Monday, April 04, 2022

हतियार बुझाउन निर्देशन

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चैतमसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी दिएका छन् । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको बताइएको छ ।

यसै बीच, नुवाकोटको किस्पाङ गाउँपालिकाबाट एक जना हतियार सहित पक्राउ परेका छन् । वडा नम्बर ३ किर्नेबगरका ३३ वर्षिय गोम्बो तामाङ समातिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गएको आईतवार बिहान सात बजे तामाङलाई आफ्नै घरको पिडिमा बसी भरुवा बन्दुक सफा गरी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीले फेला पारेको हो । उनीसँग हातहतियार राख्न पाउने कुनै ईजाजत नभएकोले पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा पेश गरिएको छ । जिल्ला अदालत नुवाकोटले हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरी कार्यलयलाई अनुमती दिएको छ । 


No comments:

Post a Comment