कपिलदेव खनाल
लिखु गाँउपालिका नेपालको बागमती प्रदेश, नुवाकोट जिल्ला भित्रको सबैभन्दा सानो गाउँपालिका हो । नेपालको संबिधान अनुसार राज्य पुनसंरचना पछि साबिकको खानिगाँउ र सुर्यमती गाविसको सबै वडा, चौघडा गाविसको १,२,५,६,७,८ नम्वर वडाहरू, थानसिंग गाविसको १ देखि ७ नम्वर सम्मका वडाहरू र थानापति गाविसको वडा नं. ५ समेटेर बनेको हो । ६ वडा रहेको लिखु गाउँपालिकाको क्षेत्रफल ४७.८८ वर्ग किलोमटिर छ । यस गाँउपालिकाको केन्द्र साबिकको सुर्यमती गाविस वडा नं. १ डुँडेमा अवस्थित छ । नुवाकोटको सबैभन्दा सानो र कान्छो स्थानीय सरकार भईकन पनि लिखु गाउँपालिकाले थुप्रै विशेषताहरू बोकेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकयिक रुपमा प्रशस्त सम्भावना रहेको लिखु गाउँपालिकाका महत्वपुर्ण स्थानहरू वडा नं. ३ मा बढी छन् ।
 |
कपिलदेव खनाल |
लिखु गाउँपालिका वडा नं. ३ साविकको सुर्यमती गाविस यस गाउँपालिकाका अन्य वडाको तुलनामा भुगोलका हिसावमा तथा सम्पदा, संस्कृतिहरूका तुलनामा असाध्यै सम्पन्न देखिन्छ । नुवाकोटको नामाकरण भएको नौं वटा कोटहरू मध्येको एउटा कोट : मालाकोट, माघे संक्रान्तिमा गोरु जुधाउने अन्तराष्ट्रिय ख्याती कमाएको नुवाकोटको पहिचानदेखि नेपाल एकीककरणको सुरुवाती एक सामरिक किल्ला नागीगढीसम्म यही लिखु गाउँपालिकाको वडा नं. ३ मा पाइन्छ । त्यसो त, धामी जात्राको नामले प्रख्यात नुवाकोटको सबै भन्दा लामो जात्रा बैशाखपूर्णिमा जात्रा यहीबाट सुरु हुन्छ । विदुर नगरपालिका वडा नं. ५ देविघाटमा रहेको घाटकी देवी जालपादेवीको उत्पत्ति र जन्म पनि यही भएको हो ।
मालाकोट :
नुवाकोट जिल्लाको नामाकरण भएको नौं वटा कोट र नेपाल एकीकरणमा सामरिक रुपमा प्रयोग गरिएको मालाकोट यस लिखु गाउँपालिकाको वडा नं. ३ मा रहेको छ । लिखु गाउँपालिलाई विदुर नगरपालिका र बेलकोगढी नगरपालिकासंग सिमा छुट्याउने गरी भौगोलिक संरचना लिएको मालाकोट आन्तरिक पर्यटकहरूका लागि उत्तिकै आकर्षणमा रहेको छ ।
नुवाकोट, रसुवा, धादिङ्ग, गोरखला, लमजुङ्ग, पोखरा, तनहुँबाट काठमाडौं उपत्यका प्रवेश गर्ने पैदलमार्गको एक महत्वपूर्ण भञ्याङ्गका रुपमा रहेको मालाकोटमा अहिले सडकको सहजतासंगै केही कम चलहपल छ । तर पनि यो मालाकोट हेर्न र घुम्नकै लागि आन्तरिक पर्यटकहरू आउनेक्रम भने रोकिएको छैन । ४० को दशकसम्म पनि काठमाडौं उपत्यका आवातजावत गर्नेहरूले प्रयोग गर्ने पैदल मार्गको झण्डै मध्ये भागमा पर्ने मालाकोट यात्रुहरूका लागि बास बस्ने गाउँ हो । स्थानीय कृष्णलाल श्रेष्ठका अनुसार अहिले यस स्थानको अवलोकनका लागि मानिसहअरु आउने गरेका छन् । ‘बस बस्नैको लागि भनेर त अक आउँदैनन्, तर पहिला पैदल मार्ग प्रयोग गर्दा बस बस्ने ठाउँ मालाकोटा कस्तो रेछ भनेर मानिसहरू हेर्न र द्धघुम्न चाहिअ आउने गरेका छन्’ श्रेष्ठले भने ।
