फागुन १३ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । प्रतियोगिताको विजयी वडा नं. ६ ले एक लाख नगद पुरस्कार प्राप्त गरेको छ । सेराबगर विकास समाजले शिवपुरी गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ६ ले वडा नं. ५ लाई १–० ले पराजित गरेको थियो । वडा नं. ६ का लागि एक मात्र विजयी गोल अशोक तामाङले गरेका थिए । हारसँगै वडा नं. ५ ले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको तेस्रो स्थान भने वडा नं. ३ ले प्राप्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी तथा सेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले विजयी टिम तथा खेलाडीलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । विजेता टोली वडा नं. ६ ले नगद पुरस्कार एक लाख, दोस्रो हुने वडा नं. ५ ले ५० हजार तथा तेसो हुने वडा नं. ३ ले २५ हजार पुरस्कार पाएका छन् ।
त्यस्तै, वडा नं. ६ का गोलकिपर अमृत जिसी उत्कृष्ट गोलकिपर, वडा नं. ५ का अलिक रुम्बा उत्कृष्ट डिफेन्डर, वडा नं. ३ का सञ्जीव तामाङ उत्कृष्ट मिडफिल्डर, वडा नं. ५ का कञ्जन खड्का उत्कृष्ट फरवार्ड तथा वडा नं. ६ का अनिश जिसी उच्च गोलकर्ता घोषित भए । उनीहरूले जनही नगद तीन हजार पुरस्कार र ट्रफी पाए । त्यस्तै, वडा नं. ६ का खेलाडी आलिग तामाङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले नगद सात हजार र ट्रफी प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष रामकृष्ण थापाले शिवपुरीको शानको रूपमा रहेको शिवपुरी रंगशालामा फुटबल प्रतियोगिता सञ्चालन हुने क्रम बढेको भन्दै आगामी दिनमा अन्य प्रतियोगिता पनि आयोजना हुने बताए ।
सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सबै विजयी खेलाडीलाई बधाई दिँदै खेलकुदको क्षेत्रमा शिवपुरी गाउँपालिका अब्बल रहेको बताएका छन् ।
फुटबल प्रतियोगिता आयोजक संस्था सेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले यस शिवपुरी गाउँपालिकामा रहेका खेलाडी पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आगामी संस्करणमा अहिलेका कमजोरी नदोहोरिने प्रतिबद्धता जनाए ।
No comments:
Post a Comment