Monday, March 28, 2022

नगरपालिकाकै भेटेरिनरी प्रयोगशाला

विदुर । विदुर नगरपालिकाले पशु चिकित्सकसहित भेटेरिनरी प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

गएको सोमबार विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पशु सेवा शाखा र भेटेरिनरी प्रयोगशालाको उद्घाटन गरेका छन् । सो अवसरमा उनले कृषकको टड्कारो समस्या तत्कालनै समाधान गर्नु आफ्नो जिम्मेवारी भएकोले प्रयोगशाला सञ्चालनमा ल्याएको बताएका छन् । ‘कृषि र पशु आधारित कृषकहरू धेरै भएकोले कृषकका समस्यालाई प्राथमिकतामा राखेर यो कार्यक्रम सुरुवात गर्यौ’ प्रमुख पण्डितले भने । उनका अनुसार संघीय मामिला मन्त्रालय अन्तर्गत कुनै पनि भेटेरिनरी डाक्टरको दरबन्दी प्राप्त नभएपनि विदुर नगरपालिकाको नगरसभाबाट नै डाक्टरको दरबन्दी सिर्जना गरिएको छ । 

जिल्लाको भेटेनरी पशु सेवाले समयमा सेवा दिन नसकिरहेको अवस्थामा नगरले आफ्नै स्रोत र साधनबाट नगरका पशु पन्छीपालन कृषकको व्यवसाय सुरक्षित राख्न र प्रोत्साहन गर्न भेटेनरी सेवा सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहालले संघीय र प्रदेश सरकारले पकेट क्षेत्रको रुपमा पशुपालन व्यवसायलाई विभिन्न कार्यक्रममार्फत् बढाएतापनि पशु र पन्छीहरूमा देखिने विभिन्न रोगहरूलाई नगरमै परीक्षण गर्ने वातावरण सिर्जना गर्न सके कृषकहरूलाई सहज हुने धारणा राखेका छन् । 

कृषकको समस्या समाधान गरेर कृषि व्यवसाय बनाउन सके कृषि क्षेत्रमा रोजगारीको अवसर धेरैले पाउने उद्देश्यसाथ यसको सुरुवात गरिएको उनको भनाई रहेको छ । 

भेटेरिनरी प्रयोगशालाबाट गोबर जाँच तथा लार्भा परीक्षण, थुनेलो परीक्षण लगायतका सेवा दिइने पशु चिकित्सक सनम महर्जनले बताएका छन् । साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण, पशु बन्ध्याकरण, कृत्रिम गर्वधान र विशेषज्ञ सेवा प्रदान गरिने उनले बताए । उक्त शाखाबाट निःशुल्क रुपमा औषधि समेत वितरण हुने छ । 

पशुपन्छीमा लाग्ने बर्डफ्लु लगायत अन्य रोगहरूको रोग परीक्षण पनि गरिनेछ विदुर नगरपालिकाले जनाएको छ । शाखा सञ्चालनमा आएदेखि पशुपन्छीको गम्भीर प्रकृतिको रोग परीक्षणको लागि काठमाडौं लगिनुपर्ने बाध्यता हटेको बताइएको छ । 

No comments:

Post a Comment