यात्रुको रात्री बासकै लागि मल्लकालमै यहाँ पाटी निर्माण भएको थियो । जुन पाटी अहिलेसम्म पनि उत्तिकै तन्नेरी संरचनामा देखिन्छ । यो पाटी र मालाकोटको नाम संगसंगै आउने गरेको छ । मालाकोटको यो ऐतिहासिक पाटीसंग रहेको गणेशस्थान पनि उत्तिकै प्राचिन रहेको छ । यहाँको गणेशको मुर्ती चाँदीबाट बनाइएको छ । सुरक्षाका दृष्टिले एक व्यक्तिले किर्तिपुर स्थित आफ्नो घरमा राख्दै आएको उक्त गणेश मुर्ती यहाँ हुने पर्व, जात्रा र पुजाआजामा फिर्ता ल्याएर प्रर्दशन र गाउँ परिक्रमा गरिन्छ । मालाकोट भन्ने वत्तिकै बुढापाकाहरूले पाटीको प्रसङ्ग कोट्याउने गरेको स्मरण गर्छन् वडा सदस्य सञ्जीबबहादुर राई । राई भन्छन्– ‘यहाँ आठ वटा थाम छ, यस बारेमा राम्रो जानकारी भएकाहरू चाँही साच्चिकै मालाकोटको बासिन्दा रहेछन् भनेर बुढापाकाहरूले भन्ने गरेका छन् । आफु बास बसेको ठाउँको मानिस भनेर छुट्टै दृष्टिले उनीहरूले मालाकोटका नागरिकलाई हेर्ने गरेका छन् ।’
ऐतिहासिक मालाकोटको संरक्षण, विकास र प्रचारका लागि लिखु गाउँपालिका र वडा नं. ३ को कार्यालयले आवश्यकता अनुसारको कार्य गर्दै आएको छ । यस कोटमा रहेका मल्लकालिन पाटी, गणेशस्थानलाई पुरातत्व विभागले रुचीपुर्वक हेरिरहेको छ ।
मालाकोट र यस लिखु गाउँपालिका वडा नं. ३ का अन्य थुप्रै ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरूको संरक्षण, विकास मात्रै नभई पहिचान हुन बाँकी रहेको सम्पदाहरूको लागि समेत आफुहरू क्रियाशिल रहेको वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेँढाई बताउँछन् । ‘यो नुवाकोटको नौं वटा कोटहरू मध्येको एक हो, यसको महत्वपूर्ण र ऐतिहासिक पक्षको बरेमा सदिऔंदेखि चर्चा हुँदै आएको छ, सेढाई भन्छन्– यसको संरक्षण गर्दै भावि पुस्तालाई सुरक्षित रुपमान हस्तान्तरण गर्न हामी प्रतिवद्ध छौं ।’
जालपादेवी :
 |
१०७ वर्ष अघि सुर्यमतीमा स्थापना भएको जालपादेवीथान । यसको पुरातत्वले अध्ययन थालेको छ । |
यो जालपादेवीथानको स्थापना १९६९ सालमा भएको हो । लिखु गाउँपालिका वडा नं. ३ को शिरमा रहेको यो मन्दिर पुरातत्व विभागको सूचीमा समेत परेको छ । यस मन्दिरको ईतिहास रोचक छ । परापुर्व कालमा मन्दिर निर्माणका लागि दिनभरि लगाएको पर्खाल राति भत्किदो रहेछ । यो क्रम छ महिनासम्म हरेक रात चल्यो । मन्दिर बनाउने श्रमिक मध्ये १ जनाको सपनामा देवी प्रकट भएर मन्दिर नबनाई आफुलाई खुल्ला राखिदिन आग्रह भए अनुसार त्यहि बेलादेखि यो मन्दिरको संरचना यस्तो रहँदै आएको जनविश्वास छ । त्यसबेलामा मन्दिर बनाउन लगाएको पर्खालको भग्नाबषेश अहिलेपनि हामी देख्न सक्छौं । स्थानीइ शिक्षक श्रीराम भारतीका अनुसार यही परम्पराका कारण यस मन्दिरलाई आजसम्म खुल्लै राखिएको छ । ‘यसरको प्राचिनता जोगाईराख्नका लागि हामीले यसो गरेका छौं’ उनले भने ।
यहाँ माघे संक्रान्तिको अघिल्लो रात भब्य मेला लाग्ने गरेको छ । रातभरि पुजा आराधन गर्ने, मादी बाल्ने, धुनी लगाउने र माघे संक्रान्तिको शुभकामना आदानप्रदान तथा घ्यु, चाकु र तरुल खाने प्रचलन यहाँ छ । हिन्दु महिलाहरूको महान पर्व हरितालीका तिज, दशैंको नौरथा, हरेका अष्टमी, पूर्णिमा र शनिवार यस जालपादेवीथानमा विशेष मेला लाग्दै आएको छ । भक्तजनहरूले गरेको भाकल पुरा हुने र पञ्चबली दिने चलन यस मन्दिरमा रहँदै आएको छ । हाँस, बोका, राँगाको बली यस जालपादेवीथानमा चढ्दै आएको छ । त्यसो त, लामो समयसम्म खडेरी पर्यो भने वर्षाद्को कामना गर्दै यस देवीथानमा क्षमा पुजा गर्ने प्रचलन छ । यहाँ गरिने क्षमा पुजा र लिखु नदी किनारमा विराजमान जलदेवीलाई जलधारा गरेपछि पानी पर्ने जनविश्वास छ ।
