Wednesday, March 23, 2022

छहरे–टोखा सुरुङमार्ग निर्माण सुरु गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

तादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनका लागि खरानीटारमा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : इमेज साप्ताहिक

विदुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा जनप्रतिनिधिले चार वर्षसम्म गरेको कामको मुल्याङ्कन गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदै गएको र नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० गते निर्वाचन हुने भएकाले चार बर्षको कार्यकालको समीक्षा गरेर मतदान गर्नको लागी उनले आग्रह गरेका हुन् । नुवाकोटको किस्पाङ गाँउपालिका र तादी गाँउपालिकाको प्रमुख प्रशासकिय भवनको उद्घाटन गर्न गएको सोमवार नुवाकोट आएका प्रधानमन्त्री शेरबहादुर देउबाले मुलुकलाई अझै बलियो र सुदृढ बनाउनका लागि अबको स्थानीय तहको निर्बाचन महत्वपूर्ण रहेको बताएका छन् । उनले सो दिन छुट्टा छुट्टै कार्यक्रममा दुई गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । 

प्रधानमन्त्री देउवाले संविधानले लिएको लक्ष्य प्राप्ति र समतामुलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । तीन तहको संघीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी र अधिकार दिएको छ । त्यसैले संविधानले परिकल्पना गरेको समतामुलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे । 

प्रधानमन्त्री देउवाले सरकारले काठमाडौं–केरुङ सम्पर्कका लागि छहरे–टोखा सुरुङमार्गसहितको सडक स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यस क्रममा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रहितमा रहेको पनि बताए । किस्माङ गाउँपालिकाको भवन उद्घाटन गर्दै एमसीसीबारे एमाले नेता भीम रावलले गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यसप्रति आक्रोश व्यक्त गरेका छन् । 

एमसीसी राष्ट्रहितमा छ, यो अनुदानको बजेट हो । हुन त यहाँ एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्नेहरू पनि छन्,’ देउवाले भने, ‘पूर्वप्रधानमन्त्री केपी ओलीजीकै पालामा एमसीसी संसद्मा दर्ता भएको हो । उहाँकै सरकारले संसद्बाट स्वीकृत गराएको हो । अहिले त्यही पार्टीको नेता हुनुहुन्छ, भीम रावल । उहाँले एमसीसीको विरोधमात्रै होइन, झुटो प्रचार गर्न‘भएको छ । त्यो बेला उहाँले केही बोल्नुभएन, अहिले हामीले अघि बढाउँदा उहाँ विरोध गर्दै हुनुहुन्छ ।’

तादी गाँउपालिकाको भवन ४ करोड ३० लाख ४६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो । वन निर्माणका लागि केन्द्रीय सरकारबाट अनुदानस्वरुप ८५ लाख, जिल्ला समन्वय समिति नुवाकोटको मौज्दात कोषबाट १ करोड ६० लाख र तादी गाउँपालिकाबाट विनियोजित रकम १ करोड ८५ लाख ८६ हजार खर्च भएको जनाइएको छ ।  भवन बनाउन २०७६ साल जेठ १७ गते ठेक्का सम्झौता भएर २०७७ साल पुस ६ गते निर्माण सम्पन्न भएको हो । भवन निर्माणको जिम्मा मिलिनियम कल्पवृक्ष जेभी बालाजुले पाएको थियो ।   

प्रधानमन्त्री शेरबहादुर देउवा गएको सोमवार किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन पछि मन्तब्य व्यक्त गर्दै 


No comments:

Post a Comment