Monday, March 07, 2022

२०७८ साल फागुन २३ गतेको सम्पादकीय

आन्दोलनको भाषा मात्रै नबुझौं

नुवाकोटको सिसडोलमा हाल काठमाडौँ महानगरलगायत उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ। झन्डै १५ वर्षअघि दुई वर्षका लागि सिसडोलमा उपत्यकाको फोहोर फाल्ने व्यवस्था मिलाइएको थियो तर त्यस स्थानमा बस्तीको बाटो हुँदै जानुपर्ने, भौतिक विकासको अभाव, फोहोर व्यवस्थापनका उपयुक्त संरचना नबनाइनु, स्थानीयसँगको विवाद, स्थानीयको उच्च सौदाबाजीजस्ता कारणले पटक–पटक फोहोर व्यवस्थापनमा व्यवधान आइरहेको छ । विगतका अनुभवबाट पनि नयाँ स्थानमा गरिने फोहोर व्यवस्थापनमा यस्ता समस्या नआउनेमा विश्वस्त हुन सकिने अनुमान गरिरहेको बेलामा फेरि पुरानै समस्या आएको छ । पछिल्ला दशकमा भएका तीव्र तथा क्षेत्रीय असन्तुलित जनसंख्या वृद्धि र विस्तार, अव्यवस्थित सहरीकरणका कारण हरेकजसो सहरी क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या पेचिलो बन्दै आएको छ । यस्तो अवस्थामा फोहोर व्यवस्थापनमा सरकारको ठूलो धनराशि खर्चनुपर्ने अवस्था छ । तर, फोहोरबाट लिन सकिने वैकल्पिक उत्पादनका बारेमा खास ध्यान दिइएको छैन । एकतिर बर्सेनि विदेशी मुद्रा खर्चेर रासायनिक मल खरिद गर्नुपर्ने, त्यो पनि बेलैमा ल्याउन नसकेर किसान हैरान हुने तर फोहोरबाट मल उत्पादन गर्न सकिनेबारेमा प्रभावकारी दृष्टिकोण नबनाउनुले स्रोतको अधिकतम प्रयोग हुन सक्दैन । फोहोर व्यवस्थापन भनेको उपत्यकाको फोहोर बन्चरेडाँडामा पु-याउनुमात्र नभई, यसको विविध पक्षको व्यवस्थापन पनि हो । फोहोरबाट मल बनाउन, ऊर्जा निकाल्न सकिने आदि प्रयोग अन्यत्र भएकै छन् । नसड्ने वस्तुको व्यवस्थापनले तल्लो क्षेत्रका बासिन्दा र वातावरणमा पर्न सक्ने प्रभावबारेमा पनि अहिले नै सोच्नु आवश्यक हुन्छ ।

फोहोर व्यवस्थापनमा सरकार र स्थानीय तहमात्र जिम्मेवार छन् भन्ने सोच्नु गलत छ। प्रत्येक नागरिक, घरधनी/बासिन्दा पनि फोहोरको व्यवस्थापन, सभ्य र स्वास्थ समाजको निर्माणममा जिम्मेवार हुनुपर्छ । सड्ने र नसड्ने वस्तु छुट्टाएर राख्न नसक्ने नगरक्षेत्रका बासिन्दाले सहर फोहोर भयो भनेर न सरकार र स्थानीय तहलाई गुनासो गर्न सुहाउँछ । राजधानी उपत्यकामा मात्र होइन, मुलुकभरका पालिकाहरूले प्रत्येक घरमा कुहिने र नकुहिने फोहोरलाई फरक–फरक भाँडामा राख्न बाध्य गर्न सक्छन् । साथै, पालिकाहरूले फरक–फरक स्थानमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्नु अनिवार्य हुनेछ । नकुहिने प्लास्टिकजन्य वस्तुको पुनः प्रयोग गर्न सकिने र फोहोरको मात्रा घटाउन सकिने भएकाले एकै स्थानमा सबै प्रकारका फोहोर विसर्जन गर्नु उपयुक्त हुँदैन । कुहिनेबाट मल बनाउन सकिने र कतिपय नकुहिने वस्तुको पुनः प्रयोग गर्न सकिने भएकाले अबका पहल त्यता पनि आकृष्ट हुनुपर्छ । अर्कोतिर हालैको कोरोना (कोभिड–१९) को महामारीले फोहोर व्यवस्थापनमा थप होसियारी अपनाउनुपर्ने आवश्यकता पुष्टि गरेको छ । महामारीको अवस्थामा स्वास्थ्यकर्मीसहित संक्रमितले प्रयोग गरेका लुगाफाटोलगायतका सामग्री सामान्य अवस्थाका डम्पिङसाइटमा फाल्नु चुनौती हुन सक्ने देखिएको छ। यसैगरी, अस्पतालजन्य फोहोरका लागि पनि विशेष प्रकारको होसियारी र तयारी गर्नुपर्ने हुनाले सबै पालिकाहरूले फोहोको दीर्घकालीन व्यवस्थापनलाई उच्च महव दिनुपर्छ कि, फोहोर व्यवस्थापन भनेको एकठाउँमा संकलित फोहोर अन्यत्र लगेर विर्सजन गर्नुमात्र होइन । फोहोरबाट वैकल्पिक उत्पादन गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यस दिशामा पनि ध्यान दिनु आवश्यक छ । त्यसो त, स्थानीयको मागलाई पटक पटक ब्यवास्था गर्दा आउने परिणामलाई सरकारले गम्भिरताका साथ नहेरेकै देखिएको छ । यस तर्फ आन्दोलन बाहेकको भाषा पनि सरकारले बुझ्नु जरुरी देखिन्छ । 

No comments:

Post a Comment