प्राचिन शक्तिपिठ जालपादेवी मन्दिरको संरक्षण र प्रचारमा लिखु गाउँपालिका र वडा नं. ३ को कार्यालयले उच्च महत्व दिएको छ । यसको परापुर्वकालको सौन्र्दय बचाउन र पुरातात्विक रुपमा कायम राख्न यहाँ हुने मर्मत र विकास निर्माणमा सिमेन्ट प्रयोग गरिएको छैन । यस वडाका अध्यक्ष भोलाप्रसाद सेढाई पुरातत्व विभागले यस मन्दिरको अध्ययन गरिसकेको र उनीहरूको सूचीमा समावेश भएको बताउछन् । गाउँपालिका र वडासंग पुरातत्वले आग्रह गरेर आफुहरूले नै संरक्षण र आवश्यक मर्मत गर्ने भएको छ । ‘पुरातत्व विभागले आवश्यक अध्ययन र अनुसन्धान गरेर फर्किएको छ, यो मन्दिर पुरातत्वको सूचीमा पर्ने भएको छ’ वडा अध्यक्ष सेढाईले भने ।
आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरूका लागि समेत प्रमुख गन्तब्यको रुपमा विकास गर्ने योजना सहित स्थानीय सरकार क्रियाशिल देखिएको छ । लिखु गाउँपालिकाका वडा नं. ३ को प्रमुख पर्यटकिय स्थलहरूमा पर्ने यो जालपाथान मन्दिर आपसापका क्षेत्र प्राकृतिक रुपमा समेत सिघारिएको छ । छिमेकी पालिकाहरू ककनी, शिवपुरी, बेलकोट, विदुर, तादी, सुर्यगढीको अधिकांश भु–भाग यहाँबाट प्रष्ट हेर्न सकिन्छ । यसरी पर्यटकिय स्थलको रुपमा प्रचुर सम्भावना देखिएको लिखु गाउँपालिका वडा नं. ३ सुर्यमतीको प्रमुख पर्यटकिय स्थलहरूलाई समेट्दै विकासको पहिलो पुर्वाधार सडकमा काम भइरहेको छ । योसंगै पर्यटकहरूलाई खानपिन र बसोवासका लागि होमस्टेको अवधारणा समेत वडा अध्यक्षले प्रस्तुत गरेका छन् ।
लिखु गाउँपालिका वडा नं. ३ को शिरमा रहेको यस जालपादेवीथानसम्मै आइपुग्ने सडक देखि बासोवाससम्मको सुविधाको बारेमा स्थानीय सरकार र जनप्रतिनिध प्रचारमा लागिपरेका छन् । पुरातत्व विभागले आफ्नो सूचीमा राखेको यस मन्दिर र यस वरपरको स्थान आन्तरिक पर्यटकहरूका लागि गतिलो गन्तब्य हो । ढिकुरे–छहरे–टोखा सडक खण्ड अन्र्तगतको पट्टाबारीबाट १५ मिनेटको सडक यात्रामा आइपुग्न सकिने यस क्षेत्रमा आन्तरिक पर्यटकहरूका लागि दिनभरि समय बिताउन प्रशस्त आधारहरू छन् ।
नागीगढी :
यो नागीगढी ऐतिहासिक रहेको छ । नेपाल एकीकरणको क्रममा तत्कालिन गोरखा राज्यका राजा पृथ्विनारायण शाहले नुवाकोट बिजय गर्नका लागि यो गढीलाई सामरिक रुपमा प्रयोग गरेका थिए । नुवाकोट बिजयका लागि महत्वपूर्ण किल्ला बनेको नागीगढीमा अहिले पनि त्यसबेलाको युद्धकालिन संरचनाहरू देख्न सकिन्छ । सेना, सेनाका हातहतियार लुकाउन तयार गरिएको ‘बङ्कर’को डोबहरू अहिले पनि छन् । घनाजंगलले ढाकेको नागीगढी लिखु गाउँपालिकाको वडा नं. ३ अन्र्तगत पर्ने ऐतिहासिक र पर्यटकिय स्थलहरू मध्ये एक हो । यो गढी निर्माणका लागि लिखु खोलाबाटै पृथ्बिनारायण शाहले आफ्ना सेनालाई ढुङ्गा बोकाएको बुढापाकाहरू सुनाउँछन् । लिखु गाउँपालिका वडा नं. ३ कट्टिछापका गोपालबहादुर मगरका अनुसार यहाँ अहिले हेर्न पाइने साढे दुई सय वर्ष पहिला ओसारिएको ढुङ्गा लिखु खोलाको हो । ‘अहिले संरक्षण नहुँदा रुखहरू बढ्ने र झाडीले छोपेर नदेखिएको मात्रै हो, राजाले सेनालाई सुरक्षित गर्न र युद्ध लड्न बनाएका बङ्कर प्रशस्त छन्’ मगरले भने ।
