Sunday, February 16, 2020

पुननिर्माण परियोजनाबाट जनप्रतिनिधिको तिर्थाटन


इमेज समाचारदाता
पत्रकार उदय जिएम हरिद्धारमा सेल्फि खिच्दै, पछाडी जिससस प्रमुख तामाङ 
विदुर\भुकम्प पिडितलाई घर बनाउन सहयोग गर्न नुवाकोट जिल्लामा सञ्चालन भइरहेको एक परियोजनाको खर्चमा जिल्लाका एक गाउँपालिका अध्यक्ष बाहेक सबैले भारतको हरिद्धार भ्रमण गरेका छन् । नुवाकोटमा भारत सरकारको अनुदान तथा ऋण सहयोगमा २३ हजार ८८ घरलाई आर्थिक र प्राविधिक सहयोग गर्न भन्दै स्थापना भएको भारत सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युपोप्स्) खडा गरेको छ ।
भुकम्प पिडितहरूको लागि आएको परियोजनाको खर्च र दैनिक भ्रमण भत्तामा भारत घुमेर आउनेहरूमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङदेखि सबै गाउँपालिकाका उपाध्यक्षसम्म छन् ।
नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिकामा उक्त परियोजनाले काम नगरेका कारण त्यहाँका अध्यक्ष र उपाध्यक्षहरूलाई भने भारतले लगेको थिएन ।
तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ति बाहेक ९ वटा गाउँपालिकका अध्यक्षहरू, १० वटा गाउँपालिकाका उपाध्यक्ष, दुई वटै नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू छ दिने भ्रमण सकेर शनिवार भारतबाट काठमाडौं उत्रिएका छन् । बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गाना भने एक दिन भ्रमण छोट्याएर फर्किएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरहरू अनुसार उनीहरूले नेपालका लागि भारतका पुर्व राजदुत मञ्जिवसिंह पुरीसंग भेट गरेर सामुहिक तस्बिर खिचेका छन् । त्यस्तै हरिद्धार तिर्थाटन गरेका छन् ।
जिएमको पछाडी दुप्चेश्वर गापा अध्यक्ष र लिखु गापा अध्यक्ष । 
गएको सोमवार (माघ २७ गते) भारत भ्रमणममा जाने जननिर्वाचित प्रतिनिधिहरूमा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनाल, उप प्रमुख कविता ढुङ्गाना, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा खतिवडा, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, उपाध्यक्ष ईश्वरी उप्रेती, सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष सन्तबहादुर घले तामाङ, उपाध्यक्ष मञ्जु बुढाथोकी, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष रोजिना राई, म्यागाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष शान्ति लामा गुरुङ्ग, किस्पाङ्ग गाउँपालिकाका अध्यक्ष छत्र लामा, उपाध्यक्ष मायादेवी घले न्यौपाने र तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल छन् ।   
फेसबुकमा आएन फोटो
नुवाकोटका निर्वाचित जनप्रतिनिधि २० जनाले भारत भ्रमणको फोटो आफ्नो फेसबुक तथा सामाजिक सञ्जालमा शेयर गरेका छैनन् । टोलीमा मिसिएर गएका पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमले शेयर गरेको केही तस्बिर केही अध्यक्ष, उपाध्यक्षको ‘टाइमलाइन’मा देखिएको छ । तर त्यसमा पुरीसंग भएको औपचारिक भेटको फोटो र नुवाकोटका २१ जना जनप्रतिनिधि भारत भ्रमणमा भन्ने समाचार लिङ्क मात्रै छ । हरिद्धारको बम्हकुण्डमा लिइएको फोटोहरू र हवाइजहाजमा बसेर भारत उढ्दै गरेको पाmेटो जिएमको फेसबुकबाट सार्वजनिक भएको हो ।
वडा अध्यक्ष निमित्त
प्रमुख र उपप्रमुख गयल भएपछि दुवै नगरपालिकाको ठूला काम प्रभावित देखियो । त्यस्तै सात वटा गाउँपालिकाहरूमा प्रमुख र उपप्रमुख दुवै नहुँदा सामान्य गाउँपालिकाको छाप लगाउने काजग तयार हुने बाहेकका कुनै काम अघि सर्न सकेन । ‘अध्यक्ष, उपाध्यक्ष अहिले हुनुहुन्न’ भन्दै नागरिकलाई सबैले फर्काए । तादी गाउँपालिले वडा नं. ६ का अध्यक्षलाई गाउँपालिकाको कार्यबाहक अध्यक्ष दियो । वडाअध्यक्ष केशव थापाले सामाजिक सञ्जालमै यो खुसीयाली बाढेका थिए ।
केन्द्रबाट लगियो पत्रकार
स्थापनादेखि विवादमा पर्दै आएको युनोप्स्ले यसपालि भारत भ्रमणमा नुवाकोटबाट एक जना पत्रकारलाई पनि लैजाने तयारी गरेको थियो । अराजक व्यवहार र कार्य निर्देशिका विपरित काम गरिरहेको युनोप्सको बारेमा समाचार लेख्ने र संकलन गर्ने पत्रकारमाथी भदौ, २०७६ मा भएको दुव्र्यबहार पछि पत्रकार महासंघ नुवाकोट र जिल्लाका प्रायः पत्रकारसंग युनोप्स्को सम्वन्ध चिसिएको छ । महासंघका पदाधिकारीलाई जनप्रतिनिधिसंगै भारत लैजानसके नकारात्मक समाचार बाहिर नआउने उद्देश्य परियोजनाले लिएको थियो । एकैपटक गाउँपालिका नगरपालिकाबाट प्रमुख उपप्रमुख उठाएर भारत लैजादा हुने समस्या र त्यसको समाचार रोक्नकै लागि महासंघबाट जिम्मेवार पत्रकार लैजाने गरी तयारी थालिएको थियो । नुवाकोटका पत्रकारहरूले युनोप्स्को भारत भ्रमण र भुकम्प पिडितको घर बनाउन अनुदानमा आएको रकममा भ्रमण नजाने देखेपछि संस्थाले रणनीति फेरेको बताइएको छ । युनोप्स्को नुवाकोटका कार्यरत कर्मचारी बन्दना सिंहले आफ्नो सहोदर दिदि पत्रकार महासंघका केन्द्रिय सदस्य स्वेता सिंह मार्फत् केन्द्रबाट सचिव उदय जिएमलाई भ्रमणमा लगेका हुन् । ‘जिल्लाबाट नभए केन्द्रबाट ठेगान लाग्छ नी भन्ने दम्भ देखिन्थ्यो’, समाचार श्रोतले भन्यो– ‘त्यो भ्रमण टोलीमा भारत सरकारलाई देखाउन एक जना पत्रकार जसरी पनि लैजानु पर्ने अवस्था थियो ।’ 
सार्वजनिक विदा
बेलकोटगढी नपाका प्रमुख र उपप्रमुख हरिद्धारमा । 
सबै तस्बिरहरू उदय जिएमको फेसबुकबाट
बेलकोटगढी नगरपालिकाका प्रवक्ताले त आफ्नो नगरपालिकाले दिएको सार्वजनिक विदा समेत चाल पाएनन् । माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा नगरपालिकाका अधिकृत शिवराम अधिकारीले विदा दिएका थिए । माघ २४ गतेको मितिमा तयार भएको सार्वजनिक सूचनाको बारेमा समेत नगरपालिकाका प्रवक्ताले २७ गते चाल पाए, त्यो पनि फेसबुक मार्फत् । प्रवक्ता लोहनीले फेसबुकमै लेखेका छन्– ‘नगर कार्यपालिकाको सदस्य कसैलाई जानकारी नदिइकन नै विदा स्वीकृत हुने । नगरको काम कारबाही फेसबुकको पोष्टबाट थाहा पाउनुपर्ने भयो ।’  
माघ २७ गते भारत भ्रमणमा निस्केका प्रमुख र उपप्रमुख अनि नगरको स्थापना दिवसको नाममा २७ गतेनै सार्वजनिक भएको विदाले नगरपालिका विवादमा पर्यो । विदुर  बाहेक नुवाकोटका सबै स्थानीय तहको स्थापना एकै दिन हो । तर अन्य स्थानीय सरकारले माघ २७ मा स्थापना दिवसको विदा दिएन । फागुन २७ मा स्थापना भएको स्थानीय सरकारहरूले एक महिना अघि नै आफ्नो स्थापना दिवस मनाउनुमा कुनै तुक थिएन । तर सञ्चार माध्याममा आएको समाचार र टिप्पणीलाई नगरपालिकाले गम्भिरताका साथ नलिएर प्रतिवाद र खण्डन मात्रै गरिरह्यो । 
यस क्रममा भारत जाँदै नगएको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीलाई समेत भारत गएको भनेर प्रचार गरियो । नगर उपप्रमुख कविता ढुङ्गानाले दिएको स्प्रष्टिकरण आएको समाचारहरूमा नुवाकोट जिल्लाका सबै जनप्रतिनिधि भारत भ्रमणमा रहिरहेको समाचार आए । ढुङ्गानाले मेयर र आफु भारत भ्रमणमा जानका लागि नगरपालिकामा सार्वजनिक विदा दिएको भन्ने समाचारले बदमान गराउन खोजेको जिकिर गरेर समाचारको खण्डन गरेका छन् । भारत भ्रमणमा रहेकै बेला आफुहरू भ्रमणमा रहेकाले विदा दिएको समाचारले बेचैन बनायो भन्दै भ्रमण छोट्याएर एकदिन अघि फर्किए । तर २०७३ साल फागुन २७ गते प्रकाशित नेपाल राजपत्र खण्ड ६६ ले बेलकोटगढी नगरपालिकाको स्थापना दिवस फागुन २७ गते तोकेको छ ।
