Monday, November 28, 2022

नुवाकोटमा कसको मत कत्ति ?

 


रसुवामा कसको मत कत्ति ?

अर्जुननरसिंह केसी


अर्जुननरसिंह केसी

प्रतिनिधि सभा सदस्य, नुवाकोट क्षेत्र नं. २

केन्द्रीय राजनीतिक वृत्तमा चलेको नाम अर्जुननरसिंह केसी अहिले ७५ का भए । मंसीर ४ गते सम्पन्न भएको निर्वाचनमा सत्ता गठबन्धनाबाट उनी नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भए । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई झण्डै १२ हजार मतले पछि पार्दै जित हासिल गरेका छन् । 

उनको यो चुनाव सहितको उम्मेदवारी नवौं पटक हो । ५ पटक विजयी भएका छन् चने ४ पटक पराजित भए । उनी तीन पटक मन्त्री र एक पटक राज्य मन्त्री बनेका छन् । स्वास्थ्य, शिक्षा, आवास तथा भौतिक योजना, सहरी विकास मन्त्रालय गरी चार वटा मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।

केसी २००४ साल असोज ११ गते नुवाकोटको तत्कालीन राउतबेशी–४ मा जन्मिएका हुन् । उनी ०१८ साल अर्थात १४ वर्षको उमेरदेखि नै राजनीतिमा आवद्ध भएका थिए । केसीले पार्टी प्रतिबन्धको अवस्था र आन्दोलनका क्रममा पटक–पटक भूमिगत भएको एवं ६ वर्ष ९ महिना बन्दी जीवन बिताएका छन् । केसीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् भने कानुन शास्त्रमा स्नातक गरेका छन् । तत्कालीन प्रतिबन्धित काँग्रेसको राजनीति गर्दै उनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा राजनीति शास्त्र अध्यापन गराईरहेका थिए । पञ्चायत समर्थकहरूले २०३२ सालमा उनलाई जागिरबाट बर्खास्त गरिदिएका थिए ।

२०३८ साल बैशाख २७ गते अर्जुननरसिंह केसी राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । त्यसबेला नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्यमा दुई जना प्रतिनिधि चुनिन्थे । त्यो निर्वाचनमा नुवाकोटमा १ लाख ६ हजार ३ सय मतदाता थिए । जसमा २० हजार २ सय १९ मत प्राप्त गरी केसी पहिलो पटक राष्ट्रिय पञ्चायतमा छिरेका थिए । त्यस निर्वाचनमा नुवाकोटबाट राष्ट्रिय पञ्चायतमा चुनिनका लागि २२ जनाबीच प्रतिस्पर्धा भएको थियो । २०३८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेलामा असार २४ गते केसी स्वास्थ्य राज्य मन्त्री बने । 

केसी २०४४ जेठमा भएको जिल्ला पञ्चायतको निर्वाचनबाट नुवाकोटको जिल्ला पञ्चायत सभापति चुनिएका थिए ।

२०७४ को निर्वाचनमा केसी नुवाकोट क्षेत्र नं. २ बाटै झण्डै १० हजार मतान्तरमा तत्कालीन बाम गठबन्धनका एमाले उम्मेदवार नारायणप्रसाद खतिवडासँग पराजित भएका थिए । खतिवडा ३६ हजार ८९२ मत मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुँदा केसीले २६ हजार ३३५ मत लिए । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा केसी नुवाकोट क्षेत्र नं. १ बाट १७ हजार ३४६ मत ल्याएर निर्वाचित भए । उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमला सुवेदीले ९ हजार १४५ मत प्राप्त गरे । २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा केसी तत्कालीन सुवेदीसँग पराजित भएका थिए । सुवेदी २० हजार ५८१ मत ल्याएर विजयी हुँदा केसीले १२ हजार ९८४ मत मात्रै पाएका थिए । 

त्यस अघि २०५६ को निर्वाचनमा पनि केसी नुवाकोट क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट तेस्रो पटक उम्मेदवार भएका थिए । त्यो निर्वाचनमा उनी नेकपा (एमाले) का महेन्द्रबहादुर पाण्डेसँग ५६९ मत अन्तरले पराजित भए । त्यसबेला पाण्डेले १३ हजार १७७ र केसीले १२ हजार ८०८ मत प्राप्त गरेका थिए । २०५१ को मध्यावधी निर्वाचनमा केसी नुवाकोटको क्षेत्र नं. ३ बाटै उम्मेदवार भएका थिए । त्यस पटक १५ हजार ९५१ मत ल्याएर निर्वाचित भए । केसीका निकटतम् प्रतिद्धन्द्धी राप्रपाका डा. प्रकाशचन्द्र लोहनीले १० हजार ३८७ र महेन्द्रबहादुर पाण्डेले ९ हजार ९४० मत प्राप्त गरेका थिए । २०५१ मा केसीको जित तेस्रो पटक संसद प्रवेश थियो ।

सभापति गिरिजाप्रसाद कोइरालाको कालमा केसी काँग्रेसका सह महामन्त्री, प्रवक्ता र विभिन्न विभागीय प्रमुख भए । 

हितबहादुर तामाङ


हितबहादुर तामाङ

प्रतिनिधि सभा सदस्य, नुवाकोट क्षेत्र नं. १

नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा) मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिएका हुन् हितबहादुर तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तानका रूपमा उनको जन्म भएको हो । तामाङका एक दाइ एक भाइ र तीन दिदीबहिनी छन् । दुई छोरी र एक छोरा सहित हितबहादुर काठमाडौंको चण्डोलमा डेरामा बस्छन् । दाजुभाइ सामान्य किसानी कर्ममा छन् । हितबहादुरले अमरज्योती मावि खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेर सोही विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गरे । २०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष शिक्षण पेशा गरे ।

हितबहादुर १६ वर्षकै उमेरमै २०३६ सालमा राजनीतिमा लागेका हुन् । २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव बने । उनले २०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने । २०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनी २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने । २०५२ सालमा जनयुद्धमा सहभागी हुँदै भूमिगत रहे । २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । हितबहादुर तामाङ २०५८ मा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० माघ १ मा ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने ।

उनलाई २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । तामाङ वर्गमुक्तिको आन्दोलनमा होमिँदा भारतमै जेल जीवन बिताउन बाध्य भए । २०६० जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले उनलाई पटनास्थित जेलमा राख्यो । माओवादीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत तामाङ बने । तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने । २०६४ सालमा नेपाली काँग्रेसका उम्मेदवार रामशरण महतसँग १०४ मतले पहिलो संविधान सभा निर्वाचनमा पराजित भए । २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । हितबहादुर दोस्रो पटक मैदानमा उत्रिए । तर पनि उनले सफलता हात पार्न सकेनन् ।

नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा हितबहादुर तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, काँग्रेसलगायत दल अर्कोतिर थिए । तामाङ वाम–गठबन्धनका साझा उम्मेदवारका रूपमा नुवाकोट क्षेत्र नं. १ बाट काँग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री समेत बने । 

बहादुरसिंह लामा तामाङ


बहादुरसिंह लामा तामाङ

प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. २ प्रदेश नं. २

विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व संघीय सांसद बहादुरसिंह लामा तामाङले जनप्रतिनिधिको भूमिकामा प्रदेश सभाको यात्रा आरम्भ गरेका छन् । दुई पटक संघीय सांसद भइसकेका काँग्रेसका केन्द्रीय सदस्य तामाङले नुवाकोटबाट यस पटक बागमती प्रदेश सांसदमा उम्मेदवारी दिए र भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार जित निकाले । तामाङको ५ बर्षे राजनीतिक यात्रा प्रदेशमा खुम्चिएको छ । 

कुनै समय तत्कालिन नेकपा माओवादकिा केन्द्रीय उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई प्रतिनिधि सभाको चुनवामा पराजित गरेर ‘हाइट बढाएका’ तामाङ प्रदेश सभामै यस पटक भिड्लान् भन्ने अनुमान कमलाई थियो । तर प्रदेशको मुख्यमन्त्री बन्नका लागि भन्दै उनी प्रदेश सभामा उठेको चर्चा चुनाव अघिदेखि सुरु भएको छ । सत्ता पक्षको गठबन्धनबाट नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा २ मा विजयी भएका तामाङ बागमती प्रदेशको मुख्यमन्त्री नै हुने ठोकुका सहयात्री दलका नेताहरूले गरका छन् । चुनावी सभामा यस कुरालाई माओवादी केन्द्र नुवाकोटका सह ईञ्चार्ज एवं यही निर्वाचन क्षेत्रका निर्वतनमा सांसद हिरानाथ खतिवाडाले व्यक्त गरेका थिए । यस विषयमा तामाङ स्वंयमले भने मुख खोलका छैनन् । 

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा नुवाकोटको तत्कालिन प्रतिनिधि सभा क्षेत्र नं. ३ मा माओवादकिो पोष्टबहादुर बोगटीसंग बहादुरसिंह लामा तामाङ एक हजार ६०० मसतले पराजित भएका थिए । २०७० को दोश्रो संविधान सभा निर्वाचनमा त्यत्तिनै मतले बोगटीलाई तामाङले हराएर ऐतिहासिक जित निकाले । २०७४ को चुनवामा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनेका तामाङ अहिले प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । संघीय मन्त्री बन्ने दौडधुपमा पछाडी परेका तामाङ अहिलेको देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने हल्ला ब्यापक थियो । उनले त्यो अवसर पाएनन् । 

२०४३ सालदेखि विद्यार्थी राजनीतिमा लागेका तामाङले २०५४ सालमा गाबिस अध्यक्ष बनेर जनप्रतिनिधिको भूमिकाको सुरुवात गरेका हुन् । 

रामप्रसाद ढुङ्गाना


रामप्रसाद ढुङ्गाना

प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. २ प्रदेश नं. १

नुवाकोट जिल्ला पञ्चायतका उपसभापति समेत भइसकेका रामप्रसाद ढुङ्गाना यतिबेला उमेरले ठ्याक्कै ७२ काटेर ७३ वर्षमा कुँदिरहेका छन् । उनी उप सभापति हुँदा अहिले उनीसंग गठबन्धनमा रहेर प्रतिनिधि सभामा नुवाकोट क्षेत्र नं. २ बाट भर्खरै निर्वाचित भएका काँग्रेस नेता अर्जुननरसिंह केसी नै सभापति थिए ।  

     नुवाकोटको बेलकोटगढी नगरपालिका १ आरुखर्कमा २००६ साल फागुन २ गते जन्मिएका रामप्रसाद ढुङ्गाना पञ्चायतदेखि बहुदल हुँदै जनयुद्ध र संघीय लोकतान्त्रीक गणतन्त्रको यो व्यवस्थासम्म अविराम राजनीतिको यात्रामा क्रियाशील छन् । ढुङ्गाना अहिले नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष छन् । 

पिता गुरुप्रसाद र आमा टिकादेवीको सन्तानको रूपमा सामान्य किसान परिवारमा जन्मिएका उनले २०२७ सालमा मेट्रिक्स पास गरेका थिए । उनी २०३३ सालदेखि राजनीतिक सक्रिय छन् । पञ्चायतको राजनीतिमा इमान्दारिताको पहिचान बनाएका उनी माओवादी आन्दोलनमा होमिएपछि सबैको ‘बा’ उपनाम पाएका थिए । उनको पार्टी भित्र उपनाम थियो ‘कमरेड कपिल’ । जनयुद्धको बेला चितवन, मकवानपुर, धादिङ, नुवाकोटका विभिन्न भुगोलमा उनको जिम्मेवारी थियो । 

नुवाकोट जिल्ला पञ्चायतका उपसभापतिसम्म भएका उनलाई जनयुद्धमा माओवादीको जनसत्ता संयुक्त क्रान्तिकारी जनपरिषद्ले सञ्चालन गरेको जनअदालतमा जिल्ला न्यायाधिशको जिम्मेवारी दिएको थियो । उनी २०५८ सालको मंसिर ११ गते संकटकाल घोषणासँगै भूमिगत राजनीतिको यात्रामा सामेल भए । 

उनको सांसदका रुपमा पहिलो जिम्मेवारी हो । लाभको पदमा कहिल्यै देखानपरेका ढुङ्गानाले पहिलो अवसरलाई नै सदुपयोग गरेका छन् । माओवादी नेताका रुपमा भन्दा पछि उनी पुराना राजनीतिज्ञका रुपमा जिल्लामा परिचित छन् । 

राधिका तामाङ


राधिका तामाङ

प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. १ प्रदेश नं. १

२०४० सालमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंं. ३ (साविकको लिखु गाविस पोखरे) मा जन्मिएका राधिका तामाङको यो दोश्रो विजय यात्रा हो । 

      २०७४ सालमा उनी यही क्षेत्रबाट बागमती प्रदेश सभामा निर्वाचित भएका थिए । बागमती प्रदेशको निवर्तनमा उपसभामुख तामाङ संघीय सरकारको कृषि राज्यमन्त्री समेत भइसकेका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका तामाङ २०६२ सालमा नुवाकोटको जनसरकार प्रमुख समेत थिए । माओवादीको त्यस बेलाको समानान्तर सत्ता जनसरकार प्रमुख बन्दा तामाङ १८/१९ वर्षका मात्रै थिए । १० कक्षा पढ्दापढ्दै माओवादी जनयुद्धमा पुर्णकालिन बनेर भुमिगत भएका तामाङले शान्ति प्रक्रियापछि मात्रै आफ्नो पढाईलाई निरन्तरता दिएका हुन् । २०६४ मा एसएलसी दिएर ब्याचलर अध्ययनरत छन् । 

कृषक परिवारमा जन्मिएका उनको पहिलो पतिको युद्धकालमा तत्कालिन शाही नेपाली सेनाबाट हत्या भएको थियो । विवाह भएको एक महिनामै तामाङ पतिको पार्टीको काम गर्ने सिलसिलामा (पार्टीको मुखपत्र ‘छाल’ प्रकाशन गर्न जाने क्रममा बाटोमा) हत्या भएको थियो । सिन्धुलीका डिबी तामाङसंग दोश्रो विवाह गरेका उनको हाल एक छोरा छन् । आमा राम्री तामाङ र बाबु शेरबहादुर तामाङको उनी कान्छी छोरी हुन् । उनको दुई दिदी मात्रै छन् । आमा काँग्रेसको तर्फबाट तत्कालिन समयमा दुई पटक वडा अध्यक्ष निर्वाचित भएका थिए । बुबा शाही नेपाली सेनामा जागिरे जीवन विताएर सेवा निवृत्त भएका हुन् । उनका बुबाआमाको निधन भइसकेको छ । 

रमेशकुमार महत

 


रमेशकुमार महत

प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. १ प्रदेश नं. २

५४ वर्षिया रमेशकुमार महतले दुई वटा महत्वपुर्ण जित हातपार्न दुई वटै निर्वाचनसम्म पुग्नु परेको छ । अहिले प्रदेश सांसद र काँग्रेसको जिल्ला सभापतिमा दुई÷दुई पटकको  प्रयासमा उनले सफलता हात पारेका छन् । 

सत्ता गठबन्धनका तर्फबाट नुवाकोट क्षेत्र नं. १ को प्रदेश २ मा उम्मेदवारी दिएका ५४ वर्षिया रमेशकुमार महतको जन प्रतिनिधिका रुपमा चुनिने दोश्रो प्रयासमा सफल भएका छन् । उनले यही क्षेत्रमा २०७४ सालको चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए । तत्कालिन चुनवामा उनी अहिलेका क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा हितबहादुरसंग पराजित भएका बद्री मैनालीसंग हारेका थिए । 

अहिले महतले विजयी हासिल गरेको प्रदेश निर्वाचन क्षेत्रमा यस अघि एमालेका मैनाली निर्वाचित भएका थिए । मैनाली अलिहे एमाले नुवाकोटका अध्यक्ष समेत छन् । महतले यस क्षेत्रमा एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ मतले हराएका छन् ।  

२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनसंग भिडेका महत पराजित भएका थिए । अघिल्लो निर्वाचनमा हराउने माओवादीनै साथ लिएर अहिले महत निर्वाचित भएका छन् । नेपाली काँग्रेस नुवाकोटका सभापति समेत रहेको महत नुवाकोट काँग्रेसको राजनीतिमा मध्यकालिन नाम हो । डा. रामशरण महतको उदयसंगै उनी काँग्रेसको राजनीतिमा सक्रिय छन् । जनमोर्चाबाट राजनीति थालेका रमेशकुमार महतले डा. रामशरण महत नुवाकोटको तत्कालिन क्षेत्र नं. २ मा (यस अघि नुवाकोटमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वटा) उम्मेदवार बनेपछि उनी काँग्रेसमा उदाएका हुन् । 

सात पटक अर्थमन्त्री बनेका काका डा. रामशरण महतको निजी सचिवका रुपमा झण्डै दुई दशक काम गरेका उनले आफुलाई त्यहीबाट पार्टी भित्र स्थापित गरेका हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी १० मतले जिल्ला सभापतिमा निर्वाचित भए । महत र केसी गुटगत राजनीति झाँगिएको नुवाकोटको काँग्रेस राजनीतिलाई उनले दोश्रो पटकको प्रयासमा मात्रै आफ्नो हात पारेका हुन् । यो पटक डा. केदारनरसिंह केसीलाई उनले हराए भने पार्टी १३ औं महाधिवेशनमा डा. केदारनरसिंहका भाई जगदीश्वरनरसिंह केसीसंग १६ मतले जिल्ला सभापतिमा पराजित भएका थिए ।   

समानुपातिकमा नुवाकोटका तीन


विदुर । प्रतिनिधिसभाको समानुपातिक तर्फबाट छानिने ११० जनामध्ये दलहरूले ६५ प्रतिशत महिला पठाउनुपर्ने भएको छ । संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी ३३४ सांसदमध्ये कम्तीमा ११० जना महिला हुनुपर्छ । यो निर्वाचनमा दलहरूले महिलालाई झिनो संख्यामा मात्रै टिकट दिएका थिए, उनीहरूमध्ये पनि अधिकांश पराजित भए । अब अपुग महिलाको संख्या  समानुपातिकबाट पु¥याउनुपर्नेछ । समानुपातिकको बन्दसूचीमा रहेका कुल उम्मेदवारमध्ये दलहरू खस–आर्य समूहबाट ३१.२ प्रतिशत, आदिवासी जनजातिबाट २८.७ प्रतिशत, मधेसीबाट १५.३ प्रतिशत, दलितबाट १३.८ प्रतिशत, थारूबाट ६.६ प्रतिशत र मुस्लिमबाट ४.४ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ ।

यही व्यवस्था अनुसार नुवाकोटबाट दुई जना महिला प्रतिनिधि सभा सदस्य बन्ने पक्का भएको छ । त्यसै गरी एक जना पुरुष सांसद पनि नुवाकोटकै हुने भएका छन् । नेपाली काँग्रेसका तर्फबाट समानुपातिकको बन्द सूचीमा रहेको डा. प्रकाशशरण महत, सीता मिजार र नेकपा माओवादी केन्द्रका बिमला सुवेदी प्रतिनिधि सभा सदस्य बन्ने पक्कापक्की भएको हो । 

राप्रपाका तर्फबाट समानुपातिकमा रहेका डा. प्रकाशचन्द्र लोहनी भने सांसद बन्ने सम्भावना शुन्य प्रायः भएको छ । दलहरूले प्राप्त गरेको मतको आधारमा निर्धारण हुने संख्यामा यो पाली महिला बढी छानिने छन् । यस पटक समानुपातिबाट प्रतिनिधि सभा सदस्यमा ११० मध्ये ७२ महिला आउँदै छन् । 

काँग्रेसका डा. प्रकाशशरण महतको नाम खस आर्य समुहको पहिलो नम्वर छ । त्यस्तै, काँग्रेकै सीता मिजारको नाम दलित समुहको तेश्रो नम्वरमा छ । माओवादी केन्द्रका बिमला सुवेदीको खस आर्य समुहको दोश्रो नम्वरमा नाम छ । उनीहरूको संसद यात्रा पक्का छ । राप्रपाबाट खस आर्य समुहको दोश्रो नम्वरमा रहेको डा. प्रकाशचन्द्र लोहनीलाई सांसद प्रवेश गराउने गरी समानुपातिमा उनको पार्टीले मत ल्याउने सम्भावना छैन । एमालेले तयार गरेको बन्द सूचीमा समावेश भएका नुवाकोटका नेताहरूको क्रमसंख्या निक्कै पछाडी भएका कारण उक्त पार्टीबाट नुवाकोटका नेताले प्रतिनिधि सभामा प्रवेश पाउने छैनन् । 

तीन प्रतिशत मत लिएर थ्रेसहोल्ड ६ दलले कटाउने देखिन्छ । उनीहरूले समानुपातिकबाट करिब ७२ महिला पठाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले समानुपातिकतर्फ ६२ प्रतिशत मत खसेको अनुमान गरेको छ । यसअनुसार कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये एक करोड ११ लाख ५२ हजार ९१३ ले मतदान गरेको अनुमान गर्न सकिन्छ । आयोगले दुई प्रतिशत अर्थात् दुई लाख २३ हजार ५८ मत बदर हुने अनुमान गरेको छ । 

यस हिसाबले एक करोड नौ लाख २९ हजार ८५५ मत सदर हुने आकलन गर्न सकिन्छ । त्यसमध्ये पनि १० प्रतिशत अर्थात् दश लाख ९२ हजार ९८५ मत थ्रेसहोल्ड नकट्ने आउने आयोगको अनुमान छ । आयोगका अनुसार एक सिटका लागि सरदर ९८ हजार मत आवश्यक पर्ने हुन्छ । 

