धनकुमारी सुनार
०४३ सालतिरको कुरा हो । म महिला मुक्तिका लागि जनवादी क्रान्ति गर्न‘पर्छ भनेर भूमिगत (माले) पार्टीको अखिल नेपाल महिला संघको वडा कमिटीमा संगठित भएको थिएँ । संगठित गर्ने अगुवा नेताचाहिँ मकवानपुर जिल्लाकै (तत्कालीन माले पार्टी)को अर्धभूमिगत अनेमसंघकी विष्णु ओझा थिइन् । ‘महिला मुक्ति’ शब्द सुनेपछि ढुंगो खोज्दा ‘देवता’ मिलेझैँ भयो । ‘मुक्ति’ शब्द आफैँमा विराट र ओजपूर्ण छ । ‘मुक्ति’ शब्दकोे भावार्थले संसारमा ठुल्ठूला क्रान्ति र उथलपुथल भएका छन् । अर्बौं मान्छेले आफ्नो ज्यानको बाजी लगाएका छन् । जीवनमा पहिलोपटक सुनेको ‘महिला मुक्ति’ शब्द गहिराइमा त कति बुझेँ होला त्यतिवेला, भर्खरै १४÷१५ वर्षमा हिँड्दै गरेकी फुच्ची न थिएँ । संगठनमा समावेश गर्न आएकी महिला नेताले ‘धनी गरिब समान हुनुपर्छ । ठूलो जात सानो जात एउटै हो । महिलालाई पुरुषसरह सबै अधिकार हुनुपर्छ’ भनिन् । समानताका लागि हामी लड्नुपर्छ पनि भनिन् । मैले अठोट गरेँ, आफूमाथि थोपरिएको तमाम उत्पीडनको साङ्लो तोड्छु ।
जतिजति अगाडि बढ्दै गएँ तब मलाई समाज र राज्यद्वारा सिर्जित शोषणरूपी भेदबारेको चेत खुल्दै गयो । आफ्नो उमेरभन्दा दोब्बर, तेब्बर उत्पीडनको भारले थिचिसकेकी म ‘मुक्ति’ भन्ने शब्दसँग चुम्बकझैँ लट्ठिएँ । मेरा लागि मुक्ति जातव्यवस्थाले सिर्जना गरेका अपमान, र हिंसाबाट पूर्ण छुटकारा पाउनु थियो । आफूमाथिको गरिबी अन्त्य हुनु थियो र महिला भएकाले गरिने हेलाहोचो बन्द हुनु थियो । त्यसका लागि आफूले सकेको योगदान गर्न तयार भएँ । मेरा लागि लड्नु भनेको एक्लो ज्यान हिँडाउनु त थियो नि । मुक्तिका लागि लड्दा ज्यान जान सक्छ भन्ने थाहा थियो, तर मुक्तिको दाँजोमा एउटा ज्यानको मोल नै के थियो ? मर्यादा र न्यायका लागि सिंगो समाज, देशको मुक्तिको सपनाको अगाडि जस्तोसुकै आहुति स्वीकार्य थियो ।
०००
सन्दर्भ ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको छ । सबै नीतिको मूल नीति राजनीति नै हो । तर, विश्वभरि महिलाका लागि राजनीति कति सहज र सरल छ ? प्रश्न अझै अनुत्तरित छ । सवा सय वर्षदेखि नेपाली महिलाहरू राजनीति र सामाजिक परिवर्तनमा अहोरात्र त्याग र संर्घषमा निरन्तर होमिएका छन् । नेपालको १०४ वर्षे राणाकाल, ३० वर्षे पञ्चायती व्यवस्था मूलतः चरम सामन्तवादमा आधारित थियो । ०४६ र ०६२ को आन्दोलनले स्थापित गरेको राज्यको प्रणाली भनेको संसदीय पुँजीवादी व्यवस्था हो जसले