सित्तैमा भनेर हुन्छ ?
तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले विवादित र काम चोर संस्थाको भजन गाउन नजाने ठोकुवा गरे गएको आइतवार नै गरेका थिए । कार्यक्षेत्रका काम नगर्ने, भारतिय सहयोग र ऋण सहयोगबाट सञ्चालित परियोजनाने जनता ठगिरहेको देख्दादेख्दै उनीहरूको खर्चमा आफु भ्रमणमा नजाने प्रतिवद्धता उनको थियो । आइतवार राती इमेजले प्रायः जनप्रतिनिधिसंग टेलिफोन संवाद गरेको थियो । केहीले काठमाडौं पुगेर संस्थाको गतिविधि र अवस्था हेरेर मात्रै सोमवार भारत उढ्ने या नउढ्ने पक्का हुने भनेका थिए र तर काठमाडौं पुगेको २० जना नै जनप्रतिनिधि भारत हान्निए । तारकेश्वर गाउँपालिकाका अध्यक्ष वस्ती आइतवारको रात्रि भोजमा पनि गएनन् र छ दिने भारत म्रमण पनि दुत्कारे ।  
‘सित्तैमा पाइयो भनेर युनोप्स्को भात खान म गइन, धेरैले यसको परियोजना र काम प्रति नकारात्मक टिप्पणी गरिरहेका छन् । अनि उनीहरूको पछाडी लागेर घुम्ने हो भने त उनीहरूलाई सिधै अनुमोदन गरे जस्तो भएन र !’ गाउँपालिकाका अध्यक्ष वस्तिले भने । 
जनप्रतिनिधिलाई तिर्थ लाने युनोप्स् के हो ? 
२०७६ साल भदौ ९ गतेको इमेज साप्ताहिकमा प्रकाशित समाचार
विदुर\भुकम्पपछि नुवाकोटको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन सञ्चालन भएको भनिएको परियोजना भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) मार्फत् सञ्चालन भइरहेको छ । २३ हजार ८८ घरलाई नुवाकोटमा इष्टमेट प्रदान गर्नुपर्नेमा परियोजना नुवाकोटमा सञ्चालन भइरहेको छ ।
नेपाल सरकारलाई भुकम्प पछिको पुनर्निमाणमा भारत सरकाले दिने भनेको अनुदान सहयोगमा यो परियोजना सञ्चालन भएको हो । भारत सरकारले भुकम्प प्रभावित नुवाकोट र गोरखामा ५० हजार घर पुननिर्माणका लागि अनुदान सहयोग गर्नका लागि यो परियोजना सुरु गरेको हो । यो परियोजना अङ्ग्रेजी पात्रो अनुसार सन् २०१८ को मार्च महिनाबाट सुरु भएको छ । तर नुवाकोटमा काम थालेको १५ महिना जत्ति मात्रै हुनलाग्यो । नेपालको भुकम्पपछिको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)ले परियोजना सञ्चालन गर्यो । परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा ल्याउने जिम्मेवारी पाएको छ । भारत सरकाले यस अघिको सहयोग सम्झौता अन्तर्गत संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई नुवाकोट र गोरखामा सुरक्षित पुननिर्माणका लागि झन्डै एक अर्ब ६२ करोड रुपैयाँ (१६.२ मिलियन डलर) अनुदान प्रदान गर्नेछ । त्यही घोषणा र सम्झौता अन्र्तगत अहिले नुवाकोटमा यो कार्यक्रम लागू भइरहेको छ । 
भारत सरकारले उक्त सहयोग युएनडिपी र युएनओपिएससँगको साझेदारीमा नुवाकोटमा २३ हजार ८८ भुकम्पपीडित धरनीलाई र गोरखामा २९ हजार ९१२ भुकम्प पीडित घरधनी रसामाजिक प्राविधिक सहजीकरण अन्तर्गत सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । युएनडिपी र युएनओपिएसको सामाजिक प्राविधिक समुहले नेपाल सरकारले भकुकम्पीडितका लागि सहयोग गर्न निर्धारण गरेको मापदण्ड बमोजिम भूकम्पपीडित घरधनीका घर पुननिर्माणमा सहयोग गर्ने कुरा उल्लेख छ । उनीहरूले निरीक्षण र प्रमाणीकरणको प्रक्रिया मार्फत विभिन्न तहका निर्माणका साथै घर अनुदानका अंशका घरधनीलाई सहयोग बनाउन र पहुँच पु¥याउन मार्गदर्शक गर्ने बताइएको छ ।
साझेदारी पत्रमा तत्कालिन नेपालस्थित भारतीय राजदूतावास नियोगका उपप्रमुख डा. अजय कुमार, युएनडिपीका देशीय प्रमुख रेनौड मेयर, युएनओपिएस एसिया क्षेत्रका क्षेत्रीय निर्देशक सञ्जय माथजुरले हस्ताक्षर गरे । हस्ताक्षर पत्र आदान प्रदान कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थिति थियो । 
परियोजनाले नुवाकोटमा २० स्थानमा प्राविधिक सहायता केन्द्र स्थापना गरी काम गरिरहेको जनाएको छ । घरको निःशुल्क नक्सा प्रदान, निर्माण सम्बन्धी सल्लाह सुझाव प्रदान, निर्माण सुपरिवेक्षण, घरधनी सचेतनाका साथै घरधनी पहिचानमा छुटेका घरधनीको पहिचानजस्ता काम गरेको दावी परियोजनाको छ । 
के भएको थियो पहिला ?
२०७६ साल भदौ १६ गतेको इमेज साप्ताहिकमा प्रकाशित समाचार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वय इकाई विदुर नुवाकोटले ११ चैत, २०७५ मा लेखेको पत्र भदौ, २०७६ मा इमेज साप्ताहिकले फेला पारेको थियो । राष्ट्रिय पुनर्निमाण प्राधिकरण बैदेशिक सहायता समन्वय शाखा सिंहदरवार काठमाडांैलाई तत्कालिन निमित्त आयोजना प्रमुख बिकि लाखाले लेखेको पत्रमा रहेका चार वटै वुँदाहरू गम्भिर देखिएको छ । समन्वय अभाव, प्रगती विवरण लुकाउने, तथ्याङ्क नदिने र गुणस्तरहिन प्राविधिक सेवाको बारेमा कार्यान्वय इकाईले प्रष्टसंग नै लेखेर पठाएको छ । बैदेशिक सहायता समन्वय शाखाले नुवाकोटमा भुकम्प पुनर्निमाण प्राविधिक सहायता उपलब्ध गराउन काम गरिरहेको संस्था संयुक्त राष्ट्रसंघिय सहयोग कार्यक्रम युएनडिपीको बारेमा राखेको जिज्ञासाको उत्तर पठाउने क्रममा यो तथ्य लिपिबद्ध भएको हो । 
निमित्त आयोजना प्रमुख बिकि लाखाले बैदेशिक सहायता समन्वय शाखामा पठाएको इमेलमा भनिए अनुसार युनोप्स्का प्राविधिक र पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिकहरू बीचमा समन्वयको अभाव थियो । ‘जसले सेवा प्रबाहमा गुणस्तरमा कमी भएकोले प्राविधिक जटिलता परेको छ र असुरक्षित घरको तथ्याङ्कमा बृद्धि भएको पाइएको छ । युनोप्स्बाट खटिएका प्राविधिकहरू लाभग्राहीको घरमा नपुगी नक्सा बनाईदिने गरेको समेत गुनासो आउने गरेको छ ।’ आयोजना कार्यान्वय इकाईले युनोप्स्को क्रियाकलापका कारण नुवाकोटमा पुनर्निमाणको प्रगतीमा योगदान नभएको ठोकुवा गरेको छ ।     
त्यस्तै, युनोप्स्ले जिल्ला वा पालिकास्तरिय कुनै पनि निकायमा आफुले गरेको क्रियाकलापको बारेमा कुनै प्रतिवेदन बुझाउने गरेको पाइएको छैन । यदि पालिकाले मागेमा दिन नमिल्ने बताउने गरेको छ । यो पनि चिठीमा भनिएको छ ।  
त्यस्तै १७ बैशाख, २०७६ मा जिल्ला आयोजना कार्यान्वयन ईकाईले युनोप्स्को बारेमा अर्को पत्र लेखेर यही समस्याहरू दोहो¥याएको छ । केन्द्रिय आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय ललितपुरलाई पत्र लेखेर निमित्त प्रमुख बिकि लाखाले युएनओपिएसले गरिरहेको कामको असन्तुष्टि जाहेर गरेका हुन् ।  
जसमा समन्वय नभएको, प्रगती प्रतिवेदन सन्तोषजनक नरहेको, तथ्याङ्क लिन कठिनाई भएको र प्राविधिक सेवा जटिल बनेको उल्लेख छ । जिम्मेवार सरकारी निकायले ‘युनोप्स्को काम गुणस्तरिय नरहेको र कच्ची घरहरू निर्माण भइरहेको’ किटान गरेर तालुकदार निकायमा पत्राचार गरेको छ । समाचार श्रोतका अनुसार जिल्ला आयोजना कार्यान्वय इकाईका निमित्त प्रमुख बिकि लाखाले लेखेको यही पत्रका कारण यो परियोजनाले उनलाई सरुवा समेत गराएको छ । परियोजनासित सिधै भारतिय दुतावास जोडिएकोले उच्चस्तरिय पहुँचका आधारमा लाखाको सरुवा जेठमा गराइएको थियो । कार्यालय प्रमुखलाई आर्थिक बर्ष सकिन एक महिना बाँकी रहँदा पनि रातारात सरुवा गरेर परियोजानले अर्को कार्यालय प्रमुख ल्याएको चर्चा छ । ‘त्यसपछि युनोप्स्बाट नुवाकोटमा भएगरेका कामको बारेमा यस्तो प्रष्ट समीक्षा र अनुगमन भइरहेको छैन’, श्रोत भन्छ– ‘परियोजना आफ्नै तालसुरमा काम गरिरहेको छ, कसको आँट हुनु भारतिय परियोजना, युएनडिपीको बारेमा बोल्ने !’ 