आयोगको प्रक्षेपणअनुसार समानुपातिकमा एमालेले ३४, कांग्रेसले ३४, माओवादीले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, राप्रपाले आठ र जसपाले चार सिट पाउने सम्भावना छर । 

काँग्रेसका कुनै पनि महिलाले चुनवा जितेको छैन । अग्रता लिइरहेको ठाउामा पनि महिला छैन । यस्तै, यही अनुपातमा मत पाए उसले समानुपातिकबाट ३३ सिट पाउने देखिन्छ । अहिले राष्ट्रिय सभामा कांग्रेसका १० सांसदमध्ये तीन महिला छन् । यस हिसाबले अब समानुपातिकबाट पाउने ३३ सिटमध्ये कांग्रेसले ३३ प्रतिशत अर्थात् ३२ महिला अनिवार्य पठाउनुपर्ने छ । 

यसअनुसार कांग्रेसले दलित क्लस्टरबाट शान्ति विक, रूपा विक, सीता मिजार र आशा विक, आदिवासी जनजाति क्लस्टरबाट सरस्वती बजिमय, लीलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी जोशी, माया राई, कुसुम थापामगर र मनोरमा शेरचन पर्नेछन्र । त्यस्तै, खस–आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल कार्की संसद्मा प्रवेश गर्नेछन् । थारू क्लस्टरबाट कल्पना चौधरी र विनाकुमारी थनेत, मधेसी क्लस्टरबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल तथा मुस्लिमबाट जावेदा खातुन जागा र देवकला सुवेदी (कमाल) संसद् प्रवेश गर्ने देखिन्छ । 

यसबाहेकका बाँकी चारजना पुरुष पनि समानुपातिकबाट छानिने देखिन्छन् । खस–आर्यतर्फबाट डा. प्रकाशरण महत, आदिवासी जनजाति क्लस्टरबाट गोपालमान श्रेष्ठ, दलिततर्फ जीवन परियार, मधेसीतर्फ विमलेन्द्र निधि र थारू क्लस्टरमा योगेन्द्र चौधरीको नाम पहिलो नम्बरमा छ ।

एमालेले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाकै नाम समावेश थियो । समानुपातिकतर्फ बुझाएका ती नाममध्ये खस–आर्य समूहबाट क्रमशः रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही र खिमलाल पोखरेल, जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल, मधेसीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साह, दलितबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध, थारुबाट सत्यनारायण चौधरी र मुस्लिमबाट सराज अहमद फारुकी सांसद बन्ने देखिन्छ ।

एमालेले यही अनुपातमा मत पाउँदै गए उसले समानुपातिकबाट ३५ सिट पाउने देखिन्छ । राष्ट्रिय सभामा एमालेका १५ सांसदमध्ये नौ महिला छन् । अब समानुपातिकबाट पाउने ३५ सिटमध्ये एमालेले कम्तीमा १८ महिला प्रतिनिधित्व गराउनुपर्ने हुन्छ । एमालेले प्रत्यक्षमा र समानुपातिक गरी ७९ सिट पाउने सम्भावना छ । यस आधारमा एमालेबाट समानुपातिकबाट संसदमा सहभागी हुने महिलामा दलित क्लस्टरतर्फबाट रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा, खसआर्य क्लस्टरबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, आदिवासी जनजातिबाट नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, मधेसीबाट विना देवी, अमृतादेवी अग्रहरी र प्रतीक्षा तिवारी मुखिया हुन सक्छन् । त्यस्तै थारूबाट अस्माकुमारी चौधरी र मुस्लिमबाट रुही नाज पर्ने देखिन्छ । 

एमालेमा यसबाहेक १६ जनाको प्रतिनिधित्व हुने अवस्था छर । यसबाहेक खस–आर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही, खिमलाल पोखरेल, जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास र सरोज डंगोल, मधेसीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साह, दलितबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध, थारूबाट सत्यनारायण चौधरी तथा मुस्लिमबाट सराज अहमद फारुकी सांसद बन्ने देखिन्छ । 

समानुपातिकमा माओवादीले यहि अनुपातमा मत पाएमा समानुपातिकमा १५ सिट पाउने देखिन्छर । दुवैतर्फ गरेर उसले ३४ सिट पु¥याउने सम्भावना छर । 

माओवादीबाट दाङ २ बाट रेखा शर्माले जीत निकालेकी छन् । राष्ट्रियसभामा माओवादीका १५ मध्ये तीन महिला सांसद छन् । ३३ प्रतिशत महिला सहभागिता पु-याउन अब उसले समाुनपातिकबाट १२ महिला पठाउनुपर्छ । 

माओवादीबाट खसआर्य समुहबाट ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा र तेत्राकुमारी अधिकारी, आदिवासी जनजातिबाट दुर्गा राई, मिना तामाङ र उर्मिला माझी पौडेल, मधेशीबाट मिना यादव र उमरावती देवी यादव, दलितबाट शुशिला श्रीपाली ठकुरी र पार्वती विक तथा थारूबाट रुपा सोसी चौधरी सांसद बन्ने देखिन्छ । यसबाहेक पुरुष खस आर्यतर्फबाट हितराज पाण्डे, मधेशीबाट रामेश्वर राय यादव र दलितबाट रणेन्द्र बराली सांसद हुने देखिन्छ । 

नुवाकोटमा ‘क्लीन स्वीप’

सत्ता गठबन्धनबाट नुवाकोटमा निर्वाचित उम्मेदवारहरू क्रमशः अर्जुननरसिंह केसी, रामप्रसाद ढुङ्गाना, बहादुरसिंह लामा तामाङ, हितबहादुर तामाङ, राधिका तामाङ र रमेशकुमार महत । तस्बिर : इमेज

विदुर । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई नुवाकोटमा क्लीन स्वीप’ गरेको छ । दुई प्रतिनिधि निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एमालेका कुनै पनि उम्मेदावर विजयी हुन सकेनन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले नुवाकोटमा बरावरी सिट जितेको छ । काँग्रेसले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट, माओवादी केन्द्रले पनि प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट जितेको छ । 

काँग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ मा जिल्ला सभापति रमेशकुमार महत र प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा २  मा केन्द्रीय सदस्य तथा निर्वतनमा संघीय सांसद बहादुरसिंह लामा तामाङ बिजयी भए । 

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पोलिटव्युरो सदस्य हितबहादुर तामाङ विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा केन्द्रीय सदस्य तथा बागतमी प्रदेशका निर्वतनमा उपसभामुख राधिका तामाङ र प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ माओवादीको बागतमी उपाध्यक्ष रामप्रसाद ढुङ्गाना बिजयी भए । 

सत्ता गठबन्धनको जितले नेकपा एमालेका आशालाग्दा नेताहरूलाई राजनीतिक अवरोध सृजना गरेको छ । निर्वतनमा संघीय सांसद नारायणप्रसाद खतिवडा, जिल्ला अध्यक्ष तथा निर्वतनमा प्रदेश सांसद बद्री मैनाली, एमाले बागमतीका अध्यक्ष तथा निर्वतनमा सांसद केशवराज पाण्डेलाई धक्का लागेको छ । भर्खरै काँग्रेस छाडेर एमाले आएका प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार सुशिल खड्काको भने ‘राजनीति विज्ञापन’ भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार पुर्णलाल श्रेष्ठलाई पार्टी भित्र र आम जनताबीच राजनीति स्थापित गर्न अहिलेको हारले मद्दत गरेको छ । चुनाव जित्न गाह्रो छ भन्ने मानसिकता लिएर मैदानमा गएको श्रेष्ठले अर्को पटकका लागि सजिलो हुने रणनीति अनुसार सक्रिय भएको देखिएको छ । 

प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. २ मा उम्मेदवार बनेका बिजय लोप्चनलाई भने लामो समयपछि पार्टीमा प्राप्त भएको अवसरको सदुपयोग गर्न नसकेको खिन्नता निर्वाचन परिणामले दिएको छ । 

एमालेहरू प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ भने जित्नेमा बढी आशावादी थिए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना कमजोर र प्रदेश सभामै काँग्रेसको तर्फबाट गीता अमात्यको कायम भएको उम्मेदवारीका कारण केशवराज पाण्डेको जितको सम्भावना रहेको उनीहरूको तर्क थियो । पाण्डे आफैंमा बलियो र २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट जितेका कारण पाण्डे चाँही जित्नेमा ढुक्क थिए । ४४९ मतले ढुङ्गानाले जित्नुले पनि उनीहरूको यो तर्कलाई बल पुगेको छ । रुख चिन्हका गीता अमात्यले पनि ४ हजार ६२ मत लिएको छ । 

प्रतिनिधि सभा सदस्य पदका लागि क्षेत्र नं. २ बाट उम्मेदवार बनेका नारायणप्रसाद खतिवडा भने यस पटक उठ्ने मुडमा थिएनन् । उनले यस पटक उठ्ने उम्मेदवार नपाएकै कारण बाध्यताले उम्मेदवारी दिएका हुन् । खतिवडाले चुनाव अघि पटक पटक खुलेर ‘कोही कसैलाई रहर भए उठ्नु’ भन्दै आएका थिए । 

क्षेत्र नं. १ मा बद्री मैनाली भने काँग्रेस–माओवादीको अन्र्तसंर्घष र माओवादी नरुचाउने भोटका कारण जित्ने दाउमा थिए । काँग्रेसबाट माओवादीमा पर्याप्त भोट ‘ट्रान्सफर’ नहुने र द्धन्द्धकालिन कुरा सम्झेर र २०७४ मा डा. रामशरण महत हराएको इखले यो पाली काँग्रेसले नै माओवादी हराउने बुझाई एमालेमा थियो । शिवपुरी र दुप्चेश्वरको मत गणना नहुँदासम्म जितिरहेका बद्री मैनालीलाई अन्तिम परिणामसम्म पुग्दा माथी उक्लन दिएन । तर काँग्रेसबाट गठबन्धका नाममा हितबहादुरलाई जानुपर्ने उल्लेख्य मत भने मैनालीले लिए । 

२०७९ बैशाखमा काँग्रेस त्यागेर एमाले आएका सुशीलकुमार खड्काको भने हिसाव कहिपनि मिलेन । पैसा भएपछि चुनाव जितिन्छ भन्ने मानसिकताका उम्मेदवार खड्का आफै एमालेभित्र रुचाइएन । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १

मा माओवादी केन्द्रका राधिका तामाङसंग प्रतिस्पर्धा गरेका खड्कालाई कत्तिपय एमालेले समेत असहयोग गरे । पदका लागि पार्टी फेरेको र टिकट नपाए एमालेपनि छाड्ने उनको धम्कीकै कारण पार्टी लाचार भएर टिकट दिएको चुनाव अघिदेखिनै टिप्प्णी हुने गरेको थियो । खड्काको ‘अराजनीतिक इन्ट्री’ भन्दै एमालेका पुराना कार्यकर्ताहरूले जिल्ला अध्यक्ष मैनाली समक्ष विद्रोहको आबाज समेत बुलन्द गरेका थिए । ‘भोलिको चुनाव छ यसो नगरु’ भनेर उनले कार्यकर्तालाई साम्य पारेका थिए । शिवपुरी गाउँपालिकाको मत गणना सुरु हुँदैमा खड्काले आफ्नो फेसबुक पेजमा पोष्ट गरेर मतदाताहरूलाई धन्यवाद सहित आधार व्यक्त गरेका थिए । 