महिला र उत्पीडित समुदायको जीवनमा सामान्य सुधारबाहेक अग्रगमनकारी परिवर्तन गर्दैन भन्ने स्पष्ट भएको छ । नेपालमा ठुुल्ठूला राजनीतिक परिवर्तन नै तीनपटक सहित १० वर्षे जनयुद्ध भयो । जसमा महिलाहरू अग्रमोर्चामै लडेर । सहादत भए र जेलनेल भोगे । त्यसबाहेक महिला भएका कारण बलात्कार र यौनजन्य हिंसा थप भोगे । तर, जब महिलाको योगदानको हिसाब–किताब हुन्छ समाजका ठालु पुरुष नै ओठ लेप्य्राउँछन् । अझै राजनीतिमा नेपाली महिलाको योगदानको गतिलो दस्तावेज नै छैन ।
संविधानमा महिलाको हकभित्र महिला र पुरुषबीच भेदभाव नगर्ने, स्वास्थ्य शिक्षा र सम्पत्तिमा समान हुनेछ भनेर तोकिएको छ । आमाको नामबाट सन्तानले वंशजको अधिकार दिन सक्ने भनिन्छ, तर बलात्कारी र गैरजिम्मेवार भए पनि बाबुको निस्सा नदेखाई आमाले वंशजको नागरिकता दिन सक्दैन । प्रगतिवादी कवि निभा शाहले केही समयअघि मसँग भनिन्, ‘धनजी तपाईं हामी मुक्तिको सामाजिक र राजनीतिक यात्रामा जहाँ रहे पनि आखिर पुरुष नै शासक हुने हो ।’ त्यसयता म वेलावेला यो शब्दसँग साक्षात्कार भइरहन्छु । जीवनको आधाउधि वसन्त पार गरिसक्दा परिवार, समाज र राजनीतिमा झन् पछि । झन् पितृसत्ताका जब्बर जन्जालले महिलालाई टनटनी कसेको अनुभूत हुन्छ । र, अझै मुक्तिको गन्तव्य धेरै टाढा प्रतीत हुन्छ ।
नेपाली समाज न पूर्ण सामन्ती न पुँजीवादी अवस्थामा छ । महिनावारी हुँदा छोइछिटो मान्ने चलन कर्णाली र सुदूरपश्चिममा मात्रै होइन, काठमाडौंको मुटुमै जबर्जस्त छ । छोरा र छोरीमा भेदभाव, सम्पत्तिमा असमानता, बालविवाह, घरेलु र बलात्कारजन्य हिंसाले सीमा नाघेको छ ।
राजनीतिमा सहयोगी
महिलाका सन्र्दभमा सान्त्वनावादी अवधारणा आम छ–महिला एउटै रथका दुई पांग्रामध्ये एक हुन् । अर्धांगिनी र ‘बेटर हाफ’जस्ता फुर्को लाए पनि आजको दिनमा परिवार र समाजमा महिलाको अर्धदासभन्दा माथिको हैसियत मैले देखेको छैन । ज–जसले यो भूमिकालाई चुनौती दिएका छन्, ती महिलाको जीवन कष्टकर भएको छ वा परिवार र समाजले अस्वीकार गरेको छ । राज्यको कानुनमा ३३ प्रतिशत लेखे पनि निर्णय गर्ने स्थानमा महिला एक–दुई प्रतिशतभन्दा बढी छैन ।
