सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले गाउँपालिकामा भएका योजना सम्पन्न गर्ने तर्फ ध्यान दिन आग्रह गरे । उनले देशको अर्थतन्त्र राम्रो बनाउन कृषि, जलविद्युत उत्पादन वृद्धि गर्नुपर्ने बताए ।
पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शिवपुरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ रहेको बताए । नेतृत्वमा बस्नेले विचार नमिल्नेहरूको पनि कुरा सुनेर सबैलाई मिलाउनुपर्ने केसीले बताए ।
पूर्व मन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको लक्ष्य सुशासन हो भन्दै सबै जनतालाई पक्षपात नगरी बराबरी सेवा दिन आग्रह गरे । २०४६ सालपछि नेपाली कांग्रेसको नेतृत्वमा धेरै विकास भएको उनले बताए । स्थानीय समस्या स्थानीय स्तरमै समाधान गर्न स्थानीय सरकार गठन भएको बताउँदै डा. महतले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।
बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निष्पक्ष ढंगले सेवा प्रवाह गर्न सबै कर्मचारीहरूलाई आग्रह गरिन् । अब चाँडै स्थानीय तहको निर्वाचन आएकाले जनप्रतिनिधि परिवर्तन भए पनि कर्मचारी परिवर्तन नहुने भन्दै उनले सेवा प्रवाहमा कमीकमजोरी नगर्न सचेत गराईन् ।
संविधानसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदिश्वरनरसिंह केसीले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुनाले नेपाली जनताले दुःख पाएको बताए । उनले नेताहरू सम्वृद्ध बनेको तर जनताले सुखको अनुभूति गर्न नपाएको जिकिर गरे ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले आफ्नो कार्यकालमा भएका प्रगतीबारे प्रकाश पारे । उनले प्रशासकीय भवनसँगै वडा भवन निर्माण, १० शैयाको आधारभूत अस्पताल निर्माण, कृषि रिङरोड निर्माण, शिवपुरी शित भण्डार निर्माण, कृषि उपज केन्द्र निर्माण लगायत अन्य प्रगतिबारे ३९ बुँदामा प्रष्ट्याए । उनले शिवपुरीमा निर्माण भएका सबै भवनको जग्गा निःशुल्क प्राप्त भएको बताए ।
प्रशासकीय भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश मन्त्री बद्री मैनाली, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी, नेपाली कांग्रेस नुवाकोटका सभापती रमेश महत, नेकपा एकिकृत समाजवादीका नुवाकोट जिल्ला सचिव पदम उप्रेती लगायत अन्यले बोल्दै नयाँ प्रशासकीय भवन उद्घाटन भएकोमा शुभकामना दिए ।
प्रशासकीय भवन, शिवपुरी आधारभूत अस्पताल भवन, कृषि उपज केन्द्र, कोल्ड स्टोर लगायत अन्य स्थानमा जग्गादान गर्ने, शिवपुरी गाउँपालिकामा जन्मिएका पूर्व विशिष्ट राष्ट्रसेवकहरू, पूर्व प्रमुख प्रशासकीय अधिकृत, भवन निर्माण गर्ने निर्माण व्यवसायी र इन्जिनियरलाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment