Monday, February 21, 2022

तारकेश्वर माओवादी स्थानीय सरकारसंग असन्तुष्ट

 

दाङसिङ । नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका नुवाकोटले गाउँपालिकामा भ्रष्टाचार र बेथिति बढेको आरोप लगाएको छ । माओवादी गाउँपालिका अध्यक्ष सोमबहादुर तामाङले एक विज्ञप्ती जारी गर्दै गाउँपालिका कार्यालय भ्रष्टाचारको अखडा बनेको बताएका छन् । 

प्राकृतिक श्रोत साधनको अबैध दोहोनदेखि कर्मचारी भर्ना र दरबन्दी मिलानसम्ममा नियम बाहिर काम भएको भन्दै माओवादी केन्द्रले बिज्ञप्ती मार्फत् खबरदारी गरेको छ । माओवादीले तारकेश्वर गाउँपालिकाले दरबन्दी मिलानका नाममा कतिपय विद्यालयहरूमा शिक्षक दरबन्दी कटौती गर्ने, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सरकारले तोकेबमोजिम पारिश्रमिक उपलब्ध नगराई श्रम शोषण गर्ने, योग्यता, क्षमता र बरिष्ठताको ख्याल नगरी आफ्नो दलको झोला बोकेकै आधारमा कनिष्ठ तथा अयोग्य शिक्षकलाई प्रधानाध्यापक बनाउने जस्ता काम गरेको जनाएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरूले संघीय शिक्षा ऐन विपरीत आफुखुसी ऐन, नियम जारी गर्दै त्यसैको आडमा शिक्षा क्षेत्रलाई आफ्नो दल तथा गुटका कार्यकर्ता भर्ती गर्ने थलो बनाएको माओवादी केन्द्रले विज्ञप्ती मार्फत् बताएको छ । 

निर्वाचन तोकिसकेको अवस्थामा शिक्षाप्रेमी, समाजसेवी, अभिभावक र अन्य राजनैतिक दलहरूलाई वास्ता नगरी मनोमानीपुर्ण ढङ्गले गाउँपालिका भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको मनोनयन गरेको भन्दै माओवादीले त्यसको विरोध गरेको हो । बिज्ञप्तीमा भनिएको छ– ‘विकास र समृद्धिको मेरुदण्ड मानिने शिक्षा क्षेत्रमा स्थानीय सरकारले नाचेको नाङ्गोनाँच सर्वाधिक निन्दनीय छ ।’ 


No comments:

Post a Comment