Wednesday, March 23, 2022

हत्तार हुनेलाई परिचयपत्र तुरुन्तै

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । 

उनका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन पालो प्रणालीअनुसार सेवा प्रदान गरिँदै आएकामा दर्ता स्टेशन एकबाट बढाई दुई बनाइएकाले पालो प्रणालीको टोकन लिएर तोकिएको मितिको पर्खाइमा रहेका तर अति जरुरी परेका सेवाग्राहीको लागि हिजो आइतवारदेखि आएको दिनमा नै सेवा उपलब्ध गराइएको जिल्ला प्रशासनले जनाएको छ । अत्यावश्यक हो÷होइन पहिचानको मापदण्ड स्वास्थ्य उपचार, वैदेशिक यात्राका लागि भिसा स्वीकृति, कुनै प्रतियोगिता, सेमिनार, गोष्ठीलगायतमा सहभागी हुन सम्बन्धित निकायबाट सिफारिस गरिएको तथा निमन्त्रणा आएको लगायतलाई आधार मानेर उक्त बिषयसँग सम्बन्धित आवश्यक कागजात पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताएका छन् ।

हाल चलनचल्तीमा रहेको मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई प्रतिस्थापन गर्दै विद्युतीय राहदानी अनिवार्य गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता भएको हुनुपर्ने अनिवार्य गरिएको छ । सोही कारण देशभर नै राष्ट्रिय परिचयपत्र बनाउन चाहने सेवाग्राहीको संख्या धेरै देखिएको नुवाकोटका सहायक प्रजिअ अर्यालले बताए ।

No comments:

Post a Comment