खसेको मतको २० प्रतिशत मत समेत गणना नभइकनै उनलाई चुनाव जितन्न भन्ने लागेको थियो । शिवपुरीका पहिलो गणना भएकै वडामा राधिका तामाङ साढे सात सय भन्दा बढी मतले अगाडी लागेपछि खड्काले आशा मारेका थिए ।

नुवाकोट क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले २६ हजार पाँच सय ४८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका बद्री मैनालीले २३ हजार ४६३ मत ल्याएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । सोही क्षेत्रमा तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रधुम्न महत क्षेत्रीले ६ हजार ११३ मत पाएका छन् । माओवादी नेता तामाङ २०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धनको तर्फबाट यही क्षेत्रमा निर्वाचित भएका थिए ।

एक लाख २० हजार ७५२ मतदाता रहेको नुवाकोट क्षेत्र नम्बर १ मा ६३ हजार ५८४ मत खसेको थियो । कूल खसेको मतमा ६० हजार १९ मत सदर र तीन हजार ५६५ मत बदर भएको थियो । क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. २ मा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत निर्वाचित भएका छन् । काँग्रेस उम्मेदवार महतले १२ हजार ६०३ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार २९२ मत ल्याए । 

क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी राधिका तामाङले १६ हजार १६९ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सुशीलकुमार खड्काले ११ हजार ३५० मत ल्याएका थिए । माओवादी नेतृ तामाङ २०७४ मा पनि यही क्षेत्रबाट माओवादी–एमाले गठबन्धनबाट निर्वाचित भएकी थिइन् ।

नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार अर्ज‘ननरसिंह केसी निर्वाचित भएका छन् । काँग्रेस उम्मेदवार केसीले २८ हजार १०७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेले १६ हजार ४७७ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा एमाले तेस्रो भएको छ । एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले माओवादी गठबन्धनबाट एमालेका खतिवडा निर्वाचित भएका थिए । 

क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । ढुङ्गानाले १२ हजार ११० मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशवराज पाण्डेले ११ हजार ६६२ मत ल्याएका थिए । क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका बहादुरसिंह लामा तामाङ निर्वाचित भएका छन् । लामाले १७ हजार २४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयसिंह लामा तामाङले नौ हजार १२४ मत ल्याएका थिए । 

आधा मतपत्र खेर गयो


विदुर । नुवाकोटको निर्वाचन तयारीको बारेमा जानकारी दिन मंसीर २ गते निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधर विदुर आएका थिए । त्यस क्रममा जिल्लाका पत्रकारहरूसंग राखिएको अन्तरक्रियामा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले प्रश्न गरे– ‘यसपालि कत्ति प्रतिशत मतदान हुने अनुमान गर्नुभएको छ ?’ आयुक्तले ७५ प्रतिशत मतदान हुने दावी गरे । अनि खनालको दोश्रो प्रश्न आयो– ‘अधिकतम ७५ प्रतिशत मतदानको अनुमान गर्नुभएको रहेछ त १२० प्रतिशत मतपत्र छापेर किन अबाश्यक खर्च गरेको ?’ आयुक्त तुलाधार अक्मकिइन् । प्रयोगमा नआउने गरी मतदाताभन्दा बढी मतपत्र किन छापेको भन्ने प्रश्नमा आयुक्त डा. तुलाधरले कार्यविधिमा बढी मत छाप्नु पर्ने व्यवस्था भएकोले छापिएको बताए । ‘आयोग नियम कानून अनुसार नै चल्ने संस्था हो । १० प्रतिशतसम्म बढी मत छाप्न सक्ने व्यवस्था रहेको छ । त्यसैले मतपत्र मतदाताभन्दा धेरै छापिएको हो’ डा. तुलाधरले भने ।

मंसीर २ गते को उक्त कार्यक्रममा व्यक्त गरिएको चासो जस्तै नुवाकोटमा आएको मतपत्रको आधा भन्दा बढी संख्यामा छाप नै नलागी खेर गएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई खर्च कटौती गराउन भन्दै चुनाव प्रचार प्रसारका पुराना प्रकृतिहरूलाई परिवर्तन गरिदियो । दल तथा उम्मेदवारको तस्वीर, चिन्ह अंकित टिसर्ट, टोपी, ज्याकेट लगायत छाप्न नै प्रतिबन्ध लगायो। ठूला ब्यानर, ठूला साइजका झण्डा, सवारीसाधन -याली, भोजभतेरमा कडाइ ग¥यो । जसले गर्दा उम्मेदवारको लाखौं रुपैयाँ जोगिएको छ । उम्मेदवार र राजनीतिक दलको खर्च कटौती गर्न ध्यान दिने आयोगले भने आफ्नै खर्च कटौतीमा ध्यान नदिँदा करोडौं रुपैयाँ खेर गयो ।

प्रतिनिधि सभाको लागि समानुपातिकतर्फ नुवाकोटमा दुई लाख ७१ हजार मतपत्र नुवाकोट आयो ।

  अस्थायी मतदाताको लागि आएको ६ हजार मतपत्रसहितको संख्या हो यो । नुवाकोटमा अस्थायी मतदातासहित दुई लाख ४० हजार ७१५ मतदाता थिए । नुवाकोटमा मत भने जम्मा ५३.९१ प्रतिशत खस्यो । एक लाख २९ हजार ७८१ मत खस्दा मतपत्र पनि सोही अनुसार प्रयोग भयो । मतदाताभन्दा झण्डै १३ प्रतिशत बढी मतपत्र आएको नुवाकोटमा समानुपातिकतर्फ मात्र एक लाख ४१ हजार २१९ मतपत्र प्रयोग नै भएन । जिल्लामा आएको मध्ये ५२.११ प्रतिशत मतपत्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार प्रयोग भएको भन्दा प्रयोग नभएको रित्तो मतपत्रको संख्या धेरै भएको छ । यसैगरी प्रत्यक्षतर्फ पनि मतपत्र झण्डै ५० प्रतिशत प्रयोगमा नै नआएको जिल्ला निर्वाचन अधिकृत जयप्रसाद गौतमले जानकारी दिएका छन् । 

निर्वाचन कार्यालय नुवाकोटका अनुसार सबैभन्दा धेरै क्षेत्र नं. १ प्रदेश १ मा पठाइएको मतपत्र धेरै खाली रह्यो । उक्त क्षेत्रमा प्रत्यक्ष र समानुपातिकमा ६८/६८ हजार मतपत्र आएको थियो । ३१ हजार ८२ मत खस्यो यो प्रदेशमा । समानुपातिक र प्रत्यक्ष गरेर एक लाख ३६ हजार मतपत्र आएको यो प्रदेशमा दुबैतर्फ गरेर ६२ हजार १६४ मतपत्रमात्र प्रयोगमा आउँदा ७३ हजार ८३६ मतपत्रमा छाप नै लागेन । नुवाकोटको यो क्षेत्रमा ५४.२९ प्रतिशतसम्म मतपत्र प्रयोग नै भएन । निर्वाचनमा मतदाताको उत्साह कम हुँदा र आयोगले  मतदाताभन्दा बढी मतपत्र छापेको कारण यो पटक देशभरमा करोडौं मतपत्र प्रयोगमा आएन ।

दुई करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेको निर्वाचनमा आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकको लागि आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्र छापेको थियो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक करोड ९८ लाख ७१ हजार, समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार, प्रदेश प्रत्यक्षतर्फ एक करोड ९९ लाख १८ हजार पाँच सय र प्रदेश समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छापेको निर्वाचन आयोगको बुलेटिनमा उल्लेख छ । 

आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फ सबैभन्दा बढी मतदाताभन्दा १३.५२ प्रतिशतसम्म बढी मतपत्र छापेको छ। आयोगले यो पटक २०१५ को आम निर्वाचन भए यताकै सबैभन्दा कम मत ६० प्रतिशतमात्र खसेको जनाएको छ । 

६० प्रतिशत अर्थात एक करोड ९ लाख ७३ हजार मतदाताले चारवटा मतपत्र प्रयोग गर्दा चार करोड ३८ लाख ९२ हजार एक सय ८ मतपत्रमात्र प्रयोग भयो । यसको अर्थ तीन करोड ६५ लाख भन्दा बढी मतपत्र प्रयोगमा नै आएन । अझ आयोगले मतदाता संख्या बराबर मात्र मतपत्र छापेको भए अहिलेको निर्वाचनमा नै ८४ लाख ४० हजार मतपत्र कम हुने थियो । 

करोडौंको सामाग्री सत्यानास


विदुर । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रयोग भएको मतपेटिका बाहेक अन्य निर्वाचन सामग्री अहिलेको निर्वाचनमा प्रयोगमा नआएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताए । 

‘मतपेटिका पुरानोले नपुग भएको संख्यामात्रै नयाँ आयो । अरु सामग्री भने सबै नै नयाँ नै आएको हो । पुरानोको प्रयोग नै गरिएन । गर्ने चलन पनि छैन’ गौतमले भने– ‘विगतमा मतदान अधिकृतले निर्वाचनपछि बाँकी सामग्री फिर्ता गर्न भन्ने गरिएको थिएन । यो पटक भनिएको छ । के कति फिर्ता आएको छ । रुजु हुँदैछ । तर, फिर्ता आएको पनि आउँदो पाँच वर्षसम्म यी सामग्री कति जोगिएलान् र ?’ छेकाबार, म्याट, स्वस्तिक छाप, स्टेपल, स्केल लगायतका सामग्री पुनः प्रयोग गर्न सकिन्छ । तर, आयोगले हरेक निर्वाचनमा नयाँ खरीद गर्दै आएको छ ।

मतदाता नामावलीमा नाम भएका लाखौं मतदाता विदेशमा रहेको तथ्याङ्क आयोगबाट पक्कै छिपेको छैन । निर्वाचनमा लाखौं कर्मचारी र सुरक्षाकर्मी खटिन्छन् । उनीहरूले स्थानीय निर्वाचनमा त मतदान गर्नै पाउँदैनन्, आम निर्वाचनमा यो पटक प्रतिनिधि सभाको समानुपातिकमा मतदान गर्न पाए । प्रत्यक्षमा त पाउँदैनन् । यसले पनि मतदाता कम नै हुनेछन् । 

आयोग आफैँले पनि ९० प्रतिशतभन्दा बढी मत खस्नुलाई ‘धाँधली’ वा ‘बुथ कब्जा’ को रुपमा बुझेको छ । प्रमुख आयुक्त दिनेश थपलियाले गत स्थानीय तह निर्वाचनमा ९० प्रतिशत मत खसेको बुथमा केही गडबड भएको ठान्दै ‘अतिसंवेदनशील’ केन्द्र मानेर बढी ध्यान दिइएको बताएका थिए । 