  


बालिका जवान बनाउन पशुको औषधि

शर्मिला उप्रेती
शक्ति समुह नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रम । तस्बिरःजालपान्युज
विदुर\यौन व्यवसायका लागि भारतको विभिन्न कोठीहरूमा बन्धक बनाइएको नुवाकोटका ११ जनाको उद्धार भएको छ । यसरी उद्धार भरएको किशोरी तथा महिलाहरू अहिले सुरक्षित र संरक्षित रुपमा रहेको शक्ति समुह नुवाकोटले जनाएको छ । मानब ओसारपसार तथा आधुनिक दासताको बिषयमा शक्ति समुह नुवाकोटले जिल्लाका पत्रकारहरूसंग शुक्रवार गरेको अन्तरक्रिया उक्त तथ्य सार्वजनिक भएको हो ।
मानब ओसारपसारको चपेटामा नुवाकोट रहेको भन्दै शक्ति समुहले सञ्चारकर्मीहरूले यसको बिषयमा लेख्न आग्रह गरेको छ ।
पछिल्लो पटक उद्धार गरिएकाहरूमा १८ वर्ष भन्दा मुनी उमेर समुहका रहेको समेत बताइएको छ । उनीहरूको शारिरिक विकासका लागि पशुलाई खुवाउने औषधि सेवन गराइएको स्वास्थ्य परिक्षणबाट देखिएको छ ।
रोजगारी, अध्ययन तथा भ्रमणको बिभिन्न बाहना बनाउदै कलिला बालीकाहरूलाई ‘सेक्स ओर्कर’को रुपमा प्रयोग हुँदै आएको शक्ति समुहले जनाएको छ । चालु आर्थिक वर्षको अवधिमै नुवाकोटका ११ जनालाई उद्धार गरिएको तथ्याङ्कका आधारमा जिल्लाबाट मानव विक्रिको अवस्था भयावह रहेको बताइएको छ । उनीहरूलाई नेपाल फिर्ता ल्याइसकिएको छ । तर भारतको यौन बजारमा रहेको नेपाली महिला तथा किशोरीहरूलाई फिर्ता ल्याउन कानूननै परिमार्जन गर्नुपर्ने आबाज समेत उठेको छ ।
शक्ति समुहका केन्द्रिय तालिम तथा कानुन अधिकृत दिलिप कोईरालाले भारतको बिभिन्न स्थानबाट उद्धार गरिएका चेलीहरूलाई नेपाल ल्याउन कानूनी अड्चन रहेको बताए । दुई देश बिचमा रहेको संबैधानिक सम्स्याले  सहज रुपमा नेपाली महिला तथा बालिकाहरूको उद्धारमा समस्या रहेको उनले बताए ।
शक्ति समुह नुवाकोटका जिल्ला अधिकृत सम्झना प्रसाईले समस्यामा परेपनि फिर्ता हुन नचाहने र परिवारिक सहयोग नहुने गरेको बताएका छन् । पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जिल्लाका पत्रकारहरू मानव विक्रि जस्तो जघन्य अपराधको विरुद्धमा निरन्तर सक्रिय रहेको बताए । उनले यस विधिमा समाचार लेख्दै आएका पत्रकाहरूको क्षमता विकास र प्रोत्साहका लागि यस क्षेत्रका काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरूले विशेष कार्यक्रम ल्याउदा समुदायमा लाभ मिल्ने बताएका छन् ।
मानव विक्रको दृष्टिबाट बढि प्रभावित देखिएका नुवाकोटको दुप्चेश्वर गाउपालिकाका सबै वडा, तादी गाउपालिकाको २ नम्बर वडा, पञ्चकन्याको गाउँपालिकाको वडा नं. ४ र शिवपुरी गाउँपालिकाको वडा नं. १ मा शक्ति समुहले दासता र गरिबी विरुद्ध सामुदायिक नेतृत्व बिकासका कार्यक्रम सञ्चालन गरेको छ । 

रसुवागढी नाका अझै बन्द

रोशन बोगटी
विदुर\कोरोना भाइरस नेपाल भित्रने डरले बन्द गरिएको रसुवागढीदेखि केरूङसम्मको आवतजावतमा बन्द कायम राखिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको संक्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । त्यो म्याद बढाएर फागुन ७ गतेसम्म पु¥याइएको छ ।
रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका लागि पुनः आवतजावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिसकिएको बताइएको छ । चीनमा फैलिएको कोरोना भाइरसको लक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवतजावत नगराउन आग्रह गरी सीमा क्षेत्रको टिमुरे क्षेत्रमा  स्वास्थ्यको चेतनामूलक कार्यक्रम भएको प्रशासनले जनाएको छ ।
तर, रसुवागढी नाकामा रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हालसम्म कुनै पनि कदम नचालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
नेपाल सरकारले भने साथै केही दिनका लागि आवतजावतमा निगरानी राख्दै सीमामा हेल्थ डेस्क राख्ने तयारी भइरहेको जनाएको छ । तिब्बतमा झन्डै ५ सय नेपालीको बसोबास छ, केरुङमा पनि ठुलो संख्यामा नेपाली नागरिकहरू बसोबास गर्दै आएका छन् ।
चीन र नेपालबीच १४ सय १४ किलोमिटर सीमा जोडिएकामा आवश्यक स्थानमा चीन सरकार स्वयंले नाका र आवतजावत बन्द गरेको छ । 
कोरोना भाइरसको प्रकोप बढेपछि चीनसँग सीमा जोडिएका एक दर्जनभन्दा बढी मुलुकले चिनियाँ नागरिकको आवतजावतमा कडाइ गरे पनि नेपालले थप कडाइ वा सीमा सतर्कताको तयारी गरेको छैन ।
गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार माघ मसान्तसम्म रसुवा नाकाबाट १५ दिनका लागि आवागमनमा कडाइ गरिए पनि अन्य नाकाबारे कुनै निर्णय गरिएको छैन ।

७० हजारले हेरे महोत्सव

प्रितिका थापा
बट्टार\छैटौँ नुवाकोट महोत्सबमा ७० हजार दर्शकले अबलोकन गरेको आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सबमा ६० हजारले टिकट काटेर अबलोकन गरेको र बाँकी बृद्धबृद्धा र बाणिज्य संघका साधारण सदस्यहरू रहेको बताइएको छ । धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराका साथ यही माघ १६ गते सुरु भएको महोत्सवले नुवाकोटमा बिकासको लहर सिर्जना गरेको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले दावी गरेका छन् । नुवाकोट जिल्लाको सम्भावनलाई उजागर गर्दै महोत्सबले ब्यबसायिक क्षेत्रमा फड्को मारेको उनले बताए ।
यसै बीच, महोत्सबमा पाँच करोड रुपैयाँको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताएका छन् ।
बट्टारको बसपार्क नजिकै १२ दिनसम्म सञ्चालन भएको छैठौं नुवाकोट महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थियो । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरूमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन विशेष योगदान पुगेको नेपाल उद्योग बाणिज्य महासंघका केनिद्रय सदस्य राजन श्रेष्ठले बताए । 

छाला सहित दुई पक्राउ

मुकुन्दराज अर्याल
विदुर\संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी उनीहरू लाई सार्वजनिक गरेको हो । तारकेश्वर नगरपालिका–४ पुरानो गुह्ेश्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मङ्गलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो । उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित नुवाकोट बेलकोट नगरपालिका–११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ का सुवास लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको बताईएको छ । उनीहरूले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