बेलासपुर, मालाकोट तथा पट्टावारीको शिरको रुपमा देखिएको यो नागीगढी र नुवाकोटको साततले दरवार आमनेसामने जस्तै देखिन्छ । यस वडा अनि गाउँपालिकाको मात्रै नभई सिङ्गै नुवाकोटको ऐतिहासिक साक्षी यस नागीगढीको विकास र संरक्षणका लागि गाउँपालिकाले गुरुयोजना तयार गरेको छ । त्यस अन्र्तगत सडक निर्माणको काम भइरहेको छ । सवारी साधन रोकेर १५ मिनेट पैदलयात्रा गरेरै गढीमा पुग्न सकिने अवस्थाको सृजना भएको छ । यहाँबाट सिङ्गै नुवाकोट र मनोरम हिमाल हेर्नका लागि ‘भ्यू टावर’ बनाउने गरी तयारी थालिएको छ । बहुवर्षिय योजना अन्र्तगत नागीगढीमा लिखु गाउँपालिकाले ६ करोड ४३ लाख रुपैयाँ खर्चिदैछ । वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेंढाईका अनुसार त्यसका लागि विस्तृत अध्यायन प्रतिवेदन ‘डिपिआर’ तयार भइसकेको छ ।
जलदेवी :
 |
देविघाटमा रहेको जालपादेवीको मुर्ती उत्पत्ति भएको सुर्यमती स्थित लिखु नदीको किनार । यहाँ चाँही जलदेवता स्थापना गरिएको छ । |
नुवाकोटको प्रमुख शक्तिपिठहरू मध्येको एक विदुर नगरपालिका वडा नं. ५ देविघाटमा रहेको जालपादेवीको उत्पत्तिको कथा रोचक छ । यो त्रिशुली र तादी नदीको संगमस्थलमा अवस्थित घाटकिदेविलाई कुनै एक माझीले स्थापना गरेका हुन् । परापुर्व कालमा नदीमा माछा मार्ने क्रममा सधै एउटै ढुङ्गा जालमा आइरहेपछि ति माझिले आफ्नो घरमा लगेर राखे । त्यस रातको सपनामा उनलाई देवीले दर्शन दिएर आफुलाई ठूला दुई नदी मिसिएको ठाउँमा स्थापना गरिदिन आग्रह गरे अनुरुप जालपादेबीको स्थापना देविघाटमा भएको हो । सदियौंदेखि सुन्दै आएको जालपादेवीको उत्पत्ति यो प्रसङ्ग लिखु गाउँपालिकाको यही वडा नं. ३ संग जोडिन्छ भन्ने जानकारी कमैलाई छ । धेरैले देविघाटमै घाटकीदेवी उत्पत्ति भएको अनुमान गरेपनि यसको वास्तविकता यो स्थानसंग सम्वन्धित छ । यस जलदेवी रहेको ठाउँमा देविघाटमा रहेको देबी फेला परेकी थिइन् । चौघडा गड्खारका राईलाई सपनामा आएको निर्देशन अनुसार घाटकी देवीको स्थापना देविघाटमा पुगेर भएको हो । स्थानीय धर्मराज अधिकारी सोही कारणले नुवाकोटको प्रशिद्ध जात्रा सिन्दुरे जात्राको सुरुवात यहीबाट हुने बताउँछन् । उनी भन्छन्– ‘यहाँको माइतीपक्ष कोशेली बोकेर नपुगी धामी जात्रा सुरु हुँदैन, धामीपनि यहाँ आएर पुजा आराधना नगरी अन्य पुजा गरेर जात्रा सुरु गर्न मिल्दैन ।’
नुवाकोटको सबै भन्दा लामो समयसम्म चल्ने र देशैभरी प्रशिद्ध बैशाखपूर्णिमा जात्रा यहाँबाट सूरुवात हुन्छ । यहाँ रहेको जलदेवी र गड्खारका राईहरू देविघाटको माइतीको रुपमा रहँदै आएका छन् । यहाँबाट देविघाटमा बली चढाईने कुखुरा, बोका, भेँडा, हाँस र गाढ्ने लिङ्गो कोशेली लैजाने चलन छ । त्यस्तै, नुवाकोट भैरबी मन्दिरका पुजारी धामीले यहाँको भँडारदेवीको आराधना गर्ने, बन्दुक पड्काउने र फुतपाती लिएर गएपछि मात्रै जात्रा सुरु हुने प्रचलन शताब्दि देखि रहँदै आएको छ । यस मन्दिर मुख्य सडकसंगै रहेकोले भ्रमणका लागि पर्यटकहरूलाई कष्ठ गर्नुपर्ने छैन । ढिकुरेबाट थानसिंग तर्फ जाने सडकमा ५ मिनेट गुढेपछि यहाँ आइपुग्न सकिन्छ । ‘हामी यो लुकेर बसेको पहिचान र धेरैलाई जानकारी नभएको विषयमा खुव प्रचार गर्ने छौं, सामान्इ भौतिक सुधार गर्नु मात्रै आवश्यक छ, मुख्य सडकसंगै रहेको यो स्थललाई हामी आन्तरिक पर्यटकको दर्विलो गन्तब्इको रुपमा तयार गर्नेछौं’ सेढाईले भने ।
