Wednesday, March 23, 2022

२०७८ साल चैत ७ गतेको सम्पादकीय

आफ्नो थैली मजबुत बनाऔं

पछिल्लो समय इन्टरनेटको प्रयोग बढेसँगै साइबर अपराधका घटना पनि बढ्दै गइरहेका छन् । यी प्रतिनिधि घटनाले समाजमा आपराधिक मनोवृत्ति मौलाउँदै गइरहेको देखाउँछ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को ६ महिनायता दुई हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । साइबर अपराधका मुद्दा वर्षैपिच्छे बढ्दै गइरहेको ब्युरोको तथ्याङ्कले देखाउँछ । सामाजिक सञ्जाल फेसबुकका कारण सबैभन्दा बढी पीडित भएका उजुरी दर्ता हुने गरेका छन् । फेसबुकका साथै टिकटक, इन्स्टाग्राम, ट्वीटर, म्यासेन्जर, इमो, भाइबर लगायतबाट पनि साइबर अपराधका घटना बढिरहेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै यसबाट ठगिनेको संख्यासमेत बढ्दै गएको छ । सामाजिक सञ्जालमा कसैको नक्कली आईडी बनाएर रकम माग्ने, आपत्तिजनक तस्वीर राखेर ब्ल्याकमेल गर्ने, संघसंस्था तथा व्यक्तिका आईडी ह्याक गर्ने गरेका घटना बढ्दै गइरहेका छन् । साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा साइबर अपराधसम्बन्धी दुई हजार ३०१ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या बढेर ३ हजार ९०० पुगेको थियो । जबकि चालु आर्थिक वर्षको ६ महिनामै २ हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दापीडित आफैं उपस्थित भएर दर्ता गराएका हुन् ।

नेपालीमा एउटा उखान छ, ‘चोरलाई दोष दिनुभन्दा आफ्नो थैली मजबुत बनाउनु’ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले पनि ह्याकर, ठगी गर्ने र ब्ल्यामेल गर्ने जस्ता व्यक्तिहरुबाट बच्न आफूले सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । प्रयोगकर्तालाई सम्भावित जोखिमबारे ज्ञान हुनुपर्छ । सुरक्षा विज्ञहरु सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैभन्दा पहिला प्रयोगकर्ता नै सुरक्षित हुनुपर्ने बताउँछन् । आफूले चलाउने सामाजिक सञ्जालका माध्यमबारे राम्ररी बुझेर जानेर मात्रै सुरक्षित तरिकाले चलाउनुपर्दछ । इन्टरनेट तथा सामाजिक सञ्जालका माध्यमबारे सर्वसाधारणलाई  ज्ञान नहुँदा र सजिलै अरुले देखाएको प्रलोभनमा पर्ने गरेकाले साइबर अपराधका घटना हुने गरेको छ । सामाजिक सञ्जालमा राखिएका सबै कुरा सत्य हुँदैनन् । कसैले ठग्ने नियतले पनि राखेका पोस्ट गरेका हुन्छन् । सामाजिक सञ्जालबारे सर्वसाधारण सजग भई सही गलत छुट्याउन सके अपराधका घटना आफैं कम हुन्छन् । सामाजिक सञ्जाल चलाउँदा नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने, सामान्य चिनजानकै भरमा गोप्य कुरा नखुलाउने, सूचना नदिने, भिडियो तथा तस्वीर नपठाउने गरेमा साइबर अपराधका घटनाबाट बच्न सकिने छ । 

हाल साइबर अपराधका घटना हेर्दा चार–पाँच किसिमले सर्वसाधारण ठगिने देखिएको छ । जसमा सामाजिक सञ्जालमा चिनेजानेको मान्छेले उपहार पठाइदिन्छौं भन्दा लोभमा परेर, चिठ्ठा परेको छ भनेर ठग्दा प्रलोभनमा परेर, अनलाइनमा किनमेल गर्दा आधिकारिक पेजका बारेमा थाहा नभएर, वैदेशिक रोजगारीका लागि विज्ञापनकै आधारमा भिसा लगाउने र पैसा दिने गरेका कारण ठगी हुने गरेको छ । साइबर अपराधबाट बच्न आफूले चलाउने एप्लिकेसनमा मजबुत पासवर्ड राख्नुपर्छ र अनावश्यक नचिनेको नजानेको मान्छेसँग कुराकानी गर्नुहुँदैन । प्रयोगकर्ता स्वयं सचेत भए साइबर अपराध हुन पाउँदैन । महाशाखाले पनि पक्राउ गरेका अधिकांश ह्याकरले पासवर्ड सजिलो राखेकाले फेसबुक ह्याक गर्न सकेको बताउने गरेका छन् । त्यसैले पनि साइबर अपराधबाट बच्नका कम्प्युटर तथा ल्यापटपमा जेन्युन अपरेटिङ सिस्टम चलाउनुपर्छ, इमेलको पासवर्ड बलियो र लामो राख्नुपर्ने तथा टु फ्याक्टर अथेन्टिकेसन, ओटीपी र फिंगरप्रिन्टलाई एक्टिभ गर्नुपर्ने हुन्छ । 

No comments:

Post a Comment