Monday, February 14, 2022

दोहोरिने ‘मुड’मा जनप्रतिनिधि


विदुर । तीन साता अघि बट्टारमा अयोजित नुवाकोट जेसिजको पदस्थापना कार्यक्रममा विेशष अतिथिका रुपमा मन्तब्य राख्दै  पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले घोषणा गरे : ‘आउने कार्यकाल पनि म नै अध्यक्ष हुँ ।’ पार्टीको र नागरिकहरूको चाहनाका कारण आफु दोश्रो कार्यकालका लागि समेत पञ्चकन्या गाउँपालिका अध्यक्षमा उठ्न र निर्वाचित हुनका लागि तयार रहेको उनको दावी रहेको थियो । 

सोही कार्यक्रममा सहभागि भएर मन्तब्य दिएका म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले आफ्नो झण्डै पाँच वर्ष हुन लागेको कार्यकालको समीक्षा गर्दै परिस्थिति आँकलन गरेर अघि बढ्ने वा पछि हट्ने अभिव्यक्ति दिए । तर अनौपचारिक रुपमा भने उनी पनि गाउँपालिका अध्यक्ष दोहो¥याउने ‘मुड’ व्यक्त गरिरहेका छन् । 

तीन सात अघिको एकै कार्यक्रममा प्रस्तुत जनप्रतिनिधिहरूको आंकाक्ष र अभिव्यक्तिले नुवाकोटका स्थानीय सरकार प्रमुखहरू पुनः दोहोरिने तयारीमा रहेको संकेत गरेको छ । यी दुई गाउँपालिका मात्रै होइन नुवाकोटका १२ वटै स्थानीय सरकारका प्रमुखहरू पुनः सोही पदका लागि ‘मुड’ तयार गरिरहेका छन् । उप प्रमखहरू प्रमुखमा आफ्नो सम्भावनालाई प्रस्तुत गरिरहेका छन् । नुवाकोटमा सबै प्रमुख पुरुष र सबै उपप्रमुख महिला छन् । संबिधान अनुसार लगातार दुई पटकसम्म नेतृत्वमा रहन मिल्ने छ । 

दुई नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा नेपाली काँग्रेसले ७ स्थानीय तह, नेकपा एमालेले ३ स्थानीय तह र नेकपा माओबादी केन्द्रले दुई स्थानीय तहको प्रमुख जितेको छ । उप प्रमुखमा काँग्रेसबाट ७, एमालेबाट ३ र माओवादीबाट २ वटा स्थानीय तहमा निर्वाचित भएका छन् । विदुर नगरपालिमा प्रमुख उपप्रमुख एमालेबाट, बेलकोगढी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख माओवादीबाट निर्वाचित भएका छन् । त्यस्तै, दुप्चेश्वर, तादी, शिवपुरी, म्यागङ, किस्पाङ, सुर्यगढीमा अध्यक्ष र उपाध्यक्ष नै काँग्रेसबाट निर्वाचित छन् । लिखुमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष एमालेबाट, पञ्चकन्या अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसबाट, ककनीमा अध्यक्ष उपाध्यक्ष नै माओवादीबाट र तारकेश्वरमा अध्यक्ष, उपाध्यक्ष नै एमालेबाट निर्वाचित छन् ।

उपप्रमुख तथा उपाध्यक्षमा निर्वाचितहरू आफु प्रमुख तथा अध्यक्षका लागि योग्य भइसकेको र महिलाले पनि नेतृत्व गर्न पाउनु पर्ने दावी सहित आफ्ना राजनीतिक शक्तिकेन्द्रहरूमा लाग्न थालेका छन् । काँग्रेस भित्र भर्खरै सम्पन्न आन्तरिक चुनावमा देखिएको विभाजनले चुनावी टिकट बाडँफाँटमा हुने नयाँ समीकरणका कारण आफ्नो पल्लाभारी हुने जिकिर पनि रहेको छ । तर अधिकांश स्थानीय तहमा आफ्नै पार्टीबाट अध्यक्षमा निर्वाचित अध्यक्षहरूले दोहोरिने रहर गरेपछि भने उपाध्यक्षहरूलाई चुनौती थपिएको छ ।  

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी गाउँपालिका अध्यक्षमा दावी रहेको सुनाउँछन् । गाउँपालिका अध्यक्ष रामकृष्ण थापा ‘अपग्रेड’ हुने बेला भएको उल्लेख गर्दै गाउँपालिकामा अध्यक्षका लागि सम्भावना भए मात्रै आफ्नो उम्मेदवारी रहने उनले बताए । ‘गाउँपालिकाको अध्यक्षमा मेरो दावी प्रशस्त रहेको छ, उपाध्यक्ष केसीले भने– उपाध्यक्षमै चाँही दोहो¥याउने रहर छैन ।’ उनी थप्छन्– पार्टीले यसमा विवेक पु¥याएर निर्णय गर्छ भन्ने लागेको छ ।’