नुवाकोटको धार्मिक र पर्यटकिय रुपमा प्रख्यात भैरबी मन्दिर, देविघाटको जालपादेवी मन्दिर, बैशाखपूर्णमा अर्थात् धामी जात्रासंग जोडिएको यस जलदेवी र भडाँरदेवीको प्रचार र इतिहास संरक्षणमा लिखु गाउँपालिका वडा नं. ३ ले विशेष अभियान सञ्चालन गरिरहेको छ । यहाँका ऐतिहासिक पक्षलाई लोप हुन नदिई नयाँ पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न भौतिक पक्षमा समेत प्रयास थालिएको छ ।
पञ्चकन्या मन्दिर :
अझै पनि दैविक शक्तिको प्रभाव हेर्ने हो भने यो मन्दिर आसपासमा रहेको कुनै रुख काट्यो भने उदाहरण तुरुन्तै देख्न पाइन्छ । लिखु गाउँपालिका वडा नं. ३ नागीगाउँमा रहेको यो पञ्चकन्या मन्दिरको परिषरको कुनै पनि रुख काट्ने वित्तिकै बाघ, चितुवा मानव वस्तिमा पस्ने गरेको छ ।
बाजेको पालादेखि नै यहाँको मन्दिर र मानव बस्तिबीच यस्तै सम्वन्ध देखिएको छ । मन्दिर रहेको जंगलमा कुनै रुख जो कसैले काट्ने वित्तिकै बाघ, चितुवा गाउँ पस्ने र पशु चौपाया मार्ने गरेको सुनाउछन् यहाँका बिष्णु रिजाल । ‘यहाँ जंगलमा रुख काट्यो, उता गाउँमा बाघ पसिसकेको हुन्छ, झुक्किएर पनि यो जंगलको कुनै रुख काट्न हुँदैन’ रिजालले भने । यस पञ्चकन्या मन्दिरलाई स्थानीयले महाशक्ति देवीको रुपमा पुजा आराधना गर्दै आएका छन् । वडा नं. ३ को प्रशिद्ध धार्मिक स्थल मध्ये प्रमुख रुपमा रहेको यस मन्दिरमा पुजा आराधन गर्न अन्य वडा र गाउँपालिकाबाट समेत भक्तजनहरू आउने गरेका छन् । पञ्चकन्या मन्दिरमा गरेको भाकल पुजा गर्न अन्य दुई वटा मन्दिरलाई पनि समेट्न पर्ने भएकोले यहाँको पुजा आराधना गर्दा यात्रा केही लामो भएपनि भक्तजनहरूले मनमोहक प्राकृतिक छटासित रमाउन पाउछन् । लिखु नदी किनारमा रहेको जलदेवी र माथी रहेको भडाँरदेवीलाई पनि पञ्चकन्या मन्दिरसंगै पुज्नु पर्ने मान्यता रहि आएको छ । स्थानीय विरेन्द्र तामाङका अनुसार यो पञ्चकन्यासंग जोडिएर आउने भडाँरदेवी, जलदेवीको सामुहिक पुजाआराधना नै यस मन्दिरको सुन्दर पक्ष हो ।
ढिकुरे बजारबाट डेढ घण्टाको पैदलयात्रामा आइपुग्न सकिने यहाँ अहिले सुविधायुक्त सडक निर्माण भइसकेको छ । ढिकुरेबाटै सवारी साधन चढेर २० मिनेटमा आइपुग्न सकिने पञ्चकन्या मन्दिर र यस आसपासको क्षेत्र धार्मिक तथा अन्य पर्यकटकका लागि दैविक शक्ति आर्जनका लागि आराधना गर्ने र भ्रमण गर्ने असाध्यै शान्त र सुन्दर स्थान हो । यस पञ्चकन्या मन्दिरको संरक्षण र प्रचारका लागि लिखु गाउँपालिका र वडा नं. ३ ले विशेष कार्यक्रमहरूको तयारी गरिरहेको छ । स्थानीयहरूले पनि विभिन्न समयमा सप्ताह, एकाह लगाएर यस क्षेत्रको विकास र प्रचारका लागि योगदान दिँदै आएका छन् ।
चमेरे गुफा\गुप्चेश्वर महादेव :
२०५८ सालमा पत्ता लागेको यो चमेरे गुफाले २०७२ सालको विनाशकारी महाभुकम्प ब्यहोर्यो । तर भुकम्पले यत्तिको विशाल गुफाको संरचनामा अल्लिकत्ति पनि असर गरेन । यो गुफा फेला पार्दा स्थानीयहरूले यस भित्रै महादेवको मन्दिर र अनेकौं देविदेवताका आकृतिहरू फेला पारे । लिखु गाउँपालिका वडा नं. ३ को उच्च भाग नागीडाँडाको उत्तरपश्चिम भागमा अवस्थित चमेरे गुफा नुवाकोटमा भेटिएका ठूला गुफाहरू मध्येमै परेको छ । एकैपल्ट ५० जना भन्दा बढि अट्ने खुल्ला भाग रहेको यो गुफा भित्र देवाधिदेव श्री महादेवको उत्पत्ति भएको छ । साक्षत शिवलिङ्गमा यहाँ नियमित रुपमा भक्तजनहरू पुजा आराधना गर्दै आएका छन् । गुफामा अनेकौं देवी देवताको मुखाकृति देखिन्छन् ।
भुकम्प अघिसम्म यो गुफा हेर्न र अन्य भौगोलिक सुन्दरताको आनन्दपान गर्न तराई र मधेशदेखिका पर्यटकहरू धेरै संख्यामा आउने गरेका थिए । अहिले संख्याका कमी आएको छ । भुकम्प पछि पनि गुफा सुरक्षित रहिरहेको सन्देश फैलन नसक्दा टाढाबाट आउने पर्यटकहरूको संख्यामा कमी भएको अनुमान स्थानीय राजाराम तामाङको छ । ‘भुकम्पले भत्क्यो होला भन्ने पनि परेको हुनसक्छ, पहिला त्यस्तो धेरै मान्छेहरू आउथे, अहिले कम भएको छ, यो गुफा सुरक्षित छ भनेर खबर फैलाउन पाए पहिलाको अवस्थामा पुग्थ्यो !’ तामाङले भने ।
भुकम्पले यस नागीडाँडा वरपरको पानीका मुहान सुकायो । पानीका कारण यहाँका नागरिकहरू तल्लोगाउँतिर बसाई सरे । त्यसले पनि यहाँ घुम्न आउने पर्यटकहरूको संख्यामा कमी भएको बुझाई लिखु गाउँपालिका वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेंढाईको छ । यहाँ कुनै एक पटक भ्रमणमा आउने पर्यटकहरूले फेरि–फेरि आउनका लागि देखाउने रुचीका कारण स्थानीय सरकारले यहाँको भौतिक संरचना विकासका लागि बजेट खर्चिएको छ । सडक मार्ग सकिने वित्तिकै सुरु हुने पक्की ढलानयुक्त छिँडिले गुफा र यस भित्रको गुप्तेश्वर महादेवसम्म पुग्न सहज भएको छ ।
गुफा भित्र भएकै कारणले पनि गुप्चेश्वर महादेवलाई यहाँका स्थानीयहरूले बढि रुची र हार्दिकताका साथ लिदै आएका छन् । यहाँ फागुपूर्णीमा, धान्यपूर्णीमा विशेष मेला लाग्ने गरेको छ । भक्तजनहरूले यस गुप्चेश्वर महादेवलाई दुप्चेश्वर महादेवको अर्को रुपमा समेत पुज्दै आएका छन् । यस गुफा वरिपरिको क्षेत्रमा आन्तरिक पर्यटकहरू ‘पिकनिक’ आउने क्रम पनि बढेको छ । आसपासको क्षेत्रबाट विशेष गरि बिदाको दिनमा यस क्षेत्रको भ्रमण र मनमोहन दृष्यावलोकनका लागि पर्यटकहरू आउने गरेका छन् ।
गणेशगौडा :
 |
सुर्यमतीको गणेशगौडा स्थित भँडारदेवीको मन्दिर परिषर । जहाँबाट स्थानीयहरुले परापुर्व कालमा भोजभत्तेरका लागि भाँडाकुँडा पाउथे । |
परापुर्व कालमा गाउँघरमा हुने ठूलो भोज भत्तेरका लागि आवश्यक भाडाबर्तनको अभाव हुने गर्दथ्यो । अहिलेको जस्तो ‘क्याटरिङ’ सेवा उपलब्ध नभएको समयमा यस पट्टावारी, कट्टिछाप, नागीडाँडा र आसपासका नागरिकहरूले गणेशगौडाको पुकारा गर्थे । अघिल्लो दिन साँझ गणेशगौडा नजिकै रहेको भडाँरदेवीको नाममा धुपवत्ति बालेर आवश्यक भाडाँकुँडा मागेको भोलीपल्ट प्राप्त हुन्थ्यो । कुनै समय कसैले लगेको भाँडा मध्ये एउटा बटुका छुटेपछि भने उक्त दैविक