Monday, February 14, 2022

नुवाकोटमा सोलारबाट १७ मेगावाट बिजुली उत्पादन


बट्टार । नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा उत्पादित १७ मेगावाट सोलार बिजुली राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा थपिएको छ । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार आयोजनाबाट १७ मेगावाट विद्युत् हालै राष्ट्रिय प्रसारणमा थपिएको हो । 

नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा देवीघाट जलविद्यत् केन्द्रको पाँच सय रोपनी जग्गामा सोलार प्यानल रहेको छ । नेपालकै सबैभन्दा ठूलो यो सोलार आयोजनाबाट दैनिक सरदर पाँच घन्टा बिजुली उत्पादन हुने प्राधिकरणले जानकारी दिएको छ । 

यो आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । यो नेपालको ठूलो सोलार आयोजना हो । 

नुवाकोटमा सञ्चालन भएको २५ मेगावाट जडित क्षमता रहेको आयोजनामा आठवटा मेगावाटका लागि सोलार प्यानल जडानको काम भइरहेको छ । आगामी वैशाखसम्ममा आठ मेगावाट विद्युत् थपिने आयोजना प्रमुख विकासबहादुर रघुवंशीले जानकारी दिएका छन् । 

तीन अर्ब ८० करोड रुपैयाँको लागतमा तीन वर्षअघिदेखि निर्माण सुरु भएको यो आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन हुन थालेपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने अपेक्षा प्राधिकरणले गरेको छ । नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली थी ‘ए’, २१ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र निजी क्षेत्रबाट निर्माण भएको सातबिसेमा रहेको तादीबाट पाँच मेगावाट जलविद्यत् केन्द सञ्चालनमा रहेको छ । 

नुवाकोटमै ३७ मेगावाटको माथिल्लो त्रिशूली थी ‘बी’ निर्माणाधीन अवस्थामा रहेको छ ।

 


No comments:

Post a Comment