Monday, March 28, 2022

केन्द्रीय कारागार निर्माण अन्तिम चरणमा

विदुर । नुवाकोटको विदुर नगरपालिका– ६ खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 

गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारी अनरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी अनुगमन गत हप्ता गरेको थियो । कारागार निर्माणकार्य अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । जिल्ला कारागार कार्यालय नुवाकोटका प्रमुख गंगालाल योगीले निर्माणाधीन कारागारको भौतिक पूर्वाधार निर्माणतर्फ ९० प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको जानकारी दिएका छन् । 

उनका अनुसार चैत मसान्तसम्ममा काम सक्नुपर्ने भए पनि एउटा युनिटको दुई ब्लकमा पाँच÷पाँच सय कैदी राख्ने गरी निर्माणकार्य भइरहेको छ । करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउन लागेको छ । सिसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा पोस्ट, भेटघाट कक्ष कानुनी परामर्श कक्ष आदि निर्माण भइरहेको छ । 

कारागार प्रमुख योगीका अनुसार पहिलो चरणमा काठमाडौंको सुन्धारामा रहेको जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ । गत हप्ता भवन विभाग, कारागार विभागका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले ठेकेदार कम्पनीसँग छलफल गरेर कार्य प्रगति साप्ताहिक रूपले बुझाउने सहमति भएको छ । 

निर्माणकार्यका लागि आवश्यक सहयोग भवन विभाग, कारागार विभागका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना भए पनि कोरोना संक्रमण महामारीका कारण दुई महिना ढिलो भएको छ । सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच सुरक्षा व्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हनु नसकेकाले थप सुधारका काम पनि जारी रहेको कारागार व्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले जानकारी दिए । 

निर्माणाधीन खम्पाक्याम्प कारागारमा झन्डै सात हजार कैदीबन्दी राख्ने क्षमताको संरचना निर्माण भइरहेको छ । नवनिर्मित कारागार कालकोठरी जस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढङ्गले निर्माण गरिएको छ । 

   अस्पताल, पुस्तकालय, व्यायामशाला, योगशाला, ध्यान केन्द्र, सीप तालिम केन्द्र र हस्तकला बिक्री– वितरणलगायत विभिन्न कक्षसहितका सुविधा उक्त कारागारमा हुनेछ । उक्त कारागारमा अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजनन अधिकारबाट वञ्चित दम्पती कैदीबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । 

No comments:

Post a Comment