हुने र बजेट चुहावट हुने सम्भावना न्यून रहेको बताएका छन् । यस्तै, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले विकास निर्माणका काममा आफ्नालाई मात्रै समेट्ने नभए रकम नै फिर्ता गराइदिने डरलाग्दो अवस्था नुवाकोटमा रहेको बताए । स्वस्थानी ब्रत कथामा भनिएजस्तो छोरा भए छोरालाई दिने, छोरा नभए मित छोरालाई दिने र त्यो पनि नभए खोलामा बगाई दिने भनेजस्तै विकासका कार्यक्रमहरूको हालत रहेको उनले बताए ।
उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितले उपभोक्ताको पक्ष र हितमा खासै काम नभएको बताए । उनले उपभोक्ताहरू जताततै ठगिरहेकोले त्यसमा ध्यान दिन प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । कार्यक्रममा सामुदायिक बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिष्णुराज नेपालले समुदाय भित्र हुने र सबैको चासो रहने क्षेत्रमा काम गर्दे आएको बताए । प्रतिनिधिमुलक बिषयलाई लिएर समुदायमा सञ्चालित कार्यक्रमले नागरिकहरूको आबाजलाई समेट्दै आएको उनले बताए ।
साझा सभामा किम्पाङ र लिखु गाउापालिकाबाट आएको नागरिकहरू शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि र विपत्को विषयमा आफ्नो सपालहरू राखेका थिए ।
यसै बीच, सामुदायिक बिकास केन्द्र नेपालको आयोजनामा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत क्रियाशिल नागरिक समाज तथा संघ संगठनको अन्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्यका बारे प्रकाश पार्दै आयोजक संस्था सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक बिष्णु नेपालले नागरिक समाज र संघ संस्थाहरूले आआफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निवार्ह गर्न‘पर्ने बताए । हाल स्थानीय तहमा पुगेका हक अधिकारको कार्यान्वयन र विकास निर्माणका अवस्थाको अनुगमन नागरिक समाजले गर्नु पर्ने बताए ।
कार्यक्रममा सहभागी भएकाहरूले नागरिकका आधारभूत अधिकारका लागि नागरिक समाजको अहम भुमिका रहेको बताएका थिए । विकासका लागि पारस्परिक जबाफदेहिता आवश्यक रहेको बताउदै स्थानीय स्तरको विकासका लागि स्थानीय तहका प्रतिनिधिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । 

विद्यार्थीलाई पोशाक वितरण

देविघाट\लायन्स-लियो क्लब अफ नुवाकोट फ्युचर स्टारले बिदुर नगरपालिका वडा नम्बर ३ को रणभुवनेश्वरी उच्च माध्यमिक बिद्यालयका ६५ जना बाल शिक्षण कक्षाका बिद्यार्थीाहरूलाई बिद्यालय पोशाक बितरण गरेको छ ।
बिभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको लायन्स क्लबले बिद्यालयमा अध्यनरत बालबालिकाहरूलाई पोशाक उपलब्ध गराएको हो । सो कार्यक्रममा विदुर नगरपालिका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईले लायन्स क्लबको सहयोगमा एक सेट पोशाक उपलब्ध भएपनि फेरफारका लागि अर्को सेट खरिद गर्न अभिभावकलाई आग्रह गरे ।

२०७६ माघ २० गतेको सम्पादकिय

महोत्सबले ओज ग्रहण गरोस्
२०६३ सालबाट सुरु भएको नुवाकोट जिल्लाको महोत्सब हाल जारी छठौं संस्करणसम्म आइपुग्दा १३ वर्षे यात्रा पार गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुने महोत्सवले जिल्लालाई दिएको योगदान र प्रयासहरूका बारेमा थुप्रै समीक्षा र चर्चा भइसकेका छन् । १६ गतेदेखि सुरु भएको छैठौं नुवाकोट महोत्सबकोले अहिले जिल्लालाई केही चलायमान पारेको छ । केही गाउँपालिका र नगरपालिकाको उपस्थिति महोत्सबस्थलमा देखिएको छ । महोत्सब उद्घाटन समारोहलाई स्थानीय सरकाले नदिएको प्राथमिकताले महोत्सब कतै विदुर नगरपालिकाको मात्रै त होइन वा यही मात्रै त केन्द्रित छैन भन्ने खालको सन्देश दिन खोजिरहेको थियो । दुई वटा गाउँपालिका र दुई वटा नगरपालिकाको मात्रै प्रमुख÷उपप्रमुखहरूको सहभागिता रहेको उद्घाटन समारोहपछि स्टलमा स्थानीय निकायले गरेको व्यवास्थाले आइतवारसम्म महोत्सवका स्टलहरू खाली परेका छन् । सिमित संख्यामा तयार गरिएको स्टलपनि खाली देखिनुले सकारात्मक सन्देश दिएको छैन । केही वित्तिय संस्था, सामाजिक संस्था तथा स्थानीय सरकारको नाममा ‘बुक’ भएको स्टलहरू चौथो दिनसम्म खाली छन् । जसले गर्दा महोत्सवको व्यवस्थापकिय पाटोलाई कमजोर देखाएको छ । बाँकी दिनका लागि ति स्टल अन्यलाई दिएर भरिभराउ देखाउनु बेश हुनेछ ।
महोत्सवको अर्को प्रमुख पाटोको रुपमा रहेको कलाकारहरूको प्रस्तुतीमा यो पाली आकर्षण देखिएन । या त दर्शकको खोजी अनुसारको कलाकार महोत्सवमा आयोजकले ल्याउन सकेन । कि आएका कलाकारहरूले दर्शकको अपेक्षा अनुसारको प्रस्तुती दिन सकेनन् । केही कलाकारहरू बाहेक अधिकांश कलाकार बजारमा नचलेका, नदेखिएका वा पुरानो भइसकेका साँस्कृतिक प्रस्तुतीका साथ उपस्थित भइरहेका छन् । जुन पक्ष दर्शकले रुचाएका छैनन् ।
छाठौं नुवाकोटका महोत्सबमा जिल्लाको पहिचान हुने र पहिचानको रुपमा विकास गर्न सकिने मौलिकताको कमी देखिएको छ । केही विषय र उत्पादनले प्रवेश पाएको छ महोत्सवमा, तर नुवाकोटलाई चिनाउन सक्ने खासखास कुराहरू के के हुन् र ति अनिवार्य रुपमा कसरी सहभागि गराउन सकिन्छ, प्रर्दशन गराउन सकिन्छ भनेर आयोजकले ध्यान दिएकै देखिएन । जसले गर्दा छैठौं नुवाकोट महोत्सवले आफ्नो नाम अनुसारको ओज ग्रहण गर्न सकेको छैन ।