बोगटीलको निधनले मलाई ठूलो क्षति भयो : प्रचण्ड

सुजित भण्डारी
पोष्टबहादुर बोगटीको जन्मस्थल विदुर नपा–७ तुप्चेमा
शालिक अनावरण गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्ड । तस्बिर : संगम भड्ताल\इमेज
तुप्चे\सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहकर्मी पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका छन् । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा गएको सोमवार आयोजित कार्यक्रममा प्रचण्डले बोगटीको शालिक अनावरण गरेका हुन् ।
शालिक अनावरण कार्यक्रममा पोष्टबहादुर बोगटीलाई सम्झदै प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरूमा निसर्त साथ दिएको बताए । उनको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण प्रचण्डले गरे ।
सामान्य गरिब परिवारमा जन्मेको र औपचारिक रुपमा उच्च शिक्षा ग्रहण नगरेका बोगटीमा असाधारण क्षमता र व्यक्तित्व रहेको प्रचण्डको भनाइ थियो । बोगटीमा रहेको चारित्रिक र नैतिक बलका कारण उनले बोलेपछि पार्टीका शीर्ष नेताहरू समेत हच्किने गरेको प्रचण्डको भनाइ थियो । आफ्नो दायाँ र बायाँ बाबुराम भट्टराई र मोहन वैद्य रहने गरेको स्मरण गर्दै प्रचण्डले बोगटीका अगाडि दुवै डराउने गरेको सुनाए । ‘मेरो दायाँ र बायाँतिर ठूल्ठूला विद्वान डाक्टर र वैद्य थिए’, उहाँ त धेरै नपढेको मान्छे तर, उहाँ बोलेपछि डाक्टर र वैद्यको पसिना छुट्थ्यो ।’
बोगटीको असामयिक निधनमा काँग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि प्रचण्डले गरे । प्रचण्डले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गरे । त्यस अवसरमा चण्डेश्व्री माविको अभिभावक भेलालाई समेत अध्यक्ष प्रचण्डले सम्वोधन गरेका थिए ।
मुलुक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका स्वर्गिय नेता पोष्टबहादुर बोगटीको जन्मथलोमा निर्माण भएको अर्धकदको शालिकसंगै चौतारा पनि निर्माण गरिएको छ । बिभिन्न संघ संस्था, बिदुर नगरपालिका, वडा कार्यलय , स्थानिय युवा क्लबहरू लगायतको झण्डै १५ लाख रुपैयाँ आर्थिक सहयोगमा २ महिनामा नै शालिक निर्माण भएको निर्माण समितिका अध्यक्ष कल्पना रिमालले जानकारी दिएका छन् ।
यसै बीच, प्रचण्डले आफूले प्रधानमन्त्री बन्ने लालसा नराखेको बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले आफूलाई प्रधानमन्त्रीको रेसमा रहेको रुपमा नबुझिदिन पनि आग्रह गरे । भविष्यमा भने प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व लिन सक्ने उनको संकेत थियो । ‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, प्रचण्डले भने, ‘भविष्यको कुरा अर्कै हो ।’ कार्यक्रममा काँग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डको सम्बोधन गरेका थिए । लामाको भनाइ प्रति टिप्पणी गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको प्रष्टीकरण दिए । प्रचण्डले आफ्नो ध्यान सत्तामा नभई मुलुक विकासमा रहेको बताए । 
चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उनले त्यसमा अहिले आएर तीनै मुलुकका बीचमा करिब सैद्धान्तिक सहमति कायम भएको उल्लेख गरे । ‘उहाँहरूले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भने, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उनले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र ‘कनेक्टिभिटी’ नै त्रिदेशीय साझेदारी भएको व्याख्या गरे ।

भलिबल उपाधि आयोजक टिमलाई

संगम भड्ताल
प्रथम पञ्चकन्या चेयरम्यान कप भलिवल प्रतियोगिताको
फाईनलका लागि भलिबल हस्तान्तरण गर्दै नेपाली काँग्रेसका
बरिष्ठ नेता रामचन्द्र पौडेल, साथमा पञ्चकन्या
गाउँपालिकाअध्यक्ष तेजबहादुर तामाङ । तस्बिर : इमेज
कबिलास\नुवाकोट जिल्ला अन्तरपालिका स्तरिय प्रथम पञ्चकन्या चेयरम्यान कप भलिवल प्रतियोगिताको उपाधी आयोजक टिम पञ्चकन्याले जितेको छ । पञ्चकन्या गाउँपालिका वडा नं. २ स्थित कालिका माबिस्थित खेलमैदानमा मंगलवार भएको फाइनल प्रतियोगितामा प्रतिस्पर्धि म्यागङ गाउँपालिकालाई सोझो सेटमा हराउँदै पञ्चकन्याले उपाधि जितेको हो ।
उक्त प्रतियोगिताको विजयी पञ्चकन्या गाउँपालिकाको टिमले १ लाख नगद रुपैयाँ सहित ट्रफी हात पारेको छ । उप बिजेता म्यागङ गाउँपालिकाको टिमले ७५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ ।
यस्तै दुप्चेश्वर गाउँपालिका अन्तरपालिका स्तरिय चेयरम्यान कप भलिवल प्रतियोगितामा तेश्रो स्थानमा उक्लेको छ । शिवपुरी गाउँपालिकालाई पराजित गरेको दुप्चेश्वर गाउँपालिकाले ५० हजार रुपैयाँ र ट्रफी पाएको छ । अनुसाशित खेल प्रदर्शनमा तारकेश्वर गाउँपालिकालाई सम्मान गरिएको छ । प्रतियोगितमा विभिन्न विधिमा उत्कृष्ठ भएका खेलाडीहरूलाई पुरस्कृत समेत गरिएको थियो । त्यस क्रममा लिखु गाउँपालिकाको टिम भित्रका डेनिश राई उदयमान खेलाडी, बेस्ट स्ट्राईकरमा म्यागङका आयुश खड्का, बेष्ट ब्लकरको अवार्ड आयोजक पञ्चकन्याका सुजन थापालाई, बेस्ट डिफेन्डरमा दुप्चेश्वरका सिताराम तामाङ, बेस्ट सटरमा पञ्चकन्याका केशव बोहोरा, बेस्ट सर्भरमा म्यागाङका आईतराम तामाङ, बेस्ट प्रशिक्षकमा पञ्चकन्याका प्रशिक्षक उत्सव खड्का, बेस्ट प्लेयरको अवार्ड सन्जय शाह ठकुरी र ब्यबस्थापकमा स्थानिय शिक्षक राजकुमार ठकुरीले अवार्ड गरेका छन् ।
पञ्चकन्या गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम पञ्चकन्या चेयरम्यान कप प्रतियोगितामा नुवाकोट जिल्लाका १२ वटै पालिकाबाट खेलाडीहरू सहभागि भएका थिए । कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बिजेता टोली तथा उत्कृष्ठ खेलाडीहरूलाई आयोजक गाउँपालिकाको तर्फबाट पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।
यसै बीच, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षपाती रुपमा नेकपाले राज्य सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।  नेकपाको सरकार एकपक्षिय ढङ्गले सञ्चालन भैरहेको बताए । आफु अनुकुल नरहेका ब्यक्तिहरूको पक्षमा एकोरोह राज्य लागेको उनको आरोप छ । एकै प्रकृतिका कसुरमा पनि कसैलाई हदैसम्मको सजाय र कसैलाई उन्मुक्ति दिनु आपत्तिपूर्ण रहेको पौडेलले बताए ।
यस्तै, भलिवल प्रतियोगिताको समापन गर्दै पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले सम्बृद्ध पञ्चकन्या निर्माणको लागी एकजुट हुनुको बिकल्प नरहेको बताए । आफु गाँउपालिकाको अध्यक्षमा निर्बाचित भएसँगै सबैलाई एकजुट हुन आग्रह गर्दै गाँउपालिकाको बिकासमा होमिएको उनले बताए ।
शनिवार कविलास पुरनीडाँडा स्थित कालिका माविको खेलमैदानमा प्रथम चेयरम्यान कप भलिवल प्रतियेगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।  

