विदुर । केन्द्रीय तथ्याङ्क विभागले आउँदो फागुन १ गतेदेखि जेठमसान्तसम्म नेपाल व्यापार सर्वेक्षण २०७८ गर्ने भएको छ । जसमा नुवाकोटका १११ व्यापारिक प्रतिष्ठानहरूको विवरण संकलन गरिने छ । त्यस्तै, रसुवाको २५ व्यापारिक प्रतिष्ठानहरूको तथ्याङ्क संकलन हुने छ ।
सर्वेक्षणमा छनौट भएका देशभरका १८ हजार व्यापारिक प्रतिष्ठानहरूको तथ्याङ्क संकलन गरिने विभागले जनाएको छ । व्यापार सर्वेक्षणको लागि १/१ जना गणक खटिने छ । गणकले चार महिना अवधिमा छनौटमा परेको व्यापारिक प्रतिष्ठानहरूको चालु आर्थिकको व्यापारीक कारोबारको तथ्याङ्क संकलन गर्नेछन् ।
गणकले हरेक व्यापारिक प्रतिष्ठानहरू होलसेल वा खुद्राको खरिद बिक्री, आम्दानी खर्च, स्टकमा रहेको वस्तु, कर्मचारीको तलब लगायत आधारभूत सेवाहरू बिजुली, पानी, टेलिफोन इन्टरनेट, यातायात खर्चहरू समेतको तथ्याङ्क संकलन गर्नेछन् ।
यस्तै, राजश्व, अन्तःशुल्क, कर, व्यवसायिक दर्ता वा नविकरण, अनुदान लगायत को विवरण गणकले संकलन गर्नेछन् । राष्ट्रिय अर्थतन्त्रमा व्यापार क्षेत्रको योगदान अनुमान गर्ने तथा राष्ट्रिय लेखा प्रयोजनको लागि यस क्षेत्रको विद्यमान आम्दानी तथा खर्च, मुल्य अभिवृद्धि, लगानी, रोजगारी, तलब तथा ज्याला, मौज्दात र अन्य आर्थिक विवरणहरू संकलन गर्ने सर्वेक्षणको उद्देश्य रहेको छ ।
No comments:
Post a Comment