ककनी गाउँपालिका उपाध्यक्ष सिता लामाले पनि अध्यक्षको दावी गरेका छन् । माओवादीबाटै निर्वाचित अध्यक्ष मानबहादुर लामा भने ‘एक पटक त हेर्नु पर्ला की’ भनिरहेको समयमा उपाध्यक्ष लामा आफ्नो अध्यक्षको दावी लिएर पार्टी केन्द्रमा र नेताहरूसंग छलफलमा बस्न थालेका छन् । तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष पनि अध्यक्ष पाए मात्रै उठ्ने र आफ्नो योग्यता रहेको दावी पेश गरिरहेका छन् । त्यहाँ पनि उनकै पार्टी एमालेबाट अध्यक्षमा रमेश वस्ती छन् । वस्ती संविधानले व्यवस्था गरे अनुसार एक पटक पुनः नागरिकबाट ‘टेस्टेड’ हुने बताइरहेका छन् । 

नुवाकोटका केही गाउँपालिका अध्यक्षहरूलाई पुनः निर्वाचनमा जानका लागि पार्टीको लाइन मिलाउन सजिलो देखिएको छ । आफ्ना पार्टीको परिवर्तिन समीकरणका कारण केही अध्यक्षहरू चाहना राख्दा पार्टीको टिकट लिनसक्ने अवस्थामा रहेको जानकारहरूले बताउन थालेका छन् । अनौपचारिक रुपमा चर्चा हुने नामहरूमा माओवादीबाट पञ्चकन्या गाउँपालिाका अध्यक्षमा हाल माओवादीबाट निर्वाचित तेजबहादुर तामाङ, तादी गाउँपालिका अध्यक्षमा हाल काँग्रेसबाट निर्वाचित नारायणप्रसाद पाण्डे, लिखु गाउँपालिकामा काँग्रेसबाट निर्वाचित हालका अध्यक्ष ध्रुब श्रेष्ठ, तारकेश्वर गाउँपालिका अध्यक्षमा हाल एमालेबाट निर्वाचित रमेश वस्तीले पुनः पार्टीबाट टिकट लिने सम्भावना छ । 

त्यस्तै संघीयता कार्यान्वयन र आफ्नो कार्यकालको प्रगती समीक्षा गर्दै अन्य जनप्रतिनिधहरूले समेत पार्टीलाई टिकटका लागि मनाउने देखिएको छ । पहिलो पाँच बर्षको अबधिमा स्थानीय तहको नीति निर्माण, कार्यबिधि निर्माण र बिकासको खाका तयार पार्नमै बितेका बताउँदै त्यसको सफल कार्यान्वयन र कार्य सम्पन्नताको लागी आफुहरू एक पटक नेतृत्वमा आउनु पर्ने दावी छ । 

हाल कार्यान्वयनमा रहेका कामहरूलाई पूरा गरेर १० वर्षमा विकासमा नमूना नगरपालिका निर्माण गर्ने लक्ष्य रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताएका छन् । एमालेका तर्फबाट निर्बाचित पण्डित यस बर्ष आफुलाईनै पार्टीले मेयरको उम्मेदवार बनाउनेमा आशाबादी छन् । पाँच बर्षको अबधिमा नगरपालिकाको विकासमा भौतिक पूर्वाधार विकास, कृषि उद्यम, मोटरबाटोलगायत जनताका काम धेरै भएको र त्यसलाई निरन्तरताको लागी समेत पार्टीले फेरि उम्मेदवार बनाउने उनले बताएका छन् । उनी भन्छन्– ‘हाल कार्यान्वयनमा रहेको अधुरा काम र कार्ययोजना अनुसारका बाँकी काम पूरा गर्ने, पालिकाभित्रका सबै मोटरबाटा पिच गर्ने, युवालाई स्वरोजगार उन्मुख बनाउने लगायतका थुप्रै एजेण्डा मसंग बाँकी छ । खासमा विदुरमा सम्वृद्ध नुवाकोटको मुहारको रुपमा तयार गर्ने प्रष्ट भिजन मसंग छ र यस अनुरुप काम गर्नका लागि मलाई अर्को एक कार्यकाल आवश्यक छ ।’  

केन्द्रमा तय हुने राजनीति समीकरणको प्रतीक्षा नुवाकोटमा बढी देखिएको छ । माओवादी र समावादीको चुनावी तालमेल देखि, वर्तमान सत्ता गठबन्धको स्थानीय तहको चुनावी एकातासम्मले भने नयाँ तरंग पैदा गरेको छ । 

चुनावी गठबन्धका कारण हुने भागबण्डामा आफ्नो स्थानीय तह आफ्नो पार्टीलाई नपर्ने नपर्ने ढुक्क नभएसम्म मुख खोलिनहाल्ने अवस्था पनि केही नेताहरूको देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा निकतटम भएका उम्मेदवारहरू पुनः उठ्ने चर्चा पनि छ । 


No comments:

Post a Comment