९० प्रतिशतभन्दा बढी मत खस्नुलाई ‘अस्वभाविक’ मान्ने आयोगले नै मतदाता भन्दा १०÷१५ प्रतिशत मतपत्र बढी छाप्नु र अघिल्ला निर्वाचनका प्रयोग भएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बारेमा ध्यानै नदिई सबै नयाँ नै खरीद गर्नुलाई आयोगका पदाधिकारी र कर्मचारीको कमिसनको चक्कर होइन भनेर मान्ने आधार के ? अरुलाई खर्च कम गर भनेर कानून, नियम र आचारसंहिताको डण्डा चलाउने आयोगले आफ्नो खर्च कटौतीमा ध्यान दिनु पर्दैन ? स्वतन्त्र समाचार सहयोगमा

परिणाम सुनाएको एक दिनपछि एक बाक्सा मत भेटियो

धादिङ । प्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका शुक्रवार राती भेटिएको छ । तर बिहीवार नै त्यस क्षेत्रबाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका रामनाथ अधिकारी विजयी भएको घोषणा भइसकेको थियो । 

मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरूकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको बाक्सा नै गणना गर्न छुटेको हो । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक मत गणना गर्ने क्रममा प्रत्यक्ष तर्फको बाक्सा भेटिएपछि केहिबेर हंगामा नै मच्चियो ।

खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि मतदान स्थलको ख केन्द्रको मतपेटिका गणनामा छुटेको मुख्य निर्वाचन अधिकृत स्विकृती पराजुलीले बताए । ‘यो मतदान स्थलमा क र ख गरी २ वटा केन्द्र थिए । ख केन्द्रमा रहेको चार सय ५१ मत गणनामै छुट्यो । रातको समयमा सबैतिरको मतपत्रहरू एकै पटक आउँदा भण्डारमा राख्ने क्रममा प्रत्यक्ष तर्फको मतपेटिका समानुपातिकतर्फ परेको र मतगणना सम्पन्न गर्दा मतपेटिका नगन्नु त्रुटी भएको सत्य हो’, पराजुली स्वीकार गरे ।

मतदाताले मत जाहेर गरेपछि कुनै पनि भुलवस जुनसुकै बाक्सामा परेपनि सदर गर्ने मतगणना पूर्वनै सर्वपक्षीय सहमति भएको छ । सोहि अनुसार छुटेको मतपेटिका पुनः गणना गरी प्रत्यक्षतर्फका उम्मेदवारको मत थप गरिएको पनि पराजुली बताए । जसका कारण बिहीबार साँझ भएको मत परिणाम भन्दा शुक्रबार विहान आएको मत परिणामको अन्तर पनि फरक परेको छ ।

धादिङ प्रतिनिधिसभामा कूल एकसय ५५ मतदान केन्द्र रहेकोमा एक सय ५४ वटा केन्द्रको मात्रै गणना भयो तर एउटा बाँकि रहेको कसैले ख्याल गरेनन् । 

प्रत्यक्षको मत परिणाम सुनाउनुपूर्व कति बाक्साको मत गणना भयो समेत गनिएन । कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरूले पनि वास्ता गरेनन् ।

मतगणना सम्पन्न पश्चात बढि मत ल्याउने उम्मेदवार नेपाली काँग्रेसका रामनाथ अधिकारीले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खेमप्रसाद लोहनीको भन्दा १० हजार ५३३ मत बढि देखिएपछि विजय उत्सव मनाए । पछि फेला परेको मतसंख्या भन्दा पहिले नै मतान्तर बढि भएपछि यस विषयले खासै चर्चा पाएन । राजनीतिक दल र उम्मेदवारहरूले मतगणना गर्ने र मतसंख्या सच्याउनेमा सहमती जनाएका छन् ।

पछि फेला परेको मत गणना गर्दा नेपाली काँग्रेसका रामनाथ अधिकारीलाई भन्दा नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १८ मत बढी आएको छ । अब दुई उम्मेदवारबीचको मतान्तर १० हजार ५१५ भएको छ । 

रसुवामा पनि एमाले नील, आचार्यको दोश्रो जित


विदुर । रसुवा जिल्लामा सत्ता गठबन्धनले नेकपा एमालेका सबै उम्मेदवारालई निक्कै फरालिको मतान्तरले हराएको छ । 

यो परिणामसंगै मोहन आचार्यले प्रतिनिधि सभामा दोश्रो पटक प्रवेश पाएका छन् । उनी काँग्रेका हुन् । त्यस्तै काँग्रेसका प्रभात तामाङले पनि प्रदेश सभामा दोश्रो प्रवेश पाएका छन् । प्रदेश सभा एक सिट माओवादीको भागमा परेकोमा माओवादीबाट इन्द्रप्रसाद गोतामेले जित निकालेसंगै संसदीय राजनीतिमा उनको प्रवेश भएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत एक मात्र क्षेत्र रहेको रसुवाको प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी भएका छन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तेन्जिङ्ग तामाङले आठ हजार ६१४ मत प्राप्त गरेका छन् ।

प्रदेश सभातर्फ रसुवा ‘क’ मा कांग्रेसका प्रभात तामाङ आठ हजार १८६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कुलप्रसाद भट्टले चार हजार ७७२ मत प्राप्त गरेका छन् ।

यस्तै, रसुवा ‘ख’ मा नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद गोतामे आठ हजार ५३३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका तेम्ब्रेल तामाङले चार हजार ८४४ मत प्राप्त गरेका छन् ।

बढी कर तिर्ने राजेन्द्र श्रेष्ठ सम्मानित


विदुर । नुवाकोट र धादिङबाट आर्थिक वर्ष २०७७÷७८ सबैभन्दा बढी कर तिर्ने नुवाकोटका  व्यवसायी राजेन्द्र श्रेष्ठ सम्मनित भएका छन् । आन्तरिक राजश्व विभागले विभिन्न क्षेत्र राजश्व भुक्तानमा उच्च योगदान गर्ने संस्थाहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले विभिन्न शिर्षकमा राजश्व तिर्ने अग्रणी संस्था तथा व्यक्तिलाई बुधबार सम्मानित गरेको हो ।

यो वर्ष उद्योग व्यापार सेवातर्फ नुवाकोट विदुरका ओम शिवशक्ति सप्लायर्स प्रोपाईटर राजेन्द्र श्रेष्ठ सम्मानित भए । 

करदाता सेवा कार्यालय गल्छीबाट ११ औँ राष्ट्रिय कर दिवसमा नुवाकोट र धादिङ जिल्लाबाट बढी आयकर दाखिला गरी व्यक्तिगत आयतर्फ उत्कृष्ट करदाता छनौट भई श्रेष्ठ सम्मानित भएको कर कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठले जानकारी दिए । 

नुवाकोट उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ नुवाकोट र धादिङबाट सबैभन्दा बढी  कर तिरेका थिए ।

विदुर नगरपालिका वडा नम्बर ४ मा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले सम्मानले अझै बढी कर तिर्न प्रोत्साहन गरेको बताए । 

उनले निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गरे अझै बढी व्यवसायीहरू करको दायरामा आउने बताए ।

संस्थागतमा कुल आन्तरिक राजश्व सबैभन्दा धेरै भुक्तान गर्नेमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । कार्य सम्पादनमा यसवर्ष उत्कृष्ट कार्य गर्ने कर्मचारी पारस खतिवडालाई सम्मान गरेको छ ।

नुवाकोटमा म्यादी प्रहरीको बिदाई


विदुर । मंसीर ४ गतेको निर्वाचनका लागि नुवाकोटमा भर्ती भएका म्यादी प्रहरीहरू बिहीवार घर फर्किएका छन् । 

४० दिनको कार्यवधी सकेर उनीहरू घर फर्किएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीको साथमा म्यादी प्रहरीलाई ४० दिनका लागि काममा खटाइएको थियो । नुवाकोटमा चुनावका लागि खटिएका एक हजार ५०० म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटका तर्फबाट कदर पत्र प्रदान गरेर पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उनीहरूको विदाई गरिएको हो । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितज्ले उनीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

पुर्णलालले रमेश महतलाई बधाई दिँदै भने ‘माननियज्यू जनताको दुःख कम गरिदिनुस्’


खरानीटार । बिहीवार साँझ मत परिणाम घोषणा हुने वित्तिकै नेकपा एमालेका उम्मेदवार पुर्णलाल श्रेष्ठले नवनिर्वाचित रमेश महतलाई खादा लगाएर सम्मान व्यक्त गरे । सत्तापक्ष गठबन्धनका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश २ मा काँग्रेसका रमेशकुमार महत उम्मेदवार थिए । एमालेबाट पुर्णलाला श्रेष्ठ महतसंग प्रतिस्पर्धामा उत्रिएका थिए ।

अन्तिम मत परिणाम आउँदै गर्दा श्रेष्ठ एक हजार ८९६ मतले महत भन्दा पछि परे । आफु जित्छुनै होला भन्ने दृढताका साथ मैदानमा खटिएका श्रेष्ठले आफ्नो पराजयलाई सहज रुपमा लिदै महतलाई हार्दिकता देखाए ।

मत माग्ने क्रममा आफु जनताको घरघरमा पुगेको बताउँदै एमालेका उम्मेदवार पुर्णलाल श्रेष्ठले नव निर्वाएचित प्रदेश सांसद रमेशकुमार महतलाई जनताको दुःख नर्विसन आग्रह गरे । ‘जनतालाई असाध्यै धेरै दुःख रहेछ, मैले सामान्य रुपमा हेरेको र अहिले घरघरमा पुगेर देखेकोमा धेरै फरक पाएँ, तपाई माननिय हुनुभयो जनताको दुःख अलिकत्ति भएपनि कम गराइदिनु होला’ श्रेष्ठले महतसंग हात मिलाउँदै आग्रह गरे ।

नागरिकहरू सामान्य दैनिकीका लागि समेत कष्ट गरिरहेको र सामान्य भन्दा सामान्य अपेक्षा जनप्रतिनिधिसंग राख्ने गरेको उल्लेख गर्दै श्रेष्ठले महतलाई भने– ‘माननियज्यू जनताको अलिअलि दुःख कम गरिदिनुस् ।’

आफ्नो चुनावी एजेण्डा पनि नागरिकहरूको दुःखमा साथ रहने रहेकोमा आफु चुनिन नसकेकोमा त्यसको कार्यभार सम्हाल्न महतलाई उनले आग्रह गरे । ‘हार जित स्वाभाविक प्रक्रिया हो, हारे भनेर त्यत्ति धेरै दुःख लागेको छैन, मैले गाउँ गाउँमा कि म जित्छु कि रमेश महतले जित्नु हुन्छ, म हारे भने पनि तपाईहरूको काम गर्न उहाँलाई घरदैलोमा आउनका लागि सहयोग गर्छ‘ भनेर वचन दिएको छु’, श्रेष्ठले महतको हात सुम्सुम्यादै भने– ‘प्लिज यत्ति चाँही साझा भावमा गरिदिनुस् है, तपाई पुरानो राजनीतिक व्यक्ति र सम्मानित हुनुहुन्छ, तपाईलाई बधाई दिन पाउँदा गर्व लागेको छ ।’

निकटतम प्रतिद्धन्द्धी रहेको श्रेष्ठको जनता केन्द्रीत अभिव्यक्ति र हार्दिकता देखेर महत भावुक भएका थिए । उनले श्रेष्ठलाई राजनीतिक दलका कारण र आफुलाई मत नहालेका र हालेका बीच विभेद गरेर आफुले कुनै काम नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् । ‘तपाई ठुक्क हुनुस् पुर्णजी म साझा र साच्चिकैको जनप्रतिनिधिको रुपमा प्रस्तुत हुने छ, तपाईको साथ र सहयोगको खाँचो मलाई बेलाबेलामा परिरहन्छ, म सहयोग माग्ने छु है !’

