विदुर । सरकारले आगामी वैशाखको ३० गते स्थानीय तह निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय नुवाकोट निर्वाचनका तयारीमा जुटेको छ । निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कार्यालयले मतदाता नामावली अद्यावधिक तथा दावी विरोध कार्यक्रम सम्बन्धी सरोकारवालासँग शुक्रबार छलफल गरेको छ ।
कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार यहि फागुन २० गतेदेखि मतदाता नामावली अद्यावधिक तथा दावी विरोध कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिएका छन् । सोहीअनुसार वडा कार्यालयमा गएर आफ्नो मतदाता नामावली भए नभएको हेर्न सकिने छ । मतदाता नामावलीमा आफ्नो विवरणमा भएको त्रुटि सच्चाउन सकिने छ । मृत्यु र बसाइँसराईको हकमा भने समबन्धित व्यक्तिको आधिकारिक प्रमाणपत्रसहित वडा कार्यालयको सिफारिसमा निर्वाचन कार्यालयमा निवेदन दिई अद्यावधिक गर्न सकिने उनले बताएका छन् ।
मतदाता नामावलीमा दोहोरो नाम समावेश भएकामा एक स्थानमा मात्र कायम गर्न मतदाताले स्वयम् निवेदन दिन र गतल वा झुट्टा विवरण दिई मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको थाहा हुन आएमा प्रमाणसहित उक्त नाम हटाउन प्रमाणसहित फागुन २२ गतेभित्र कार्यालयमा बुझाउन अनुरोध गरेको छ । साथै ईमेल मभय।लगधबपयत२भभिअतष्यल ।नयख।लउ मा पनि निवेदन दिन सकिने छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले अधिकांश नागरिकले परिचयपत्र जोगाएर राख्ने बानी निर्वाचन कार्यालयले बिगारेको हुनाले आगामी निर्वाचनमा पनि सोहीअनुसार नयाँ परिचयपत्र दिलाउनुपर्ने बताएका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले अन्य महत्वपूर्ण कागजातसरह मतदाता परिचयपत्रलाई सुरक्षित राख्न नागरिकलाई अनुरोध गरे ।
यसै बीच, निर्वाचन आयोगले निर्वाचनको तयारी स्वरुप जिल्ला जिल्लामा रहेको कर्मचारीको उपलब्धता र ब्यबस्थापन सम्बन्धि काम सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई निर्वाचन आयोगले परिपत्र गर्दै जिल्लामा निर्वाचनको लागी उपलब्ध हुनसक्ने कर्मचारीको बिवरण माग गरेको छ । यस्तै, मतदान स्थल र सम्पुर्ण बुथहरूको संबेदनशिलताको आधारमा बर्गिकरण गर्न सुरु गरेको छ । निर्वाचन लक्षित कार्यको लागी आयोगले परिपत्र गरि जिल्लाको बस्तुस्थितिको बिषयमा जानकारी माग गरेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले बताए । माग गरे अनुशारको कार्य भैसकेको र अन्य निर्वाचन सम्बन्धी कार्यहरू आन्तरिक रुपमा धमाधम भैरहेको उनले जानकारी दिएका छन् ।
यस्तै, नुवाकोटमा निर्वाचन सम्पन्न गर्नको लागी आवश्यक आन्तरिक ब्यबस्थापनको समेत काम भैरहेको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय नुवाकोटले आन्तरिक रुपमा निर्वाचन सम्बन्धि कार्यलाई तिब्रता दिएको छ ।
रसुवामा पनि निर्वाचनको तयारी सुरु
धुञ्चे । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले तयारी सुरु गरेको छ । निर्वाचनको प्रक्रियाअन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरू सुरु गरेको हो ।
निर्वाचनको तयारीस्वरूप जिल्लामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरी मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) का कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । त्यसका लागि जिल्लाका पाँचवटै गाउँपालिकामा मतदाता नामावली विवरण पठाएको छ ।
उक्त मतदाता नामावलीको विवरण फागुन १९ गते ५ वटै गाउँपालिकाको २७ वटा वडामा प्रकाशित गरिने भएको छ । मतदाता नामावली अद्यावधिकका लागि यही फागुन २० देखि २२ गते तीन दिन तोकिएको छ ।
यो अवधिमा मतदाताहरूले अनुसूची फारम आफ्नो नामावलीमा भएको विवरण सच्चाउन सकिने बताइएको छ ।
No comments:
Post a Comment