विदुर । जुम्लाको चन्दननाथ नगरपालिकाले सार्वजनिक जनगणना २०७८ को तथ्याङ्कमाथि मिथ्याङ्कको आशंका गर्दै पुनः जनगणना गर्न थालेको छ । नगरपालिकामा २०६८ को जनगणना अनुसार २० हजार ८८५ जनसंख्या रहेको थियो भने २०७८ अनुसार २० हजार ९२१ रहेको छ ।
नेपालमा जनगणना १० वर्षको अन्तरालमा गर्ने गरिन्छ । १० वर्षको अन्तरालमा २०७८ को जनगणना अनुसार चन्दननाथ नगरपालिकाको जनसंख्याको अन्तर ३६ जना मात्रै रहेको जनगणनाको तथ्याङ्कमाथि मिथ्याङ्कको आशंका गरी पुनः गणना थालिएको हो । २०७८ को तथ्याङ्क अनुसार नगरपालिकाभित्र ४ हजार १६६ घरधुरी संख्या र ५ हजार ३६७ परिवार संख्या रहेको छ । चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईले सार्वजनिक जनगणनाको तथ्यांकमाथि नगरपालिकाले पुनः गणना थालेको बताए । उनले भने, ‘नगरपालिकाका ४ जना परिचालकलाई गणक नियुक्ति गरी गणनाको लागि घरदैलोमा पठाउदै छौँ ।’
राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसंख्यासम्बन्धी प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसंख्या १ लाख १९ हजार ३७७ छ । यस अघि ०६८ मा १ लाख ८ हजार ९२१ थियो । १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ ले वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ । जुम्लामा राष्ट्रिय जनगणना २०७८ का गणक नै आफ्नो घरमा नआएर परिवार संख्या गणना नगरेको टिप्पणी भइरहेका छन् । सिञ्जा गाउँपालिका वडा नम्बर ३, धितालिहका जयाशंकर धितालले ०७७ मा कैलालीदेखि बसाइँसराइ गरी जुम्ला आए पनि आफ्नो घरमा गणक नआएको बताए । उनले भने, ‘यस्तै धेरै नागरिकका गुनासा छन् । अहिले सार्वजनिक भएको जनसंख्याको संख्या तथ्यपरक भएको विश्वास गर्न सकिने खालको छैन ।’
चन्दननाथ नगरपालिका वडा नम्बर २ का रुपेश तिमिल्सिनाले सार्वजनिक जनसंख्याको तथ्यांक नै गलत भएको बताए । उनले भने, ‘हाम्रो घरका तीन जना परिवार सदस्य नै जनगणनामा छुटेका छन् ।’ एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको छ भने सबैभन्दा कम गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ । ‘सचेत नागरिकले आफ्नो घरमा गणक आए÷नआएको विषयमा त्यतिबेलै सचेत हुनुपर्ने हो । अहिले मिथ्याङ्कको कुरा गरेर कुनै उपलब्धि नहुने’ तथ्याङ्क कार्यालय जुम्लाले जनाएको छ ।
No comments:
Post a Comment