तादी गाउँपालिकाको कार्यालय खरानीटारको प्राङ्गणमा उनीहरू बीच भएको भावुक भलाकुसारी देखेर दुवै पक्षका नेता तथा कार्यकर्ताहरू भने जिल्ल परिरहेका थिए । निर्वाचनमा आउने अन्तिम परिणाम पछि हार्ने र जित्ने पक्षबीच हुने घम्साघम्सी सल्लाह र सहयोगमा बदलिन थालेको अन्य जिल्लाका समााचार सुनेका कार्यकर्ताहरू आफ्नै आँखा अगाडी भएको दुई प्रतिस्पर्धीको संवादले अचम्म मानिरहेको थिए । ‘हार्दै गर्दा पनि पुर्णललाजीले जुन प्रकारको व्यवहार प्रस्तुत गर्न‘भयो त्यो जनताप्रतिको इमान्दारिता र उच्च राजनैतिक संस्कार हो’ काँग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले भने ।

एमालेबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका पुर्णलाल श्रेष्ठले निर्वाचन गराउने कर्मचारीहरूलाई समेत सम्मान गरेर धन्यवाद दिएका छन् । मुख्य निर्वाचन अधिकृत टेकराज भुषाललाई खादा लगाएर सौहार्द र निष्पक्ष निर्वाचन गराएको भन्दै सम्मान गरे ।

यसै बीच, श्रेष्ठले मतदाताहरूलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत् उनले लोकतन्त्रको सुन्दर पक्षलाई स्विकार गर्दै यस्तो लेखेका छन् ।

‘चुनाव हो, हारजित अबश्य हुन्छ । लोकतन्त्रको यो सुन्दर पक्षलाई स्विकार गर्दै बिजयी हुनुहुने मित्र रमेश महतलाई (गठबन्धन) म हार्दिक बधाई दिन चाहन्छु । 

संघर्षको बीचमा राष्ट्रियताको लागि अडिग रहदै पार्टीको तर्फबाट उम्मेदवार बनेको मलाई आफ्नो विश्वासको मत दिनुहुने नुवाकोट क्षेत्र नं. १ प्रदेश २ (ख) का सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस अभियानमा सरिक हुनुहुने पार्टी कार्यकर्ता (ककनी, लिखु, सुर्यगढी र पञ्चकन्या १, २ र ५), समर्थक, शुभचिन्तकहरूप्रति धन्यवाद ब्यक्त गर्दछु । निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्ध÷सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ! मतदाता, मेरो भूगोल र सबै सहयोगीहरूमा उच्च आदरभाव रहिरहनेछ !’

प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश २ मा नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले नेकपा एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ ले हराएका थिए । महतले १३ हजार ७२७ मत ल्याएका छन् भने उनका निकटम एमालेका श्रेष्ठले ११ हजार ८३१ मत पाए । यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट बद्री मैनालीले जितेका थिए । तत्कालिन समयमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।

नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रदेश २ मा ककनी, लिखु, सुर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिकाको १, २ र ५ नम्वर वडा छन् ।

राजनीतिको एउटा दुर्लभ रेकर्ड

नेता केसी पत्निको साथ विदुरस्थित निवासमा ।

–बाबुराम लामिछाने

अर्जुननरसिंह केसी ७४ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यो उनको नवौँ संसदीय प्रतिस्पर्धा र पाँचौँ विजय रह्यो । उनले तीनवटा व्यवस्थाका नौ वटा संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरे । त्यो पनि नबिराईकन । 

२०३८ सालमा ३३ वर्षको उमेरमा पहिलो पटक राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका उनले त्यसपछिका सबै संसदीय निर्वाचनमा (राष्ट्रिय पञ्चायत, प्रतिनिधिसभा, संविधानसभा र फेरि प्रतिनिधिसभा) प्रतिस्पर्धा गरे । कतिले पञ्च, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी सबै हुन भ्याएको भनेर टिप्पणी गरे । गरून् । ‘अवसरवादी’ पनि भने ।  भनून् । एउटै मान्छे, जिल्ला, भूगोल र मतदाता परिवर्तन नगरीकन उनै मान्छेहरूका बीचमा निरन्तर ५० वर्षसम्म सतिसालझैं ठिङ्ग उभिन सक्नु सामान्य कुरा थिएन । नौ वटा चुनाव लडे । पाँच वटा जिते । चारवटा हारे । कतिले प्रशंसा गरे, कतिले आलोचना गरे । उनलाई चार पुस्ताले भोट हाले । यसमा पनि मानिसका आ–आफ्नै टिप्पणी होलान् । तर, यो पनि कुनै सामान्य कुरा थिएन । 

व्यवस्थाहरू बदलिए । युगहरू बदलिए । पुस्ताहरू बदलिए । प्रविधि बदलिए । जीवनस्तर र जीवनशैली बदलिए । चेतना र जागरणका अध्यायहरू बदलिए । शासकीय स्वरूपहरू बदलिए । अरू पनि धेरै कुरा बदलिए । यी सबै परिवर्तनका श्रृखलाहरूसँगै आफूलाई पनि बदल्दै, रूपान्तरण र समायोजन गर्दै, चारै पुस्ताको साथी र सारथि बन्दै आधा शताब्दी लामो राजनीतिक म्याराथुनका सबै रेस दौडिए उनी । दौडिएनन् मात्र, पाँच पटक गोल्ड मेडलिस्ट र चारपटक सिल्भर मेडलिस्ट बने । समर्थन गर्नेहरूले उनकै नाम लिएर समर्थन गरिरहे । माया गर्नेहरूले उनकै नाम लिएर माया गरिरहे । 

विरोध, रिस, आहारिस, आलोचना गर्नेले पनि उनकै नाम लिइरहे । ती सबैले सधैँ उनकै नाम जपिरहे । माया गर्नका लागि पनि जपे, गाली गर्नका लागि पनि जपे । उनलाई आफ्नो अवसर, जीवनयात्रा र राजनीतिक यात्रा तथा समाजको उन्नति र समृद्धिका साधक र वाधक दुबै देख्नेहरू छन् । तर, उनमा नुवाकोटे जनतामाथिको विश्वास र भरोसा डगमगाएन । कहिल्यै आरक्षण वा मनोनयनको सजिलो बाटो रोजेनन् । हारिन्छ भन्ने प्रष्ट देख्दादेख्दै पनि जनताको बीचमा जाने बाटो मात्रै समातिरहे । ‘कसैले थकाएर नथाक्नू, कसैले भगाएर नभाग्नू’ भनेर सार्वजनिक रूपमा अरूलाई भनिरहने उनले आफ्नै राजनीतिक जीवनमा यो सिद्धान्त अपनाइरहे । 

मानिसमा अनेकन् संवेगहरू रहन्छन् । मानवीय संवेगहरू यति शक्तिशाली हुन्छन् कि तिनले कहिलेकाहीँ धैर्य, साहस, निष्ठा, सिद्धान्त, यात्रा र उद्देश्यमा नै विचलन ल्याइदिन्छन् । तर उनमा ल्याएनन् । एउटा पनि नबिराईकन निर्वाचन लडिरहे, लडिरहे । पहिले सिक्नु, त्यसपछि बिक्नु र दीर्घकालसम्म टिक्नु सबै चुनौतीका विषय हुन् । कोही सिक्नै सक्दैनन्, कोही सिकेर पनि बिक्न सक्दैनन् र कोही सिकेर र बिकेर पनि टिक्न सक्दैनन् । उनले सके । यस बीचमा राम्रो काम गर्न सके सकेनन्, सबैको चित्त बुझाउन सके सकेनन् त्यो समिक्षाको अर्को विषय होला । 

उनी नौ पटकसम्म निरन्तर प्रत्यक्ष निर्वाचन लडिरहे वेदाग र  निस्कलङ्क रहेर । अझ यसपालिको ‘युवा आँधी’ ले पनि यी ७४ वर्षीयलाई हल्लाउन सकेन । यो कसरी सम्भव भयो ? के असामान्य क्षमता छ उनीसँग ? अरू कुनै राजनीतिज्ञसँग पनि छ यस्तो रेकर्ड ? यो कुनै मानवशास्त्री वा राजनीतिशास्त्रीका लागि खोज अनुसन्धानको विषय हुनसक्छ । होला नहोला त्यो भविष्यले जान्ला । अहिलेलाई चाहिँ पछिल्लो विजय र यो दुर्लभ रेकर्डका लागि केसीलाई हार्दिक बधाई !