शिक्षा पहिलो प्राथमिकतामा

काहुले\नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यत्तिको लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने रहेकोमा अचम्म माने । उनले आफ्नो सम्वोधनको क्रममै ३१ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भुमिका निर्वाह गरिरहनुभएका भनेर सम्मान सम्वोधन गरेका थिए ।
    प्रचण्डले किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा बोल्दै समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताए ।
भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन उअवसरमा उनले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्षजनशक्ति उत्पादनमा थप ऊर्जा थपिने बताए ।
नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभइ विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभइ समृद्धिको सपना पूरा हुन नसक्ने उनको भनाई छ ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युत्लगायतका भौतिक पूर्वाधारले मात्र समृद्धि प्राप्त नहुने भएकाले शिक्षा र सीप लगायतका मानवीय दक्षताको पूर्वाधार विकासमा आफ्ना सन्ततिलाई केन्द्रित गराउन सुझाव दिएका छन् । संघीय सांसद नारायणप्रसाद खतिवडाले शिक्षाका माध्यमबाट कृषि, पर्यटन, जलविद्युत् लगायतको सीप प्रवद्र्धन गर्ने सिकाइको बिकास गराउन सक्नुपर्ने बताए । त्यसका लागि ऐसेलुभुमे मावि नमुनाको रुपमा विकास हुनेमा उनले विश्वास व्यक्त गरे । 
नेकपा नुवाकोटका अध्यक्ष एवं वागमती प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले विद्यालयको भवन निर्माण मात्र नभइ विद्यालय पुग्न सहज बाटो र सडकको अभावले विद्यार्थी बढाउन र विद्यालयमा नियमित गराउन प्रदेश सरकार नयाँ योजना तथा नीति बनाउने क्रममा रहेको  दावी गरे ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक दिलीपशेखर श्रेष्ठले भूकम्पले क्षति पु¥याएकामध्ये सात हजार ५०० क्षतिग्रस्त विद्यालयमध्ये पाँच हजार ५०० को पुनःनिर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माणको प्रक्रियामा रहेका बताए । उनले नुवाकोटमा ४५३ विद्यालयमध्ये ३६४ को पुनःनिर्माण सम्पन्न भइसकेको र २६ विद्यालय जग्गा अभावमा निर्माणमा समस्या भएकाले सामुदायिक विद्यालयका लागि समुदायबाट जग्गा उपलब्ध गराउन अपिल गरे ।
उक्त विद्यालयको १५ कोठ नयाँ भवन तीन करोड ९५ लाख रुपैयाँ लगानीमा जोशी–काङ्ग्री निर्माण व्यवसायीले तोकिएको अवधि भन्दा एक महिनाअघि नै निर्माण सम्पन्न गरेको भारतीय राजदूतावासबाट सञ्चालित सहयोग अनुदान शाखाका सचिव शुचिता किशोरले बताए ।
नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त ऐँसेलुभूमे माध्यमिक विद्यालय २०४६ सालमा स्थापना भएको हो । यस विद्यालयले ६३७ विद्यार्थीहरू पढिरहेका छन् ।
भारत सरकारको ३९.५७ मिलियन रुपैयाँ अनुदान सहयोगमा निर्मित नयाँ संरचनामा तीनवटा ब्लकहरू छन् । यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेको छ । दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । भारतीय सहयोग अनुदानमा जिल्लामा थप आठ विद्यालयमा आवश्यक सबै कक्षा कोठाको निर्माण भइरहेको छ ।

