Monday, February 14, 2022

दक्षिणाबाट शिक्षकलाई तलब


देवीघाट । विदुर नगरपालिका– ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले श्रीपञ्चमीको दिन विगतदेखि नै गराउँदै आएको सामूहिक व्रतबन्धलाई निरन्तरता दिएको छ । 

विद्यालय सञ्चालनका लागि शिक्षकलाई तलव खुवाउने आर्थिक स्रोत बढाउन यो कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यपाक मञ्जु चित्रकारले बताएका छन् । उनले भने – ‘त्यसका साथै हिन्दू धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न विद्यालयले २०६० सालदेखि श्रीपञ्चमीको दिन सामूहिक व्रतबन्ध गराउँदै आएको छ ।’ 

यस पटक विद्यालयले आयोजना गरेको सामूहिक वतबन्धमा ११४ बटुकको कर्मकाण्ड गरिएको छ । यस वर्ष १० वर्षदेखि २३ वर्षसम्मका बटुकको व्रतबन्ध भएको थियो । विद्यालयले बर्सेनी हुँदै आएको सामूहिक व्रतबन्धको फाइदा लिन नुवाकोट मात्र नभई धादिङ, रसुवा र काठमाडांैकाले समेत पाएका छन् । 

प्रअ चित्रकारका अनुसार प्रत्येक बटुकबाट विद्यालयले पाँच हजार रुपैयाँ लिएको छ । 

सो रकमबाट विद्यालयले बटुकलाई धोती, टोपी, गन्जी र अभिभावकका लागि समेत खानाको व्यवस्था गर्ने गरेको छ । 

यो वर्ष बटुकसँग लिएको शुल्कबाट पाँच लाख ७० हजार रुपैयाँ सङ्कलन भएको छ । शुल्कसँगै भेटीबाट सङ्कलन भएको रकम खर्च कटाएर विद्यालय सञ्चालनका लागि खर्च गरिने विद्यालयले जनाएको छ । 

२०५५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म पढाई हुँदै आएको छ । हालको यस शैक्षिक सत्रमा आवासीय रूपमा ३० जना विद्यार्थीले संस्कृत भाषामा पठन– पाठन गरिरहेका छन् ।

विद्यालयले सामूहिक रूपमा आयोजना गरेको व्रतबन्धले आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको छ । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले सामूहिक ब्रतबन्धमा सामेल भएको विदुर नगरपालिकाका एक अभिभावकले बताए । 

तत्कालका लागि छोराको व्रतबन्ध घरमा नै गर्नलाई साइत नजुरेको कारण सामूहिक व्रतबन्धमा सहभागी भएको पनि उनको भनाई रहेको छ । 

No comments:

Post a Comment