शक्तिबाट प्राप्त हुने सहयोगमा क्रमभङ्गता आयो । यहाँका पाका व्यक्तिहरू आफ्नो बाजेहरूले सुनाएको यस प्रसङ्ग स्मरण गर्छन् । स्थानीय गोपालबहादुर मगरका अनुसार यहाँ दैविक शक्तिबाट प्राप्त हुँदै आएको भाँडाकुँडाको सापटी त्यही बेलादेखि टुट्यो । उक्त बटुवा रहेको जाँडको घ्याम्पो नै दैविक शक्तिले उडाएर गाउँको पुछारमा पानीको रहमा पु¥याएको र त्यही बेलादेखि त्य रहको नाम अहिलेपनि घ्याम्पे रह रहेको छ ।
गणेशगौडामा केही वर्ष पहिला स्थानीयहरूले लगाएको सप्ताह महायज्ञमा चमत्कार भयो । सप्ताह लगाएको पाँचौ दिनको राती गणेगौडाको पहरोमा निक्कै लामो समयसम्म पच्चे बाजाको आबाज गुञ्जियो । सप्ताहमा सहभागि पण्डित, पाहुना तथा स्थानीयहरूले रातभरी त्यो चमत्कारिक आवाज सुनिरहे । त्यपछि झन् श्रद्धाका साथ हेरिदै आएको यस गणेशगौडामा विभिन्न देविदेवताका आकृति, ऋषिमुनीहरूको प्रतिविम्व, गाई, हात्तिको टाउको तथा गणेश भगवान्का अर्धाङ्गीनी ऋद्धि र शिद्धि देख्न पाइन्छ । दैविक शक्तिले भरिपूर्ण यस स्थानको प्रचार र संरक्षणका लागि स्थानीय सरकारले केही गर्नेमा आशावादी छन् संरक्षण समितिका अध्यक्ष बिरबहादुर कुँबर । दैविकशक्तिले पुर्ण स्थानमा धार्मिक पर्यटक भित्र्याउन स्थानीय सरकारले पहल गर्नुपर्ने उनी बताउँछन् ।
लिखु गाउँपालिकाको कार्यालय नजिकैबाट पाँच मिनेट सडक मार्ग र १० मिनेटको पैदल हिडेपछि आइपुग्न सकिने यहाँ अन्य गाउँपालिकाबाट हेर्न र घुम्न दिनहुँ आन्तरिक पर्यटकहरू आउने गरेका छन् । पर्यटकहरूको भ्रमणलाई यहाँका स्थानीयहरूको आम्दानीको माध्याम बनाउने गरी वडा कार्यालयले योजना बनाउने सुनाउँछन् यस वडाका अध्यक्ष भोलाप्रसाद सेँढाई ।
पञ्चदेवतालय :
लिखु गाउँपालिका वडा नं. ३ पट्टावारीमा मुख्य सडकमै रहेको यस पञ्चदेवतालयको निर्माण २०६३ सालमा भएको हो । २०६९ साला मंसिर ९ गते हरिवोधनी एकादशीको दिन यहाँ पञ्चदेवताको स्थापना भएको हो । विभिन्न तिथि, पर्वमा स्थानीयहरू जमघट भई भगवान्प्रति आस्था प्रकट गर्ने नजिकैको तिर्थको रुपमा स्थानीय अभियन्ता खिलराज गुनीले मन्दिरको स्थापना गराएका हुन् । यहाँ शिवपार्वती, गणेश, कुमार, हनुमान र भडाँरदेवीको प्रतिमा स्थापना भएको छ । भडाँरदेवीलाई यहाँका स्थानीयहरूले उच्च सम्मान र श्रद्धाभावका साथ मान्दै आएका छन् । भडाँरदेवीसम्म पुग्न टाढा भएपछि प्रतिमाको रुपमा यहाँ स्थापना गरिएको यस ान्दिरका संस्थापक खिलराज गुनीले बताए ।
यस क्षेत्रको अर्को विशेषताको रुपमा पितृ मोक्षका लागि बैकुण्ठ चतुर्दशीका दिन गरिने धार्मिक कार्य पनि रहेको छ । लिखु खोलाको वारिपारी पितृ मोक्षका लागि फुल तारिन्छ । स्थानीय दाताहरूले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको यस धाममा स्थानीय मात्रै नभई छिमेकी गाउँपालिकाबाट समेत पर्यटकहरू आउने गरेका छन् ।
महादेव पार्वती मन्दिर :