‘सर्वस्व’ सुम्पने नन्दराम ३१ वर्षदेखि अध्यक्ष

ऐँसेलुभूमे माविको भवन उद्घाटनका क्रममा नेकपाका अध्यक्ष प्रचण्ड, मन्त्री अनन्तको
साथमा विद्यालयका अध्यक्ष नन्दराम न्यौपाने (दाँयाँ)
अक्षर काका
किस्पाङ (नुवाकोट) । माथि हेर्याे ढुङ्ग्यान डाँडो । तल आँखाले भ्याएसम्म ढुङ्गिलो जमिन । करिब २० वर्षअघिसम्म भूमेथानको परिचय ढँड्यान र बलोटे जमिनमा सीमित थियो । थाप्लोमा किस्पाङ पोखरी बोकेकाले उब्जाको संकट थिएन । आयस्ताले मात्रै गरिबी कहाँ पन्छाउँथ्यो र ! शिक्षाको पहारिलो घाम नलागेसम्म किस्पाङको आङको ठिही कहाँ हट्थ्यो र सजिलै !  पश्चिमोत्तर नुवाकोट, काहुले (किस्पाङ गाउँपालिका–३) को अवस्था २० वर्षअघिसम्म यस्तै थियो । गाउँलेहरूले अशिक्षाको चक्रब्यूह तोड्न सकेका थिएनन् । अशिक्षाकै कारण जग्गा–जमिन भए पनि गरिबीको गर्तमा धकेलिएका थिए । पञ्चायतको उत्तराद्र्धलाई सम्झँदै ऐँसेलुभूमे माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने भन्छन्, ‘दलितको बाहुल्य रहेको भूमेथानका बालबच्चाहरूले स्कुलको अनुहार देख्न पाएका थिएनन् । पिता–पुर्खाको पालादेखि नै निर्धन भाग लाग्दै आएकाले उनीहरूको भविष्यले बेस्सरी पिरोल्थ्यो !’
काहुलेको मात्रै होइन, साल्मे, भाल्चे, फिकुरी र मनकामनाको नियति पनि काहुलेको पृथक थिएन । जिल्लाका अन्यत्र भू–भागमा पञ्चायतको मध्यतिर नै फाट्टफुट्ट विद्यालय खुलेका थिए । त्यसको पिलपिले उज्यालो अन्यत्र पनि फिँजिएको थियो । काहुलेको अँध्यारो अझै सघन हुँदै थियो । नन्दरामले जिल्ला शिक्षा कार्यालयमा विद्यालय खोल्न निकै ताकेता गरेका थिए । तर, जति धामा गरे पनि कतैबाट केही हात लागेको थिएन । बालबच्चा हुँर्कंदै जाँदा पढ्न कहाँ पठाउने होला भन्ने चिन्ताको आगो दन्किइरहेकै थियो । २०४५ सालको अन्त्यतिर हुनुपर्छ, पश्चिम नुवाकोटमा कहलाएका जिसिङ (काजी) का भाइ मदनमान सिंह जिल्ला शिक्षा समितिका अध्यक्ष थिए । उनैले नन्दरामलाई भने, ‘तपाईंले निकै ताकेता गर्दै आउनुभएको छ । तपाईंकै क्षेत्रमा विद्यालयका दुईवटा कोटा पठाइदिएको छु, विद्यालय थपना गर्नुस् है !’
उनको अनुहारमा झुल्केघाम लाग्यो । तर केही समयपछि नै अनिश्चयको कालो बादलले छोपिहाल्यो । वरिपरि बलौटे पाखो भन्दा छैन । सम्म ठाउँमा कि झुरुप्प बस्ती छ, कि खर्क । कहाँ स्थापना गर्ने विद्यालय ? मनकामना क्षेत्रले ठाउँ तय गरेर एउटा कोटा लगिहाल्यो । अर्को ‘अलपत्र’ थियो । नन्दरामले चारचौरास ठाउँ खोजे । कहीँ पाएनन् । तत्काल ठाउँ जुगाड नभए कोटा फिर्ता हुने भएको थियो । मिल्दो जग्गा नभेटेर निराशा मात्रै हात लागेको थियो । उनले सोचे, आफ्नै जग्गामा विद्यालय ‘थपना’ गर्छ‘ । ‘आफैंले पढ्न नपाएको चिन्ता छँदैथियो । बालबच्चाले पनि पढ्न नपाउने भए भन्ने चिन्ताले टोकस्न थाल्यो । खेत त फेरि जोड्न सकिन्थ्यो, विद्यालय कसरी जोड्नूु’ उनी अहिले पनि त्यतिबेलाको क्षण सम्झन्छन् ।
गाउँको मध्य भागमा ४ रोपनीको धान खाने खेत थियो ।  बालबच्चाको मुख हेरेनन् । सिङ्गो भूमे थान, काहुलेको अनुहार हेरे । रोग, भोकलाई प्रारब्धको भागभोग ठानेर बेहोरिरहेका निमुखा र तिनका बालबच्चाको भविष्य हेरे । भोलि के–कसो होला भनेर सोच्दैनसोची उनले ऐँसेलुभूमे विद्यालयको नाममा बकसपत्र गरिदिए । ‘त्यतिबेला जग्गा दिने आँट नगरेको भए, कोटा त उम्कन्थ्यो नै विद्यालय नहुँदाको सकस पनि कायमै रहन्थ्यो,’ त्यतिबेलाको क्षण सम्झिएर आफैंले आफैंलाई धन्यवाद दिन्छन् उनी ।
जसोतसो विद्यालय त स्थापना भयो । विद्यार्थी कहाँ पढाउने भन्ने अर्को समस्या आइलाग्यो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लौकिक कहावत् त्यहाँ पनि चरित्रार्थ भयो । गाउँले सबै मिलेर चित्रेगोठ, कटेरो ठड्याए । त्यहीँबाट सुरु गरे अक्षरारम्भ । चित्रेगोठले हिउँद–वर्षा र पूर्वतिरबाट ठोकिन आइपुग्ने त्रिशुलीको मुटु छेड्ने सिरेटो झेलिरहन सम्भव थिएन । गाउँका भद्रभलाद्मी भेला भए । जनश्रमदानबाट, आफ्नै बलबुतामा भवन उभ्याउने निधो गरे । २०४६ सालमा विद्यालयको सुरुआत भयो । तर, स्रोत नभएर झण्डै १२ वर्ष प्राथमिक विद्यालयकै अवस्थामा रह्यो । ‘बजेट नहँदा विद्यालयको भौतिक अवस्था सुधार भएन । शैक्षिक अवस्थामा आशातीत प्रगति भए पनि बाहिरबाट हेर्दा कक्षाकोठा थिएनन् । छिट्टै बढुवा गर्न सकिएन,’ विद्यालयको स्तरोन्नति हुन नसक्नुको कारण उधिन्छन् उनी । २०५८ सालमा बल्ल निमावि भयो । त्यतिबेला पनि ठूलै युद्ध जितिएजस्तो भान भएको थियो ।
गाउँलेहरूको उत्साहलाई व्यापकता प्रदान गर्दै, पुँजीकृत गर्दैै दोस्रो–तेस्रो वर्षमै माध्यामिक विद्यालय बनाउने लक्ष्य लिएका थिए । त्यहाँ पनि स्रोतको जुगाड हुन सकेन । विद्यालयको भौतिक प्रगति आशातीत हुन सकेन । शैक्षणिक र प्राज्ञिक सुधारले मात्रै पुगेन । ‘भवन नै नभए कहाँ पढाउने भन्ने प्रश्न टड्कारो भएर आयो,’ नन्दराम निम्न माध्यामिकबाट माविमा बढुवा गर्दाको संघर्षको एकएक फेहरिस्त सुनाउँछन् ।
माध्यामिक विद्यालय बनाउन २०६६ साल नै पर्खनुपर्याे । किस्पाङको पाखामा एकैपटक सात सूर्य उदाएझैं भयो । वर्षौंदेखिको सपना साकार भयो । गाउँको दैलामै माध्यामिक शिक्षालय खडा भयो । पढ्नकै लागि भनेर बालबच्चाले भीरपहरो छिचोल्नुपरेन । दूरदराजको गाउँ शिक्षाले सुगम तुल्यायो । विद्यालयलाई त माध्यामिक बनाइयो । पढाइलाई कसरी ‘माध्यामिक’ बनाउने ? ऐँसेलु भूमेमा पढेका विद्यार्थीलाई कसरी देश– दुनियाँसँगको प्रतिस्पर्धामा जित्ने बनाउने ? अतिरिक्त कार्यकलापमा पनि कसरी अब्बल, क्षमतावान् तुल्याउने ? पाठ्यक्रमले निर्धारण गरेको लक्ष्य, उद्देश्यअनुरूपको वैज्ञानिक शिक्षा कसरी दिने भन्ने चुनौती अद्यावधिक हुँदै आएको थियो ।
भौतिक पूर्वाधारसँग गाँसिएका समस्या किनारा लाग्नुको अझ परिस्कृत बन्दै थिए । नन्दरामले आफैं अगुवाइ गरे । समयसमयमा शिक्षक, अभिभावकहरूको मिटिङ, छलफल, भेला राखे । शिक्षक–अभिभावक, शिक्षक–विद्यार्थी बीचको दूरी मेट्ने कोसिस गरे । शिक्षकलाई पठन–प्रणाली, विषयवस्तुसँग अद्यावधिक राख्न भूमिका खेले । शिक्षक तालिम, सेवा–सुविधा, दक्षतामा जोड दिए । कक्षाकोठामा आइपरेका समस्याको पहिचान गर्ने र निराकरणका लागि पहलकदमी लिए । आफू पढेलेखेको त थिइन । तर विद्यालयमा बरोबर  आइरहने समस्यासँग परिचित थिए । विद्यार्थीको चाप बढ्दै गएपछि शिक्षकको अभाव हुन्थ्यो । अनुदानका लागि गाविस, राहत शिक्षका लागि शिक्षा कार्यालय धाउँथे । दरबन्दीकै लागि नधाएको पनि महिना हुँदैनथ्यो । भेटेजति दातृ निकाय र सहयोगी संघ–संस्थाका दैलो ढक्ढक्याउँथेँ । हारगुहार गर्थें । बिन्ती बिसाउँथे । शिक्षा कार्यालयले र सम्बन्धित निकाले पनि कुरा सुन्न कञ्जुस्याइँ गर्दैनथ्यो,’ विद्यालयको अवस्था सुधार्न आफूले गरेको एकएक प्रयत्नको बेलीबिस्तार लगाउँछन् उनी ।
उनले गरेको मिहिनेतको बोट झाँगियो । लटरम्म फल लाग्यो । त्यसको लाभ नन्दराम एक्लैले उठाएनन् । काहुले र किस्पाङको सम्पत्ति भयो । बालबच्चाको भविष्य बन्यो । ऐँसेलुभूमेको आभा गाउँ–गाउँ फिँजारिँदै नुवाकोटव्यापी बनेको छ । २०६९ देखि उच्च मावितर्फको पनि पठनपाठन सुरु गरेको ऐँसेलुभूमेले २०७१ सालको एसएलसी नतिजामा सामुदायिकतर्फ जिल्लाका सबै विद्यालय उछिन्यो । त्यसपछि भने नन्दरामले विश्राम लिन खोजेका थिए । अगुवाइको जिम्मेवारी अरूकै काँधमा सुम्पिएर र आफू परै बसेर विद्यालयको प्रगतिको साक्षी बन्न मन लागेको थियो । तर समुदायको शिक्षाको निम्ति पसिना बगाउने बानी परेका नन्दराम जिम्मेवारीबाट सजिलै पन्छन कहाँ सक्थे र ! पाउँथे र !
समुदायले अग्रसरता देखाए सामूहिक विद्यालय पनि अब्बल हुन्छ भनेर उदाहरणीय बनिरहन आफैं प्रेरित भइरहे । २०७२ सालको विस्मयकारी भूकम्पले विद्यालय खण्डहर तुल्याएपछि उनले झनै गह्रौं भारी उचाल्नुपर्यो । ‘दुःखजिलो गरेर ठड्याएको विद्यालयमा भूकम्पको आँखा लाग्यो । श्रमदानमा ठड्याएका अधिकांश भवन खण्डहर बने । पुरानै चित्रेगोठ, टहरामा फर्कनुपर्ने अवस्था आइलाग्यो,’ उनी भूकम्पको कहर शब्दमा समेट्न खोज्छन् ।
भूकम्पले विनाश मात्रै निम्त्याएन । विकासको बाटो पनि खोलिदियो । भूकम्पलगत्तै ऐँसेलुभूमे देशभर सञ्चालित २२२ नमुना विद्यालयमा पर्याे । नमुना विद्यालय पाउनुका पनि आफ्नै दुःख छन् । कुल ६ सय ६६ जना विद्यार्थी अध्ययनरत रहेकाले कक्षागत विद्यार्थीको योग पुग्थ्यो । विद्यालय भू–क्षयलगायत प्राकृतिक प्रकोपको जोखिममा थिएन । तर, नमुना विद्यालय सञ्चालन गर्न न्यूनतम १० रोपनी जग्गा आवश्यक पथ्र्यो । विद्यालयको नाममा नन्दरामले नामसारी गरेर दिएको चार रोपनी जग्गाभन्दा थिएन । यसपटक पनि उनले ठूलो छाती देखाए । विद्यालयले तिर्न सक्नेभएपछि बुझ्नेगरी आफ्नो नाममा रहेको जग्गा नामसारी गरे ।
जग्गा र भौतिक, शैक्षिक पूर्वाधार विकासका लागि गरी उनले १५ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । ऋण स्वरूप उपलब्ध गराए पनि विद्यालयको स्रोत व्यवस्थापन भएपछि शोध भर्ना लिने बताउँछन् । त्यसबाहेक नुमना विद्यालय व्यवस्थापनको कार्यक्रम ल्याउन गर्नुपरेको धामा शब्दमा समेट्न दुरुह छ ।
अहिले देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समिति राजनीतिक दलका क्रिडास्थल बनेका छन् । अभिभावकसम्म पहुँच विस्तारका लागि सजिलो हुने र कद बढाउन सजिलो ठानेर नेतृत्व हत्याउन राजनीति दलबीच मारमुङ्ग्री चल्छ । तराईका सामुदायिक विद्यालयको व्यवस्थापन समितिको छनोटमा हिंसात्मक घटना भएका खबरहरू अखबारमा पढ्न पाइन्छ । अधिकांश ठाउँमा नेतृत्व छान्न चुनावै हुन्छ ।
त्यहीँ पर्तिर, किस्पाङ–२, सातदोबाटोको ज्ञानज्योति माविमा पनि दलीय सहमति नजुट्दा विद्यालय व्यवस्थापन समितिले अध्यक्ष पाएको छैन । तर ऐँसेलुभूमेको विद्यालय व्यवस्थापन समितिको नेतृत्व ३१ वर्षदेखि नन्दरामकै काँधमा छ । तदर्थ समिति बन्दा केही महिना सूर्यबहादुर वाइवा संयोजक बनेका थिए । त्यसपछि नन्दराम अबिराम छन् । ‘विद्यालय व्यवस्थापनको नयाँ नेतृत्व चुन्ने बेला भएपछि गाउँमा सर्वपक्षीय सहमति बन्छ । सबै दल, भद्रभलाद्मी एकमुख लागेर ‘तैं बन्नुपर्छ’ भन्छन् । समाजले दिएको जिम्मेवारी कसरी नाईंनास्ती गरूँ !’ पुलकित हुँदै सुनाउँछन् । ऐँसेलुभूमे विद्यालयको प्रगतिको शृङ्खला रोकिएको छैन । गएको सोमबार मात्रै भारतीय दूतावासको सहयोगमा साढे चार करोडको लागतमा बनेकोे १५ कोठे भवन उद्घाटन भयो । भूकम्पबाट विद्यालय भवन ढलेपछि नन्दरामको जाँगर ढलेको थिएन । लगन–शील धूलिसात भएको थिएन । भवन निर्माणमा सहयोग गर्न दातृ निकायको ढोका ढक्ढक्याइरहेका थिए । ‘के खोज्छस्... आँखा ! भनेझैँ पो भयो । शिक्षा विकास तथा समन्वय इकाइ आफैंले भारतीय दूतावासलाई प्रस्ताव पेश गरिदिएछ । प्रस्ताव स्वीकृत भयो । भूकम्पपश्चात् शैक्षिक क्षेत्र पुनःनिर्माणमा भारतीय अनुदान कार्यक्रममार्फत् ४ करोड ४७ लाख लागतमा ९ र ६ वटा कोठा भएको दुईवटा भवन र सुविधासम्पन्न शौचालय निर्माण भयो,’ उनी खुसी हुँदै सुनाउँछन् ।
विद्यालयले समयको वेग पछ्याएको देखेकाले र हृदयङ्गम गरेकाले हुनुपर्छ सम्झौता मितिभन्दा एक महिनाअघि नै भवन निर्माण सम्पन्न भयो । अघिल्लो वर्षको मङ्सीर २७ गते निर्माण सम्झौता भएको थियो । यो वर्षको माघ २७ गते पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भवन उद्घाटन गरे । ‘भवन निर्माणको जिम्मा लिएको जोशी याङ्ग्रीले पनि हाम्रो गतिलाई बुझेजस्तो छ,’ यसपटक नन्दराम मच्चिएरै हाँसे ।
नमुना विद्यालयका अतिरिक्त ऐँसेलुभूमेमा प्राविधिक शिक्षाअन्र्तगत ९ देखि १२ कक्षासम्म बाली विज्ञान पढाइ भइरहेको छ । प्रदेश सरकारको विद्यालय नर्स कार्यक्रम सञ्चालित छ । नर्स कार्यक्रमले विद्यार्थीको आकर्षण बढाएकै छ ।
चुनौतीका रूपमा विद्यालय छाड्ने दर छ । पठनपाठन कार्यकलापलाई समय सुहाउँदो बनाएर त्यसमा कमी ल्याउन विद्यालय लागि परेकै छ । विषयगत शिक्षकको मात्रा थप्ने र पढाइलाई परीक्षामुखी नभइ परिणाममुखी बनाउन उत्तिकै चनाखो छन् नन्दराम । ‘किस्पाङलाई शैक्षिक र पर्यटकीय हब बनाउने दीर्घकालीन योजना छ । ऐँसेलुभूमे यसैको आधार हो,’ यति भनेर नन्दरामले कुराकानी बिट मारे । –बाह्रखरीबाट साभार



