Monday, March 28, 2022

निर्वाचन आचारसंहिताको विषयमा अन्तरक्रिया

कार्यक्रममा मन्तब्य राख्दै माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने । 
विदुर । नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, प्रभावकारी, विश्वश्नीय र मर्यादित बनाउन राजनीतिक दल र मतदाताहरूलाई आग्रह गर्दै मर्यादित र निष्पक्ष हुने बताएका छन् । 

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्र्दभमा निर्वाचन आयोग र नेपाल कानुन समाजले विदुरमा आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारिता कार्यन्वयन र सरोकारवालाको भूमिका सम्बन्धी अन्तक्रियामा जिल्ला न्यायाधीश लुइँटेलले सो भनाई राखेका हुन् । भयरहित वातावरणमा मतदान गर्न सकोस् भनी निर्वाचन आचारसंहिता पालना गर्नु सबै उम्मेदवार, राजनीतिक दल र मतदाताहरूको रहेको उनले बताएका छन् । एकअर्कालाई आरोपप्रत्यारोप नगरी सरोकारवालाहरूले सहि ढंगले भूमिका निर्वाह गर्नु बाध्यता, कर्तव्य र दायित्व रहेको उनको टिप्पणी रहेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले आचारसंहिताले निर्धारण गरेको खर्च सीमाभन्दा पनि निर्वाचनमा खर्चरहित वातावरण सिर्जना गर्नुपर्ने बताए । निर्वाचनमा मतदाताको मतलाई बदरबाट हुन जोगाउनको लागि मतदाता शिक्षामार्फत् सहि तरिकाले मतदान गर्न सिकाउनुपर्ने उनको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनमा सरकारी, सार्वजनिक अधिकार, शक्ति, स्रोत र साधनको दुरुपयोग नहोस् भनि आचारसंहिता लागू गरेको बताएका छन् । निर्वाचनमा जनताले सचेत रुपमा विवेक प्रयोग गर्ने वातावरणमा रोकावट गर्न नहुने लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए ।

कार्यक्रममा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताका प्रमुख विषयहरूमा सरोकारवालाहरूको भूमिका र निर्वाचन आचार संहिताको कार्यान्वयन तथा अनुगमनबारे कार्यपत्र प्रस्तुत गरेका थिए । संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकमी तथा सुरक्षा सम्बद्ध कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भातृ संगठनले मान्नुपर्ने निर्वाचन आचारसंहिता बारे प्रष्ट पारेका छन् । यस्तै, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता र पर्यवेक्षण संस्था तथा पर्यवेक्षकहरूको आचारसंहिता विषयक जानकारी गराएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले स्थानीय सरकार निर्वाचनको खर्च र प्रचारप्रसारबारे कार्यपत्र प्रस्तुत गरे । 

No comments:

Post a Comment