लिखु गाउँपालिका वडा नं. ३ को कट्टिछापमा स्थापना भएको यो शिवपावर्ती मन्दिरले यहाँका नागरिकहरूलाई धार्मिक पर्यटकको सम्भाव्यतातर्फ डो¥याएको छ । छिमेकी गाउँपालिकाहरू सुर्यगढी, तादी, दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी र विदुर नगरपालिकाको मनोरम र प्राकृतिक दृष्टिलाई आनन्दका साथ हेर्न सकिने स्थानमा यो मन्दिर निर्माण भएको छ । २०६४ सालमा स्थापना भएको यस मन्दिरले वस्ति बीचमा सार्वजनिक स्थानको समेत विकास गरेको छ, त्यो पनि यत्तिको मनोरम स्थानमा । यो मन्दिर सहित यस मनमोहक स्थानको भौतिक विकासका लागि लिखु गापाले बजेट विनियोजन गर्दै आएको छ । यस मन्दिरकै लागि गोपालबहादुर मगरले जग्गा दान गरेका छन् ।
लिखु गाउँपालिकाको कार्यालय नजिकैबाट माथितिर उकालो लाग्ने सडक हुँदै पाँचै मिनेटमा आइपुग्न सकिने यो मनोरम स्थानलाई ‘ड्राइ पिकनिक’ स्थल, नुवाकोटको पुर्वीदक्षिणी भुगोल एकैसाथ अवलोकन गर्न उपयुक्त छ ।
पितृनारायण मन्दिर :
लिखु गाउँपालिका वडा नं. ३ का श्यामबहादुर थापामगरलाई एक रात सपनीमा प्रकट भएका देवताले भने ः तैले जे सम्झिन्छस् म त्यही हुँ, म लिखु नदीको किनारमा पानीले छोपिएको छु ।’
श्यामबहादुरले आफ्ना पितृहरू तार्नका लागि यहाँ मन्दिर र एउटा धाम बनाउँदै थिए । यही नजिकै फेला परेको यि देव आकृतिलाई पितृनारायणको रुपमा स्थापना गरिएको छ । नेपालकै पहिलो र एक मात्रै पितृनारायणको मन्दिर यही लिखु गाउँपालिका वडा नं. ३ मा रहेको छ । ढिकुरे, छहरे सडक खण्डसंगै रहेको लिखु नदी किनारमा निर्माण भएको यो मन्दिरमा पितृनारायणको प्रतिमा स्थापना भएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष श्यामबहादुर थापा मगरका अनुसार यो वर्षबाट बेत्रावतीमा गर्ने पृत्ति श्रद्धाको विकल्पमा यस स्थानालाई भक्तजनहरूले ठूलो संख्याले रोजेका छन् । ‘नेपालकै पहिलो र एक मात्र पितृ नारायणको स्थापना भएकोले भक्तजनले विशेष श्रद्धाभाव प्रकट गर्छन्, हेर्न र घुम्न पनि आइपुग्छन्’ मगरले भने ।
२०७१ सालमा स्थापना भएको यस धार्मिक क्षेत्रलाई उत्तरगयाको अर्को रुपमा भक्तजनहरूले मान्दै आएका छन् । पितृ मोक्षका लागि उत्तरगया बेत्रावतीमा गरिने श्राद्ध लगायतका कार्य यस पितृनारायण मन्दिर र लिखु नदी किनारमा सुरु भएको छ । लिखु, पञ्चकन्या, शिवपुरी, तादी, सुर्यगढी लगायतका गाउँपालिकाका श्रद्धालुभक्तजनहरूले दोश्रो उत्तरगयाका रुपमा पितृनारायण स्थानलाई मानिरहेका छन् ।
यसको अलावा लिखु गाउँपालिकाको वडा नं. ३ मा अन्य थुप्रै संस्कृति, सम्पदा र जीवनशैली छन् । जसले सिङ्गै मानव सभ्यताको प्रतिनिधित्व गरिरहेको छ । नुवाकोट जिल्लाको पहिचानको रुपमा स्थापित माघे संक्रान्तिमा गोरु जुधाउने परम्परा यही वडामा रहेको छ । कट्टिछापमा हरेक माघे संक्रान्तिमा गोरु जुधाएर मनाईने पर्वले राष्ट्रिय महत्व र चर्चा प्राप्त गरेको छ ।
नुवाकोटको भौगोलिक संरचनाका हिसावमा करिव करिव मध्ये भागमा पर्ने लिखु गाउँपालिकाको वडा नं. ३ यातायातको पहुँचका कारण पनि सबैका लागि सहज र पायक पर्ने देखिन्छ । पुष्पलाल मध्येपहाडी लोकमार्गले समेत छोएको यस वडा ढिकुरे–छहरे सडकको मध्ये भागमा छ । विदुरबाट २०मिनेट,काठमाडौंको टोखाबाट डेढ घण्टा भन्दा कम समयमा आइपुग्न सकिने यो ठाउँ आन्तरिक मात्रै नभई बाहिरि पर्यटकहरूका लागि समेत हेर्न, भ्रमण गर्न र पहाडी जीवनशैली अध्ययन गर्ने उपयुक्त गन्तब्य हो ।