सामाजिक सञ्जालबाट

धुर्मस सुन्तली फाउण्डेसनद्धारा चितवन जिल्लामा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ नुवाकोट जिल्लाका आइचर व्यवसायीहरूले ३५ गाडी बालुवा र गिट्टि सहयोग गरेका छन् । उक्त सहयोग सामाग्री लिएर नुवाकोटबाट चितवन जानेक्रममा विदुर नगरपालिकामा शनिवार लामबद्ध आइचरहरू । 

संस्कृति संरक्षणमा ल्होसार

कोलोनी\कला, संस्कृति, भाषा, धर्मको प्रवद्र्धन र जगेर्नाका लागि आयोजित ल्होसार विशेष सांस्कृतिक कार्यक्रम शुक्रवार विदुर नगरपालिका वडा नम्बर ९ कोलनीमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद हितबहादुर तामाङले जातिय बिशेष संस्कृतिले मुलुक धनी रहेको बताए । कला, संस्कृतिमा नेपाल धनी रहेको बताउदै जातिय बिशेष संस्कृतिको संरक्षणमा जोड दिएका छन्
बृहत सोनाम ल्होछार मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका उपसभामुख राधिका तामाङले संस्कार र संस्कृतिको जगेर्ना गर्ने पर्बको रुपमा ल्होसारलाई लिनु पर्ने बताए । धार्मिक सहिष्णुता, भातृत्वको प्रतिम्वको रुपमा ल्होसारलाई लिनु पर्ने उनले बताए । 

सम्वृद्धिको आभाष नागरिकले गर्न पाएनन् : केसी


बट्टार\नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्बमन्त्रि अर्जुननरसिंह केसीले स्थायी सरकार भएपनि नागरिकहरूले सम्बृद्धिको आभाष गर्न नपाएको बताए ।
गएको सोमवार छैटौँ नुवाकोट महोत्सबको समापन गर्दै नेता केसीले सरकारको दुई तिहाई दम्भबाट नागरिकहरू आजित भएको बताए । सदनदेखि सडकसम्म सरकारको बिरोधमा नागरिकहरू उत्रिन थालिसकेको उन भनाई छ । विरोधी पार्टीमा आस्था राख्नेहरूलाई भ्रष्टाचार र अन्य आपराधि मुद्दा लगाउने र आफ्ना कार्यकर्ताको संरक्षण गर्ने अभियानमा सरकार रहेको केसीको आरोप छ । ‘यही कारणले जनताले नेकपालाई २०७९ सालमा पत्तासाफ गर्नेछन्’ काँग्रेस नेता केसीले भने । 

रञ्जना लिपी कार्यशाला

विदुर\
लोकतान्त्रिक चौतारामा एकदिने गएको साता रञ्जना लिपी कार्यशाला र क्याली जात्रा भएको छ । विदुर सिटी युथ क्लबको आयोजनामा भएको कार्यशालामा नेवार मात्रै नभई तामाङदेखि ब्राम्हण क्षेत्रीसम्मले सहभागिता जनाएका थिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता थियो । १२० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।
नेपालमा १६ औं र १७ औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपी महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलियालगायत देशमा पनि प्रयोगमा छन् । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छर । संयुक्त राष्ट्रसंघमा नेपालको लिपीमा दर्ता भएको रञ्जना लिपीको प्रवद्र्धनका लागि नुवाकोटमा एक दिने कार्यशालाको आयोजना गरिएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । उनले भखैरै सम्पन्न छैठौं नुवाकोट महोत्सवको टाईटल पनि रञ्जना लिपीमै बनाएको जानकारी दिए ।
कार्यशालामा पृथ्वी मावि, स्पार्कल एकेडेमी, कल्याणकारी विद्या मन्दिर, नव जीवन मन्टेश्वरीका विद्यार्थी र शिक्षक शिक्षिका लगायतले सहभागिता जनाएका थिए । सेतो कागजमा रञ्जना लिपीका साधारण शब्द कोर्न सिकिरहेका विदुर नगरपालिका वडा नम्बर ४ का सदस्य बशन्त रिजाले मौलिक लिपीबारे सुने पनि त्यसबारे अध्ययन गर्न नपाएको बताए ।
रञ्जना लिपीले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउने भएको यसको लेखनलाई सिकाईको माध्यमबाट व्यवहारमा उतार्दै लैजाने र नुवाकोटमा मात्र नभई रसुवामा पनि प्रवद्र्धन गर्नुपर्ने कलाकार शशीकुमार डंगोलले धारणा राखे । लिपीको अध्ययनबाट घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना र तथा गोप्य मन्त्रमा रहेका लिपीहरू सजिलै बुझ्न सकिने नेपाल लिपी गुथीका सचिव पवित्र कसासले बताए ।
कार्यशालामा कतिपय भने लेख्न मात्र नभएर बोल्न पनि सिकिरहेका थिए । कतिपयले मसी छोप्दै लेख्नुपर्ने झन्झट मानिरहेका थिए । पहिलो चरणको सुरुवात भएर लिपी लेखनको लागि कलमलाई साटो कुचोको ड़ाठलाई प्रयोग गरिएको  गुठीका सचिव कसासले बताए । त्यस्तै, छैठौं नुवाकोट महोत्सवस्थलमा पनि रञ्जना लिपी क्याली जात्रा गरिएको क्लबका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए । क्याली जात्रामा नेपाल लिपी गुठीका उपाध्यक्षको समुहले महोत्सवमा आउने अवलोकनकर्ताहरूको नाम रञ्जना लिपीमा लेखेका थिए । रञ्जना लिपीमा लेख्न मिल्ने मोबाइल एप ‘रञ्जना स्क्रिप्ट’बाट नेपालमा प्रचलित पुरानो लिपी रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपीमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्नेछ ।
कार्यशाला त्रिशुली सामाजिक क्लब, पिपलबोट समुह, न्यू स्पोर्ट्स ब्वाईज क्लब, कोलेनी थ्रीडी क्लब, नुवाकोट युनाईटेड फुटबल क्लब, दारी ग्याङ्ग, सामथ्र्य नुवाकोट, नुवाकोट जेसीज, र समृद्ध नुवाकोटको संयुक्त सह–आयोजनामा भएको हो ।