मानवशास्त्री मेरी डेसेन भन्छिन्, ‘राजनीतिमा अलिक सम्भावना भएका महिलालाई पार्टीले नेता पुरुषसँग बिहे गरिदिन्छन् । त्यसपछि महिला घर र बच्चा सम्हाल्न थाल्छन् । पुरुष राजनीतिमा अगाडि बढ्छन् ।’ समकालीन राजनीतिमै सम्भावना र क्षमता भएका सयौँ नेता पत्नीहरू गुमनाम छन्, जो हिजो राजनीतिमा अग्रमोर्चामा थिए । अझ बढी त के पनि देख्न सकिन्छ भने दर्जनौँ पुरुष नेता जो पूर्णकालीन राजनीतिमा थिए र छन्, उनीहरू चलाखीपूर्ण रूपमा राजनीति बुझेको, तर कमाउने र घरव्यवहार सम्हालिदिने असल श्रीमतीको खोजीमा हुन्छन् । विडम्बनाचाहिँ महिलाका पारिवारिक समस्यालाई पार्टीले नजरअन्दाज गर्छ । बालबच्चाको स्याहारदेखि घरका सम्पूर्ण बोझको समाधान खोज्दैन ।
जेनी माक्र्सको ‘अनकन्डिसनल’ त्याग र संर्घषको बुतामा कार्ल मार्क्स अजर–अमर भएका हुन् । इतिहासमा जेनीको भूमिका कार्लमार्क्सको सहयोगीबाहेक अरू बन्न सकेन । तर, वर्तमान नेपाली राजनीतिमा नेतापत्नी भएकैले फेरि सत्ताको तर मार्ने अवसर पनि जुर्ने गरेको छ । हाल संघीय र प्रादेशिक संसद्मा १२ जोडीभन्दा बढी श्रीमान्–श्रीमती सांसद छन् । रमाइलोचाहिँ के छ भने श्रीमान् प्रत्यक्ष निर्वाचित छ भने श्रीमती समानुपातिकमा अटाएका छन् । नेतृ श्रीमतीहरू अक्षम हुन् भन्ने होइन, तर श्रीमान् निर्णय गर्ने स्थानमा भएकाले अतिरिक्त लाभ पक्कै लिएका हुन् । जसले छेउकिनारामा रहेका, पार्टीमा योगदान दिएका महिलाहरूको भाग खोसिन्छ र उनीहरू अवसरबाट वञ्चित हुन पुग्छन् । अपवादलाई छाडी वर्तमान समयमा महिला राजनीतिमा सहयोगी नै हो । नेपालको पुँजीवादी सत्तामा महिला मन्त्री र राष्ट्रपतिसम्म बनेका छन् । पार्टीमा उपाध्यक्ष र स्थायी कमिटीमा विराजमान छन् । तर, ती महिला देश, समाज र महिलाकै विषयमा पनि राजनीतिक निर्णय लिन स्वतन्त्र छैनन् । यसको उदाहरण पटक–पटक देखिएकै छ । उनीहरूलाई चलाउने रिमोट कन्ट्रोल भाले नेतासँगै छ ।
पार्टी र संगठनमा महिलालाई तह लाउन सिनियर र जुनियर थुप्रै पुरुष तम्तयार छन् । महिलाले के गर्ने के नगर्ने नियन्त्रण विधि पार्टी र ठालु नेताले बनाएका छन् । अहिलेसम्म महिला मुक्तिको क्रान्तिकारी अवधारणा भनेकै माक्र्सवादी अवधारणा हो, जसले इतिहासमा निजी सम्पत्तिको उदयसँगै महिलाको वंशज र अन्य अधिकार खुम्च्याइयो भन्ने प्रमाणसहित तथ्य पेस ग-यो । माक्र्ससवादले महिला मुक्ति तब मात्र सम्भव छ भन्छ, जतिवेला निजी सम्पत्तिको अन्त्य हुन्छ । महिलाको पारिवारिक लालनपालन र बच्चाहरूको रेखदेखको काम सामाजिक दायित्वभित्र राख्नुपर्छ भन्यो । महिलालाई पारिवारिक बोझबाट मुक्त गर्दै उत्पादनसँग जोड्ने कुरा पनि माक्र्सवादले ग¥यो । सुधारवादी पुंँजीवादी अवधारणाले त महिलालाई सामान्य आरक्षण, यथास्थितिकै संरचनामा सुधार गर्ने भन्छ । जसले फेरि पनि मध्यम र उच्च वर्गका महिलालाई फाइदा हुन्छ । र पिँधमा भएका गरिखाने महिलालाई किनारमा पार्छ । जुन नेपाली राजनीति र सत्तामा हाल हावी छ ।
