विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ करेजुङ्ग स्थित नवज्योति आधारभूत विद्यालयमा नवनिर्मित भवनहरू सप्रोस नेपालका कार्यकारी निर्देशक डा. सुनित अधिकारीले दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङलाई हस्तान्तरण गरेका छन् ।
बिहिवार विद्यलायमा भएको कार्यक्रममा प्रमाण–पत्र र नमूना साँचो हस्तान्तरण पश्चात दुप्चेश्वर गाउँपालिका, ६ नं. वडा कार्यालय, विद्यालय तथा सप्रोस नेपालको भूमिका तथा कार्य जिम्मेवारीहरू उल्लेख गरी सम्बन्धित सवै पक्षको हस्ताक्षर सहितको सहमति–पत्र आदानप्रदान भएको थियो । सो कार्यक्रममा अभिभावक, विद्यार्थी, समाजसेवी, विद्यालय भवन निर्माणमा प्रत्यक्ष सम्लग्न मट म्याकडोनाल्ड, जिइओसिई कन्सल्ट्यान्ट, सप्रोस नेपाल, गाउँपालिका कार्यालयका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा अन्य प्रतिनिधहरूको उपस्थिति थियो ।
कार्यक्रममा सप्रोस नेपालको तर्फबाट विद्यालय भवन निर्माण कार्यक्रम संयोजक केशबबाबु पौडेलले भवन निर्माण परियोजना सम्बन्धित मुख्य गतिविधि तथा निर्माणमा भएको खर्चको विवरण प्रस्तुत गरेका छन् ।
उनका अनुसार ७ वटा कक्षा कोठाहरू भएको दुई भवनहरू, लैङ्गिक मैत्री शौचालय, १४८ मिटर घेराबार निर्माण भएको छ । त्यस्तै, इन्टेक तथा १९ सय ६५ मिटर पाईपलाइन बिछयाएर दिगो खानेपानीको श्रोत व्यवस्थापन, प्रत्येक कक्षा कोठामा तथा अफिस कोठाको लागि फर्निचर, बालबालिकाको लागि खेल उद्यान तथा खेल सामाग्री, हात धुने स्थान निर्माण भएको बताइएको छ । दुई करोड २६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिहं तामाङले सम्पूर्ण सुविधा सहित निर्मित भवन, शौचालय, खेलमैदानको व्यवस्थाले यस विद्यालय दुप्चेश्वर कै नमूना विद्यालयको रुपमा स्थापित भएको बताए ।
उनले पूर्णिमा कार्यक्रम र गाउँपालिका बीच लामो सहकार्य भएको र गाउँपालिका दुई विद्यालयहरूमा निर्मित भौतिक सरंचनाहरूको लागि पूर्णिमा कार्यक्रमलाई धन्यवाद ज्ञापन गरेका छन् । अबको उद्देश्य शैक्षिकस्तर सुधार्नु नै रहेको बताउँदै तामाङले नवज्योति आधारभूत विद्यालयमा थप एक शिक्षकको कोटा स्वीकृत भैसकेको जानकारी दिए ।
उक्त कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्ष अञ्जु आचार्य र दुप्चेश्वर वडा नं. ६ का अध्यक्ष किशोर आचार्यले दुप्चेश्वरमा भए गरेका विकास निर्माणका कार्यक्रमहरूका बारेमा जानकारी गराउँदै दुःखका साथ कमजोर भौतिक अवस्थामा पढाई सञ्चालन हुँदै आएकोमा नवनिर्मित भवन, खेल सामाग्री लगायतका सुविधाले पढाईस्तरमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
No comments:
Post a Comment