एकै वर्षमा ८३ लाख रुपैयाँको दुध विक्रि

तस्बिरहरू : भगवती लामा\नुवाकोट न्युज
काहुले\नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ काउलेमा अवस्थित शुभ नव विहानी कृषि सहकारी सस्था लिमिटेडले एक वर्षमा ८३ लाख रुपैयाँ बरावरको दुध संकलन गरेको छ ।
गाइभैसी पाल्न किसानलाई उत्प्रेरणा दिन र उत्पादन भएको दुधको सहज रुपमा बजारीकरणको व्यवस्था गर्न सहकारीले गत वर्षदेखि दुध सकलन केन्द्र सञ्चालनमा ल्याएको थियो । दुध सङ्कलन केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको अवसरमा सहकारीले एक विशेष कार्यक्रम गरी सर्वोत्कृष्ट, उत्कृष्ट र सङ्कलन केन्द्रमा दुध ल्याउने सम्पूर्ण किसानहरुलाई क्याल्सियम वितरण गरेको छ । सहकारीका अध्यक्ष क्षेत्रबहादुर तामाङको अनुसार दुध सङ्कलन केन्द्रमा दुध सङ्कलन गर्ने मध्येहरुमा त्रिशक्ति पशुपालन फर्म, शाहिल घले, कुवेरमान तामाङ, प्रेममायाँ तामाङ, चन्द्र तामाङ, जयराज तामाङ र रविन्द्र तामाङ सर्वोत्कृष्ट किसानमा छनौट भएका थिए । सहकारीलाई दुध सङ्कलन केन्द्र सञ्चालनमा ल्याउन गाउँपालिकाको २ लाख रुपैयाँ, वडा नम्बर ३ को कार्यालयले ३ लाख रुपैयाँ र वल्र्ड रिन्यू नामक सस्थाले आवस्यक सामाग्री सहयोग गरेको थियो । अहिले काहुले, भाल्चे र फिकुरीका किसानहरुले पालेको गाइभैसीबाट उत्पादन भएको दुध उक्त सहकारीले सङ्कलन गर्दै आइरहेको सहकारीका सचिव आरएन न्यौपानेले बताए । उक्त दुध सङ्कलन केन्द्रमा सङ्कलित दुधबाट पनिर बनाएर काठमाडौँमा निर्यात गर्नु गरेको सचिव न्यौपानेले बताए ।

दुध संकलन केन्द्र सञ्चालनमा आएका एक वर्षको अवसरमा आयोजिक कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमबहादुर घर्ती, लेखा अधिकृत सविना अर्याल लगायतको सहभागिता रहेको थियो । किस्पाङ गाउँपालिकाले पशु पालन र दुग्ध व्यवसायलाई प्रोत्सहान गर्न गाइभैसीलाई सुत्केरी भत्ता दिदै आइरहेको छ । 

सुख्खा बन्दरगाह निर्माणमा कामदार अभाव

धुञ्चे\रसुवा नाकामा निर्माण थालिएको सुख्खा बन्दरगाहका लागी कामदारको अभाव देखिएको छ ।
मंसिरदेखि निर्मााण कार्य सुरु भएपनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो । निर्माणमा कार्यरत २४ जना चिनियाँमध्ये ९ जना कामदार मात्र अहिले कार्यरत छन् । बाँकी नयाँ वर्ष मनाउन चिन गएका छन् भने कोरोना भाइरसका कारण पनि कामदार आउन सकेका छैनन् । निर्माण कार्यमा नेपाली कामदार संलग्न भएपनि पर्याप्त छैनन् ।
बन्दरगाह निर्माणका लागी पर्याप्त कामदार नहुँदा कामले गतिलिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए । बन्दरगाहको निर्माणको कामले गति लिएको पनि छैन, बन्दरगाहको निर्माणको काम सात प्रतिशतले सकिएको छ । चिन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको बन्दरगाह निर्माणको जिम्मा फुलि कन्स्ट्रक्सनले पाएको छ ।
अहिले सामाग्री आयात गर्न‘का साथै जग्गा सम्याउने कामगरिसकेको छ भने निर्माण कार्य भईसकेको र मुआब्जा पाउन बाँकी रहेका प्रभावितको अध्ययनको काम भइरहेको समितिले जनाएको छ । चीन सरकारको लगानीमा चिनियाँ टोलिले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गर्छाै नेपाली पक्षले के काम गर्ने र चिनियाँ पक्षले कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
चीन सरकारले दुई चरणमा बन्दरगाह निर्माण गर्ने जनाएको छ । डिजाइन अनुसारको काम पहिलो चरणमा पुरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरीनेछ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा बन्ने बन्दरगाहका लागी आवश्यक पर्ने जग्गा अधिकरण गरि सकेको छ ।
लाङटाङ राष्ट्रिय निकुन्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकेको छ । चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्धिपक्षीय सम्झौता भएको छ ।
समितिले २०७५ माघ १ गते चीनको छेन्दूमा पुगेर सुख्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो । नेपालीपक्षले स्थानीय समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामाग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगाएतका कार्य गर्ने छ ।
निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन निगरानी र समन्वयको भुमिका निर्वाह गर्नेछ । ‘आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ द तिबेत अटोनोमस रिजन’ले डिजाइन तयार पारेको थियो । बन्दरगाहमा पार्किङ स्थल, गोदाम घर, प्रशासनिक भवन जाँचपास स्थल, भन्सार, क्वारेन्टाइन, बैक, ल्याब रहनेछ ।
बन्दरगाहमा पाँच हजार १ वर्ग मिटरको पाँचतल्ले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्ग मिटरका दुई वटा गोदाम जाँचपास स्थल रहनेछ । बन्दरगाहमा ३५० वटा माल बाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे आठ हेक्टर जमिनमा बन्दरगाह बन्न लागेको हो ।

२०७६ फागुन ५ गतेको सम्पादकिय

जनतालाई सुन र बुझ
भुकम्प पछिको पुनर्निमाणका लागि नुवाकोटमा भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) ले सञ्चालन गरेको परियोजना सुरुदेखि नै विवादित छ । गएको सोमवार नुवाकोटका १० स्थानीय सरकारका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समिति प्रमुखलाई भारत भ्रमणमा लगेपछि स्थानीय सरकारप्रति नै नागरिकले अनेकौं सवाल गर्न थालेका छन् । परियोजनाको प्रगती र भए गरेका कामहरूको समीक्षा र पारदर्शिताको खोजी नागरिकस्तरबाट भइरहेकै बेलामा परियोजनाले लाखौं खर्चेर जनप्रतिनिधिलाई तिर्थ यात्रामा लगेपछि भने केहि गम्भिर सवालहरू ठडा भएको छ । बेलकोटगढी नगरपालिकाको स्थापना दिवसको विवाद यही सन्र्दभमा बाहिर आयो, स्थानीय सरकार पहिलो र दोश्रो व्यक्तिको छ दिनसम्म लगातार पालिकामा रहने अनुपस्थितिले जनप्रतिनिधिहरू नागरिकहरूसंग कम जवाफदेही छन् की भन्ने आंशका जन्मायो । 
गाउँपालिका र नगरपालिका अनि त्यहाँका प्रमुख उपप्रमुखहरूसंग नागरिकहरूले गर्ने अपेक्षा र अपेक्षा अनुसारको काम नभएको तिक्तता र गुनासो सबै प्रसङ्ग र घटनाक्रममा बाहिरिदै आएको छ । स्थानीय सरकारलाई आम नागरिकहरूले पेश गर्ने सुझाव र टिप्पणीलाई सम्वन्धि पक्षले ग्रहण गर्नुको सट्टा ‘झोक फरेको’ रुपमा मात्रै बुझ्ने गरेको पाइएको छ । सरकारले गर्ने काम कारबाहि र गतिविधिहरूको सवालमा सचेत नागरिकहले राखेका धारणालाई आत्मसाथ गर्ने वा साझा हितका लागि ग्रहण गर्न समीक्षा गर्ने सम्मको चलनको खाँचो टड्कारो छ । आफु जनताबाट अनुमोदन भइसकेको र आफ्नो निजी बिचार, व्यहार,योजना सर्वस्विकार्य हुनैपर्छ भन्ने भ्रम र मान्यता जनप्रतिनिधिहरूमा पाइन्छ । जसले गर्दा नागरिक, नागरिक समाज र स्थानीय सरकारबीचको दुरी र खाडल गहिरिदो छ । यसबाट सरकारप्रति आम नागरिकहरूको अपनत्व र सदासयतामा कमी हुँदै गइरहेको छ । ‘जो जिता व सिकन्दर’ को शैलीमा चलिरहेका सरकारका कारण संविधानले परिकल्पना गरेको गाउँगाउँमा सिंहदरवारको सपनाले मुर्त रुप नपाउने देखिन्छ । बढ्दै गएको दुरी कम गर्न स्थानीय सरकारहरूले नागरिकसंग सम्वन्ध सुधार र जनतालाई सुन्ने अनि बुझ्ने अभियान चलाउनु जरुरी देखिन्छ ।