रानीपौवा । नयाँ अस्पताल भवन बनाउँदा पुरानो सञ्चालन भइरहेको अस्पताल भवनलाई जोखिम हुने काम गरेपछि ककनी गाउँपालिका रानीपौवाबजारवसी आन्दोलित भएका छन् ।
दश बेडको नयाँ अस्पताल भवन बनाउने क्रममा ककनी स्वास्थ्य केन्द्रलाई धरापमा पारेपछि स्थानीयवासी विरोधमा उत्रेका छन् । उक्त भवनको जग खन्ने क्रममा चरम लापरबाही र नीतिगत भ्रष्टाचारको दुष्परिणामस्वरूप ३० वर्ष पुरानो जापानी सहयोगमा बनेको ‘ककनी स्वास्थ्य केन्द्र’को भवन खण्डहरमा परिणत भएको छ । संवेदनशील विषय र ठूलो भौतिक क्षतिको साथमा आइपर्ने जोखिमको जिम्मेवार को भन्दै स्थानीयले यसको खबरदारी गरिरहेका छन् ।
२०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री अर्जुननरसिंङ केसी र परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीको पहलमा नेपाल–जापान ‘मित्यव्ययिता’ सम्बन्धको प्रतीक स्वरूप निर्माण भएको ककनी स्वास्थ्य केन्द्रको भवन कठिन परिस्थितिको सामना गर्दै सहयोगी संस्था र
स्थानीयवासी र भवानी माविका विद्यार्थीको श्रमदानपश्चात् निर्माण भएको थियो । उक्त भवननजिक दश बेडको अस्पताल भवन बनाउन जग खन्न सम्याउने क्रममा गरेको लापरबाही र गैरजिम्मेवारीका कारण जोखिम बनेको छ ।
भवन निर्माण पूर्वभौगोलिक अध्ययन र अनुसन्धान नगरी, देखासिखीको भरमा जनतालाई विकासको अनुभूति मात्र गराउन हतासमा गरिएको अपरिपक्वताको परिणाम हो यो । नयाँ निर्माण गर्न लागिएको अस्पताल भवन मात्र होइन निर्माणाधीन गाउँपालिका भवनमा समेत चरम लापरबाही र ठूलो गल्ती भएको स्थानीयबासी बताउँछन् । यसको सत्यतथ्य सम्बन्धित निकायले खोजी गर्ने अपेक्षा स्थानीयले गरेका छन् ।
No comments:
Post a Comment