बिजेता र उपबिजेता

 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुमनविक्रम पाण्डे (बीचमा) शनिवार बिहान अर्जुननरसिंह केसीको विदुर स्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिँदै । 

२०७९ साल मंसीर १२ गतेको सम्पादकीय

 मतदाता नै सचेत हुन जरुरी

निर्वाचन प्रक्रियामा घट्दो जनसहभागिता र जनताले राजनीतिक दलहरूप्रति आफ्नो मतमार्फत दिएको सन्देशले नेपालको राजनीतिलाई नयाँ दिशा दिने संकेत देखिन्छ । ठूल्ठूला वाचा गरेर निर्वाचनमा मत माग्ने तर जितेर गएपछि जनमतको कदर नगर्ने नेताहरूप्रति जनताले देखाएको आक्रोश मत परिणामले प्रष्ट गर्दैछ । स्थानीय निर्वाचनमा जति उत्साह थियो त्यति उत्साह पनि छैन । यसको एउटा कारण हो, जनतामा निर्वाचनप्रति नैराश्यता र अर्को निर्वाचनका बेला जनता विदेश पलायन हुनु । युवाहरूमा वितृष्णा भएको छ । उनीहरू सोच्छन् यो देशमा बसेर केही हुनेवाला छैन । बरु बाहिर गएर दुई पैसा कमायो भने घर परिवार चलाउन सजिलो होला । किन कसैको पछाडि लाग्ने । किन कसैलाई मत दिने । तेस्रो कुरो नेपालमा यो चुनावबाट नयाँ दुईटा दलको उदय भएको छ । एउटा स्वतन्त्र पार्टी र अर्को जनमत पार्टी । यी दलहरूको सन्देश पनि जनतामा राम्रै गएको मत परिणामले देखाउँछ । यो राज्यप्रतिको गुनासो हो । निर्वाचन एउटा इन्डेक्स पनि हो, राज्यको । राज्यप्रतिको जनताको चाहाना कति छ । लगाव कति छ । एउटा संकेत के देखाप¥यो भने राज्यले जनताको समस्याहरू जसबाट युवा, महिला वा वयोवृद्धहरू गुज्रिरहेका छन् । त्यसलाई समाधान गर्नतर्फ राज्य उन्मुख छैन । जसले जनता माझ नैराश्यता छ भन्ने कुराको यो ठूलो सन्देश हो । अरू कुरा केही होइन। जनताले यसपालि राज्यलाई जतिबेला पनि जिन्दावाद, मुर्दावाद मात्र गर्ने होइन। जनताले चाहे राज्यलाई आफ्नो मतमार्फत पाठ पनि सिकाउन सक्छ भन्ने सन्देश दिएको छ । मत दिएर पनि विरोध हुन्छ भने मतदानमा सहभागी नै नहुनु ठूलो विरोध हो । सबै दल उस्तै छन् जनताका लागि केही गर्दैनन् भनेर पनि कतिपय मतदानमा सहभागी नै भएनन् । अर्को एउटा अवस्था  यसपालिको निर्वाचनमा प्रतिनिधिसभामा अलि–अलि रुझान देखिए पनि प्रदेशसभा ओझेलमा परेको छ । 

अब आउँदै गरेको नयाँ दल दुई, चार वा कति सिट पाउँछ त्यो हेर्नुपर्नेछ । यदि यिनीहरूले पनि जनताको आकांक्षा पूरा गरेनन् भने यिनीहरूप्रति झन् बढी आक्रोश र वितृष्णा बढ्ने सम्भावना छ । यो ठूलो संकेत हो । यसको अर्थ के पनि छ भने पुरानो दललाई जनताले एकातर्फ पाठ सिकाउन खोजेको छ, ‘तिमीहरू अब आफूलाई करेक्सन गर। आफ्नो कामहरूको बारेमा चिन्तन गर यो एउटा पाठ सिकाउने मेसो, बहाना वा अवसर हो’ जुन जनताले दलहरूलाई दिएको छ । नसुध्रिने राजनीतिक दलहरूलाई जनताले के सन्देश दियो भने हामी विकल्प पनी रोज्न सक्छौं । यसको अर्थ फेरि यो पनि होइन कि नयाँ दलहरूप्रति जनताले बढी लगाव देखाएको होइनन् । साथै सन्देश यो पनि छ यदी यी नयाँ दलहरूले काम गरेनन् भने पुरानाभन्दा पनि नराम्रो अवस्थामा पुग्ने छन् । डा. सिके राउत नेतृत्वको जनमत मधेस केन्द्रित छ । उसको मूल प्रचार हेर्नुहुन्छ भने आफूलाई मधेसवादी भन्दै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वा जनता समाजवादी पार्टी (जसपा) वा अन्य दलहरूले काम गरेनन् । त्यसकारण म पनि छु है भन्ने सन्देश दिएर निर्वाचनमा सहभागी भएको छ । जनताले यसपालि हेरौं न यिनीहरूलाई भनि मतदान गरेका छन् । हुन त मधेसमा जनमत पार्टीप्रति जनताको गुनासोहरू कम छैन । तर, सबै गुनासोहरू बिर्सेर जनताले यिनीहरूलाई विकल्पका रूपमा एउटा अवसर दिन खोजेको छ । त्यसले यसपालि मधेसमा दुईवटा स्थापित दलको साइज सानो हुनुमा वैचारिक भिन्नता नभई मात्र विकल्पका रूपमा जनमतलाई रोजिनु हो । त्यसैगरी, राष्ट्रिय राजनीतिमा जुन घण्टी छापको उदय भएको छ । त्यसको कारण पनि कुनै वैचारिक ठोस आधार नभई विकल्पका रूपमा जनताले हेर्नु मात्रै हो । त्यसैले यी नयाँ उदयमान राजनीतिक पार्टीहरूमाथि अझ ठूलो जिम्मेवारी छ । 

आउँदो निर्वाचनमा मतदान ४० प्रतिशतभन्दा पनि कम हुन सक्ने सम्भावना छ । यो खतराको घण्टी जनताले बजाउन सुरु गरिसकेको छ । यसमा दुइवटा कुरा छ । एउटा दल र अर्को नेता । अहिलेसम्मको अवस्था हेर्दा नेता केन्द्रित हाम्रा दलहरू छन् । त्यसैले दलका नेताहरू पनि सुध्रिनु प¥यो र राजनीतिक दलमा जुन अभ्यास छन् । ती सैद्धान्तिक, वैचारिक जहाँबाट विचलनहरू भएका छन्, त्यसलाई पुनः स्थापित गर्नुपर्ने आवश्यकता छ । हामीकहाँ कुन सिद्धान्त कसको हो भनि छुट्ट्याउन आमजनताका लागि गाह्रो भइरहेको छ । को समाजवाद उन्मुख र को समाजवाद विरोधी त्यो छुट्ट्याउनै गाह्रो छ । सबै आफूलाई समाजवाद उन्मुख भन्छन् । तर, कोही समाजवादको बाटोमा देखिँदैनन् । सैद्धान्तिक रूपमा प्रष्ट रेखा तान्ने आधार देखिएनन् । त्यसैले सबैलाई जनताले एकै डालोमा राख्यो । सबै अवसरवादी। सबै कुर्सीवादी भन्ने मनोविज्ञान जनतामा विकसित भएको छ । त्यसैले यो मनोविज्ञानलाई तोड्ने जिम्मेवारी पनि राजनीतिक दलको र नेता हो । त्यसैले अब पनि दल र नेताहरूले आफ्नो भूमिकामाथि पुनर्विचार गरेनन् भने नेपालमा राजनीतिप्रति वितृष्णाको प्रतिशत झन् बढ्छ । यो चुनावले हामीलाई दिएको परिणामलाई संख्या र सिटका आधारमा मात्र विश्लेषण गर्छौ । तर, यसको परिणाम गुणात्मक पनि हो । अब राजनीतिक दल र सरकारका लागि मतदाता सचेत हुन जरुरी छ । निर्वाचन आयोगले पनि आफ्नो भूमिका कसरी निर्वाह गर्नुपर्छ भन्नेमा सचेत हुनुपर्छ । पैसाको वितरण नहोस्, भ्रष्टाचार नहोस्, कालोधन निर्वाचनमा खर्च नहोस् ।

२०७९ साल मंसीर १२ गते । वर्ष : १६, अंक : ०७

Wednesday, November 23, 2022

२०७९ साल मंसीर ५ गते । वर्ष : १६, अंक : ०६

 

सौहार्द मतदान

नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा मतदान गर्दै । 

विदुर । आइतवार भएको संघ तथा प्रदेश निर्वाचनमा नुवाकोटको सबै मतदान केन्द्रमा सौहार्दपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लामा झण्डै ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार आइतवार रातीसम्म बुथबाट मतपेटिका ल्याउने काम भइरहेको छ । क्षेत्र नं. १ को खरानीटार स्थित तादी गाउँपालिकाको कार्यालयमा र क्षेत्र नं. २ को जिल्ला अदालतको भवनमा मतपेटिका जम्मा भइरहेको छ । 

नुवाकोटको सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको उनको भनाई रहेको छ । मतगणना भोली सोमवार दिउँसोबाट हुनसक्ने बताइएको छ । १ को खरानीटारमा र २ को विदुरमा मतगणना हुने छ । 

नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ४१ हजार ९ सय ७१ जना छ । नुवाकोटमा प्रतिनिधि सभा सदस्य  निर्वाचन क्षेत्र २ वटा र प्रदेश सभा सदस्य  निर्वाचन क्षेत्र ४ वटा रहेको छ । त्यस मध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ३१ हजार ६ सय १ पुरुष, २८ हजार ३ सय १८ महिला र अन्य २ जना गरी ५९ हजार ९ सय २१ जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ३२ हजार १ सय ४२ पुरुष, २९ हजार ६ सय २० महिला र १ जना अन्य गरी ६१ हजार ७ सय ६३ जना मतदाता रहेका छन् ।

त्यस्तै  प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा ३० हजार ९ सय ६२ पुरुष र २९ हजार ७४ महिला गरी ६० हजार ३६ जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा  ३० हजार २ सय १७ पुरुष र ३० हजार ३४ महिला गरी ६० हजार २ सय ५१ मतदाता रहेका छन् । आगामी मंसिर ३ गते १८ वर्ष पूरा भएका र फोटो सहितको मतदाता नामावलीमा नाम भएका नागरिकहरूले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सहभागी भए ।

निराशाजनक मतदान

संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छर । निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमी हो ।

आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्र मतदान गरेका छन् । ०४८ सालपछि भएका संसदीय निर्वाचन (संविधानसभासमेत) मध्ये पनि सबैभन्दा कम हो । ०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत र ०६४ को संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मतदान भएको थियो ।

अहिले भएको मतदान ७ महिनाअघि भएको स्थानीय निर्वाचनभन्दा पनि झन्डै ९ प्रतिशत कम हो । स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा ७०.९६ प्रतिशत अर्थात् एक करोड २५ लाख ८३ हजार ८ सय ५० मत खसेको थियो । यसपटक प्रदेश १ मा सबैभन्दा कम ५७ प्रतिशत र मधेसमा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारीअनुसार वाग्मतीमा ६१.५, गण्डकीमा ६०, लुम्बिनीमा ६०, कर्णालीमा ६३, सुदूरपश्चिममा ५९.७७ प्रतिशत मतदान भएको छ । हिमाली जिल्लाको विवरण अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझ ८ बजेको पत्रकार सम्मेलनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिए पनि आयोगको प्रणालीमा ५९.७५ प्रतिशत मात्रै मतदान भएको विवरण थियो । ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको हो,’ थपलियाले भने, ‘यो आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।’

क्षेत्र नं. १ को १ प्रदेशबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार माओवादी केन्द्रका राधिका तामाङ मतदान गर्दै । 

अघिल्ला चुनवामा कत्ति खस्यो

जनआन्दोलनपछि २०४८ वैशाख २९ गते आम निर्वाचन भएको थियो । एक करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेकोमा ६५.१५ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्क छ । त्यसपछि २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन भएको थियो । त्यसमा एक करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा ६१.८६ प्रतिशत मतदान भएको थियो । पाँच वर्षपछि २०५६ मा दुई चरणमा मतदान भएको थियो । आयोगका अनुसार, वैशाख २० र जेठ ३ मा भएको मतदानमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता थिए भने ६५.७९ प्रतिशत मतदान भएको थियो ।

राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछिको समयमा आम निर्वाचन हुन सकेन । २०६२–६३ को जनआन्दोलनपछि २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन भएको थियो । 

त्यति वेला एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेकोमा ६१.७० प्रतिशत मतदान भएको थियो । त्यसको ६ वर्षपछि २०७० मंसीर ४ गते दोस्रो पटक संविधानसभाको निर्वाचन भएको थियो । 

एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामध्ये ७८.७४ प्रतिशतले मतदान गरेका थिए । संविधानसभाबाट नयाँ संविधान बनेपछि २०७४ सालमा दुई चरणमा आम निर्वाचन भएको थियो । मंसीर १० र २१ गते भएको निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदातामध्ये ६८.६७ प्रतिशतले मतदान गरेका थिए ।

यसअघि गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । यसमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदातामध्ये ६५.०७ प्रतिशतले मतदान गरेको आयोगको तथ्याङ्क छ ।

नेपालमा भएको पहिलो निर्वाचनमा मात्रै अहिलेभन्दा कम मतदान भएको थियो । आयोगको तथ्याङ्क अनुसार, २०१५ फागुन ७ गतेदेखि चैत २८ गतेसम्म विभिन्न चरणमा मतदान भएको थियो । 

त्यति वेला ४३ लाख ४६ हजार ४६८ मतदाता थिए भने ४२.१९ प्रतिशत मतदान भएको थियो ।

‘कानूनी कारबाहीमा जान्छु’


विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफु विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् ।

आम निर्वाचनको संघारमा आफुविरुद्द केही तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा महतले नेकपा एमालेका उम्मेदवारलाई सघाउनेबारे सार्वजनिक पत्र फेक भएको महतले फेसबुक लाइभ मार्फत उल्लेख गरेका छन् । नेता महतद्वारा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख स्टाटस जस्ताको तस्तै ः ‘मेरो बारेमा भ्रमात्मक कुरा सम्प्रेषण गर्दै विन्दा ढुङ्गानको फेसबुक आइडीबाट मेरो चरित्र हत्या गर्ने उद्देश्यले झुटो र मैले नगरेको विज्ञप्ती मेरो हस्ताक्षर भनेर पोष्ट गरेको कुरामा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । साथै सम्पूर्ण मतदाताहरूमा यस किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । देश र जनताको हितमा केही गर्छ‘ भन्दै राजनीतिमा आउँदै गर्दा मेरो विचार उद्देश्य र माहोल देखी आत्तिएर यस किसिमको निकृष्ठ कामको घोर भर्सन गर्दछु । 

मेरो कहीं कतै कोहीसँग यस किसिमको गतिविधि नभएको जानकारी गराउँदै मतदाताहरूमा उच्च मनोबलका साथ घण्टीमा मतदान गर्न‘ हुन अनुरोध गर्दछु र कुनै पनि हालतमा विचलित नहुन सबै आग्रह गर्दै भ्रमको पछी नलाग्न अनुरोध गर्दछु । साथै कानुनी उपचारको लागि निर्वाचन आयोग समक्ष उजुरी गरेको जानकारी पनि गर्दछु ।’



सान्जेन जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट


विदुर । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरूको खुला गरिएको आईपीओ बाँडफाँट भएको छ ।

सान्जेन जलविद्युत कम्पनीको प्रति शेयर १०० रूपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित रसुवाका बासिन्दाहरूको निम्ति २०७९ भदौ ५ देखि  असोज ३० गतेसम्म सर्वसाधारणहरूकोलागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमध्ये २८ हजार ६०८ जना आवेदकहरूबाट जम्मा ५६ करोड ७९ लाख ८७० कित्ताको लागि आवेदन परेको हो । नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व र सन्राइज क्यापिटल÷एनएमबि क्यापिटलको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सो कम्पनीको शेयर निष्काशन गरिएको थियो । सो शेयर मंगलबार बाँडफाँट भएको हो ।

कसले कति पाए शेयर?

क) अति प्रभावित आमाछोदीङ्मो गाउँपालिका वडा नं.५ (साविक चिलिमे गा.वि.स) वर्गमा कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरूलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरूलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता शेयर बाँडफाँट गरियो ।

ख) प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं. ४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरूलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्तासम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्तासम्म माग गर्ने २३२ जना आवेदकहरूलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्तासम्म माग गर्ने ५१५ जना आवेदकहरूलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता शेयर बाँडफाँट गरियो ।

ग) सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरू १,२,३ (साविक गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स) वर्गमा कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरूलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरूलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरूलाई १६५ कित्ता, ३१० कित्तादेखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरूलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरूलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता शेयर बाँडफाँट गरियो ।

घ) न्युन प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्तादेखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरूलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरूलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरूलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरूलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता शेयर बाँडफाँट गरियो ।

कम्पनीको  अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावितलाई वितरण गरी बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँटमा परेका ५१३ जना आवेदकहरूलाई गोला प्रथाबाट थप १÷१ का दरले १३१ कित्ता शेयर बाँडफाँट गरिएको थियो । कुल ३६ लाख ५० हजार कित्ता शेयर २०७९ कात्तिक २९ गते सान्जेन जलविद्युत कम्पनीका आयोजना प्रभावित स्थानिय बासिन्दाहरूलाई क्रमश ४.२५ ः ३ ः १.५ ः १ को अनुपातमा बाँडफाँट गरिएको हो ।

नुवाकोटमा चिसो बढ्यो

विदुर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ । 

हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो देशका पहाडी  भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार प्रदेश  १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुरु भयो विश्वकप फुटबल


विदुर । विश्व फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु भएको छ । 

करिब एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । 

विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना भएको छ । 

६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिए । जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्येका जंग कुकले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिए । यस्तै कोलम्बियाकी रक स्टार साकिरा, जे बल्विन, साँगीतिक समूह ब्ल्याक आइड पिज, रोवि विलियम्स, लिल बेबी र भारतीय अभिनेत्री नोरा फतेहीले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिए । कोलम्बियन रक स्टार साकिराले सन् २०१० को विश्वकपको आधिकारिक गीत ‘वाक वाक’ गाएकी थिइन् ।

फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । तर, अल्कोहलमुक्त बियर भने विश्वकपको ६४ वटै खेलमा रंगशालामा बिक्री गरिने जनाएको छ । विश्वकप हेर्न टिकट काटेकाहरूले अल्कोहल नभएको बियर किन्न पाउने छन् । 

स्याम्पेन, वाइन, ह्विस्कीलगायतका मदिरा भने रंगशालाको ‘लक्जरी आतिथ्य क्षेत्र’मा पिउन पाइने छ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन् । कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ भने इक्वेडरको भने चौथो सहभागिता हो । 

सन् २०१९ मा एएफसी एसियन कपको विजेता बन्नु नै कतारको अहिलेसम्मकै ठूलो सफलता हो । एसियाको पावर हाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो । 

विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ । समूह ‘ए’मा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगलविरुद्ध टोलीको आक्रमणभन्दा डिफेन्सको परीक्षा धेरै हुनेछ । अल बायत कतारका लागि भाग्यशाली रंगशाला पनि हो । यस रंगशालामा कतारले पछिल्लो तीन खेलमै जित निकालेको छ । त्यो पनि ९–० को औसतमा । 

इक्वेडरको भने विश्वकपमा चौथो सहभागिता हो । सन् २००६ मा दोस्रो चरण पुग्नु नै इक्वेडरको अहिलेसम्मकै ठूलो सफलता हो । यस्तै सन् १९५९ र १९९३ मा कोपा अमेरिकामा चौथो स्थान हासिल गरेको थियो । अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारोको प्रशिक्षणमा इक्वेडरले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ । 

सन् २०२० को अगस्टमा योर्डी क्राएफलाई स्थानान्तरण गर्दै अल्फारो इक्वेडरको प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा इक्वेडरले अर्जेन्टिना र ब्राजिललाई घरेलु भूमिमा रोक्दै कतार विश्वकपका लागि छानिएको थियो । इक्वेडर २०२१ को कोपा अमेरिकामा एउटै खेल नजिते पनि क्वार्टरफाइनल पुगेको थियो ।

पछिल्लो फिफा वरीयता अनुसार इक्वेडर ४४औं स्थानमा छ । कतार भने इन्वेडरभन्दा ६ स्थानमाथि ५०औं स्थानमा छ । चौथोपल्ट विश्वकपमा छनोट भएको इक्वेडरलाई समूहमा ‘अन्डर डग’ मानिएको छ । कतार र इक्वेडरले अहिलेसम्म जम्मा तीन खेल खेलेका छन् । जसमा दुवै टोलीले एक÷एक खेल जितेका छन् भने एउटा खेल बराबरीमा टुंगिएको छ ।

जसको पहलमा विश्वकप 

विश्व फुटबल महासंघ (फिफा)का तेस्रो अध्यक्ष हुन्, जुल्स रिमेट । उनी सबैभन्दा लामो समयसम्म फिफाका अध्यक्ष बनेका व्यक्ति पनि हुन् । उनले सन् १९२१ देखि सन् १९५४ सम्म फिफामा बिताएका थिए । सन् १८७३ को अक्टोबर १४ मा जन्मिएका फ्रान्सेली नागरिक रिमेट सन् १९१९ देखि सन् १९४२ सम्म फ्रान्सेली फुटबल संघको अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए ।

विश्वकप फुटबल सुरु गर्नुमा रिमेटको महत्त्वपूर्ण भूमिका छ । सन् १९३० मा आफू अध्यक्ष हुँदा रिमेटले नै विश्वकप फुटबल सुरु गरेका थिए । त्यसैले पनि विश्वकप विजेतालाई दिइने ट्रफीको नाम नै ‘जुल्स रिमेट ट्रफी’ राखिएको थियो । उनले सन् १९२८ मा विश्वकप फुटबलको अवधारणा अगाडि सारेका थिए । सन् १९३० मा पहिलो विश्वकप आयोजनाको अधिकार उरुग्वेलाई दिइएपछि युरोपेली राष्ट्रहरूले असन्तुष्टिसमेत जनाए ।

त्यसैले विश्वकप सुरु हुनुभन्दा दुई महिना अघिसम्म पनि युरोपेली राष्ट्रहरूले विश्वकपमा सहभागिता पक्का गरेका थिएनन् । तर, रिमेटकै अग्रसरतमा पछि फ्रान्स, बेल्जियम, रोमानिया र युगोस्लाभियाले प्रतियोगितामा भाग लिने निर्णय गरेका थिए । फुटबलको माध्यमबाट विश्व भाइचारा र आपसी सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याएका कारण रिमेटको नाम सन् १९५६ को नोबल शान्ति पुरस्कारका लागि मनोयनमा समेत परेको थियो ।

सन् १९५६ को अक्टोबर १६ मा आफ्नो ८३ औं जन्मदिन मनाएको दुई दिनपछि उनको निधन भएको थियो। उनलाई मरणोपरान्त सन् २००४ मा फिफाले ‘फिफा अर्डर अफ मेरिट’समेत प्रदान गरेको थियो ।