विदुर । दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका बुद्धिमाया तामाङको १० महिने छोरोलाई कुपोषणले सर्ताएको छ ।
ज्याला मजदुरी गर्ने र शहरी क्षेत्रमा काम खोज्दै बालबालिकाको पालनपोषण गर्दै आएका उनले कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि परिवारमा समस्या भएको हो । स्वयंसेविकाको सल्लाहमा उनी स्वास्थ्यचौकी पुगे । तर भनेअनुसारको पोषतत्व भएको खाना खरिद गर्ने उनमा सामथ्र्य भने छैन ।
स्वास्थ्यकर्मीले औषधि लेखिदिँदै छोरोलाई हरियो सागपात, दूध, फलफूल, लिटोका परिकारको सन्तुलित भोजन गराउन सुझाएका छन् । उनको बारीमा मकै र कोदो मात्रै फल्ने गरेको छ । सागपात त अलिअलि देख्न पाइएपनि त्यहाँ फलफूल भने किनेर खानुपर्छ । १२ जनाको परिवारलाई बारीको उब्जनीले वर्षभरि खानै पुग्दैन । गरिबी र अशिक्षाले व्याप्त घ्याङफेदी नुवाकोटकै विकट क्षेत्रका रूपमा चिनिन्छ । बुद्धिमायाले जस्तै अरूले पनि स्वास्थ्यचौकीको सल्लाह अनुसार बच्चाहरूलाई खानपान जुटाउन सकेका छैनन् । सन्तुलित खानपानको वातावरण नमिलेर बच्चाहरूमा कुपोषण भैरहेको थाहा पाएपनि नागरिकहरू रोजगारी पाएपछी चिन्तित रहेका छन् ।
नुवाकोटको ग्रामिण भु–भागमा कोरोना संक्रमणका कारण कुपोषण हुने बालबालिकाको संख्या बढेको युनिसेफको प्रतिवेदनले देखाएको छ ।
नुवाकोटको घ्याङफेदीसँगै रसुवाको हिमाली भुभागमा अहिले कुपोषणको समस्याले सताउन थालेको छ । लामो समय सम्म कोरोना संक्रमणका कारण रोजगारी गुमाएको, पर्यटनमार्फत आम्दानी हुने क्ष्गोत्रमा पर्यटकको संख्या सुन्य भएपछी उनीहरू आफ्नो दैनिकी चलाउन समेत नसक्ने अबस्थामा पुगेका छन् । शरीरको आवश्यकता अनुसार पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन जस्ता पर्याप्त रुपमा सन्तुलित आहारहरू नै नपुगेर बालबालिकामा कुपोषण यथावत् रहेको युनिसेफको ‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे’ मा उल्लेख छ ।
हालै प्रकाशित सर्वेक्षणहरूले पनि कोरोना महामारीले गर्दा भरपेट खानका लागि संघर्ष गरिरहेको परिवारका बालबालिकाको पोषणमा थप असर पुगेको उल्लेख छ । युनिसेफले माघ ६ मा जारी गरेको ‘मातृ तथा बाल पोषण जर्नल’का अनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उल्लेखनीय उपलब्धिमा ‘हाल कायम असमानता र कोभिड–१९ महामारीका कारण’ जोखिम थपिएको छ ।
नेपालले अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौतीको सामना गरिरहेको छ । दिगो विकासका लक्ष्यहरूले बालबालिकाको पुड्कोपन र ख्याउटेपनको न्यूनीकरणका लागि निर्दिष्ट गरेको गति, परिमाण र समानताका सूचकअनुसार ‘आवश्यक गतिमा’ अघि नबढिरहेको र कोभिड–१९ महामारीले गर्दा यो अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको युनिसेफले भनेको छ ।
कोरोनाले रोजगारी गुमाउने संख्या बढ्दा आर्थिक अभाव र गरिबीका कारण बालबालिकाको पोषणमा प्रत्यक्ष असर पुगेको युनिसेफले उल्लेख गरेको छ । सबैभन्दा धेरै ९० प्रतिशतले पैसाको अभावले र ४३ प्रतिशतले खाद्य सामग्रीको मूल्यवृद्धिले खानका लागि संघर्ष गर्नुपरेको बताएका थिए ।
No comments:
Post a Comment