महिला मुक्तिको अगुवाइमा श्रमिक महिला
रोजा लग्जेम्बर्गको शब्दमा ‘पुँजीवादका लागि महिलाहरूद्वारा गरिने परिवार र केटाकेटीको रेखदेख गैरउत्पादक काम हो । जहाँ उत्पादनमा अतिरिक्त मूल्य हुन्छ त्यहाँ नाफालाई बढाउन सहयोगी हुन्छ । त्यो काम मात्र पुँजीवादका लागि उत्पादक हुन्छ, तसर्थ सबै आमा र महिला उनीहरूका लागि गैरउत्पादक हुन् ।’ त्यसैगरी रोजा थप्छिन्, ‘बुर्ज’वा महिलाहरूका लागि राजनीतिक अधिकार जीवनका लागि आवश्यक छैन । उनीहरूलाई यो खाली राजनीतिक गतिविधिमा सहभागी हुनका लागि
मात्र चाहिन्छ । जब कि सर्वहारा महिलाहरूलाई यसले संर्घषमा सहभागी बनाउँछ ।’ तसर्थ सर्वहारा महिलाहरू जीवनका सबै क्षेत्रमा सहभागी बन्नुपर्दछ जसले उनीहरूको मूल आधारलाई सुनिश्चित गर्न सक्छ । कार्लमाक्र्स र लेनिनलाई समेत क्रान्तिकारी वैचारिकीमा चुनौती दिने रोजा महिला र श्रमिकहरूको अधिकारबारे प्रस्ट र दृढ थिइन् । आफ्नै समकालीन पुरुष नेताहरूसँग वैचारिक मतभेद हुँदा रोजालाई कतिपटक पार्टी र नेताहरूबाट असहयोग र तिरस्कार गरिएको पाइन्छ । तर पनि रोजा सही वैचारिकका लागि निरन्तर आफ्नै सहयोद्धा र दुस्मनसँग मृत्युपर्यन्त अथक लडिन्, र एउटी सशक्त वीरंगनाको सुनौलो इतिहास रचिन् ।
अन्तमा
सिमोन बोउरका अनुसार जबसम्म महिलाको आर्थिक हैसियत बराबरी हुँदैन, तबसम्म समाजमा महिलाले आफ्ना उपलब्धिलाई सदा सानो बनाइरहन्छे । सिमोनले महिला स्वतन्त्र हुन सर्वप्रथम ऊ आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा स्पट रूपमा उठाएकी छिन् । ८ मार्चको गौरवपूर्ण इतिहास पनि श्रमिक महिलाको श्रमको मूल्य, प्रजनन अधिकार, समान कामको समान ज्यालाको अधिकारसँग जोडिएको छ । महिला मुक्तिको सवाल बिलकुल राजनीतिक हो । तसर्थ, असल राजनीति र संरचनात्मक रूपमा क्रान्तिकारी परिवर्तन नभई भुइँ महिलाहरूको जीवनमा परिवर्तन सम्भव छैन । आजको दिनमा जातीय, वर्गीय र क्षेत्रीय रूपमा उत्पीडित महिलाहरूले आफ्नो मुक्तिसँगै यथास्थितिमा रहेको व्यवस्था परिवर्तनमा अगुवाइ गर्ने आँट गर्नुपर्छ । तब मात्र वास्तविक रूपमा ८ मार्चको गौरवपूर्ण इतिहासको थालनी गर्ने माक्र्सवादी महिला नेतृ क्लारा जेटकिन र रोजाको सही सम्मान हुनेछ ।
No comments:
Post a Comment