अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै नुवाकोटका माओवादी नेताहरू |
विदुर । नेकपा (माओवादी केन्द्र) का नेता तथा नुवाकोटका जनप्रतिनिधिहरूले टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाइदिन अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन् ।
लगातार तीन आर्थिक वर्ष बजेट छुट्याइए पनि काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको कुनै काम सुरु नभएको भन्दै संघीय सांसद हितबहादुर तामाङ नेतृत्वको टोलीले मंगलबार बिहान अर्थमन्त्री शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो । संविधानसभा सदस्य विमला सुवेदी, वागमती प्रदेश उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र वागमती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुङ्गाना, सचिवालय सदस्य पुष्प लामिछाने सहितको टोलीले मन्त्री निवास पुल्चोक पुगेर टोखा–गुर्जे भञ्ज्याङ–छहरे सुरुङमार्गका साथै अलपत्र रहेको पासाङल्हामु सडकको बालाजु–रानीपौवा र रानीपौवा–पीपलटार खण्ड निर्माण पनि छिटो सम्पन्न गर्ने पहल लिइदिन अर्थमन्त्री शर्मासँग माग गरेका छन् ।
तीन आर्थिक वर्षसम्म लगातार बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्ष २०७८/७९ को आधा समय वितिसक्दा पनि सुरुङमार्ग निर्माणसँग सम्बन्धित कुनै पनि काम अघि नबढिरहेकोले ध्यानाकर्षण गराएको सांसद हितबहादुर तामाङले जानकारी दिएका छन् ।
आवश्यक पर्ने बजेट तथा आर्थिक स्रोत सुनिश्चित गरी निर्माण कार्यलाई छिटोभन्दा छिटो अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिन र आवश्यक पहलकदमी लिइदिनको लागि यो ध्यानाकर्षण पत्र पेस गरेको उप सभामुख राधिका तामाङले बताए ।
टोखा–छहरे–गुर्जे भञ्ज्याङ सुरुङमार्ग निर्माणका लागि सरकारले २०७६/०७७ मा ४० लाख, २०७७/०७८ मा १५ करोड १० लाख र २०७८/०७९ मा ५० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शक्तिशाली छिमेकी मुलुक चीनलाई छोटो दुरीमा जोड्ने तथा दुई देशबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई थप सुदृढ गराउने विश्वास लिइएको टोखा–छहरे सुरुङमार्गको २०७६ माघ दोस्रो साता चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । चिनियाँ टोलीका अनुसार चार किलोमिटर हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो ।
यस्तै रानीपौवा–पीपलटार खण्डको सडक २ वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०१४ जुलाईमा ठेक्का सम्झौता भएकोमा सन् २०२० को जुनसम्म पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि नपुगेकोले आयोजना पक्षको मागअनुसार नेपाल सरकारले २०७७ असार ९ गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द गर्ने कार्यको विरुद्ध निर्माण कम्पनी पक्षले उच्च अदालत पाटनमा रिट निवेदन दिएको र उक्त रिटउपर अहिलेसम्म सुनुवाइ नगरेकोले उक्त सडकको भविष्य अनिश्चित अवस्थामा पुगेको भन्दै रिट निवेदन छिटो सुनुवाइ गराउने कार्यमा सहयोग गर्न अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको छ
यता, त्यसैगरी बालाजु–रानीपौवा खण्डको निर्माण पनि २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा ८ वर्ष भइसक्दा पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि हुन नसकेको र निर्माण कम्पनीले बनाउने तदारुकता पनि नदेखाएकोले बालाजु रानीपौवा सडक खण्डमा यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल लिइदिन पनि अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको नेता पुष्प लामिछानेले जानकारी दिएका छन् ।
दुवै खण्डका लागि ८ वर्षअघि १ अर्ब ३४ करोड ५९ लाख ६३ हजार ४०४ रुपैयाँ १८ पैसा लागत अनुमान गरिएको थियो । तर ठेक्का सम्झौता भने ८५ करोड ३७ लाख ६८ हजार ५४७ रुपैयाँ ५९ पैसामा भएको सांसद तामाङले जानकारी दिए । बालाजु–रानीपौवा खण्डको निर्माणका लागि सैलुङ कन्ट्रक्सन कम्पनीले ३४ करोड ९४ करोड ७१ हजार ९५२ (भ्याटसहित) मा निर्माण जिम्मा लिएको छ । लागत स्टमेट भने ५४ करोड २२ लाख ४८ हजार ३८ रुपैयाँ रहेको छ ।
No comments:
Post a Comment