विदुर । नेकपा एमालेबाट निर्वाचित विदुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजु सडौला नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मंगलवार बट्टारमा नेकपा एकिकृत समाजवादीद्धारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा सडौला समाजवादी प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । सडौलासहित एमालेका डेढ सयभन्दा बढी नेता तथा कार्यकर्ता समाजवादी प्रवेश गरेका छन् ।
सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा जनताको लहर र मोह बढ्दै गैरहेको बताएका छन् । एकीकृत समाजवादी पार्टी नुवाकोटले आयोजना गरेको जिल्ला भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी पार्टी प्रति देशभर जनताले देखाएको चासो, सहभागिता र मन्त्रीहरूले देश र जनताको लागी गरेको कार्य देखेर नेकपा एमालेका नेताहरूलाई ‘हर्ट याट्राक’ हुने बताए ।
साथै उनले मुलुकमा संविधानको रक्षाका साथै लोकतान्त्रिक मूल्य र मान्यता संरक्षणका लागि क्रियाशील शक्तिबीच आगामी निर्वाचनमा तालमेल हुने बताएका छन् । आसन्न निर्वाचनमा जनताले प्रतिगामी चरित्रलाई परास्त गरी परिवर्तनका वाहक शक्तिलाई विजय गराउन आतुर रहेको बताए ।
आफूहरू देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको बताउँदै उनले भने– ‘एमाले नेतृत्वले विगतमा गरेको प्रतिनिधिसभाको विघटनलगायत असंवैधानिक कार्यले उनीहरू परिवर्तनको वाहक होइनन, प्रतिगामी चरित्रका नमूना हुन् ।’ एमाले नेतृत्वको गल्ती स्वीकार गर्न नसक्ने प्रवृत्तिले सो दलका नेताहरूको अधोगती सुरु भएको उनको भनाई छ ।
No comments:
Post a Comment